शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
कविता

रोशन यक्सोका तीन कविता

शनिबार, १० जेठ २०८२, १२ : ५०
शनिबार, १० जेठ २०८२
  • १) ‘आमा रक’ : आफ्नालाई पर्खनेहरू !

पर्खनु–
गाह्रो हुन्छ ।

निरन्तर कसैलाई पर्खनु– झन् गाह्रो
आउने/नआउने केही टुङ्गो बेगर पर्खनु– सबैभन्दा कठिन !

‘आमा रक’–
घाम–पानी–आँधी–हुरी केही नभनी
कठोर साधनारत तपस्वीझैँ
सदीयौँदेखि आफ्नो प्रिय मान्छे पर्खिरहेछिन्

चाँडै लिन आउँछु है भन्दै 
मिम्जिमाको पछ्यौरी फेरमा 
मुटु गाँठो पारी जाने तरेबाहरू 
पुषे मेलामा भेटौँला नि... बाचा गर्दै 
मायाको देउरालीमा 
विश्वासको पाती चढाइजाने तरेमाहरू
बाटो बिराएर
भाका बिर्सिएर
अथवा कुनै परिबन्दमा परेर 
कहिल्यै फर्किएर नआउँदा 
जति गाह्रो हुन्छ पर्खी बस्न मायालुलाई–

बेपत्ता छन्–
देशको व्यवस्था फेर्न
क्रान्तिको दावानलमा हेलिएर 
टाउकोमा कफन बाँधी
सम्साँझमा घर छोड्ने नौजवान

लापत्ता छन्–
घरको अवस्था फेर्न
सुनौलो सपना बोकी
झिसमिसेमा मुग्लान हिँड्ने
कति–कति बैंसालु मन

कहाँ पुगे होलान् तिनीहरू !
फर्की आउँलान् टुप्लुक्क कुन क्षण ?
आँगन छेउ झोक्राएर 
विस्फारित नजर लगाई बस्नु मूलबाटोतिर 
जति गाह्रो छ घरपरिवारलाई–
त्यतिकै गाह्रो छ
सदीयौँदेखि आफ्नो प्रिय मान्छे पर्खी रहेकी ‘आमा रक’लाई ।

ओहो !
वषौं भइसक्यो
परिवारको खुसी किन्न
म परदेसिएको पनि,
मेरो पर्खाइमा मेरी आमा ‘आमा रक’ बन्नुअघि
फर्किन्छु अब आफ्नो देश !
फर्किन्छु अब आफ्नो घर !
...
आमा रक :  हङकङको ‘शा तिन’मा अवस्थित एउटा चट्टान । यो चट्टान झट्ट हेर्दा साथमा बच्चा लिएर बसेको आमाजस्तै देखिन्छ । किंवदन्ती अनुसार एउटा जलहारी माछा मार्न समुद्रमा जान्छ, तर फर्केर आउँदैन । आफ्नो श्रीमान् कतै फर्की हाल्छ कि भनेर जालहारीकी श्रीमती प्रत्येक दिन आफ्नो छोरालाई लिएर डाँडाको टुप्पोमा गएर श्रीमान्को बाटो हेर्छिन् । उनको यो अवस्था देखेर समुद्रका देवताले उनलाई चट्टानमा परिणत गरिदिन्छन् ताकि श्रीमान्–श्रीमतीको आत्माको मिलन हुन सकोस् ।
मिम्जिमा – याक्थुङ (लिम्बु) भाषामा प्रेमिका ।
तरेबा – याक्थुङ (लिम्बु) भाषामा प्रेमी स्वरूपको पुरुष पाहुना ।
तरेमा– याक्थुङ (लिम्बु) भाषामा प्रेमी स्वरूपकी महिला पाहुना ।

००

  • २) सम्झनाको चोमोलुङ्मा

मेरो थेबाले रोपेको
आजिबुङको फेदमा विगतलाई सम्झँदै छु—
मेरा पदचाप कुल्चेर जाने
काजी साप र मुखिया सापका घोडालाई सम्झन्छु–
जो दौडन्थे जोडजोडले हिन्हिनाउँदै
त्यही निरङ्कुश चिच्याहटमाझ हराएका थिए
मैले गाएका पालाम र हाक्पारे भाका
त्यतै कतै विलीन भएका थिए
मेरा साकेलाका धुन ।

सम्झन्छु—
तमसुक गर्दा हजारको पछाडि
जाबो एउटा शून्य थप्दा
कसरी गएथ्यो विरमान दर्जीको घरबारी
किन र कसरी 
जुठी दमिनी र बाटुली कमिनी मात्र
बारम्बार घोषित हुन्थे बोक्सी र डङ्किनी 
सम्झनाको गर्तमा अझै ताजा छ ।

राम्ररी थाहा छ–
काजी सापको छाडा भैँसी
मेरो नाहेन गर्न आँगनमा गाडेको
याग्राङसिङ भत्काउँदै कस्तरी कुदेको थियो,
मुखिया सापको बलिया हलगोरुले
मेरो कोदोबारी, मकैबारी र धानबारीमा 
कस्तो ताण्डव देखाएर
तहसनहस पारिदिन्थ्यो भकारी भर्ने मेरो सपना ।

कति छन् कति
सम्झँदा मात्र नि आङ सिरिङ्ग हुने घटना
परेली रुझ्ने यादका लस्कर  
शूल बनेर मुटुमा गढेका तीखा क्षण
जसबाट अपहरित भए
मेरो ओठमा नफक्रिँदै मुस्कान ! 
जसबाट हत्या गरियो
आँखामा नसजिँदै मेरा सपनाको भ्रूण !!

तर रोक्न नसक्दो रहेछ समयको वेग
कुनै बादशाहका घोडाका टापले,
अरुण र तमोरको पानीसँगै बगी जानुपर्‍यो 
काजी अनि मुखियाको रवाफले पनि ।

आजकाल
जब याद आउँछ नि आँधीजसरी विगतको
म तिनै यादका थुङ्गा उनेर
यही बुढो आजिबुङको फेदमा 
निर्माण गर्ने गर्छु सम्झनाको चोमोलुङ्मा । 
...

थेबा– लिम्बु भाषामा बाजे
आजिबुङ– लिम्बुभाषामा कोइरालोको बोट
नाहेन –  लिम्बु मुन्धुम अनुसार आँखी डाही हटाउन गरिने अनुष्ठान
याग्राङसिङ – लिम्बु मुन्धुम अनुसार तीन राते तङसिङ अनुष्ठान गर्दा आँगनमा गाडिने लिङ्गो
चोमोलुङ्मा– किरात समुदायका भाषामा सगरमाथा
००

  • ३) आफ्नै अस्तित्व मेटेर 

फूलतरुल घारीमा सुँगुर नाचेझैँ
नाच्दैनाच्दै आइपुग्छ भ्याकु 
उधिनी पठाउँछ– 
पाटी–पौवा, चौतारा, पुर्खाको चिहान 
र माङ्गेन्ना यक,
बडो उत्सुकताका साथ
झ्याम्मिएर भ्याकुवरिपरि 
को हुन् ‘विकास ! विकास !!’ भन्दै खुसी मनाउने ?

हातमा फिता र पर्चा हल्लाउँदै 
आइपुग्छन् छेपाराहरू 
रङ्गको पुराण लगाउँछन् 
मौसमको मुन्धुम सुनाउँछन् ।

फिता तनक्क तन्काएर नाप्न थाल्छन्–
देवी–देउराली, सिमे–भुमे 
जल, जमिन, जङ्गल
बाँधेर चार किल्ला
तोकेर साँध सिमाना 
घोषणा गर्छन्– ‘संरक्षित क्षेत्र !’
‘प्रवेश निषेधको सूचना !’ फर्मान गर्छन्
‘संरक्षण ! संरक्षण !!’ 
को हो नारा लगाउने ? 

निषेध गर्दै आदिवासी ज्ञान
रैथाने सीपलाई बन्देज लगाउँदै
बहुराष्ट्रिय कम्पनीको ताबेदारीमा
घरेलु मदिरा प्रतिबन्ध लाउने को हो ?
कक्टेल पार्टीमा राँगाझैँ नाच्ने को हो ?

उहिले–उहिले बाजे सुनाउनुहुन्थ्यो 
चमेराको कथा–
चराका हुलमा भन्थ्यो ऊ, ‘म पनि उड्ने चरा हुँ ।’
जनावरका भीडमा भन्थ्यो ऊ, ‘म पनि स्तनधारी हुँ ।’

जसले जसोे–जसो भन्यो 
उसै–उसै ‘स्वाहाऽऽऽ’ भन्दै जाँदा 
जसले जे–जे गर्‍यो 
उसै–उसै ‘आहा !’ भन्दै जाँदा 
शायद हामी पनि उही चमेरा भइसक्यौँ । 
०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन यक्सो
रोशन यक्सो
लेखकबाट थप