बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

सरकार राजावादीका व्यवस्था विरोधी गतिविधि टुलुटुलु हेरेर बस्दैन : प्रवक्ता गुरुङ

बिहीबार, ०८ जेठ २०८२, १३ : ५८
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरूले गणतन्त्रलाई चुनौती दिएको बताएका छन् ।
  • सरकारले उदारता देखाएको तर व्यवस्था विरोधी गतिविधि भए प्रतिवाद गर्ने उनले चेतावनी दिए।
  • मन्त्री गुरुङले गणतन्त्रको रक्षाका लागि सत्तापक्ष र प्रतिपक्ष एक हुने दाबी समेत गरे।

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरूले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई चुनौती दिन खोजेको भन्दै सरकार सँधैभरि टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।  मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले यस्तो चेतावनी दिएका हुन् । 

‘राजावादीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई चुनौती दिने प्रयास गरेका छन् । तर सरकारले उदारतापूर्वक विरोध गर्नेहरूलाई पनि बोल्ने छुट छ’, मन्त्री गुरुङले भने,  ‘तर यो सरकारको कमजोरी होइन र डराएर पनि होइन ।’

उनले सरकारको उदारतालाई कमजोरी नठान्न चेतावनी दिँदै भने, ‘यसलाई कमजोरी नठाने हुन्छ र सधैँ संविधान, र व्यवस्था विरोधी क्रियाकलाप भइरहे सरकार टुलुटुलु हेरेर बस्दैछ, प्रतिवाद गर्छ ।’ साथै उनले लाखौँ नेपाली जनताले रगत पसिना बगाएर र दुःख गरेर ल्याएको गणतन्त्र विरोधी गतिविधि भए प्रतिबन्ध लगाउने कानुनी अधिकार भए पनि सरकार अहिले नै त्यो बाटोमा गइनसकेको प्रस्ट पारे । 

‘जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन त्यसैदिन मानेर सरकारले भव्य रुपमा मनाउने निर्णय गरेको छ । त्यसैदिन गणतन्त्रलाई चुनौती दिने राजावादीहरूले प्रयास गरेका छन् । तर हामीले उदारतापूर्वक शासन प्रणाली उल्ट्याउन चाहनेलाई सभा र बोल्ने छुट दिएका छौँ’, उनले भने-‘सधैँ संविधान र व्यवस्था विरोधी गतिविधि गरे यथोचित प्रतिवाद हुन्छ । ’

सबैलाई बोल्ने छुट भएको भन्दै उनले अहिले सत्तापक्ष र प्रतिपक्षमा रहेकाहरू गणतन्त्रको रक्षाका लागि एक ठाउँमा उभिने दाबी गरे । राजावादीहरूले जेठ १५ गतेबाट राजतन्त्र नफर्केसम्म निरन्तर आन्दोलन गर्ने बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप