बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

युट्युबबाट किन हट्यो ‘लापत्ता सन्तान’ ?

बुधबार, ०७ जेठ २०८२, १२ : ००
बुधबार, ०७ जेठ २०८२

काठमाडौँ । केही महिनाअघि युट्युबमार्फत सार्वजनिक सामाजिक सन्देश बोकेको सर्ट फिल्म ‘लापत्ता सन्तान’ युट्युबबाट गायब भएको छ । दर्शकबाट राम्रो प्रतिक्रिया  र चर्चा पाउन सफल फिल्म ओएसआर डिजिटलले आफ्नो युट्युबबाट सार्वजनिक गरेको थियो ।

फिल्मका निर्मार्ता, लेखक र निर्देशक रामजी ज्ञवाली हुन् । फिल्म ओएसआर डिजिटलबाट गायब नभएर हटाइएको निर्देशक ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘फिल्मको अन्तर्राष्ट्रिय फेस्टिभलमा माग आएको र भाइरल र द्विअर्थी सामग्रीले भरिएको डिजिटल बजारमा यस्तो गम्भीर विषयलाई त्यत्तिकै राख्नु उपयुक्त नलागेर हटाएका हौँ ।’ फिल्म फेस्टिभलहरू घुमेपछि फेरि ल्याउने उनले जानकारी दिए ।

सेलिब्रेटी टाइम्स प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्म ले समाजमा तीव्र रूपमा बढ्दै गइरहेको सामाजिक संवेदनशीलता र बुबाआमाप्रति उपेक्षाको भावनालाई विषयवस्तु बनाएको छ । फिल्मले वृद्धाश्रममा राख्ने प्रवृत्तिमाथि गहिरो प्रश्न उठाएको छ। बुबा आमाको महत्त्व र सन्तानको अभिभावकप्रतिको हेलचेक्राईलाई यसले राम्रैसँग देखाउन खोजेको छ ।

फिल्ममा रस्मी भट्ट, अर्जुन आचार्य, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सविना राउत लगायतका कलाकारहरूको अभिनय छ ।  निरज कंडेलको छायांकन, नहकुल खड्काको सम्पादन रहेको फिल्मको साउण्ड डिजाइनिङ भरत कंडेल, र कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका हुन् ।

निर्देशक रामजी ज्ञवालीले यसअघि डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’, डकुड्रामा ‘मौन’ जस्ता सामाजिक सन्देशयुक्त प्रोजेक्टहरू निर्माण गरिसकेका छन्। त्यस्तै उनले ‘डार्कमुन’, ‘आराध्या’, ‘लिलामी’, ‘हनिमुन’, ‘एकलभर’ जस्ता सर्ट फिल्म र विभिन्न म्युजिक भिडियोहरू पनि निर्देशन गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप