राजनीति र प्रशासनको सम्बन्ध कस्तो हुनुपर्ने ?

राजनीति र प्रशासनबिचको सम्बन्धका सम्बन्धमा विभिन्न विद्वान्ले धेरै पहिलेदेखि कलम चलाउँदै आएका छन् । विशेष गरी सन् १८८७ मा सार्वजनिक प्रशासनका पिता मानिने विद्वान् उड्रो विल्सनले ‘द स्टडी अफ एडमिनिस्ट्रेसन’ भन्ने निबन्ध प्रकाशन गरेपश्चात् विश्वव्यापी रूपमा राजनीति र प्रशासनको सम्बन्धका सम्बन्धमा व्यापक चर्चा सुरुवात भएको देखिन्छ ।
सन् १८८७ भन्दा अघि प्रशासनलाई राजनीतिको एक उपविषयका रूपमा मात्र लिने गरिन्थ्यो । उड्रो विल्सनले राजनीति र प्रशासन भनेका छुट्टाछुट्टै विषय हुन् र प्रशासनलाई राजनीतिको क्षेत्रभन्दा बाहिर राख्नुपर्छ भन्ने अवधारणा प्रस्टसँग राखेका थिए । फ्राङ्क जे गुडनाउले विल्सनको विचारलाई समर्थन गर्दै अझ प्रस्ट रूपमा व्याख्या समेत गरेका थिए । गुडनाउले विल्सनको विचारलाई प्रस्टाउने क्रममा भनेका थिए— राजनीतिले जनताको इच्छालाई बुझेर नीति–निर्माण गर्ने काम गर्दछ र उक्त नीतिलाई व्यवहारमा उतार्ने काम प्रशासनले गर्छ ।
विल्सनको अवधारणा थियो, शासन सञ्चालनका दुई छुट्टाछुट्टै पाटा हुन्, राजनीति र प्रशासन । उनको यस अवधारणापछि सार्वजनिक प्रशासन एक छुट्टै अध्ययनको विषयका रूपमा स्थापित भयो । संसारभरका विश्वविद्यालयमा हाल एक स्वतन्त्र विधाको रूपमा समेत यसको अध्ययन–अध्यापन हुँदै आएको छ । यसरी सन् १९३० सम्म आइपुग्दा सार्वजनिक प्रशासनका आधार तयार गर्ने प्रसिद्ध लेख ‘द स्टडी अफ एडमिनिस्ट्रेसन’ले ‘नीति–निर्माण गर्ने काम राजनीतिको हो र नीति कार्यान्वयन गर्ने काम प्रशासनको हो’ भन्ने सैद्धान्तिक मान्यता स्थापित गराएको थियो ।
राजनीतिले तय गरेका नीतिहरूलाई निष्पक्ष, प्रभावकारी र कुशल रूपमा कार्यान्वयन गर्नका लागि प्रशासनमा दक्षता, व्यावसायिकता र प्राविधिक क्षमता आवश्यक हुन्छ भन्ने विल्सनको अवधारणालाई समर्थन गर्ने विद्वानहरूको जोड रहेको थियो । राजनीति र प्रशासनबिच सीमारेखा कोर्नका लागि प्रशासनलाई राजनीतिबाट पृथक् बनाएर हेरिनुपर्ने, प्रशासनिक प्रश्न भनेका राजनीतिक प्रश्न होइनन् र राजनीतिले प्रशासनले गर्ने टास्क निर्धारण गर्छ भन्ने धारणा विल्सनको थियो । विल्सनको उक्त धारणालाई विद्वान्ले ‘पोलिटिक्स एडमिनिस्ट्रेसन डाइकोटोमी’ भनी नामकरण समेत गरेका छन् । यसरी राजनीतिले जनताको भावना र राज्यको आवश्यकता अनुसारका नीति–निर्माण गर्ने तथा प्रशासनले आफूसँग भएको व्यवसायिकता र विज्ञताको उपयोग गरी नीति–निर्माताको मनसाय अनुकूल हुने गरी नीति कार्यान्वयन गर्नुपर्छ भन्ने अवधारणा सन् १९३० सम्म कायम भएको देखिन्छ ।
विल्सनको अवधारणा थियो, शासन सञ्चालनका दुई छुट्टाछुट्टै पाटा हुन्, राजनीति र प्रशासन । उनको यस अवधारणापछि सार्वजनिक प्रशासन एक छुट्टै अध्ययनको विषयका रूपमा स्थापित भयो । संसारभरका विश्वविद्यालयमा हाल एक स्वतन्त्र विधाको रूपमा समेत यसको अध्ययन–अध्यापन हुँदै आएको छ ।
- विल्सनको सिद्धान्तको आलोचना
सन् १९३० पश्चात् विभिन्न व्यवहारवादी तथा उत्तरआधुनिक विद्वानहरूले विल्सनको आलोचना गर्न थाले । विल्सनले भनेजस्तो प्रशासन केवल नीति कार्यान्वयनमा मात्र संलग्न हुँदैन, प्रशासन सार्वजनिक नीतिको तर्जुमामा समेत संलग्न रहन्छ भन्ने उनीहरुको मत थियो । विशेषतः हर्बट ए साइमन, पाउल एपलबाई, ड्वाइट वाल्डो लगायत विद्वान्ले आफ्ना लेखमार्फत यस्ता विचार प्रवाह गरेका थिए ।
विभिन्न अनुसन्धानको निष्कर्ष तथा व्यावहारिक अभ्यास हेर्दा पनि सार्वजनिक नीति तर्जुमाको कार्यमा राजनीतिज्ञका सक्रिय सहयोगीका रूपमा प्रशासकहरू रहिआएको देखिन्छ । प्रशासनसँग रहने विज्ञता, सूचनामाथिको पहुँच, कानुनी अधिकार तथा अनुभवका कारण समेत नीति प्रक्रियाका हरेक चरणमा सार्वजनिक प्रशासनको उपस्थिति रहेको देखिन्छ, जसले गर्दा विल्सनले भनेजस्तो आधुनिक शासकीय व्यवस्थामा सार्वजनिक प्रशासन नीति कार्यान्वयनको संयन्त्र मात्र नभई नीति तर्जुमाको समेत अभिन्न अंगका रूपमा स्थापित भएको देखिन्छ ।
विभिन्न विद्वान्हरू हर्बट ए साइमन, पाउल एपलबाई, ड्वाइट वाल्डो र पछिल्लो समयमा जेम्स एच स्वाभ्रा लगायत विद्वान्ले गरेका अनुसन्धानका निष्कर्ष तथा नीति प्रक्रियाको व्यावहारिक अभ्यासको अध्ययन गर्दा समेत सार्वजनिक नीति तर्जुमामा प्रशासनको सक्रिय सहभागिता देखिन्छ, जसले गर्दा विल्सनको परम्परागत राजनीति र प्रशासनको सम्बन्धमा स्थापित मान्यता व्यवहारमा लागु गर्न कठिन भएको देखिन्छ । जसरी विल्सनले राजनीति र प्रशासन बिचमा यान्त्रिक सीमारेखा कोर्न खोजे, उक्त सीमारेखा व्यवहारमा कोर्नका लागि गाह्रो हुने निष्कर्ष आधुनिक अध्येताको रहेको छ । केही विद्वान्ले ‘डाइकोटोमी डाइड’ भनेर विल्सनको राजनीति र प्रशासनको सम्बन्ध सम्बन्धी विचारलाई पूर्ण रूपमा अस्वीकार समेत गरेको पाइन्छ ।
- आधुनिक अवधारणा
विभिन्न विद्वान्ले राजनीति र प्रशासनसम्बन्धी विल्सनको परम्परागत सिद्धान्तको आलोचना गरी उक्त सिद्धान्तलाई परिमार्जन गर्ने प्रयास गरेका छन् । पछिल्लो समयमा अनुसन्धानकर्ता जेम्स एच स्वाभ्राले राजनीति र प्रशासनबिचको सम्बन्धसम्बन्धी कम्प्लिमेन्टरिटी सिद्धान्तका बारेमा व्याख्या गर्दै राजनीति र प्रशासन एक–अर्काका परिपूरक भएर शासकीय क्रियाकलापमा सहभागी हुनुपर्ने अवधारणा अघि सारेका छन् । सार्वजनिक प्रशासन र राजनीतिबिच एक–अर्कामा परस्पर विश्वास हुनुपर्ने तथा नीति निर्माणमा सार्वजनिक प्रशासन सहभागी हुन्छ र नीति कार्यान्वयनमा समेत राजनीतिले प्रशासनलाई सहयोग गर्नुपर्ने मान्यता अघि सारेका छन् ।
शासन व्यवस्थालाई प्रभावकारी बनाउनका लागि राजनीति र प्रशासन एकले अर्कालाई नीति प्रक्रियाका हरेक चरणमा सहयोग गर्नुपर्ने मान्यता राजनीति र प्रशासन सम्बन्धको आधुनिक अवधारणाले जोड दिएको देखिन्छ । राजनीति र प्रशासनको काम फरक–फरक भए पनि प्रभावकारी शासन व्यवस्थाका लागि यी दुईबिच परिपूरक सम्बन्ध हुनुपर्छ । आधुनिक शासन व्यवस्थामा राजनीति र प्रशासन एक–अर्काका प्रतिस्पर्धी होइनन्, यी दुईबिचको सम्बन्धको सम्बन्धमा यान्त्रिक सीमारेखा कोर्न गाह्रो छ; शासकीय लक्ष्य हासिल गर्ने सवालमा राजनीति र प्रशासनबिच सहयोग, साझेदारी, विश्वास तथा समन्वयको वातावरण सिर्जना गरिनुपर्छ भन्ने मान्यता राजनीति र प्रशासन सम्बन्धको आधुनिक अवधारणाले प्रस्ट पारेको छ ।
(लेखक केसी नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरको औषधिले परीक्षणमा बाँच्ने क्षमता दोब्बर बनायो
-
नेशनल ल कलेजले नमुना संयुक्त राष्ट्रसङ्घ सम्मेलन गर्दै
-
गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री
-
इजरायलको निर्देशनपछि उत्तरी गाजामा अन्तिम अस्पताल पनि बन्द
-
स्टिल र आल्मुनियम आयातमा कर दोब्बर गर्ने ट्रम्पको घोषणा
-
कोशी प्रदेशमा मनसुनको प्रभाव : माईखोलाको बाढी बस्ती पस्यो, सुगाबथानका २२ घर डुबानमा