शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
कृषि

नेपाली बिउ उत्पादकहरू नै ठगी धन्दामा

सुनसरीबाट १ हजार किलोभन्दा बढी अवैध बिउ बरामद
शनिबार, १० जेठ २०८२, १२ : ३१
शनिबार, १० जेठ २०८२

समाचार सारांश

  • कोशी प्रदेश सरकारले सुनसरीका विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध बिउ बरामद गरेको छ। जसमा धान, तरकारी र अन्य बालीका जातका बिउहरू छन्।
  • अनुगमन टोलीले अवैध रूपमा बिउ बिक्री गर्ने राष्ट्रिय बिउ विजन कम्पनी प्रालि मोरङलगायतका उत्पादकहरू फेला पारेको छ।
  • अवैध बिउ बिक्री वितरण गर्ने र अनुमति पत्र नवीकरण नगर्ने व्यवसायीहरूलाई कारबाही गरिने भएको छ।

विराटनगर । कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयको टोलीले सुनसरीको विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध बिउ बरामद गरेको छ । मन्त्रालयका बाली विकास अधिकृत योगेन्द्र यादव र बिउ निरीक्षक पुरुषोत्तम जोशीको नेतृत्वको अनुगमन टोलीले शुक्रबार १ हजार २५ किलोग्राम अवैध धानको तथा अन्य बालीका जातको बिउ बरामद गरेको हो । 

कृषि मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले दिएको जानकारी अनुसार बीबी ११ जातको धानको बिउ ९ सय २० किलो, एमटियु ७०२९ जातको बिउ ३० किलो, कोमल १ सय १ किलो, सोना मन्सुली ६५ किलो र तरकारीको म्याद गुज्रेको बिउ ४ किलो रहेको छ ।

यसरी अवैध तरिकाले बिउ बजारमा पठाउने बिउ उत्पादकहरूमा राष्ट्रिय बिउ विजन कम्पनी प्रालि मोरङ, कृषक बिउ उत्पादक समूह गौरादह–६ झापा, भूमि सिड मोरङ विराटनगर, कञ्चन बिउ उत्पादक उद्योग प्रा.लि.मेचीनगर झापा, मेची कृषक बहुमुखी सहकारी संस्था लि.मेचीनगर झापा, तमोर बिउ उत्पादक बिर्तामोड–७ झापा, इस्ट वेष्ट सिड कम्पनी, विराटनगर रहेका छन् । 

यस्तै कृषि सामग्री कम्पनी लिमिटेड इटहरीबाट बिउ व्यवसाय प्रमाणपत्र नभएका व्यवसायीलाई पनि धानको बिउ उपलब्ध गराएको भेटिएको जोशीले बताए । जसमा भोक्राहा नर्सिंङ गाउँपालिकामा एक जना व्यवसायीलाई यसरी धानको बिउ उपलब्ध गराएको पाइएको हो । 

Abaidh Biu (3)

नेपालमा सूचीकृत तथा दर्ता नगरिएका बिउ बिक्री वितरण गर्न पाइँदैन । यसरी अवैध बिउहरू बिक्री हुने गरेको किसानबाटै गुनासो आएपछि आफूहरूले अनुगमनका लागि टोली परिचालन गरेको मन्त्रालयका सचिव पाण्डेले बताए । हालसम्म बिउ विक्रेताहरूले किसानलाई ठगेर विभिन्न जातका धानको बिउ बिक्री वितरण गरिरहेका थिए । 

नेपाली बिउ उत्पादकहरूले पनि सूचीकृत तथा दर्ता नभएका बिउहरू उत्पादन गरेर बजारमा पठाएको भेटिएको हो । बिउ बिझन ऐन २०४५ तथा कोशी प्रदेश बिउ विजन ऐन २०८१ तथा बिउ बिजन नियमावली २०८१ का यसरी बिक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ । 

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम आएपछि प्रदेश बिउ विजन २०८१ र  प्रदेश जीवनाशक विषादी ऐन २०८१ जारी भएको छ । मन्त्रालयले उक्त ऐन कार्यान्वयन गराउन बिउ विजन प्रयोगशाला झुम्काको प्रतिनिधि, कृषि ज्ञान केन्द्र सुनसरीको प्रतिनिधि र मन्त्रालयको वाली विकास अधिकृत योगेन्द्र यादव र बिउ निरीक्षक पुरुषोत्तम जोशीलाई अनुगमनको लागि पठाएको हो । 

अनुगमन गर्दा बिउ व्यवसायीहरूले अनुमति पत्र नवीकरण नगरेको, अनुमति पत्र नलिई बिउ विजन बिक्री गरेको र स्थलगत पसलमा जाँदा टोली आएको थाहा पाएपछि धेरै पसल बन्द गरेर व्यवसायीहरू हिँडेका थिए । ‘कोशी गाउँपालिकामा एउटा पसल अनुमति नलिई सञ्चालन गरेको र भोक्राहा नर्सिङ गाउँपालिकामा पुग्दा सबै पसल बन्द गरिसकेको तर सूचीकृत नभएको बिउ पसल बाहिर नै छोडेको थियो,’ बिउ निरीक्षक जोशीले भने, ‘वडा अध्यक्षको रोहबरमा जफत गरेका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप