शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

राजावादी र एमालेको प्रदर्शनबारे आयोगले गर्‍यो सुरक्षा निकायहरूसँग छलफल

बुधबार, १४ जेठ २०८२, १६ : २४
बुधबार, १४ जेठ २०८२

काठमाडौँ । राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेद्वारा बिहीबार जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरूसँग बुधबार छलफल गरेको छ । बिहीबार राजावादी र एमालेको प्रदर्शनमा अपनाइने सुरक्षा सतर्कताका सम्बन्धमा आयोगमा छलफल गरिएकाे हाे । 

छलफलका क्रममा प्रदर्शन शान्तिपूर्ण होस् र कुनै बाधा व्यवधान नआओस् भन्नेतर्फ सचेत रही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको, शान्ति सुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबिच समन्वय गरिएको, दुई पक्षबिच झडपको स्थिति आउन नदिन दुवै समूह एक आपसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको सुरक्षा अधिकारीहरूले बताएका छन् । 

सञ्चार गृहलगायतका संवेदनशील स्थलहरूको सुरक्षामा ध्यान दिइएको समेत छलफलमा सहभागी सुरक्षा अधिकारीहरूले बताएका छन् । सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा रणनीति तयार पारिएको समेत उनीहरूको भनाई छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् । 

आयोगले विभिन्न टोलीहरू बनाई बिहीबार हुने प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमन समेत गर्ने छ ।आफ्‌नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै एक अर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्‌ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले प्रदर्शनरत पक्षलाई अपिल समेत गरेको छ । 

साथै, प्रदर्शनको क्रममा सुरक्षा संवेदनशीलतामा आउन सक्ने जोखिमहरूको आँकलन गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्य मान्यतालाई ध्यान दिन आयोग नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गरिएको आयोगको मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप