मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय
असुरक्षित महिला

महिलाहरू घरभित्रै असुरक्षित

७१ प्रतिशत महिला हिंसाका घटना घरभित्रै हुने खुलासा
सोमबार, ०५ जेठ २०८२, २० : ०४
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • विराटनगरमा एक महिलाले घरेलु हिंसाको अनुभव सुनाइन्, श्रीमानको दुर्व्यवहार र कुटपिटबाट पीडित भइन्।
  • कोशी प्रदेशमा महिला हिंसाका घटना बढ्दै, ओरेकको तथ्यांक अनुसार, अधिकांश घटना घरभित्रै र श्रीमानबाट हुने गरेको देखियो।
  • हिंसाबाट सबैभन्दा बढी २६-३५ वर्षका महिला प्रभावित, घरेलु हिंसा अन्त्यका लागि सामाजिक सोचमा परिवर्तन आवश्यक।

विराटनगर । ५२ वर्षीया रमिला (परिवर्तित नाम) सँग विवाहित जीवनको पीडादायी अनुभव छ । उनको श्रीमान्सँग विवाह भएको २ वर्षसम्म सम्बन्ध राम्रो नै थियो, तर समय बित्दै जाँदा सम्बन्धमा खटपट आउन थाल्यो । 

श्रीमान् व्यापार गर्न बाहिर जाने र धेरैजसो मदिरा सेवन गरेर आउने अनि घरमा गालीगलौज गर्न थाले । ‘म सहेरै बस्थें । गालीगलौजबाट सुरु भएको हिंसा कुटपिट हुँदै ज्यान लिनेसम्म अवस्थामा पुग्यो । कति पटक कुटपिट गर्दा प्रहरीसम्म लग्यौं, तर उसको व्यवहारमा केही परिवर्तन भएन,’ रमिलाले भनिन् ।

एक दिन भान्सामा काम गर्दै गर्दा उनका श्रीमानले अचानक रोटी बेल्ने काठको बेलनाले हिर्काए । जसले गर्दा उनको मुख सुनियो र ओठ काटियो । छिमेकीहरू चिच्याएको सुनेर आए र प्रहरी बोलाए । घरभित्रै हिंसामा पर्ने रमिला एक प्रतिनिधि पात्र हुन् । 

यही परिस्थिति २९ वर्षीय सिर्जना (परिवर्तित नाम) ले पनि भोगिन् । विवाह भएको १ महिना नबित्दै उनका श्रीमानको व्यवहार बदलियो । सिर्जनालाई कोठामा राख्ने, आफू बाहिर अरू महिलाहरूसँग घुम्ने, डुल्ने र सम्बन्ध राख्ने गरेका उनका श्रीमानको व्यवहारमा कुनै सुधार आएन ।

वैदेशिक रोजगारीबाट फर्किए पछि पनि उनीहरूको सम्बन्धमा सुधार भएन । हिंसा त्यति बेला चरम सीमामा पुग्यो जब सिर्जनाले उनका श्रीमानसँग बच्चा जन्माउने कुरा गर्दा कुटपिट गरी घरबाट निस्केको व्यक्ति आजसम्म सम्पर्कमा आएको छैन ।

कोशी प्रदेशका तीन जिल्लाको पछिल्लो एक तथ्याङ्कले सबैभन्दा बढी महिला हिंसा हुने ठाउँ आफ्नै घर रहेको खुलेको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सङ्कलित तथ्याङ्क अनुसार, २०८१ को पहिलो त्रैमासिक (जनवरीदेखि मार्च २०२५) मा कोशी प्रदेशका तीन जिल्ला उदयपुर, सुनसरी र मोरङमा ८४ वटा महिला हिंसाका घटना भएका छन् । जसमध्ये ७१ प्रतिशत घरेलु हिंसाका घटना रहेको उल्लेख छ ।

सबैभन्दा बढी हिंसा (६४ प्रतिशत) श्रीमानबाट भएको छ, जसले परिवारिक संरचना भित्र हुने हिंसाको गम्भीरतालाई उजागर गर्दछ । उमेरका आधारमा विश्लेषण गर्दा २६–३५ वर्षका महिलाहरू (३४ प्रतिशत) सबैभन्दा बढी हिंसाबाट प्रभावित भएका छन् । त्यसपछि १८ वर्ष भन्दा मुनिका किशोरीहरू (२० प्रतिशत) र १९–२५ तथा ३६–४५ वर्ष उमेर समूहका महिलाहरू (१८ प्रतिशत) रहेका छन् ।

पेशागत विवरण हेर्दा, घरायसी काममा संलग्न महिलाहरू (३१ प्रतिशत) र विद्यार्थीहरू (२० प्रतिशत) सबैभन्दा धेरै हिंसाको शिकार भएको देखिन्छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) का संयोजक शोभा बजगाईंको विचारमा ‘घरेलु हुने हिंसा एक गम्भीर सामाजिक समस्या हो जुन पितृसत्तात्मक सोच र असमान शक्ति सम्बन्धहरूका कारण उत्पन्न हुन्छ ।’ ‘सबैभन्दा सुरक्षित हुनु पर्ने घर भित्रै हिंसात्मक व्यवहार हुँदा महिलाहरूको लागि सुरक्षित जीवनयापनको विकल्प के त ?,’ बजगाईँले भनिन् । 

घरेलु हिंसा तथा महिलामाथि हुने सबैखाले हिंसा अन्त्यका लागि कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने उनको भनाइ छ । 

यसका लागि व्यक्तिगत सोच र व्यवहारमा परिवर्तन गर्नुपर्ने र स्थानीय तहदेखि नै हरेक घर सुरक्षित बनाउने अभियान सञ्चालन गर्नुपर्ने उनको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप