ओलीले गभर्नरमा ‘डा.पौडेल हुन्न’ भनेपछि भाँडिएको थियो देउवासँग सोमबारको भेट

समाचार सारांश
- प्रधानमन्त्री ओलीले कांग्रेसलाई डा. विश्व पौडेललाई गभर्नरमा सिफारिस नगर्न भनेपछि कांग्रेस र मन्त्रिपरिषद्को बैठक स्थगित भयो।
- कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसँग गभर्नरबारे छलफल नगर्ने र नियुक्ति प्रक्रिया अगाडि बढाउन सन्देश पठाए।
- कांग्रेस नेताहरूले प्रधानमन्त्री ओलीसँग सहमति नभएसम्म कुरा नगर्ने र आफ्नो अडान कायम राख्ने निर्णय गरे।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई सिफारिस नगर्न कांग्रेस नेतृत्वलाई भनेपछि सोमबार साँझका लागि तय भएका दुई बैठक स्थगित भएका थिए ।
प्रधानमन्त्री ओलीले गभर्नरमा डा. पौडेललाई सिफारिस नगर्न भनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने तय भएको भेट र पूर्वनिर्धारित मन्त्रिपरिषद् बैठक स्थगित भएको कांग्रेस निकट स्रोतले जानकारी दियो ।
प्रधानमन्त्रीको सचिवालयले बिहान करिब ११ बजेतिर साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको जानकारी दियो । सचिवालयले अपराह्न चार बजेतिर मन्त्रिपरिषद् बैठक अघि कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री ओलीले भेट गर्ने सूचना दियो । एकाएक साढे ५ बजेतिर मन्त्रिपरिषद् बैठक र देउवासँगको भेट रद्द भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।
प्रधानमन्त्री ओलीले आफ्नो संयन्त्रमार्फत देउवालाई गभर्नरमा डा. विश्व पौडेलबाहेकको नाम पठाउन देउवालाई सन्देश पठाए । ओलीले एमालेको तर्फबाट कामु गभर्नर निलम ढुंगाना सिफारिस हुने तथा कांग्रेसका तर्फबाट डा. गुणाकर भट्ट वा अर्को कुनै नाम दिन सन्देश पठाएपछि कुरो बिग्रिएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
प्रधानमन्त्रीको सचिवालयले त प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बिग्रिएकाले बैठक स्थगित भएको सूचना प्रवाहित गरिरहेको छ त भन्ने रातोपाटीको प्रश्नमा ती पदाधिकारीले भने, ‘कुरा नमिलेपछि बिरामी भएको हो । स्वास्थ्य अवस्था बिग्रिएकाले भएको बिरामी होइन ।’
‘पहिला डा. भट्टभन्दा त्यो हुँदैन, अर्को नाम चाहियो भन्ने, अहिले फेरि अर्को दिँदा त्यो हुँदैन भट्ट नै भन्ने ! यो हामीलाई भुलभुलैयामा पार्न खोजेको हो । त्यसैले हुँदैन भनेर सभापतिज्यू प्रधानमन्त्रीले बोलाएको बैठकमा आउँदिनँ भन्नुभयो,’ ती पदाधिकारीले रातोपाटीसँग भने, ‘उहाँले आउँदिनँ भनेपछि प्रधानमन्त्रीज्यूले गभर्नर सिफारिस समिति र मन्त्रिपरिषद् बैठक स्थगित गर्न आदेश दिनुभयो ।’
प्रधानमन्त्रीको सचिवालयले त प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बिग्रिएकाले बैठक स्थगित भएको सूचना प्रवाहित गरिरहेको छ त भन्ने रातोपाटीको प्रश्नमा ती पदाधिकारीले भने, ‘कुरा नमिलेपछि बिरामी भएको हो । स्वास्थ्य अवस्था बिग्रिएकाले भएको बिरामी होइन ।’
प्रधानमन्त्रीले एकाएक सभापतिसँगको भेट र मन्त्रिपरिषद् बैठक स्थगित गरेपछि सोमबार साँझ उपसभापति पूर्णबहादुर खड्काको निवासमा महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहितका नेताहरू बेला भए । भेलामा गृहमन्त्री लेखकले प्रधानमन्त्रीले कांग्रेसलाई सधैँ अप्ठ्यारो पार्ने काममात्रै गरेकाले अब गम्भीर भएर सोच्नुपर्ने लगायतका ब्रिफिङ गरेका थिए । समिति सभापति खतिवडाले संसदीय समितिमा संवेदनशील विधेयकमा पनि एमालेले अड्कोमात्रै थाप्ने गरेको ब्रिफिङ गरेका थिए ।
उपसभापति खड्का निवासमा भेट भएको स्वीकारे पनि नेताहरूले के के विषयमा छलफल भएको भन्ने खुलाउन चाहेनन् । गभर्नरको विषयमा अब प्रधानमन्त्री ओलीसँग छलफल नै नगर्ने निष्कर्षमा सभापति देउवा र अन्य नेताहरू पुगेको कांग्रेस नेता बताउँछन् ।
देउवाले ओलीलाई अब आफूले गभर्नरको विषयमा छलफल नगर्ने भन्दै नियुक्ति प्रक्रिया अगाडि बढाउन सन्देश पठाएको स्रोत बताउँछ । बालुवाटार नआउने सन्देश पठाएपछि देउवाले आफू निकट नेताहरूसँग छलफल गरेका थिए । छलफलमा पनि गभर्नरबारे आफ्नो अडान छाड्न नहुने नेताहरूले सुझाएका थिए ।
कांग्रेसलाई गलाउने नीतिमा प्रधानमन्त्री ओली देखिएकाले अब उनीसँग कांग्रेसले भनेको व्यक्तिलाई गभर्नर नबनाउँदासम्म कुरा नै नगर्न नेताहरूले सुझाव दिएका छन् । ‘राजनीतिक सहमति बमोजिम डा.भट्टलाई पहिल्यै गभर्नर नियुक्ति गरिनुपर्थ्यो, तर भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट दिएको राजीनामा समेत स्वीकृत गरिएन । अहिले फेरि डा. पौडेल हुन्न भनिँदैछ । यसले जे गरे पनि हुन्छ भन्ने सोचेजस्तो देखियो । अब हामीले हाम्रो अडान कायम राख्ने भन्ने कुरा भएको छ,’ ती पदाधिकारीले भने ।
केही दिनअघि बसेको पदाधिकारी बैठकमा सभापति देउवाले गभर्नर कांग्रेसको सिफारिसमा हुने जानकारी दिएका थिए । पहिला ओलीले डा.भट्ट नहुने भनेपछि सिफारिस समितिमा रहेका डा. पौडेललाई राजीनामा गराएर गभर्नर बनाउन सिफारिस गरिएको थियो ।
वैशाख २८ गते डा. पौडेलले सिफारिस समितिबाट राजीनामा दिएका थिए । त्यसपछि वैशाख ३१ गते पौडेलको राजीनामापछि छनोट समिति पुनर्गठन गरेर उनको ठाउँमा कांग्रेसको सिफारिसमा डा.पोषराज पाण्डेलाई सिफारिस समितिको सदस्य बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ
-
आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता