बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

युक्रेनकाे ड्रोन हमला, मस्को विमानस्थलको उडान अवरुद्ध

बिहीबार, ०८ जेठ २०८२, १६ : २३
बिहीबार, ०८ जेठ २०८२

समाचार सारांश

  • रुसको राजधानी मस्कोमा युक्रेनी ड्रोन आक्रमण, हवाई यातायात अवरुद्ध।
  • रुसी रक्षा मन्त्रालयका अनुसार ३५ युक्रेनी ड्रोन खसालिए, मेयर सोब्यानिनले आपत्कालीन सेवा खटाए।
  • पुटिनले युद्धविराम अस्वीकार गरे, रुसले युक्रेनको केही भाग नियन्त्रणमा लिएको छ।

मस्को । रुसको राजधानीमा आक्रमण भएपछि बिहीबार मस्को वरपरको हवाई यातायात अवरुद्ध भएको र रातभरमा सहरलाई लक्षित ३५ युक्रेनी ड्रोन खसालिएको रक्षा मन्त्रालयले बताएको छ ।

‘हवाई रक्षा प्रणालीले एक सय पाँच युक्रेनी ड्रोन नष्ट र रोक्यो, तीमध्ये ३५ मस्कोतर्फ गइरहेका थिए’, मन्त्रालयले एक विज्ञप्तिमार्फत भनेको छ । मस्कोका मेयर सर्गेइ सोब्यानिनले टेलिग्राम पोस्टमा भने, ‘आपत्कालीन सेवा विशेषज्ञहरू खसेको भग्नावशेष भएको ठाउँमा काम गरिरहेका छन् ।’

मेयरका अनुसार सहरतर्फ २७ वटा ड्रोन प्रहार गरिएको एक दिनपछि र रुसले सप्ताहन्तमा युक्रेनविरुद्ध रेकर्ड सङ्ख्यामा ड्रोन तैनाथ गरेपछि आक्रमण भएको हो । तीन वर्षअघि रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेदेखि दुई देशले लगभग दैनिक आधारमा एक अर्काविरुद्ध ड्रोन तैनाथ गरेका छन्, तर मस्कोलाई विरलै लक्षित गरिएको छ ।

बिहीबार धेरै मस्कोका धेरैजसो विमानस्थलमा उडानहरू अवरुद्ध भएको रुसको उड्डयन प्राधिकरण रोसाभियत्सियाले जनाएको छ । विमानहरू अस्थायी रूपमा सहरको मुख्य शेरेमेत्येवो विमानस्थलका साथै अन्य विमानस्थलमा ग्राउन्डेड गरिएको थियो ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बारम्बार किएभ र पश्चिमको बिना शर्त र तत्काल युद्धविरामको आह्वानलाई अस्वीकार गरेका छन् ।

रुसले अहिले क्रिमिया प्रायद्वीपसहित युक्रेनको करिब पाँच भाग नियन्त्रणमा लिएको छ । क्रिमियालाई उसले सन् २०१४ मा कब्जा गरेको थियो । यो लडाइँले दशौँ हजारको ज्यान लिएको छ, लाखौँलाई आफ्नो घर छोड्न बाध्य पारेको छ र युक्रेनको पूर्व र दक्षिणका सहर र गाउँहरू ध्वस्त पारेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप