स्वनिर्भर बन्ने कसरी ?
स्वनिर्भर जीवनले त्यस्तो अस्तित्वलाई जनाउँछ जहाँ एक व्यक्ति वा संस्थाले बाह्य सहायतामा धेरै भर नपरीकन आफूलाई टिकाउन सक्छ । यसले आर्थिक स्वतन्त्रता, खाना, आश्रयजस्ता आवश्यक आवश्यकतामा आत्मनिर्भरता र भावनात्मक लचिलोपनसहित विभिन्न पक्ष समेट्छ । यसले स्वायत्तता र निरन्तर बाह्य समर्थनविना प्रभावकारी रूपमा आफ्ना मामिलाहरू व्यवस्थापन गर्ने क्षमतालाई जोड दिन्छ ।
स्वनिर्भरताले सामान्यतया मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यसले आत्मविश्वास, निपुणता र आफ्नो जीवनमा नियन्त्रणको भावनालाई बढावा दिन्छ, जसले द्वन्द्व र चिन्ताको भावनालाई कम गर्न सक्छ । जब मानिसहरू स्वनिर्भर हुन्छन् तब तिनीहरू प्रायः उच्च आत्मसम्मान र हलुकापनको अनुभव गर्छन्, जसले तिनीहरूलाई तनाव र अवरोधसँग सामना गर्न सक्षम बनाउँछ । यद्यपि कर्तव्य पालनाविना अत्यधिक स्वतन्त्रताले कहिलेकाहीँ अराजक भावना निम्त्याउन सक्छ, त्यसैले सन्तुलन महत्त्वपूर्ण हुन्छ । समग्रमा स्वनिर्भर पेसा वा व्यवसायले मानिसलाई स्वस्थ र आत्मविश्वासी मानसिक अवस्थालाई प्रवर्द्धन गर्छ ।
- स्वनिर्भर हुने रणनीति
स्वनिर्भर जीवन विकासका लागि निम्नलिखित रणनीति अपनाउन आवश्यक देखिन्छ ।
१) अरुको भर नपरौँ
कुनै पनि कार्य सफल हुनका लागि आफैँले आफ्नो बुताबाटै गर्नाले त्यो कार्य दिगो र मजबुत हुन्छ । अरुको भर परियो भने आफूले चाहेजस्तो सफलता प्राप्त नहुन सक्छ । अरुले सल्लाह मात्र दिन्छन्, किनकि काम गर्ने वेला उनीहरू रमिते मात्र बन्छन् ।
२) आफ्ना बारेमा आफैँ निर्णय लिने
जो आफ्नो निर्णय आफैँ लिन्छ ऊ नै अगाडि बढ्न सक्छ । आफ्नो समस्या समाधान गर्ने स्रोत–साधन, ज्ञान, सीप र अनुभव के कस्तो छ भन्ने स्वयंलाई जति अरु कसैलाई थाहा नहुन सक्छ । त्यस कारण कुनै पनि काम गर्दा आफ्ना बारेमा आफैँ निर्णय लिने क्षमताको विकास गर्नु उत्तम उपाय हो ।
कुनै पनि काम गर्दा अरुको सहयोग जरुरी हुन सक्छ, तर आफैँमा भर गरेर जीवन जिउने अभ्यास गर्नुपर्छ । स्वनिर्भरता नै सफलताको कुञ्जी हो ।
३) आफ्नो पहिचान आफैँ बनाउने
आफ्नो पहिचान आफ्नै ज्ञान, सीप र वृद्धिको सहाराले बनाउनुपर्छ । यसका लागि कडा मेहनत, धर्यता र अनुशासन जरुरत पर्छ । आफ्नो के कुरामा रुचि छ वा जे काम गर्दा आनन्द आउँछ, सोही विषयमा आफ्नो ऊर्जा, समय र स्रोत–साधन खर्च गर्नुपर्छ । आफूलाई के बनाउने भन्ने कुरा आफ्नो भित्री इच्छा, समय वा परिस्थिति र स्थानले निर्धारण गर्ने कुरा हुन् ।
४) आत्मविश्वास नै असल ताकत
जब आफ्नै शक्ति र स्रोतमा भरोसा गरेर काम गरिन्छ, तब संसारको कुनै पनि चिज हात पार्न मुस्किल हुँदैन । आत्मविश्वास नै सबभन्दा असली ताकत हो ।
५) अरुको सहयोग माग्ने तर आफैँमा भर गरेर जिउने
कुनै पनि काम गर्दा अरुको सहयोग जरुरी हुन सक्छ, तर आफैँमा भर गरेर जीवन जिउने अभ्यास गर्नुपर्छ । स्वनिर्भरता नै सफलताको कुञ्जी हो ।
६) आत्म–व्यवस्थापन
समय व्यवस्थापन, लक्ष्य निर्धारण र अनुशासनमा केन्द्रित भई आफ्नो स्रोत–साधन संगठित गर्नुपर्छ । अहिलेको चुनौती भनेकै व्यवस्थापनको हो । मानिसहरू गरिब हुनुको प्रमुख कारण भनेकै व्यवस्थापन गर्ने क्षमताको कमीले गर्दा हो ।
७) समस्या समाधान
आलोचनात्मक रूपमा परिस्थितिहरूको विश्लेषण र स्वतन्त्र रूपमा प्रभावकारी समाधानहरू खोज्ने बानीले नै कुनै पनि समस्याको समाधान गर्न सकिन्छ । समस्या भनेको चुनौती मात्र होइन यो एउटा अवसर पनि हो । त्यसैले समस्या आयो भन्दैमा आत्तिनुपर्दैन । वास्तवमा समस्या आफैँले अवसर पनि सँगै लिएर आएको हुन्छ ।
८) व्यावहारिक सीपहरू
खाना पकाउने, सरसफाइ गर्ने, लुगा धुने लगायत आधारभूत कार्य आत्मनिर्भरताका लागि महत्त्वपूर्ण कुरा हुन् । साथै सञ्चार कौशल पनि उत्तिकै आवश्यक छन् । त्यसका लागि सम्बन्ध र लेनदेनहरू ह्यान्डल गर्न दृढता र प्रभावकारी वार्ता गर्ने सीपको पनि जरुरत पर्छ । त्यसका लागि बजेट व्यवस्थापन, बचत, लगानी र आर्थिक सिद्धान्त पनि बुझ्न जरुरी छ । जसलाई वित्तीय साक्षरता भन्ने गरिन्छ ।
९) अनुकूलनता
काम गर्दा विभिन्न चुनौती खडा हुन सक्छन् जहाँ अप्रत्याशित परिस्थिति र परिवर्तनसँग सामना गर्न लचिलोपन अपनाउन जरुरी हुन्छ । जसमा भावनात्मक लचिलोपन (जस्तै ः तनाव र अवरोधहरू व्यवस्थापन गर्ने र प्रेरणा कायम राख्ने)को खाँचो पर्छ ।
१०) सिक्ने क्षमता
नयाँ चुनौतीसँग अनुकूलन गर्न निरन्तर आत्मशिक्षा र सीप विकास गर्नुपर्छ । हरेक अवस्थाको सूक्ष्म अवलोकन गर्नुपर्छ र नयाँ कुरा सिक्न जिज्ञासु भइरहनुपर्छ । ती भोगाइका सिकाइ नै जीवनका अमूल्य सम्पत्ति हुन् ।
११) राज्यका नीति, नियम र कार्यक्रम
राज्यका नीति, नियम र कार्यक्रमले जनताको जीवनस्तर उकास्न धेरै महत्त्वपूर्ण भूमिका खेल्छन् । जनताको जीवनमा आर्थिक र सामाजिक रूपान्तरणका लागि स्वनिर्भर अर्थतन्त्र, विधिको शासन, पारदर्शिता, श्रमको सम्मान, नागरिकमा अनुशासन, सदाचार लगायत पक्ष आवश्यक हुन्छन् । सामाजिक समानता र समन्यायिक वितरण प्रणालीमा राज्यले ध्यान दिनुपर्छ, अनि मात्र व्यक्ति र समाज स्वनिर्भर बन्न सक्छ ।
देशमै रोजगारी सिर्जना गर्नका लागि कृषिमा व्यवसायीकरण, औद्योगिकीकरण, जलस्रोतको बहुआयामिक विकास, पूर्वाधारको सुविधा, पर्यटन विकास, आयात प्रतिस्थापनसँगै बजारको व्यवस्था र काम गर्ने किसान तथा मजदुरलाई प्रोत्साहन गर्न जरुरी देखिन्छ ।
स्वनिर्भर अर्थतन्त्रले नै मानिस स्वाधीन, सभ्य, सुसंस्कृत हुन सक्छ । मल्लकालीन अर्थतन्त्रको मोडलले नै तत्कालीन अवस्थामा काठमाडौँ उपत्यकामा ठुलो आर्थिक विकास भएको थियो । राज्यले देशमै उत्पादन र उत्पादकत्व विकास गर्न प्राथमिकता दिएमा मात्र स्वदेशमै बसेर काम गर्ने वातावरण सिर्जना हुन सक्छ । साथै जनता, राजनीतिक दल, व्यापारी वर्ग, सहकारी, कर्मचारी र समग्र समाजमा सकारात्मक सोचको विकास हुन जरुरी छ । अहिले समाज जुन गतिमा अघि बढेको छ, यस्ता नकारात्मक र परनिर्भर चिन्तनले कोही पनि अघि बढ्न सक्दैन ।
- निष्कर्ष
यी सीपहरूको विकासले जीवनका विभिन्न पक्ष व्यवस्थापन गर्न स्वतन्त्रता र आत्मविश्वास बढाउँछ । स्वनिर्भरता प्राप्त गर्न व्यावहारिक र भावनात्मक सीपहरूको संयोजन जरुरी हुन्छ । व्यक्तिगत वृद्धि, आत्मविश्वास र समग्र कल्याणका लागि स्वनिर्भरता महत्त्वपूर्ण छ । यसले लचिलोपन, निर्णय गर्ने सीप र आफ्नो जीवनमा नियन्त्रणको भावनालाई बढावा दिन्छ ।
स्वनिर्भर व्यक्तिको समाजमा धेरै इज्जत हुन्छ, उसले कसैको अगाडि शिर झुकाउनुपर्ने अवस्था आउँदैन । साथै यस्ता व्यक्तिहरूको आत्मसम्मान पनि उच्च हुन्छ । यो मानव जीवनको उत्कृष्ट पक्ष हो । तथापि स्वनिर्भर हुन धेरै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । अहिलेको दुनियाँ अन्तर्निर्भर बन्दै गएको छ । एक्लै हिँड्न खोज्नेहरू कहिलेकाहीँ दुर्घटनामा पर्न सक्छन् । यस्ता व्यक्तिका शत्रु पनि धेरै हुन्छन् । अत्यधिक स्वतन्त्रताले कहिलेकाहीँ समाजमा अराजक भावना निम्त्याउन सक्छ, त्यसैले सन्तुलन महत्त्वपूर्ण हुन्छ ।
हाम्रो समाजमा केही गरौँ भन्ने भावना, सकारात्मक सोच र व्यवहारको पनि खाँचो देखिएको छ । देशको भौगोलिक बनावट, पर्यावरण, सभ्यता र संस्कृतिमैत्री जनमुखी दिगो विकासले मात्रै जनताको अवस्था परिवर्तन गर्न सक्छ । हामीले व्यवस्था त परिवर्तन गर्यौँ, अब अवस्था परिवर्तनमा व्यापक काम गर्नुपर्नेछ । जनताको जीवनमा आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने कार्यमा हरेक नागरिक, परिवार, समुदाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय, सहकारी र तिनै तहका सरकारको भूमिका अपरिहार्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण