भत्केको पुलमाथि फोटो खिचाएर फर्कियो भौतिकमन्त्री दाहालको टोली

समाचार सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उदयपुरको फोक्सिनटारमा सुनकोसी नदीको बाढीले बगाएको पुलको निरीक्षण गरे।
- मन्त्री दाहालले पुल निर्माणका लागि ३५ करोड बजेट सुनिश्चित भएको र छिट्टै निकास खोज्ने बताए, तर स्थानीयले निर्माणको समयसीमाबारे अनिश्चितता व्यक्त गरे।
- पुल निर्माणको प्रक्रिया अघि बढेको र पुरानो ठेक्का तोड्ने प्रक्रिया सुरु भएको बताइएको छ, तर स्थानीय बासिन्दा पुल निर्माण कहिले सुरु हुन्छ भन्नेमा अन्योलमा छन्।
उदयपुर । नौ महिनाअघि सुनकोसी नदीको बाढीमा सगरमाथा लोकमार्गमा पर्ने गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिनटारको बगेको पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल नेतृत्वको एक टोलीले आइतबार निरीक्षण गरेको छ ।
गाईघाटमा नवनिर्मित गाईघाट–दिक्तेल सडक योजना कार्यालयको भवन उद्घाटन गरेर बगेको पुलको निरीक्षण गर्न मन्त्री दाहालको टोली फोक्सिनटार पुगेको थियो ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलसहितको टोली फोक्सिनटार पुगेको थियो । त्यहाँ पुगेर मन्त्री दाहालले पुलको लागि ३५ करोड बजेट सुनिश्चित भइसकेको र बन्ने प्रक्रियामा गएको बताए ।
उनले भने, ‘पुल निर्माणको प्रक्रियाका सबै विकल्पमा छलफल गर्ने र छिट्टै निकास निकाल्छौँ ।’ उनले बगेर बीच भाग भाँचिएको केही गर्न सकिने विकल्प भए तत्काल गर्ने र नभए अन्यथा नयाँ पुल निर्माणको प्रक्रिया छिट्टै सुरुवात गरिनेसमेत बताए । मन्त्री दाहालले थप्दै भने, ‘पुल बन्ने कुरा हामी मन्त्रालबाट छलफल गरेर टुंग्याउने छौँ ।’ उनले नयाँ पुल बनाउने की पुरानो मर्मत गर्ने कुरा प्राविधिक रूपमा टुङ्गिने बताए ।
बगेको पुल हेर्न आएका मन्त्रीको कुरा सुन्न उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिनटार र खोटाङको खोटेहाङ गाउँपालिका–८ लिच्केराम्चेका विभिन्न गाउँका स्थानीय भेला भएका थिए ।
बगेको पुल बनाउनको लागि ३५ करोड बजेट सुनिश्चित भएको र बन्ने ठाउँ हेर्न आएको जानकारी पाएपछि खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई पनि पुगेका थिए । उनले भने, ‘मन्त्री दाहालले पुल बन्छ त, भन्नुभयो ? कसरी कहिले बन्छ भनेर ग्यारेन्टी गर्न सक्नु भएन ।
सुनेको पुरानो ठेक्का नतोडिकन पुल बन्दैन भन्ने । ठेक्का तोड्ने प्रक्रिया सुरु भएको जानकारी मात्र दिनु भयो ।’ यो गाईघाट दिक्तेल सडक वषौँदेखि चारपटक शिलन्यास हुँदा त बन्न सकेको छैन । वषौँ लागेर बनाएको पुल बाढीमा बग्यो । अब कसरी छिट्टै बन्छ भनेर विश्वास गर्नु ? ।’
यसैगरी मन्त्रीको पुल निरीक्षण कार्यक्रम सहभागी भएका रौतामाई गाउँपालिकाका अध्यक्ष भुपिन्द्रबहादुर थापाले पुल बन्ने भन्ने कुरा मन्त्री दाहालबाट आएको बताए । उनले भने, ‘कहिले सुरु हुन्छ ? कहिले बन्छ भन्ने कुरा आएन । मात्र ३५ करोड बजेट सुनिश्चित भएको दाबी भयो ।’
यता सोही कार्यक्रममा सहभागी भएर हेरिरहेका रौतामाई गाउँपालिका–५ का रामबहादुर राईले मन्त्रीले फोटो खिच्न मात्र आएको देखेको बताए । उनले भने, ‘खै फोटो मात्र खिचे, पुल बन्छ त भने । तर, कहिले बन्छ भनेर भनेन् ।’ पुल छिट्टै बने वारिवारी गर्न सहज हुने बताए ।
बगेर बाँकी बसेको पुलको भागमा मन्त्री दाहालसहित जनप्रतिनिधि, सडकका कर्मचारी, एमाले नेताहरूले सामूहिक फोटो खिचाएका थिए । फोटो खिच्न बसेका टोलीलाई देखेर स्थानीय दङ्ग परेका थिए ।
बगेको पुल निर्माण सुरु भएको १० वर्षपछि सञ्चालनमा आएको थियो । २२ चैत ०७३ मा सम्पन्न गर्ने गरी २३ चैत ०६९ मा ठेकेदार कम्पनी गौरी–पार्वती वाइपी कन्स्ट्रक्सन जेभी काठमाडौँले जिम्मा लिएको आर्क ब्रिज ०७९ चैतमा सञ्चालनमा आएको थियो ।
भ्याटसहित २२ करोड ६७ लाखमा निर्माण गरेको थियो । जसको एक सय २० मिटर लम्बाइ र चौडाइ ११ मिटर चौडाइ थियो । तर, ०८१ असोजमा बगेपछि ११ करोड क्षति भएको मूल्याङ्कन गरिएको थियो ।
उक्त पुल निर्माण नहुँदा पनि खोटाङ–उदयपुर बेलिब्रिजकै भरमा सञ्चालन हुँदै आएको छ । तर, अब वर्षा सुरु भएपछि बेलिब्रिज झिक्नु पर्ने वेला आएको छ । सगरमाथा लोकमार्ग–गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटका अनुसार फोक्सिनटारको पुल सगरमाथा लोकमार्ग–गाईघाट–दिक्तेल सडकखण्डमा पर्छ ।
सोही कार्यालयका प्रमुख पशुपति ज्ञवाली भन्छन्–३५ करोड बजेट सुनिश्चित भएपछि अहिले पुरानो ठेक्का तोड्ने प्रक्रिया सडक विभागबाट अघि बढेको छ । कानुनी रूपमा ठेक्का तोडिएपछि मात्र नयाँ पुलको बारेमा टुङ्गिन्छ ।’ पुल निर्माण गर्ने गौरी–पार्वती वाइपी कन्स्ट्रक्सन जेभी काठमाडौँले सरकारलाई हस्तान्तरण नगरिकन पुल बगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली
-
बागमती सफाइ महाअभियान १३ औँ वर्ष प्रवेश
-
मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प
-
चलचित्र ‘जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शन हुने
-
१० बजे १० समाचार : गभर्नरको विषय गठबन्धनलाई नै भारी पर्दै, सिंहदरबारमा बालेन शाहको खोजी
-
एनआरएनएसम्बन्धी परमादेश कार्यान्वयन भएको भन्दै सर्वोच्चलाई परराष्ट्रको पत्र