बुधबार, १४ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटनमा ‘शाम्बाला’ प्रदर्शन हुने

मङ्गलबार, १३ जेठ २०८२, १२ : ५८
मङ्गलबार, १३ जेठ २०८२

समाचार सारांश

  • मेरिल्यान्डमा आयोजना हुने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०२५ मा प्रदर्शन हुने चलचित्रहरूको सूची सार्वजनिक गरिएको छ। महोत्सवमा १५ देशका ३१ चलचित्र देखाइनेछ।
  • महोत्सवमा 'शाम्बाला', 'पूजा सर' र 'भुठानः वर्ल्ड हापिस्ट म्यान' जस्ता चर्चित फिल्महरू प्रदर्शन हुनेछन्। उद्घाटन 'शाम्बाला' बाट र समापन 'पूजा सर' बाट हुनेछ।
  • महोत्सवमा फिल्म प्रदर्शनका साथै प्यानल छलफल, मास्टर क्लास र अवार्ड कार्यक्रमहरू पनि हुनेछन्। युवाकर राजकर्णिकार महोत्सवका निर्देशक हुन्।

काठमाडौँ । अमेरिकाको मेरिल्यान्डमा आयोजित ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ मा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । गत वर्ष बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा रहेको मीन बहादुर भामद्वारा निर्देशित ‘शाम्बाला’, गतवर्षकै भेनिस फिल्म फेस्टिवलमा प्रिमियर भएको दीपक रौनियारद्वारा निर्देशित ‘पूजा सर’ (राजागंज) र  अमेरिकाको नेपाली डायस्पोरामा बनेको बिनोद पौडेलद्वारा निर्देशित ‘भुठानः वर्ल्ड हापिस्ट म्यान’ लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुनेछन् । 

जुन महिनाको २६  देखि २९ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदी लगायत १५  देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१  चलचित्रहरू प्रदर्शन हुनेछन् । महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ । चार दिनसम्म चल्ने महोत्सवका चलिचत्रहरू भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ । महोत्सवमा प्रदर्शनका लागि आवेदन परेका मध्येबाट अमेरिका, नेपाल र दक्षिण अफ्रिकाका फिल्मकर्मीहरुको छनोट समितिले चलचित्रहरू छनौट गरेको हो । 

चलचित्र ‘शाम्बाला’को प्रदर्शनबाट एएफआई सिल्भर थियटर जुन २६ तारिक बिहिबार महोत्सवको उद्घाटन हुनेछ । महोत्सवको समापन ‘पूजा सर’ (राजागंज) को प्रदर्शनसंगै जुन २९ तारिक आइतबार सोहि स्थानमा हुनेछ ।  चलचित्र  ‘भुठानः वर्ल्ड हापिस्ट म्यान’ को पनि रेड कार्पेट सहित निर्देशक, कलाकार, निर्माता तथा निर्माण टोलीका सदस्यहरुको विशेष प्रदर्शन हुनेछ । 

ग्लोबल पिस फिल्म फेस्टिवल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जका लिथियम ‘राइजिङ् ः द रेस फोर क्रिटिकल मिनिरल’ र  निर्देशक ओल्ह बर्लान्दिनोको ‘द वार ट्रायल’ गरि दुई चलचित्र प्रदर्शन हुनेछन् । सुबिना श्रेष्ठ निर्देशित अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रशंसा भएको वृत्तचित्र ‘देवी’ र  अन्तर्राष्ट्रिय चर्चित निर्देशक फराह कस्सेम निर्देशित वृत्तचित्र ‘वि आर इनसाइड’ पनि होत्सवमा प्रदर्शन हुनेछन् ।  प्रिन्स जर्ज काउन्टीका स्थानीय निर्देशक चका बलामानीको चलचित्र ‘अ क्रिष्टमस बोनस’ लगायतका चलचित्रहरू डीएमभी–क्लोजअप अन्तर्गत प्रदर्शन हुनेछन् ।  

प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । पुरस्कार छनौटका लागि निर्णायक मण्डलको नाम भने केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । महोत्सव अवधिमा चलचित्र र संस्कृति, प्यानल छलफलका साथै  र चलचित्र निर्माणबारे मास्टर क्लासु पनि हुनेछ । मेरिल्यान्ड राज्यको पाक्र्स तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको छ । 

महोत्सवका निर्देशक युवाकर राजकर्णिकार हुन् । उनले भने, ‘हामीले यो वर्ष पनि यस्ता उत्कृष्ट चलचित्रहरू महोत्सवमा ल्याउन पाउँदा हामी अत्यन्त खुसी छौँ । यी चलचित्रहरूले विभिन्न देशका मानव संस्कृति, संघर्ष, सहअस्तित्व  तथा खुसीको कथाहरुको प्रतिनिधित्व गर्दछन् । यो महोत्सव तपाई हामी सबैको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप