शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
साहित्य विमर्श

लेखन  कर्म : किन, के र कसरी ?

शनिबार, १० जेठ २०८२, १५ : ००
शनिबार, १० जेठ २०८२

समाचार सारांश

  • लेखक सिर्जनाको महत्त्व, मानव जीवनमा यसको भूमिका, र सुन्दर सिर्जना कसरी गर्ने भन्ने बारेमा केन्द्रित छन्।
  • लेखकले कला र साहित्यको परिभाषा, यसको उद्देश्य, र मार्क्सवादी दृष्टिकोणबाट यसको महत्त्वको व्याख्या गरेका छन्।
  • लेखकले सुन्दर सिर्जनाका लागि आवश्यक पक्षहरू, जस्तै सुन्दर विचार, विषयवस्तुको चयन, र विम्बात्मक प्रस्तुतिबारे प्रकाश पारेका छन्।
  • सिरानका कुरा

सिर्जना भन्नु सृष्टि हो, निर्माण हो र आविष्कार हो । मानव लगायत सम्पूर्ण वस्तु प्रकृतिका सिर्जना हुन् । प्रकृति निर्मित यावत् वस्तुमध्ये मान्छे श्रेष्ठ प्राणी हो । प्रकृतिकै सिर्जना मानव पनि एउटा स्रष्टा हो । त्यसैले हामीले आफ्ना वरिपरि जे–जति वस्तुको अस्तित्व पाउँछौँ, ती सबै या त प्रकृतिका सिर्जना हुन्, प्राकृतिक वस्तु हुन् या त मानव निर्मित वस्तु हुन्, मानवीय सिर्जना हुन् । 

सिर्जना स्वभावैले सुन्दर हुन्छ, प्रिय हुन्छ र आह्वादक हुन्छ । त्यसैले प्रकृतिका सिर्जना हामीलाई सुन्दर लाग्छन्, प्रिय छाग्छन् । मानिस पनि सिर्जनशील प्राणी हो, प्रकृतिमा रहेका अपूर्णताका सन्दर्भमा पूर्णता, जटिलताका सन्दर्भमा सरलता र अज्ञानताका सन्दर्भमा ज्ञानको आविष्कार वा सिर्जना मानव जातिबाट हुँदै आएको छ । वस्तुतः मानव जातिले गरेका सम्पूर्ण सिर्जनालाई हामीले मानवीय सिर्जना भन्ने गरेका छौँ । 

सामान्यतः सिर्जना, आविष्कार, निर्माण सुन्दर मानिन्छ तर सबै मानवीय सिर्जना सुन्दर हुँदैनन्, कुरूप एवं विनाशक पनि हुन्छन् । मानव हितमा प्रयोग हुने सिर्जना सुन्दर हुन्छन् भने मानवताविरोधी सिर्जना कुरूप हुन्छन् । आज विज्ञान र प्राविधिको विकासले मानव जीवनलाई सुलभ पनि बनाएको छ । जस्तो : स्थलयान, जलयान तथा वायुयानको आविष्कारले मानव जीवनलाई सर्वसुलभ बनाएको छ, विश्वका कुनै पनि स्थानमा मानव पहुँच सम्भव बनेको छ र भूगोल निकै साँघुरिएको छ । यो विज्ञान र प्रविधिले आविष्कार गरेको सुन्दर पक्ष हो, तर यसको विपरीत विज्ञान र प्रविधिले विनाशक हतियारको पनि निर्माण गरेको छ, त्यो कुरूप पक्ष हो । त्यसैले सिर्जना भन्नेबित्तिकै सबै सिर्जना सुन्दर हुन्छन् भन्ने छैन ।

विचारणीय पक्ष के हो भने विनाशक हतियार पनि कोही कसैका लागि सुन्दर लाग्छन् । वर्गीय संरचना, वर्गीय सत्ता र वर्गीय संरचनाका कारण विशेषतः साम्राज्यवादी उत्पीडक शक्ति वा वर्गलाई विनाशक हतियार सुन्दर लाग्छन् । 

यहाँ चर्चा गर्न खोजिएको सिर्जनाको तात्पर्य कला–साहित्य सिर्जना हो, कलाको आविष्कार गर्ने प्रसङ्ग हो । अर्थात् साहित्य लेखन सिर्जनाका तात्पर्यमा प्रस्तुत आलेख केन्द्रित रहेको छ । सिर्जना कस्तो हुन्छ भन्ने सन्दर्भमा माथि उल्लेख्य प्रसङ्ग सहयोगी हुन सक्छ । लेखन कर्म आत्मिक आनन्दका साथै मानवीय आवश्यकता समेत हो । मानव जातिको उत्पत्ति भएदेखि नै उसको स्वभाव कलानुरागी भयो । कला–साहित्य मान्छेको रुचिको विषय त हो नै, यो उसको अभिन्न अङ्गजस्तै भयो । मानिस सचेत एवं सिर्जनशील प्राणी हो । 

कला–साहित्यको सर्जक मानव, साहित्यको विषय मानव श्रम, साहित्यको पाठक वा भोक्ता पनि मानव नै भएपछि साहित्य भन्नु मानवीय वस्तु हो, मानवीय सिर्जना हो ।

जङ्गली अवस्थाको मान्छेले दिनभर जङ्गलमा सिकार खेलेर साँझ आफ्ना हाउभाउद्वारा समूहमा सुनाउँदै गर्दा मैले कथा सुनाउँदै छु भन्ने हेक्का उसलाई नहुन सक्छ । उसले आफ्ना परिवारजनसँग गरेको अभिनय नाटकको बीज रूप हो भन्ने उसलाई थाहा नहुन सक्छ । उसले परिवारजनसमक्ष सुनाएको घटना वृत्तान्त निबन्ध हो भन्ने उसलाई थाहा नहुन सक्छ । जङ्गलमा सिकार खेल्ने प्रयोजनका लागि ढुङ्गा कुदेर धारिलो बनाएको र ढुङ्गा कुदिरहँदा निस्केको लयात्मक ध्वनि नै पहिलो कविता हो भन्ने थाहा नहुन सक्छ, तर यथार्थ यही हो, अर्थात् मान्छेले जीवन जिउनका लागि गरेको श्रम–क्रियाका बिचबाटै कलाको बीज रूप निष्पन्न भएको हो । यसको तात्पर्य कला–साहित्यको जन्म मानव जातिका श्रम क्रियाबाट भएको हो । मानव जातिले गरेको श्रम अपरिहार्य कर्म हो, सुन्दर कर्म हो भने त्यही श्रम क्रियामार्फत निष्पन्न हुने कला–साहित्य पनि सुन्दर कर्म हो । यसको तात्पर्य हो कला–साहित्य र श्रमको सम्बन्ध अभिन्न रहेको छ । यसो भन्नु उपयुक्त होला कला–साहित्यलाई मानव श्रमबाट बेग्ल्याएर स्वतन्त्र रूपमा अध्ययन गर्न र यसको उपादेयताको निरूपण गर्न सकिन्न । त्यसले कला–साहित्यको बीजबिन्दु मानव श्रममै फेला पार्न सकिन्छ । 

यसरी कला–साहित्यको सिर्जना प्रक्रियाको प्रसङ्ग उठाउँदा मानव जातिको उत्पत्ति र जीविकोपार्जनका लागि मानवले गरेका क्रिया वा श्रम प्रक्रियासम्म पुग्न सकिन्छ । त्यसो हो भने मानिस सिर्जनशील प्राणी हुनाले उसले गर्ने श्रमकार्यमार्फत कला–साहित्यको उत्पत्ति भएको हो भन्नेमा कुनै विमति छैन । यस तात्पर्यमा कला–साहित्यको सर्जक मानव, साहित्यको विषय मानव श्रम, साहित्यको पाठक वा भोक्ता पनि मानव नै भएपछि साहित्य भन्नु मानवीय वस्तु हो, मानवीय सिर्जना हो । वस्तुतः मानवीय क्रिया, मानवीय आवश्यकताका साथै मानवको भविष्य प्राप्तिको अभिव्यञ्जना पनि कला–साहित्य नै हो । तसर्थ आदिम युगदेखिको मानव जातिले गरेको विकास, मानवीय चेतनाको आविर्भाव तथा वर्तमानका मानवीय क्रियामा अनुरूक्त भएर भविष्यबोध गर्ने माध्यमका रूपमा सिर्जन प्रक्रियाले प्रभावशाली भूमिका खेल्दै आएको छ । 

  • कला–साहित्य के हो ?

साहित्य के हो भन्नेबारे पूर्वीय र पाश्चात्य परम्परामा प्रशस्त बहस, विमर्श अनि छलफल हुँदै आएका छन् । १९औँ शताब्दीको आरम्भसँगै मार्क्सवादी दर्शन तथा चिन्तनका कोणबाट कला–साहित्यका बारेमा बहस वा विमर्श हुँदै आएका छन् र अद्यापि त्यो प्रक्रिया निरन्तर चलिरहेको छ ।

साहित्यले गर्ने कार्य तीनवटा हुन्छन् : संज्ञानात्मक (सत्यम्) सङ्कल्पात्मक (शिवं) र सौन्दर्यात्मक (सुन्दरम्) । यी तीनवटै तत्त्व कार्यको एकत्व साहित्यमा अपरिहार्य हुन्छ ।

यस आलेखका सन्दर्भमा त्यस प्रकारको बहस चलाउन खोजिएको होइन । यहाँ त कला–साहित्यमा अन्तर्निहित सौन्दर्यको चर्चासँगै साहित्यको सिर्जना किन गरिन्छ, साहित्यको विषयवस्तु के हुन सक्छ, साहित्यको सिर्जना कसरी गरिन्छ भन्ने सम्बन्धमा थोरै परिचर्चा गर्न खोजिएको छ । यससँगै साहित्यको भूमिकाका बारेमा पनि सान्दर्भिक चर्चा गरिएको छ । यसका निम्ति साहित्य के हो भन्ने प्रश्नको उत्तरबाट छलफल अघि बढाउँदा उपयुक्त होला भन्ने लाग्छ । ‘कला विम्बका माध्यमबाट पाठकसँग गरिने भङ्गीपूर्ण संवाद साहित्य हो जसमा जीवन यथार्थको प्रत्यङ्कनका साथै भविष्यका स्वप्नको प्रतिविम्बन हुन्छ ।’ यो कुनै सर्वमान्य परिभाषा होइन, यो त यस पङ्क्तिकारको धारणा हो र विषयको उठानका सन्दर्भमा पृष्ठभूमिस्वरूप प्रस्तुत विचार हो । यसर्थ यसै धारणामा टेकेर साहित्यका बारेमा बहस/विमर्श गर्न सकिने आधार प्राप्त हुन सक्छन् भन्ने मेरो बुझाइ हो । 

माथि प्रस्तुत गरिएको विचार/कथनमा ६ वटा पक्षतर्फ सङ्केत भएको पाइन्छ । पहिलो, साहित्य कला–विम्बका माध्यमबाट सिर्जना गरिन्छ, यसको तात्पर्य होे कला–साहित्यमा सौन्दर्य पक्ष अनिवार्यतः अन्तर्निहित हुन्छ । दोस्रो, कला–साहित्यको प्रस्तुति दर्शन, राजनीति, इतिहासमा जस्तो सरल सपाट नभई भङ्गीपूर्ण हुन्छ, विशिष्ट प्रकारको शैलीमा लेखिन्छ । तेस्रो, साहित्य भनेको पाठकीय वस्तु हो, पाठकीय निधि हो, त्यसैले पाठकको आवश्यकता र रुचिअनुरूप लेखिन्छ । चौथो, कला–साहित्यको विषयवस्तु भनेको यही जीवन–जगत् हो, यसका गतिशील पक्षको प्रत्यङ्कन साहित्यमा हुन्छ । पाँचौँ, कला–साहित्यमार्फत जीवन यथार्थ मात्र होइन भविष्यका स्वप्न अर्थात् आकाङ्क्षाको प्रतिविम्बन हुन्छ । छैठौँ, कला–साहित्य भन्नु जीवनजगत्को फोटोकपी नभई पुनः सिर्जन हो । अतः यिनै आधार खोज्न वा निरूपण गर्न सकिन्छ । 

  • सुन्दर के हो ? 

झट्ट हेर्दा सरल लागे पनि यो गम्भीर प्रश्न हो । सुन्दर आँखाका लागि हो वा भोग्नका लागि हो । सुन्दरलाई बुझ्ने सन्दर्भमा समान धारणा पाइन्नन् । सुन्दर भन्नु एक प्रकारको आनन्दपरक अनुभूति हो, सुन्दर सधैँ आह्लादक हुन्छ, यो सबैले स्वीकार गर्ने पक्ष हो, तर सुन्दर वस्तुलाई ठम्याउने चेत, सुन्दरको स्रोतलाई ठम्याउने चेत भने सबैको समान हुँदैन । नहुनुको खास कारण भनेको सुन्दर उपयोगी वस्तु हो, उपयोग गर्ने रुचि, चिन्तन अनि सामथ्र्यका आधारमा सुन्दरलाई हेर्ने दृष्टि फरक–फरक हुन्छ । 

कारखानामा काम गर्ने मजदुर तथा उसलाई खटनपटन गर्ने मालिक सबैलाई समान रूपमा सुन्दर लाग्दैनन् । त्यस्तै, तपतपी नाकबाट पसिना चुहाउँदै यात्रा गरिरहेको भरिया र बगैँचामा नाचिरहेकी सुन्दरी सबैलाई समान रूपमा सुन्दर लाग्दैनन् । एकथरीलाई कारखानाको मालिक र बगैँचामा नाचिरहेकी सुन्दरी सुन्दर लाग्छ भने अर्काथरीलाई मजदुर र भरिया सुन्दर लाग्छ, फरक कति मात्र हो भने मालिक सुन्दरीलाई सुन्दर देख्ने अत्यन्त न्यून सङ्ख्यामा हुन्छन् भने मजदुर र भरियालाई सुन्दर देख्नेको सङ्ख्या अधिक हुन्छ । यो भनेको दृष्टिभेद हो र वर्गीय दृष्टि पनि हो । वर्गीय विभेद तथा दृष्टि भेदका कारण सुन्दर पनि फरक–फरक हुन्छन् र सुन्दरको परिभाषा पनि फरक–फरक हुन्छन् । त्यसैले प्रस्ट रूपमा बुझिने कुरा के हो भने सुन्दरको स्रोत श्रम हो, श्रमजन्य क्रिया हो । 

खासमा वर्तमानको कुरूप शासन व्यवस्था, समाज व्यवस्था तथा वर्गीय सामाजिक संरचनात्मक व्यवस्थाको अन्त्य गरेर समतामूलक समाज व्यवस्था, शासन व्यवस्था, आर्थिक अवस्थाको उपस्थापन अर्थात् सुन्दर समाजको निर्माणका खातिर गरिने चिन्तन नै सौन्दर्य चिन्तन हो । त्यस्तै, शास्त्र सुन्दरको उपस्थापनका लागि हुनुपर्छ न कि कुरूप वर्तमानको महिमागान गाउनलाई । तसर्थ सुन्दरलाई हेर्ने ठम्याउने होस् वा सुन्दर शास्त्रलाई ठम्याउने सन्दर्भमा होस्, हाम्रा सामु दुई दृष्टिकोण विद्यमान छन् । ती दुई दृष्टिकोण भनेका भाववादी र भौतिकवादी दृष्टिकोण हुन् । भाववादी दृष्टिकोणले अहिले विरूप एवं वितण्डा सामाजिक परिपाटीलाई नै सुन्दर देख्छ र यसको महिमामण्डन गर्छ भने भौतिकवादी दृष्टिकोणले वर्तमानको शासनसत्ता र समाज व्यवस्थालाई कुरूप देख्छ र यसको विस्थापन गरेर सुन्दर शासनसत्ता र समाज व्यवस्थाको उपस्थापनमा जोड दिन्छ ।

स्रष्टामा विद्यमान विचारभेद वा दृष्टिभेदका कारण एउटै घटना वा परिघटना वा परिघटनालाई फरक–फरक कोणबाट प्रस्तुत गर्ने गरिन्छ । जस्तो : जनयुद्ध नेपालको इतिहासमा वर्ग सङ्घर्षको उच्च उदात्त रूप थियो । त्यसलाई एकथरी स्रष्टाले खुलेर प्रशंसा गरेको पाइन्छ भने अर्को थरीले त्यसमा आतङ्क मात्र देखे ।

यसै मान्यताअनुरूप मौलिकवादी वा मार्क्सवादी चिन्तन र सिर्जन विधिअनुरूप परिवर्तनको आकाङ्क्षा राखेर लेखिएका रचना सुन्दर हुन्छन् र तिनले सुन्दर भविष्यको पक्षपोषण गर्छन् । हाम्रो चाहना भनेकोे हाम्रा सिर्जना, हाम्रा कृति सुन्दर होउन् र ती समाजका निधि बनुन् भन्ने हुन्छ, यसो हुनु स्वाभाविक पनि छ । यस निम्ति हाम्रो दायित्व भनेको सुन्दरलाई ठम्याउनु हो, सुन्दरलाई आत्मसात् गर्नु हो र सोहीअनुरूप आफूलाई सिर्जनामा सक्रिय बनाउनु हो । त्यस निम्ति हाम्रा सिर्जना सुन्दर समाजको उपस्थापन गर्ने ध्येयबाट अनुप्रेरित हुनुुपर्छ र वर्तमानको कुरूप समाज व्यवस्थाको कारणसहित आलोचना हुन आवश्यक छ । 

जीवनलाई सुन्दर बनाउने ध्येयबाट सिर्जना गरिएका रचना सुन्दर हुन्छन् । सुन्दरको दायरा निकै फराकिलो छ, यसले मानव समाज र वैश्विक परिवेशका समग्र पक्षमा हस्तक्षेप गर्छ । त्यो हस्तक्षेप भनेको कुरूपताका विरुद्धको हस्तक्षेप हो । सुन्दर र कुरूपलाई ठम्याउने आधार भौतिकवाद वा मार्क्सवादबाट मात्र प्राप्त गर्न सकिन्छ । अन्य आधारबाट कुरूप वा सुन्दरको बिचको भेद खुट्ट्याउनु भनेको दुस्साहस मात्र हो, कुहिराको कागजस्तै बन्नु हो । मार्क्सवादी जीवनदृष्टि र सिर्जन विधि अपनाउन सक्छौ र उद्देश्य प्राप्तितर्फ अघि बढ्न सक्छौँ । 

  • सुन्दर विषयवस्तुको चयन 

हाम्रो ध्येय सुन्दरको उपस्थापन खातिर सुन्दर सिर्जना पाठकमा पस्कनु हो वा हुनुपर्छ भने त्यसले स्वाभाविक रूपमा सुन्दर विषयवस्तुको माग गर्छ । सिर्जनामा सुन्दर विषयवस्तुको चयनले पाठकीय रुचिलाई समेत सम्बोधन गर्छ । साहित्य भन्नु पाठकसँग गरिने गम्भीर प्रकृतिको संवाद हुनाले पनि पाठकीय रुचिलाई ध्यानमा राखेर विषयको चयन गर्नु बढी प्रभावकारी मानिन्छ । विषयको चयन गर्दा त्यसको प्रभावकारितामा ध्यान पुर्‍याउन आवश्यक छ । समाजमा वर्ग सङ्घर्ष चलिरहेका समयमा स्रष्टालाई विषयको कमी हुन्न तर वर्ग सङ्घर्ष कमजोर हुँदा विषयवस्तुको चयनमा पनि समस्या हुने गर्छ । यसको तात्पर्य लेख्नका लागि विषय नै छैन वा हुँदैन भन्ने होइन । बरु चयनको समस्या हुन सक्छ, विषयको सङ्कट हुँदैन । स्रष्टा आफू क्रियाशील रहेको सामाजिक परिवेशमा अनगिन्ती विषय छन् । ती अनगिन्ती विषयमध्ये सर्वाधिक प्रभावकारी एवं प्रतिनिधि विषयको चयनमा स्रष्टा चनाखो हुन आवश्यक छ । 

हिजोको नेपाली समाजको परिवेश र आजको नेपाली समाजको परिवेश उही र उस्तै छैन, सामाजिक जीवनमा परिवर्तन भएका छन् । हिजोका दिनमा रोजीरोटी वा रोजगारीका समस्याले सीमित सङ्ख्याका नेपाली छिमेकी मुलुक भारतमा (नेपालभर पैदल र भारतमा पुगेर रेल चढेर) जाने गर्थे, परिवारजनमा खासै विस्मात हुँदैनथ्यो । आजका दिनमा लाखौँको सङ्ख्यामा नेपाली युवायुवती प्लेन चढेर जाँदा पनि परिवारजनमा विस्मात छ, विदेश गएको छोरो/छोरी फर्केर सग्लै आउला कि बाकसमा कैद भएर आउला भन्ने चिन्ता छ । मुलुकमा भ्रष्टाचार व्याप्त छ, गरिबी अभाव र महँगीको माथ चढेको छ । सबै प्रकारका समस्यामा सरकार मूकदर्शक र मौन त छ नै थप बिदेसिएका अभागीबाट प्राप्त हुने रेमिट्यान्सको आसमा मुख मिठाएर बसेको छ । सरकारको कमी छैन, काठमाडौँदेखि गाउँघरसम्म सरकारै सरकार छन् तर जनताका समस्यादेखि सबै सरकार बेखबर छन्, उदासीन छन् । जनताका सामु विसङ्गति र वितण्डा प्रवृत्तिको डङ्गुर छ । 

साहित्य सिर्जनामा प्रारूपीकरण भनेको युगको नयाँ यथार्थ र चेतना अनुरूप विचार, कथ्य, कथानक, पात्र, विषयवस्तु, परिवेश आदिको प्रतिनिधिमूलक एवं विश्वसनीय चयनको व्यवस्था हो ।

आज नेपाली समाजका सामु अनगिन्ती समस्या छन्, तिनै समस्या सिर्जनाका विषय बन्न सक्छन् । मूलतः वर्गीय समस्या नै अहिलेको जल्दोबल्दो समस्या हो । सिङ्गो राज्यसत्ता, संयन्त्र र सरकार दलाल पुँजीपति वर्गको कब्जामा छ । दलाल पुँजीपति वर्गको ध्येय मुनाफा कमाउनुमा छ, सरकारको धैर्य चुनावदेखि चुनावसम्म मात्र भएपछि आम जनताको बिचल्ली छ । अर्को समस्या भनेको पितृसत्तात्मक राज्य व्यवस्थामा विद्यमान लिङ्गीय समस्या हो । आधाभन्दा बढी हिस्सामा रहेका महिलामाथिको उत्पीडन यथावत् छ, समावेशी व्यवस्था नाम मात्रको छ र अझै पनि महिलाहरू अवसर र अधिकारबाट वञ्चित छन् । त्यस्तै अर्को समस्या भनेको जातीय व्यवस्थाको समस्या हो । जातीयताका नाममा कुशल शिल्पीहरू, कलाका कालीगडहरूमाथिको दमन यथावत् छ । त्यसरी नै प्रत्यक्ष वा परोक्ष रूपमा नेपाली समाज विदेशी हरूतक्षेपबाट पनि आक्रान्त छ । यी भनेका सिर्जन सामग्री हुन् र सिर्जना विषय हुन् । 

साहित्य सिर्जनाका लागि विषयको अभाव छैन, विषय छरप्रस्टै छन् । समस्या भनेको विषय चयनको र विषयको उदात्तीकरणको हो । विषयको उपयुक्त चयन गरिसकेपछि त्यसको उदात्तीकरण गर्ने कुरो निकै महत्त्वको मानिन्छ । प्रतिनिधि विषय तथा यथार्थको चयन त गरियो तर त्यसको उदात्तीकरण गर्न सकिएन वा गरिएन भने सिर्जनाको उद्देश्यसम्म पुग्न सकिन्न । कला–साहित्य भन्नु सामाजिक वस्तु हो । यसको समाजसित गहिरो सम्बन्ध रहन्छ । स्रष्टा स्वयं पनि समाजको सचेत वर्ग हुनाले सामाजिक जीवनका यावत् घटना प्रक्रियासँग ऊ प्रत्यक्ष परोक्ष रूपमा जोडिएको हुन्छ । त्यसो हुँदा पनि एउटा स्रष्टाले विषयको चयन र त्यसको उदात्तीकरणमा राम्रो सीप देखाउन सक्छ । 

  • सिर्जनको ध्येय 

यो विषय कला–साहित्य किन भन्ने प्रश्नसित सम्बन्धित छ । साहित्य सिर्जना किन गर्ने ? गर्दा के हुन्छ ? नगर्दा के हुन्छ ? हो, नगर्दा केही हुन्न तर आफूभित्र अन्तर्निहित प्रतिभा, क्षमता र सीपलाई गुमराहमा पारिन्छ । आफू सक्षम हुँदाहुँदै पनि अक्षममा दरिन्छ र सामाजिक उत्तरदायित्वबाट विमुख भइन्छ । साहित्य सिर्जना गर्दा सामाजिक कर्म, सत्कर्म, सिर्जनशील कर्म गरिन्छ अनि समाजका प्रति उत्तरदायी बनिन्छ । त्यति मात्र होइन आफूभित्र सुषुप्त अवस्थामा विद्यमान प्रतिभालाई बाह्य प्रकटीकरणको अवसर दिइन्छ, र साहित्यमार्फत भविष्य पछ्याउने कार्यमा सरिक भइन्छ र एउटा जिम्मेवार व्यक्तिको हैसियत प्राप्त गरिन्छ । 

अब सवाल उठ्छ, साहित्य सिर्जना किन गर्ने ? यस प्रकारको जिज्ञासा नितान्त नयाँ भने होइन । सिर्जना किन भन्ने सवाल कला–साहित्यको उद्देश्य वा प्रयोजनसित सम्बन्धित छ । आरम्भदेखि नै यसबारे विचार–विमर्श हुँदै आएका छन् र पछिसम्म भइरहन्छन् । साहित्य किन लेख्ने वा साहित्यको उद्देश्य के हो भन्ने सम्बन्धमा तीनवटा धारणा निकै चर्चामा आइरहन्छन्— १) स्वान्त सुखायका लागि । २) सर्वजन हितायका लागि । ३) बहुजन हितायका लागि । 

सिर्जनाको उद्देश्य स्वान्त सुखाय अवश्य हो तर त्यति मात्र होइन; सिर्जना गर्दै गर्दा वा सिर्जना पाठकमा पस्किसकेपछि स्रष्टाले आत्मिक आनन्द प्राप्त गर्नुमा दुई मत हुन सक्दैन, यद्यपि सिर्जनाको मुख्य ध्येय भनेको सामाजिक उत्तरदायित्व हो । आत्मिक आनन्द मात्र ठानियो भने सिर्जना समाज विमुख बन्न पुग्छ । दोस्रो, सिर्जनाको ध्येय सर्वजन हिताय भनिए पनि हाम्रोजस्तो वर्गीय समाजमा साहित्यले सबैको हित गर्न सक्दैन । साहित्यले या त सर्वहारा वर्गको हित गर्छ या अभिजात वर्गको । त्यसैले यो भनेको फन्टुस तर्क मात्र हो । बरु साहित्य सिर्जनाको मुख्य उद्देश्य भन्नु बहुजन हिताय नै हो । यो भनेको मार्क्सवादसम्मत धारणा हो । अर्थात् हामीले गर्ने सिर्जना बहुसङ्ख्यक उत्पीडित जनताको पक्षमा हुन्छ र त्यही उत्पीडित वर्गको उन्मुक्तिको स्वर साहित्यमार्फत मुखारित भएको हुन्छ । 

स्रष्टामा निहित सुन्दर विचार तथा सौन्दर्यबोधी चेतना, सुन्दर विषयवस्तुको चयन, भविष्यका सुन्दर स्वप्नको अभिव्यञ्जना, विधा सिद्धान्तको आधारभूत ज्ञान, सुन्दर प्रारूपीकरण तथा विम्बात्मक एवं प्रतीकात्मक प्रस्तुतिले सिर्जना सुन्दर बन्छ र स्रष्टाको अभीष्ट पनि पूरा हुन्छ ।

सिर्जनामार्फत समाज युग जीवनको यथार्थको प्रत्यङ्कन हुन्छ । यथार्थको प्रत्यङ्कन वा पुनः सिर्जनसँगै भविष्यका स्वप्नको प्रतिविम्बन कला–साहित्यमा हुन्छ । खासमा भविष्यका स्वप्नको प्रतिविम्बन साहित्यमा भएन भने सिर्जनाको ध्येय प्रष्ट हुन्न । वस्तुतः सिर्जनामार्फत भविष्य प्राप्तिको चेष्टा हुनु पनि कला–साहित्यको अभीष्ट मानिन्छ । 

साहित्यले जीवन जगत्का समग्र पक्षको भव्यतर चित्रण गर्छ र गर्नुपर्छ, यो मार्क्सवादी साहित्यको अभिलक्षण पनि हो । यसको तात्पर्य हो— उत्पीडित वर्गको, वर्ग सङ्घर्षको र भविष्यको प्राप्तिका गतिविधिको भव्यतर चित्रण कला–साहित्यमार्फत हुने गर्छ । कला–साहित्यले भविष्यका स्वप्नको प्रतिविम्बन गर्नुको तात्पर्य वर्तमानका कुरूपताको कटु आलोचना पनि गर्नु हो । यी दुवै कार्य साहित्यले एक साथ गरिरहेको हुन्छ । मार्क्सले संसारको व्याख्या मात्र गरेर नपुग्ने उल्लेख गरेका छन् । उनले भनेका छन् : आजसम्म सबैले संसारको व्याख्या मात्र गरेका छन्, मुख्य कुरा यसलाई बदल्नु हो । दार्शनिक कोणबाट प्रस्तुत मार्क्सको भनाइजस्तै कला–साहित्यको ध्येय पनि समाजलाई बदल्नु हो, समाज रूपान्तरणका प्रक्रियामा सघाउनु हो । 

आज आम जनमानसमा चरम निराशा छ, आत्ममुखी प्रवृत्तिको विकास भएको छ र मान्छे पलायन बन्दै गइरहेको छ । युवा शक्तिको पलायनले परिवार विघटनको सञ्चारमा पुग्दै छ । परिवारभित्र एक प्रकारको रूवावासी छ र छटपटाहट छ । मान्छेमा बढोत्तरी आउँदै गरेको अन्तर्मुखी, निराशावादी एवं पलायनमुखी स्वभावका कारण सामाजिक सम्बन्ध नै खलबलिएको छ । जनजीवनको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको छ । यस प्रकारको दयनीय अवस्थाप्रति बढी संवेदनशील हुनुु तथा यसको प्रत्यङ्कन हुनु पनि कला–साहित्यको दायित्व नै हो । स्रष्टाको दृष्टि त्यहाँसम्म पुग्नु आवश्यक छ, जहाँ वितण्डा प्रवृत्ति संस्कृति मौलाएको छ । स्रष्टाको धर्म भनेको समस्याबाट भाग्ने वा पन्छने होइन, बरु कारणसहित समाधान खोज्नु ध्येयबाट स्रष्टा अनुप्रेरित हुनु आवश्यक छ । अझ यसो भन्नु उपयुक्त होला, कुरूप वर्तमानको विस्थापन गर्दै सुन्दर भविष्य पछ्याउने ध्येय स्रष्टा/सर्जकमा हुनुपर्छ । वस्तुतः कला–साहित्यको ध्येय समाज रूपान्तरणमा सहयोेग पुर्‍याउनु हो र सुन्दर भविष्य निर्माणको दिशातिर समाजलाई उत्प्रेरित गर्नु हो ।

  • सुन्दर सिर्जना/कलात्मक विधि 

कुरूपबाट सुन्दरको निर्माण हुनु सम्भव छैन । यसको तात्पर्य कुरूपलाई सुन्दरमा रूपान्तरण गर्न सकिन्न भन्ने होइन । त्यही भएर हामी वर्तमानका कुरूपताको अन्त्य र सुन्दरको आमन्त्रण गरिरहेका हुन्छौँ । हामी हरदम सुन्दरको पक्षमा हुन्छौँ, सुन्दर सिर्जनाको पक्षमा हुन्छौँ । हामी कोही पनि कुरूपताका पक्षमा छैनौँ । सुन्दर सिर्जना वा सुन्दर रचना कसरी लेखिन्छ ? पाठकको नजरमा परिन्छ भन्ने चिन्ता हामी सबैमा हुन्छ, तर चिन्ताले मात्र हुँदैन, यो कटु सत्य हो, यथार्थ नै हो । बरु अपरिहार्य कुरा भनेको चिन्तन हो, चिन्ता होइन, आज्ञा हो निराशा होइन, दृष्टिकोण हो, दृष्टिदोष होइन । 

सकारात्मक सोचका साथ चिन्तन गर्ने बानीले नै मानिसलाई महान् बनाउँछ, पूजनीय बनाउँछ । महान् बनेका हुन्, चिन्ताले होइन । त्यसैले सुन्दर विचार, सुन्दर रचनाशिल्प, सुन्दर विषयवस्तु, सुन्दर शैली, सुन्दर चेतना, सुन्दर भविष्य, सुन्दर योजना कहाँबाट कसरी प्राप्त हुन्छ भन्ने गम्भीर प्रकृतिको चिन्तनले नै सुन्दर सिर्जना गर्न सकिन्छ । सिर्जनाका सन्दर्भमा सुन्दर साध्य पनि हो र साधन पनि हो । सुन्दरको प्राप्तिका लागि माध्यम/साधन पनि सुन्दर नै चाहिन्छ, कुरूप वा विरूप माध्यमबाट सुन्दरको प्राप्ति हुन्न । तसर्थ सुन्दर सिर्जना कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा यहाँ तथ्यहरूलाई बुँदागत रूपमा प्रस्तुत गर्नु उपयुक्त हुन्छ । 

१)  स्रष्टामा निहित सुन्दर विचार 

साहित्य सिर्जना गर्नु भनेको सामाजिक कार्यका साथै विचारधारात्मक कार्य पनि हो, वैचारिक कर्म हो । समानान्तर धारा (यथास्थितिवादी धारा) का सर्जकहरू विचारको कुरा गर्दैनन् । विचारको कुरा गर्दा कतै मार्क्सवादी पो भइन्छ कि भन्ने त्रास उनीहरूमा देखिन्छ । विचारको कुरा गर्दा पुरातन मक्किएको विचार होइन अधुनातन वैज्ञानिक विचार हो । जब हामी सुन्दर विचारको कुरा गरिरहेका छौँ भने त्यो सौन्दर्य वैज्ञानिक विचारबाट मात्र प्राप्त गर्न सकिन्छ । 

साहित्य सिर्जना गर्नु भनेको वैचारिक कार्य हो, सामाजिक कार्य हो र उत्तरदायित्वपूर्ण कार्य हो । त्यस्तो कार्यका लागि कोरा विचारले मात्र पुग्दैन बरु उदात्त विचार र परिवर्तनधर्मी विचारबाट स्रष्टा परितोषित हुन आवश्यक छ । साहित्यले गर्ने कार्य तीनवटा हुन्छन् : संज्ञानात्मक (सत्यम्) सङ्कल्पात्मक (शिवं) र सौन्दर्यात्मक (सुन्दरम्) । यी तीनवटै तत्त्व कार्यको एकत्व साहित्यमा अपरिहार्य हुन्छ । संज्ञानात्मकको तात्पर्य साहित्यमार्फत सम्प्रेषण हुने ज्ञान चेतना हो, सङ्कल्पात्मकको तात्पर्य परिवर्तन वा भविष्यको स्वप्न हरे भने सौन्दर्यात्मकको तात्पर्य रूप सौन्दर्य हो । 

साहित्यमा यी तीनवटै पक्षकोे विशिष्ट एकत्व अपरिहार्य भनिन्छ । अतः जुन स्रष्टा उन्नत विचारले ओतप्रोत छ, उसले आफ्ना सिर्जनामा यी तीनै पक्षलाई एकसाथ समाहित गर्छ, यिनको संश्लेषण एवं सामान्यीकरण गर्छ । स्रष्टामा विद्यमान विचारभेद वा दृष्टिभेदका कारण एउटै घटना वा परिघटना वा परिघटनालाई फरक–फरक कोणबाट प्रस्तुत गर्ने गरिन्छ । जस्तो : जनयुद्ध नेपालको इतिहासमा वर्ग सङ्घर्षको उच्च उदात्त रूप थियो । त्यसलाई एकथरी स्रष्टाले खुलेर प्रशंसा गरेको पाइन्छ भने अर्को थरीले त्यसमा आतङ्क मात्र देखे । यो भनेको विचारमा रहेको भिन्नता हो । खासमा यथास्थितिवादी सोच र परिवर्तन कार्य सोचका बिचको भिन्नता हो । 

२) सौन्दर्यबोधी चेतना 

विचार सुन्दर भएर मात्र पुग्दैन, सिर्जनाका लागि स्रष्टामा सौन्दर्यबोधी चेतना अपरिहार्य मानिन्छ । उन्नत विचार जोसुकैमा पनि हुन सक्छ तर सौन्दर्यबोधी चेतना र सिर्जनात्मक गुण सबैमा हुँदैन । अर्थात् सुन्दर र कुरूपलाई ठम्याउन सक्ने चेत स्रष्टामा हुन आवश्यक छ । त्यसो भयो भने मात्र उसले कुरूपको विस्थापन तथा सुन्दरको उपस्थापनका पक्षमा सिर्जनारत रहन्छ । सुन्दरको तात्पर्य रूप सौन्दर्य मात्र होइन । अर्थात् सुन्दर अन्तर्यमा पनि विद्यमान हुन्छ । अझ मार्कसवादीहरूले रूप सौन्दर्यभन्दा वस्तु सौन्दर्य वा त्यसको अन्तर्यमा विशेष जोड दिन्छन् । यसै तात्पर्यमा साहित्यमा विद्यमान अन्तर्वस्तु र रूपलाई एकअर्काका अभेद्य अङ्गका रूपमा व्याख्या गर्ने गरिएको छ । 

मार्क्सवादी सौन्दर्य चिन्तकहरूले कला–साहित्यको मूल्य निरूपण गर्दा अन्तर्वस्तु र रूपलाई महत्त्व दिँदै आएका छन् । सौन्दर्यबोध प्राप्त गरेको स्रष्टाले मात्र अन्तर्वस्तु र रूपको सन्तुलित विन्यास कला–साहित्यमा गर्न सक्छ । 

सुन्दरको बोध गर्न वा सौन्दर्यबोध गर्न धेरै टाढा जानुपर्दैन । आफ्नै वरिपरि सुन्दर कुरूपका दृष्टान्त फेला पर्न सक्छन् । मूल कुरा स्रष्टाले प्राप्त गरेको जीवनदृष्टि हो । स्रष्टाले जे–जस्तो जीवनदृष्टि प्राप्त गरेको छ, त्यसै आधारमा वस्तुको सौन्दर्य पक्षलाई ठम्याउने गर्छ । खासमा सुन्दरलाई उपयोगिताका आधारमा बुझ्न सकिन्छ । जुन वस्तु बढी उपयोगी हुन्छ, लाभदायक हुन्छ, त्यही बढी सुन्दर हुन्छ । सुन्दरलाई ठम्याउन र आफ्ना अनुभूतिका रूपमा तिनको सङ्कलन गर्न र कलाविम्बमा रूपान्तरण गर्न सक्नु नै स्रष्टाको सफलता अन्तर्निहित हुन्छ । 

३) सुन्दर विषयवस्तुको चयन 

सिर्जन कार्यका सन्दर्भमा विषयवस्तु अनिवार्य उपकरण हो । अर्थात् विषयविना लेखन वा सिर्जनकार्य नै हुन्न, सम्भव छैन । विषयवस्तु बारेको चर्चा माथि पनि भइसकेको छ । 

नेपाली समाज र सामाजिक, राजनीतिक एवं सांस्कृतिक परिवेशका सन्दर्भमा लेखन तथा सिर्जनका लागि विषयको अभाव त छैन तर सुन्दर विषयवस्तुको चयनमा समस्या हुन सक्छ । 

समाजमा विद्यमान विषयवस्तुका अनेकौँ पक्षमध्ये प्रतिनिधि विषयको चयन स्रष्टाले गर्नुपर्छ । रुसी लेखक म्याक्सिम गोर्कीले प्रतिनिधि विषयवस्तु, प्रतिनिधि पात्र तथा प्रतिनिधि परिवेशको चयनमा विशेष चासो देखाएका छन् । समाजको टड्कारो विषयमा स्रष्टाको ध्यान पुग्न आवश्यक छ । प्रतिनिधि विषयवस्तुको चयनले मात्र पनि पुग्दैन, विषयको उदात्तीकरण गर्ने सवाल धेरै महत्त्वको हुन्छ । अर्थात् विषयलाई समाज रूपान्तरणको प्रक्रिया अनुरूप ढाल्न सक्दा नै त्यसले सार्थकता पाउन सक्छ । 

समाजमा व्याप्त रूढि, अन्धविश्वास, शोषण उत्पीडनका साथै वैयक्तिक कुण्ठा, यौनाशक्ति, निराशा, पलायन, छाडा प्रेम, अराजकताजस्ता पक्ष पनि लेखनका विषय बन्न सक्छन्, स्रष्टाका सिर्जन सामग्री बन्न सक्छन् । मुख्य सवाल भनेको यी यस्ता पक्षको कटु आलोचनासँगै तिनको चित्रण सिर्जनामा हुनुपर्छ । पचास र साठीको दशकभर जनयुद्ध सम्बद्ध प्रक्रिया र घटनाको प्रतिविम्बन सिर्जनामा प्रशस्त भयो । पछिल्लो समयको सिर्जन प्रक्रियामा केही धुमिलपन देखिएको छ, तापनि त्यसलाई चिर्दै अघि बढ्नुको विकल्प छैन । भविषयका स्वप्नलाई पछ्याउनुको विकल्प छैन ।

४) सुन्दर स्वप्नको अभिव्यञ्जना 

महान् दार्शनिक लेलिनले भनेका छन् : ‘हामीले सपना देख्नुपर्छ ।’ झट्ट हेर्दा यो भनाइ अति सामान्य लाग्न सक्छ, तर यसको अन्तर्यमा गूढ अर्थ लुकेको छ । अभिधाका तहमा सामान्य सपना मात्र बुझिए पनि यसको लाक्षणिक अर्थ भने भविष्य प्राप्तिसित सम्बन्धित छ । अर्थात् सुन्दर भविष्यतर्फ यसले सङ्केत गरेको छ । मानिसलाई लक्ष्य प्राप्ति वा भविष्य प्राप्तितर्फ उद्यत गराउने मुख्य कारक भनेको उसले अवलम्बन गरेको लक्ष्य वा सपना नै हो । जसले सपना देख्दैन, उसले जीवनमा गरिखान सक्दैन, ऊ त मुर्दातुल्य बनेर जिउने मात्र हो । अर्थात् हामीले सपना देख्नु आवश्यक छ । हामीले देख्ने गरेको सपनाले सुन्दर भविष्य पछ्याउनुपर्छ । कुरूप वर्तमानबाट छुटकारा पाउने एक मात्र विकल्प भनेको सुन्दर भविष्यको जपना हो । 

अब प्रश्न उठ्न सक्छ सपना देखेर मात्र पुग्छ त ? पुग्दैन । त्यस निम्ति प्राप्तिको चाह पनि राख्नु आवश्यक छ । अर्थात् एउटा कुशल स्रष्टाले आफ्नो सिर्जनामार्फत आम पाठकमा आशा र भरोसाको मार्गप्रशस्त गर्न आवश्यक छ । भविष्यप्रति आशावादी भएर कर्ममा लीन हुन सक्नु नै सुन्दर भविष्य पछ्याउने विधि हो । स्रष्टाले सधैँ सपना देख्छ र आफूले देखेको सपनाका बारेमा पाठकसँग निरन्तर संवाद गरिरहन्छ । उसको संवादको माध्यम भने कविता, कथा, उपन्यास, नाटक, निबन्ध आदिमध्ये कुनै पनि हुन सक्छ । स्रष्टाको पाठकसँग संवाद गर्ने कौशल वा खुबी अनुरूप पाठक स्रष्टाका विचारसँग सहमत हुन्छ र ऊ पनि भविष्यप्रति आशावादी बन्दै जान्छ । 

५) विद्या सिद्धान्त 

स्रष्टाले गरेको सिर्जना कुनै न कुनै विद्याअन्तर्गत पर्छ । त्यस्तो कुनै सिर्जना वा लेखनी हुँदैन, जो कुनै न कुनै विद्या अन्तर्गत नसमेटिएको होस् । आजकल उत्तर आधुनिकतावादी लेखक चिन्तकले विद्यामञ्जनको कुरा गरे पनि लेखिसकेपछि कुनै न कुनै विद्याभित्र आफ्नो सिर्जनालाई छिराउने गरेका छन् । जेहोस्, कुनै पनि विद्याभन्दा बाहिर स्वतन्त्र सिर्जन हुन सक्दैन । यस तात्पर्यमा स्रष्टामा थोरै विधागत ज्ञान आवश्यक छ । 

विधा सिद्धान्तको ज्ञान दुई तरिकाबाट प्राप्त गर्न सकिन्छ । पहिलो हो, विधा सिद्धान्तको अध्ययन/पठन गरेर । दोस्रो हो, अग्रज स्रष्टाका मानक वा स्तरीय कृतिको अध्ययन गरेर । विधा सिद्धान्तका बारेमा जानकारी लिने दोस्रो विधि अझ उपयोगी हुन सक्छ । स्तरीय कृति वा रचनाको पठनले हामीलाई भाषा तथा त्यसको प्रस्तुति शैलीका बारेमा थप जानकारी प्राप्त हुन्छ । हामीमध्ये कसैको रुचि गद्य कवितामा छ भने गोपालप्रसाद रिमाल र भूपिका कविता पढ्नु उपयुक्त हुन्छ । त्यस्तै, कसैको रुचि छन्द कविता लेखनमा हुन सक्छ, छ भने छन्द शिल्पको जानकारीका लाथि माधव घिमिरेका कविता पढ्न सकिन्छ । त्यस्तै, हाम्रो रुचि कथा विधामा छ भने मैनाली, पुष्कर शमशेर र बीपीका कथा पढ्नु आवश्यक छ । विधा सिद्धान्त आधारभूत रूपमा उही भए पनि विषयवस्तुको चयन, प्रस्तुति शैली तथा यथार्थको चयन र प्रारूपीकरणका दृष्टिले प्रगतिवादी लेखन र यथास्थितिवादी लेखनका बिचमा बेग्ल्याइँ पाउन सकिन्छ । 

हामी जुन–जुन विधामा कलम चलाउँदै छौँ, तत्तत् विधाको आधाभूत ज्ञान आवश्यक छ । सिर्जनाको तात्पर्य विधा सिर्जना हो, जुन विधा सिर्जना गर्न लागिएको छ, त्यसको विधागत धर्म पूरा हुनैपर्छ । हाम्रा सिर्जनाको नामकरण गरेर मात्र पुग्दैन । नामकरण हामी गर्छौं— कथा, कविता, संस्मरण, निबन्ध, नाटक आदि भनेर । विचारणीय पक्ष भनेको नाम अनुरूपको गुण वा धर्म त्यसमा छ, छैन भन्ने सवाल महत्त्वपूर्ण हुन आउँछ । हाम्रो अपेक्षा सुन्दर सिर्जनाको हो, विधागत धर्म नै पूरा भएन भने सिर्जना सुन्दर बन्दैन । 

६) सुन्दर प्रारूपीकरण 

सामान्यतः सबैजसो विधा सिर्जनामा प्रारूपीकरणको महत्त्वपूर्ण भूमिका रहन्छ । प्रारूपीकरणको तात्पर्य विषयको वा यथार्थको पुनः सिर्जन हो, पुनरुत्पादन हो । प्रारूपीकरणको तात्पर्य विषयवस्तु, पात्र, घटना, परिवेश सबैको रागात्मक एवं कलात्मक पुनः सिर्जन हो । यस तात्पर्यमा सुन्दर सिर्जना वा मार्क्सवादी सिर्जनाका सन्दर्भमा प्रारूपीकरण भन्नु एउटा महत्त्वपूर्ण उपकरण हरे र अभिलक्षण समेत हो । यसलाई अझ यसरी भन्नु उपयुक्त होला । साहित्य सिर्जनामा प्रारूपीकरण भनेको युगको नयाँ यथार्थ र चेतना अनुरूप विचार, कथ्य, कथानक, पात्र, विषयवस्तु, 

परिवेश आदिको प्रतिनिधिमूलक एवं विश्वसनीय चयनको व्यवस्था हो । अर्थात् प्रतिनिधि परिस्थितिमा प्रतिनिधि विषयवस्तु, पात्र तथा घटनाको चयन र प्रतिविम्बन हो । प्रारूपीकरण भनेको पुनः सिर्जनका माध्यमबाट आफ्नो सिर्जनालाई विश्वसनीय बनाउने तरिका पनि हो । प्रारूपित पात्र, परिवेश र घटना अतिरञ्जित नभई सुग सापेक्ष हुन्छन् । आख्यानात्मक विधाको कुरा गर्दा प्रारूपित पात्रहरू पारिजातको ‘अनिदो पहाडसँगै’ उपन्यासका साथै देवमणि ढकालको ‘कालो भूत’, पारिजातको ‘साल्गीको बलात्कृत आँसु’ र कमल निओलको ‘युद्धकालकी आमा’ लगायत कथामा पात्र, घटना, परिवेश र विषयवस्तुको सुन्दर प्रारूप पाउन सकिन्छ । सिर्जनामा भुक्तमान जीवन यथार्थ अनि भविष्यको स्वप्न (आदर्श) को विशिष्ट एकत्वबाट सुन्दर प्रारूपको निर्माण हुन्छ । 

७) विम्बात्मक, प्रतीकात्मक एवं कलात्मक प्रस्तुति 

साहित्य सिर्जना भन्नु जीवन यथार्थको विम्बात्मक प्रतीकात्मक एवं रागात्मक अभिव्यञ्जना हो । जीवन यथार्थलाई यथासम्भव विम्बमा उतार्ने चेष्टा गर्दा र गर्न सक्दा सिर्जना सुन्दर हुन्छ । यसो हुनुको खास कारण हो साहित्य भन्नु विम्बात्मक कला हो । विम्ब यथार्थकै हुन्छ, तर त्यो यथार्थभन्दा बढी रागात्मक एवं आनन्ददायक हुन्छ । झट्ट हेर्दा सामाजिक यथार्थ कठोर हुन्छ । त्यसका तुलनामा साहित्यिक सिर्जना कोमल, ओजपूर्ण र आह्लादक हुन्छ । जीवन यथार्थलाई कुनै विम्बमा टिपेर पाठक सामु प्रस्तुत गर्न सकियो भने त्यो बढीभन्दा बढी प्रभावकारी हुन्छ । सिर्जनामा प्रयोग गरिने विम्ब अलौकिक एवं दुरुह भने हुनु हुँदैन । 

हामी कविता, कथा, उपन्यास, नाटक, निबन्ध आदि सबै विम्बमा भनिने कला हुन् । विम्ब रागात्मक हुन्छ, हुन आवश्यक छ । सुन्दर सोच सुन्दर चेत भएको स्रष्टाले मात्र सुन्दर विम्बको प्रयोग गर्न सक्छ । स्रष्टा गेहराज थापाको ‘साहित्य र समाज’ नामक कृतिभित्र एउटा निबन्ध छ, जसको शीर्षक ‘कुमालकोटीको हाँडी’ रहेको छ । यो गाउँ–समाजमा प्रचलित सुन्दर एवं सरल विम्ब हो । यसमा नेपालको वर्तमान राज्यसत्ता, संसद्, सरकारलाई कुमालकोटीका रूपमा चित्रण गरेर त्यहाँ भित्र छिर्ने क्रान्तिकारीहरू पनि कुमालकोटी नै बन्ने गरेको सजीव दृष्टान्त प्रस्तुत गरिएको छ । यस्तै प्रकार लोकजीवनमा प्रचलित वा हाम्रो दैनिक जीवनमा प्रचलित विम्बको प्रयोग गरेर साहित्यका सबैजसो विधा सिर्जना गर्न सकिन्छ । विम्ब वा प्रतीक बोधाम्य भने अवश्य हुनुपर्छ ।

  • निष्कर्ष

नवीन सिर्जना गर्ने, सिर्जनामा रमाउने रहर सबैलाई हुन्छ, तर त्यस्तो सिद्धि सबैलाई प्राप्त हुँदैन । हामी जो–जसले सिर्जनामा रुचि राख्छौँ, तदनुरूप साधनामा लीन हुन्छौँ र सिर्जनशील बन्ने क्षमता राख्छौँ, हाम्रो ध्येय सुन्दर सिर्जनाका माध्यमबाट पाठक समक्ष प्रस्तुत हुनु हो । यहाँ सिर्जनाको तात्पर्य कला–साहित्य सिर्जना हो भने साहित्य भन्नु कला विम्बका माध्यमबाट पाठकसँग गरिने भङ्गीपूर्ण संवाद हो । साहित्य सिर्जना गर्नु भनेको सामाजिक, सौन्दर्यात्मक एवं वैचारिक कर्म हो । साहित्य सिर्जना मूलतः सुन्दरको उपस्थापनाका खातिर गरिन्छ, त्यो भनेको भविष्यका सुन्दर स्वप्नको आमन्त्रणका लागि गरिने कर्म हो । सिर्जनाका लागि विषयवस्तुको चयनसँगै त्यसको उदात्तीकरण गर्ने प्रक्रिया पनि महत्त्वपूर्ण मानिन्छ । 

कला–साहित्य सिर्जनाको ध्येय आत्मिक आनन्दका साथै बहुजनको हित वा कल्याण हो । साथ सिर्जनाको ध्येय भन्नु आम उत्पीडित जनलाई समाज रूपान्तरणको प्रक्रियामा सहभागी हुन प्रेरित गर्नु हो । भविष्यका स्वप्नको अभिव्यञ्जनासँगै सुन्दर भविष्यको आमन्त्रण गर्नु पनि साहित्यको प्रयोगन हुन आउँछ । सुन्दर सिर्जना कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा स्रष्टा सचेत हुन आवश्यक छ । यसका निम्ति स्रष्टाले अवलम्बन गर्नुपर्ने केही आधारभूत पक्ष छन् । स्रष्टामा निहित सुन्दर विचार तथा सौन्दर्यबोधी चेतना, सुन्दर विषयवस्तुको चयन, भविष्यका सुन्दर स्वप्नको अभिव्यञ्जना, विधा सिद्धान्तको आधारभूत ज्ञान, सुन्दर प्रारूपीकरण तथा विम्बात्मक एवं प्रतीकात्मक प्रस्तुतिले सिर्जना सुन्दर बन्छ र स्रष्टाको अभीष्ट पनि पूरा हुन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा.गोपीन्द्र पौडेल
प्रा.डा.गोपीन्द्र पौडेल
लेखकबाट थप