धवल शमशेरको बयान : कार्यक्रम आयोजक दुर्गा प्रसाईं हुन्, सञ्चालन र खर्च व्यवस्थापनमा मेरो भूमिका छैन

समाचार सारांश
- राप्रपा महामन्त्री धवल शमशेर जबराले तीनकुनेको राजावादी प्रदर्शनबारे बयान दिए।
- जबराविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दा दायर गरिएको छ, जसमा उनको कार्यक्रम व्यवस्थापनमा भूमिका नभएको दाबी छ।
- जबराले आफू हिंसात्मक प्रदर्शनको पक्षमा नरहेको र मञ्चमा आवेशमा उत्तेजित अभिव्यक्ति दिएको स्वीकारेका छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले तीनकुनेमा आयोजनामा गरिएको राजावादीको पक्षको प्रदर्शन दुर्गा प्रसाईंले आयोजना गरेको बयान दिएका छन् ।
उनीविरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । जबरारलाई राज्य विरुद्धको कसूर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसूरमा सजाय हुन मागदावी लिइएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यायलका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।
अधिकार प्राप्त अधिकारीहरुसँगको बयानमा जबराले कार्यक्रमको योजना, व्यवस्थापन, सञ्चालन र खर्च व्यवस्थापनमा आफ्नो भूमिका नभएको जिकिर गरेका छन् । बयानमा उनले भनेका छन्, ‘कार्यक्रमको योजना, व्यवस्थापन, सञ्चालन र खर्च व्यवस्थापनमा मेरो कुनै भूमिका छैन ।’
तीनकुनेको कार्यक्रममा आफू अतिथिको रूपमा मात्र सहभागी भएको उल्लेख गर्दै जबराले भनेका छन्, ‘मौका पाएमा सभालाई सम्बोधन गर्नका लागि सहभागी हुन गएको हुँ ।’
उनले कार्यक्रम आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी नभएको बताउँदै आफू र आफ्नो पार्टी हिंसात्मक प्रदर्शनको पक्षमा नरहेको जिकिर गरेका छन् । मञ्चमा अश्रुग्याँस प्रहारपछि असहज अवस्थामा आवेशमा ‘सङ्घीयता र गणतन्त्र समाप्त पार्ने आजको दिन हो’ भनेर बोलेको उनले बयानमा बताएका छन् ।
उनले बयानमा अगाडि भनेका छन्, ‘सो अभिव्यक्तिको मतलब हिंसा गर वा हिंसाको लागी अगाडि बढ भन्ने बिलकुलै होइन, मेरो अभिव्यक्तिमा निषेधित क्षेत्र तोड्ने र संसद् भवन जाने कुरा छँदा पनि छैन ।’
जबराले मञ्चबाट सहभागीहरूलाई तोडफोड नगर्न आव्हान गरेको समेत उनले बयानमा बताएका छन् । ‘मैले हिंसात्मक गतिविधिको लागि दुरुत्साहन दिएको र राज्य विरुद्धको कसूर गरेको छैन,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस र एमालेको निष्कर्ष : गृहमन्त्रीमाथिको प्रहार जायज छैन
-
वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडकमा कालोपत्रेकाे काम सुरू
-
खानेपानीमन्त्रीले खोजे सरसफाइमा राजनीतिक दलहरूसँग प्रतिबद्धता
-
लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
-
कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित, बजेटका सिद्धान्त र प्राथमिकता पेस
-
गृहमन्त्रीको मात्र होइन प्रधानमन्त्रीको समेत राजीनामा माग्छौँ : ज्ञानेन्द्र शाही