मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

निषेधित क्षेत्र हटाउन माग गर्दै मुस्ताङमा प्रदर्शन

सोमबार, ०५ जेठ २०८२, १९ : २८
सोमबार, ०५ जेठ २०८२

पोखरा । एउटै गाउँपालिका । सबै पर्यटकीय क्षेत्र । कागबेनीसम्म पुगेका विदेशी पर्यटकले ३ हजार रुपैयाँ मात्रै तिरेर घुम्न पाउँछन् । त्यसभन्दा माथि जानुपरे उनीहरुले ५ सय अमेरिकी डलर तिर्नुपर्छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नम्बर ३ छुसाङबाट उकालो लागेपछि विदेशीलाई निषेध छ । 

यदी जानुपरे महँगो शुल्क तिरेर जानुपर्छ । गत वर्ष २०८१ को तथ्याङ्क हेर्दा मुस्ताङमा १ लाख ४४ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । तर मुस्ताङ पुगेका पर्यटक उत्तरी क्षेत्रमा जाने चाहिँ नगन्ने मात्रामा छन् ।

निषेधित क्षेत्र भएकै कारण पर्यटकहरू आफ्नो क्षेत्रमा नआएको गुनासो स्थानीयको छ । सोमबार उत्तरी मुस्ताङको प्रवेश विन्दु छुसाङका नागरिकले निषेधित क्षेत्र हटाउन माग गर्दै जिल्ला प्रशासनमा धर्ना दिए ।

सङ्घर्ष समितिका उपाध्यक्ष नवीन गुरुङले एउटै पालिकामा फरक नीति लागू गरेर सरकारले विभेद गरेको बताए । ‘एउटै पालिका हो । अरू सबै वडामा पर्यटक निस्फिक्री डुल्न पाउँछन् । 

हाम्रो ३ नम्बर वडामा छिर्न मात्रै ५ सय डलर तिर्नुपर्छ,’ उनले भने, ‘हामी पर्यटन व्यवसाय गर्नेलाई विभेदकारी नियमकै कारण नोक्सान भएको हो । अब यसलाई हटाउनैपर्छ ।’ यहाँका नागरिकले पटक पटक सरकारको ध्यानाकर्षण गराएका छन् । तर सुनुवाइ भएको छैन । ‘कति वर्षदेखि सरकारलाई आग्रह गर्‍यौँ । के–के कारण देखाएर माग पूरा भएन,’ उनी भन्छन्, ‘अब चुप बस्न हुँदैन भनेर आन्दोलित भयौँ ।’

मुस्ताङमा ५ वटा गाउँपालिका छ । बारागुङको केही क्षेत्र सहित तीन वटा गाउँपालिका विदेशी पर्यटकको लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । सन् १९९२ देखि उत्तरी क्षेत्र विदेशी पर्यटकको लागि खुला गरिएको हो । सुरुको वर्षदेखि १० दिनको ७ सय डलर लिने गरेको थियो । 

पछि त्यसलाई घटाएर ५ सय डलर बनायो । अहिलेसम्म त्यही व्यवस्था लागू भएको छ । सोमबार गाउँ मुखिया र जनप्रतिनिधि सहितको टोलीले प्रमुख जिल्ला अधिकारीसँग भेटेर छलफल गरेको छ । केही समयअघि लोमन्थाङ गाउँपालिका र ल्होघेकर दामोदर कुण्ड गाउँपालिकाले पनि निषेधित क्षेत्र हटाउन माग गर्दै कार्यपालिकाको निर्णय सङ्घ सरकारमा पठाएको थियो ।

निषेधित क्षेत्र नहटाए सङ्घर्षका कार्यक्रम अझै चर्काउने वडा नम्बर ३ का अध्यक्ष विनोद गुरुङले जानकारी दिए । ‘जनताको रोजीरोटीको सवाल छ । सबैतिर पर्यटकले भरिभराउ छ । हाम्रोमा निषेधित क्षेत्र भनेर कोही छिर्नै नदिने ?,’ उनले भने, ‘निषेधित क्षेत्र बनाउन मिल्दैन । तुरुन्त खारेज गरियोस् । खारेज नभएसम्म आन्दोलन गरिरहन्छौँ ।’ टोलीले यही साता काठमाडौँमा समेत डेलिगेसन जाने तयारी गरेको उनले बताए ।

कुन कुन ठाउँ निषेधित ?

नागरिक उड्डयन मन्त्रालयले गोरखा, मुस्ताङ र मनाङका केही क्षेत्रहरू संवेदनशील रहेको भन्दै त्यसलाई निषेधित भनेर प्रवेशमै महँगो शुल्क तोकेको छ । अपर मुस्ताङका लोमन्थाङ गाउँपालिका र ल्हो घेकर दामोदर कुण्ड गाउँपालिकाका सबै ठाउँ तथा बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका केही गाउँलाई निषेधित क्षेत्र भनेर तोकेको छ ।

यहाँ प्रवेश गर्दा विदेशी पर्यटकले १० दिनका लागि ५ सय अमेरिकी डलर तिर्नुपर्छ । त्यसपछि पनि घुम्ने मन भए प्रति दिन ५० अमेरिकी डलर तिरेर हिँड्नुपर्छ । यो ठाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाभित्र पर्छ ।

यस्तै व्यवस्था गोरखाको उत्तरी क्षेत्रमा पनि छ । मनास्लु संरक्षण क्षेत्रभित्र रहेको चुमनुब्री गाउँपालिकाका १, २, ३, ४, ५, ७ र ७ नम्बर वडामा विदेशीलाई सजिलै छिर्ने र घुम्ने अनुमति छैन । त्यहाँ पनि प्रत्येक विदेशीले एक साता घुम्न जाँदा १ सय अमेरिकी डलर र त्यसपछि समय थप्न मन लागे प्रत्येक दिनको १५ अमेरिकी डलर तिर्नुपर्छ । यहाँ दुई वटा सिजनको छुट्टाछुट्टै प्रवेश शुल्क छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्म महँगो भएपनि डिसेम्बर देखि अगस्ट सम्म केही सस्तो छ ।

डिसेम्बर–अगस्टमा एक साता घुम्नेले ७५ अमेरिकी डलर र त्यसपछि थप्न चाहे प्रतिदिन १० अमेरिकी डलर तिरे पुग्छ । यही क्षेत्रभित्र रहेका चुम भ्यालीको सिर्दिबास, लोक्पा, चुम्लिङ, छेकम्पार र निलेचुले अर्थात् चुमनुब्री गाउँपालिकाको ३, ६ र ७ नम्बर वडा घुम्दा सेप्टेम्बर देखि नोभेम्बरसम्म एक साताको ४० अमेरिकी डलर तिर्नुपर्छ भने त्यसपछिको प्रत्येक दिन ७ अमेरिकी डलर तिर्नुपर्छ । डिसेम्बरदेखि अगस्टसम्म एक साताको ३० अमेरिकी डलर तथा त्यसपछि प्रत्येक दिन ७ अमेरिकी डलरका दरले प्रवेश शुल्क थपिँदै जान्छ ।

मनाङमा पनि दुई सिजनको छुट्टाछुट्टै रकम छ । नार्पाभूमि गाउँपालिकाका सबै क्षेत्र र नासों गाउँपालिकाका ६ र ७ नम्बर वडामा घुम्दा सेप्टेम्बरदेखि नोभेम्बरसम्म अलि महँगो पर्छ । एक साताको १ सय अमेरिकी डलर तथा त्यसपछि थप्नुपर्दा प्रति दिन १५ अमेरिकी डलर तिर्नुपर्छ । 

डिसेम्बरदेखि अगस्टको सिजनमा एक साताको ७५ अमेरिकी डलर तथा त्यसपछि दैनिक १५ अमेरिकी डलर तिर्नुपर्ने मन्त्रालयले जनाएको छ । अहिले पर्यटकको घुम्ने सिजन सुरु भैसकेको छ । पर्यटकहरू मनाङ, मुस्ताङ र उत्तरी गोरखातर्फ डुलिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप