१० बजे १० समाचार : गभर्नरको विषय गठबन्धनलाई नै भारी पर्दै, सिंहदरबारमा बालेन शाहको खोजी

समाचार सारांश
- गभर्नर नियुक्तिको विषयमा सत्ता गठबन्धनमा समस्या, देउवा र ओलीबीचको भेट स्थगित।
- प्रधानमन्त्री पत्नीले पुस्तक विमोचन कार्यक्रममा आफ्नो भोगाइ सुनाइन्, राजनीतिमा आउने योजना नरहेको बताइन्।
- द्वन्द्वकालमा मारिएका पत्रकार डेकेन्द्र थापाको घरमा प्रचण्ड पुगे, परिवारसँग भेटघाट गरे।
आज २०८२ जेठ ५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा गभर्नरको विषय गठबन्धनलाई नै भारी पर्दै, प्रधानमन्त्री पत्नीले सुनाइन् आफ्नो भोगाइ, द्वन्द्वकालमा हत्या गरिएका पत्रकार डेकेन्द्रको घरमा पुगे प्रचण्ड, लामिछानेको रिट फेरि ‘हेर्न नमिल्ने’मा, डीएसपी सवार गाडीले सांसदहरू सवार गाडीलाई ठक्कर दियो, सिंहदरबारमा प्रधानमन्त्रीले खोजे बालेन शाह लगायत छन् ।
१. गभर्नरको विषय गठबन्धनलाई नै भारी पर्दै
कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकारलाई गभर्नर नियुक्ति प्रक्रिया टुङ्ग्याउन सकस हुँदै गएको छ । गभर्नर नियुक्तिबारे निर्णय गर्न भनेर सोमबार साँझ बोलाइएको मन्त्रिपरिषद् बैठक अचानक स्थगित गरिएको छ भने कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच हुने भनिएको भेटसमेत स्थगित भएको छ ।
२. प्रधानमन्त्री पत्नीले सुनाइन् आफ्नो भोगाइ
प्रधानमन्त्री पत्नी राधिका शाक्ले आफ्नो पुस्तक ‘करुणा’ बारे आयोजित अन्तर्क्रिया कार्यक्रममा विभिन्न पक्षबारे चर्चा गरेकी छन् । उनले राजनीतिमा आउने आफ्नो कुनै योजना नरहेको पनि प्रस्ट पारेकी छन् । यसैबिच अर्को एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले एक दिनको भुल्को वा लुटपाटको जमात नभएको प्रस्ट पारेका छन् ।
३. द्वन्द्वकालमा हत्या गरिएका पत्रकार डेकेन्द्रको घरमा पुगे प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान द्वन्द्वकालमा मारिएका पत्रकार डेकेन्द्र थापाको घरमा पुगेका छन् । उनले स्वर्गीय थापाका परिवारसँग भेट गरेका छन् ।
४. लामिछानेको रिट फेरि ‘हेर्न नमिल्ने’मा
पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । लगातारजसो हेर्न नमिल्नेमा परेपछि आइतबार इजलासले उक्त रिटलाई हेर्न मिल्ने इजलासमा राख्न आदेश दिएको थियो । यसका बाबजुद सोमबार रिट हेर्न नमिल्ने भएको हो ।
५. डीएसपी सवार गाडीले सांसदहरू सवार गाडीलाई ठक्कर दियो
कोशी प्रदेश सभाका चार सांसद सवार गाडीलाई डीएसपी सवार गाडीले ठक्कर दिएको छ । सो दुर्घटनामा दुवै सवारी साधनमा सामान्य क्षति भए पनि मानवीय क्षति भएको छैन ।
६. सिंहदरबारमा प्रधानमन्त्रीले खोजे बालेन शाह
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आयोजित एक बैठकमा काठमाडौँ महानगरपालिका मेयर बालेन शाहको खोजी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नदेखिएपछि ओलीले खोजी गरेका हुन ।
७. रेशमलाई थुन्न पत्र लेख्ने विष्ट धरौटीमा रिहा
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । विष्टले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउन अनधिकृत पत्र लेखेका थिए ।
८. विद्यालय शिक्षा विधेयकलाई ‘प्रतिगमन’ संज्ञा
शिक्षकहरूले विद्यालय शिक्षा विधेयकलाई ‘प्रतिगमन’ संज्ञा दिएका छन् । सरकारले आफूहरूसँग विगतमा गरेका सहमति विधेयकमा नआएको उनीहरूको भनाइ छ ।
९. बलमिचाइँका साथ प्रकृति दोहन गरी जग्गा प्लटिङ
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ काँक्राबारी, रातोमाटेस्थित घिसिङ डाँडामा प्रकृति, कुलो, सार्वजनिक बाटो, सानो लामा बस्ती, सार्वजनिक जग्गा र वन क्षेत्रसमेत मासिने गरी जग्गा प्लटिङको काम भइरहेको छ ।
१०. कोशीमा के छ बेरुजुको अवस्था ?
महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा कोशी प्रदेशको बेरुजुको अवस्था के–कस्तो छ भन्नेबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।