‘हाम्रो समाजको उपल्लो स्थानमा भएकाहरू अति मूर्ख छन्, ती पढ्नमा विश्वास गर्दैनन्’

समाचार सारांश
- कवि श्यामलले आफ्नो जीवन र लेखन शैलीबारे बताएका छन्, जसमा पढ्ने बानी र पुस्तकप्रतिको प्रेम समावेश छ।
- उनले विभिन्न विधाका पुस्तकहरू पढ्ने र समय व्यवस्थापनबारे कुरा गरेका छन्, साथै नेपाली पठन संस्कृतिको अवस्थाबारे टिप्पणी गरेका छन्।
- श्यामलले आफूलाई प्रेरित गर्ने कुरा र आगामी योजनाबारे बताउँदै, पुस्तक चोरी र हराएका घटनाहरूको पनि स्मरण गरेका छन्।
नेपाली काव्य जगत्मा स्थापित नाम हो, श्यामल । ३० को दशकदेखि पत्रकारितामार्फत कलम चलाउन थालेका श्यामलका आजसम्म चार कृति प्रकाशित छन्— कविता सङ्ग्रहहरू ‘तपाईंहरू मार्फत’ (२०४४), ‘लयब्रह्म’ (२०६०), ‘हतारमा यात्रा’ (२०६८) र ‘रित्तो गाउँ’ (निबन्ध सङ्ग्रह, २०७०) ।
कविता सङ्ग्रह ‘हतारमा यात्रा’माथि साहित्यकार नारायण ढकालले ‘ब्लर्ब’ लेखेका छन्, ‘श्यामलका कविताले विचारलाई क्राफ्ट दिन्छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली कविताको प्रतिनिधित्व गर्न सक्छन् उनका कविताले । विचार र कलाको सन्तुलन अनुभव गर्न श्यामलको कविता पढ्नुपर्छ ।’
उनै शक्तिशाली कवि श्यामललाई हामीले यसपालि रातोपाटीको ‘किताबका कुरा’ स्तम्भमा निम्त्याएका छौँ ।
- तपाईंले दिनमा कति घण्टा पढ्ने गर्नुभएको छ ?
पढाइ मेरो रुटिन कार्य हो । म छानेर पुस्तक पढ्छु । मकहाँ आइपुगेका सबै पुस्तक पढिसाध्य हुन्न, महत्त्वपूर्ण लेखकको कुनै पुस्तक आयो भने त्यही नै मेरो प्राथमिकतामा पर्छ । बिहान सबेरै पढ्छु, घरैमा छु भने दिनभर पढ्छु, राति अबेरसम्म पढ्छु ।
अचेल बाहिर कतै जाँदा कोटको पाकेटमा अटाउने वा झोलाको सानो गोजीमा राख्न सकिने ‘किन्डल’ नामक डिभाइस पनि बोकेको हुन्छु । अमेजनबाट किनिएका पुस्तक जतिवेला पनि किन्डलको फुच्चे पर्दामा पढ्छु । यतिउति घण्टा भन्ने मेरो पठनमा लागु हुन्न । पढ्नु मेरो व्यसन हो, नपढी बस्न सक्तिनँ । पुस्तक नपढ्दा म टीभीका पर्दामा आँखा लगाउँछु । छानीछानी जीवन–जगत्का कथा हेर्छु । युट्युबका माध्यमबाट थुप्रै ज्ञानार्जन गर्न सकिन्छ, त्यसो पनि गर्छु । यसो भनौँ, म आफूलाई कम्तीमा पाँच घण्टा र बढीमा दश घण्टासम्म पढेको पाउँछु । बिचमा लेख्ने पनि हुनाले मेरो सन्दर्भमा घण्टाको गणना गर्न मिल्दैन ।
- पढ्नका लागि समयको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
अचेल पहिलेजस्तो डीभीटी (दाल भात तरकारी) को आर्जन गर्नुपर्ने ठाउँमा छैन; कुनै सरकारी, अर्द्धसरकारी, गैरसरकारी विकासे संस्थामा आबद्ध छैन । त्यति वेला पनि म स्वतन्त्र थिएँ, अहिले समय व्यवस्थापनमा समेत आफ्नो मर्जीले चल्छु । घरमा कुनै कुनै काममा पत्नीजीलाई सघाउनुबाहेक मेरो सारा काम लेखपढ नै हो । कहिलेकाहीँ नगई नहुने कार्यक्रमहरूमा जान्छु, भाषण छाँट्छु, मानिसहरू भेट्छु, तिनका कथा सुन्छु । कहिलेकाहीँ यसो घुम्न निस्कन्छु । त्यति वेला पनि म पढिरहेको हुन्छु । त्यतिवेला पनि म लेखनको एक महत्त्वपूर्ण चक्रबाट गुज्रिरहेको हुन्छु । मलाई पढ्न बाधा पुर्याउने कुनै तत्त्व छ जस्तो लाग्दैन, समय मिलिरहेको छ ।
कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले लेखेको ‘कम्युनिस्ट मेनिफेस्टो’ले विश्वको राजनीतिक चिन्तनको दिशा नै बदलिदियो । संसार कि साम्यवादी कि त पुँजीवादी जम्मा दुई कित्तामा बाँडियो । विश्वकै मजदुरहरूले पहिलोपटक आफ्नो अनुकूलको राजनीतिक सिद्धान्त र घोषणापत्र पाए ।
- पछिल्लो समय कस्ता पुस्तक धेरै पढिरहनुभएको छ ?
म कविता, फिक्सन र ननफिक्सन सबै प्रकारका सबै विधाका पुस्तक पढ्छु । पछिल्लो समय पनि म यिनै पुस्तकले घेरिएको छु । कहिलेकाहीँ पाण्डुलिपि पढ्नुपर्छ । यसपटक मैले मेरो निकटतम मित्र उपन्यासकार नारायण ढकालको नयाँ उपन्यास ‘भूमकाल’को पाण्डुलिपि पढेँ । नयाँ नयाँ लेखक कविहरू मकहाँ भूमिका लेखाउन आउनुहुन्छ, उहाँहरूलाई निराश बनाउन चाहन्नँ । उहाँहरूका पाण्डुलिपि पढेर आफ्नो मत लेखिदिन्छु ।
भर्खरैजसो तनहुँका प्रकाश रम्घाली, रोल्पाली प्रेमप्रकाश, रामेछापका विक्रमपवन परियार र ललितपुरे रमी प्रियाका कविता सङ्ग्रहका भूमिका लेखेँ । नपढी लेख्न भएन । निर्मोही व्यास, भानु बोखिम, घनश्याम अस्तित्व आदिका निबन्ध, उपन्यास र कविता सङ्ग्रहबारे बोलेँ । नपढी बोल्न भएन ।
म एकैपटक कैयौँ पुस्तक पढिरहेको हुँदो रहेछु । मेरो टेबलमा यस्ता थुप्रै पुस्तकका चाङ छन्, शास्त्रीय छन्दका महाकाव्यदेखि जापानी परम्पराको हाइकुका गोजी पुस्तकसम्म । अचेलका विश्वविख्यात जापानी उपन्यासकार हारुकी मुराकामीको ‘काफ्का अन द शोर’देखि भर्खरकी आइरिस उपन्यासकार स्याली रुनीका ‘नर्मल पिपुल’ र ‘ब्युटिफुल वल्र्ड, ह्वेयर आर यु’ पनि यसैपालि पढेँ । परार साल किनेर ल्याएको तर पढ्न बाँकी नै रहेको निर्मलङ्शु मुखर्जीको ‘द माओइस्ट इन् इन्डिया, ट्राइबल्स अन्डर सिज’ नामक रिपोर्ताजजस्तो पुस्तक पनि पढेँ । भर्सटाइल रिडरजस्तो भएँ छु । अब बिस्तारै कविता र आख्यानमा केन्द्र्रित भइनँ भने मेरो पठन केवल दुव्र्यसन भएर नासिने जोखिम कायमै छ ।
- हालैका दिनमा पढेको पुस्तक कुन हो ? कस्तो छ यो पुस्तक ?
हालसालै वा हालैका दिनमा जे भने पनि केही पुस्तक बारम्बार पढिन्छन् । म त्यस्ता पुस्तकमा आफूलाई अल्झाउँछु । उदाहरणका रूपमा मेरा सानैदेखि सम्पर्कमा रहेका वेद र उपनिषद्हरू, महाभारत, भानुभक्तीय रामायण, सेक्सपियरका ‘जुलियस सिजर’ र ‘म्याकबेथ’जस्ता नाटक, पुस्किन, लेर्मेन्तोभ, चेखभ, गोर्कीजस्ता रुसी क्लासिकहरू, स्पेनिस साहित्यकार सर्भान्तेसको ‘डन कि हो’ , देवकोटाको ‘लक्ष्मी निबन्ध सङ्ग्रह’, रिमालको ‘आमाको सपना’ र भूपिको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’जस्ता कविताका गुरु पुस्तक म बारम्बार पढ्छु ।
हरेक उत्कृष्ट पुस्तकमा म मेरा पिताजीको अनुहार देख्छु जो स्वयं एक विश्वविद्यालय नै थिए । त्यस ताजा सुगन्ध भएको पुस्तक छाम्दा म मेरी आमालाई पाउँछु, जो स्वयं त निरक्षर थिइन्, तर आफ्ना सन्तानलाई कहिल्यै निरक्षर रहन दिइनन् ।
अझ पछिल्लोपटक त दशकौँअघि प्रकाशित विमल निभा र अविनाश श्रेष्ठ लगायत केही अन्यका कविताका नयाँ र परिवद्र्धित संस्करण पनि म पढिरहेको छु । मेरो सन्दर्भमा पढिरहनु मेरो प्राणको एक निरन्तरता हो ।
- तपाईंका लागि किताब के हो ?
एक शिशुलाई आफ्नी आमाको आँखा, बोली, काखको न्यानो वा स्तनको रस जस्तै हो मेरा लागि एक असल पुस्तक । म शिशु हुँदा मेरा लागि पुस्तक मेरो साथी र गुरु दुवै रह्यो, आज पनि त्यही नै छ । हरेक उत्कृष्ट पुस्तकमा म मेरा पिताजीको अनुहार देख्छु जो स्वयं एक विश्वविद्यालय नै थिए । त्यस ताजा सुगन्ध भएको पुस्तक छाम्दा म मेरी आमालाई पाउँछु, जो स्वयं त निरक्षर थिइन्, तर आफ्ना सन्तानलाई कहिल्यै निरक्षर रहन दिइनन् । अब तपाईं नसोध्नोस्, मेरा लागि किताब के हो । किताबविनाको जीवन मैले सोचेको छैन ।
- किताबसँग कसरी साइनो जोडियो ?
त्यसो त मैले रोजेर होइन, म ‘स्व’ र ‘सु’ पठित परिवारमा जन्मेँ । त्यो परिवार ज्योतिषी पनि गर्दाे रहेछ । त्यसका लागि संस्कृतका ग्रन्थ चाहिने नै भए । अग्निस्थापना, खण्डखाद्य, मकरन्द, भास्वती अनेक चाहिए । लेखन र पठन संस्कृति भएको विद्याव्यसनी निम्न मध्यम वर्गीय परिवारका सदस्यले महाभारत, रामायण, श्रीमद् देवीभागवत वा गीतासँग सङ्गत गर्नु आश्चर्यको विषय नै भएन । पुस्तकलाई बक्सामा राख्ने (कपडाले मोडेर सुरक्षित राख्ने) र खोल्नुपर्दा ढोग्ने संस्कृतिमा हुर्कें म । मेरो परिवारमा दसैँमा कुलदेवी विन्ध्यवासिनी र पुस्तकलाई उच्चासनमा राखेर पूजा गरेपछि मात्र टीका आरम्भ हुन्छ । मेरा परिवारका सबैजसो सदस्यलाई पुस्तकको गन्ध औधि मिठो लाग्छ । मेरा पिताजीकहाँ महाभारत र रामायण मात्र होइन लेखनाथका सत्यकलि संवाद, लालित्य, गोरखा शिक्षा पनि थिए । म तिनलाई बरोबर निकालेर ढोग्थेँ, म्वाइँ खान्थे र पढ्थेँ । गाउँभरिमा हाम्रो मात्र यस्तो परिवार थियो, जहाँ पुस्तक र कलम–कापी पर्याप्त मात्रामा देख्न पाइन्थ्यो ।
यस्तो वातावरणले मलाई नयाँ नयाँ पुस्तकतिर आँखा लगाउन सिकायो । यसले मलाई नयाँ नयाँ लेखक चिनायो । अलि पछि, अङ्ग्रेजी भाषा बुझ्ने भएपछि मेरो ज्ञानको क्षितिज अझ फराकिलो बन्दै गयो । अङ्ग्रेजीकै माध्यमबाट मैले चिनियाँ, रुसी, जापानी, फ्रेन्च, जर्मन, पोर्चुगिज आदि साहित्यको सङ्गत गर्न पाएँ ।
- किताब किन्नका लागि कति पैसा खर्च गर्नुहुन्छ ?
यति वा उतिको कुरै होइन । औसतमा महिनामा पाँच हजार खर्च गर्दो रहेछु ।
- मन परेका विदेशी पुस्तकहरू र मन पर्नुको कारण !
क) ‘द कम्युनिस्ट मेनिफेस्टो’ (कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्स)
१८४७ मा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले लेखेको र १८४८ मा प्रकाशित ‘कम्युनिस्ट मेनिफेस्टो’ले विश्वको राजनीतिक चिन्तनको दिशा नै बदलिदियो । संसार कि साम्यवादी कि त पुँजीवादी जम्मा दुई कित्तामा बाँडियो । विश्वकै मजदुरहरूले पहिलोपटक आफ्नो अनुकूलको राजनीतिक सिद्धान्त र घोषणापत्र पाए । यसभित्र सबैभन्दा प्रभावशाली वाक्य वा नारा थिए : ‘तिमीलाई जित्न संसार छ तर गुमाउन सिक्रीबाहेक अरु केही छैन । विश्वका मजदुर एक होऔँ ।’ प्रस्तावना र चारवटा मात्र अध्याय रहेको यस सानो पुस्तकले संसार हल्लाइदियो । यसले वर्ग सङ्घर्षको अपरिहार्यतालाई जोड दिएको छ र सर्वहारा वर्गलाई सङ्गठित हुन अचुक हतियार दिएको छ ।
हाम्रो पठन पश्चिमाभन्दा ज्यादै तल्लो स्तरमा छ भन्ने बुझेर मलाई साह्रै नरमाइलो लाग्छ । हामी फोस्रा गफमा अल्झेर समय खेर फालिरहेका छौँ । हाम्रो समाजको उपल्लो स्थानमा भएकाहरू अति नै मूर्ख छन् । ती पढ्नमा विश्वास गर्दैनन् । तिनले पुस्तक र पुस्तकालयको महत्त्व बुझेका छैनन् । नयाँ पुस्ताले तिनीहरूबाट छलकपट र मूर्खता सिकिरहेको छ ।
ख) ‘द ब्रदर्स कार्माजोभ’ (फ्योदोर दोस्तोयभ्स्की)
यस दार्शनिक उपन्यासका चरित्रले मलाई विस्मित तुल्याएका थिए । दिमित्री कार्माजोभ र उसका पिताका बिचको द्वन्द्व, उसको प्रेम, पैसाप्रतिको आशक्ति ः यसले तत्कालीन रुसी समाजका अन्तद्र्वन्द्वलाई बडो विस्तारपूर्वक बताएको छ । दिमित्री र ग्रुसेन्काको अमेरिका भाग्ने र केही वर्षपछि रुस नै फर्कने योजनाको प्रसङ्गले मेरो पुस्ताका नेपालीको युरोप अमेरिका पुग्ने तर नेपालै फर्कने मानसिकतालाई पनि प्रतिनिधित्व गरेजस्तो लाग्थ्यो । यस्ता केही प्रसङ्गबाहेक यति ठुलो उपन्यासका धेरै महत्त्वपूर्ण प्रसङ्ग अहिले मेरो स्मृतिमा छैनन्, तथापि यस उपन्यासले मेरो उपन्यास पठनको अभिरुचिलाई अझ परिष्कृत पार्न सघाएको थियो ।
ग) ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’ (गाब्रियल गार्सिया मार्खेज)
कोलम्बियाको इतिहासलाई बुएन्दा परिवारका आपत्विपत् र खुसीका माध्यमबाट व्यक्त गरिएको यो उपन्यासको चित्रपट निकै ठुलो छ । बुएन्दा कुलका पाँच पुस्ताको कथा हो यो । यसमा भूतप्रेतहरू पनि यसका जीवित पात्रहरूलाई भेट्न आउँछन् । यसले कुतूहलता कायम राखिरहन्छ । यस्तो लाग्छ, यी भूतप्रेत माकोन्दो सहरका इतिहास हुन्, जो वर्तमानमा प्रवेश गरिरहन्छन् ।
माकोन्दोजस्तो सिसैसिसाको सहरको सपना देख्ने र सहर बनाउने जोस अर्कादियो बुएन्दाको चरित्र निकै रोचक लाग्यो मलाई । उसकी पत्नी उर्सुला इगुरान ५–६ पुस्ताको रामकहानी देख्ने–भोग्ने पात्र हुन् । माकोन्दोको विनाशलीलासम्म आइपुग्दा पाठकले कैयौँ असाधारण घटनाको साक्षात्कार गर्छन् । यसको कथन र यसमा प्रयुक्त मुहावराका कारण उपन्यास निकै शक्तिशाली अनुभव हुन्छ । त्यसैले यस उपन्यासलाई बारम्बार पढ्न सकिन्छ ।
घ) ‘द मिथ अफ सिसिफस’ (अल्बेयर कामु)
मानिसको नियति र उसको विसङ्गत जिन्दगी बुझ्नका लागि कामुको यो पुस्तक साह्रै प्रभावकारी माध्यम हो । कामुले अस्तित्ववादबारे आफ्ना धारणा बुझाउन ग्रिक मिथको सहयोग लिएर चाहना र यथार्थका बिचको द्वन्द्वलाई यस शीर्ष निबन्धमा प्रस्ट्याएका छन् । कुनै दार्शनिक विषयको निबन्ध यति रोचक, बलशाली र प्रभावकारी पनि हुन सक्छ भन्ने कुराको उदाहरण हो— ‘द मिथ अफ सिसिफस’ । सङ्ग्रहका अन्य निबन्ध पनि उत्तिकै बलिया छन् तर मलाई यो निबन्ध अति नै प्रिय लाग्छ ।
यसले विसङ्गत अवस्थासँग आत्तिएर आत्महत्याको बाटोमा जानुभन्दा अस्तित्वका लागि सङ्घर्ष गर्न प्रेरित गर्दछ । यसले त्यस्ता अहं प्रयत्नहरूलाई बढावा दिन्छ, जसले जीवनलाई अर्थपूर्ण बनाउन सघाउँछन् । प्रतिकूल परिस्थितिसँग सङ्घर्ष गर्ने र आफ्नो अस्तित्व कायम गर्न उत्प्रेरित गर्ने यस निबन्धको प्रासंगिकता पनि सार्वकालिक छ भन्ने मलाई लाग्छ ।
ङ) मदर (म्याक्सिम गोर्की)
समाजवादी यथार्थवादी साहित्यको उत्कृष्ट नमुना मानिएको यस उपन्यासले संसारका अत्यधिक पाठकलाई आकर्षित गरेको छ । रुसको अक्टोबर क्रान्तिअघिका सर्वहारा वर्गका सङ्घर्षको अभिलेख मानिने यस उपन्यासमा सन् १९०५ को क्रान्तिकालमा रसियाली श्रमिक वर्गका महिलाको भूमिकामा जोड दिइएको छ । आमाका अतिरिक्त नतासा, सासाजस्ता कतिपय महिला पात्र शक्तिशाली भूमिकामा देखिन्छन् । रुसी लेखकहरू विशाल क्यानभासमा कथा बुन्न सिद्धहस्त छन् र गोर्की त्यसमा अर्कै विशिष्टता साथ उभिन्छन्, पाभेल मिखाइलोभिच र आमाको भूमिकालाई बलियो तुल्याएर । श्रमिक वर्गलाई नै परिवर्तनको प्रमुखवाहक मानिएको यस उपन्यासका पात्रहरूको साहसिकतापूर्ण सङ्घर्ष, अटल विश्वास र तिनका बिचमा भएका संवादले पाठकलाई समाजवादको आदर्शतिर अग्रसर गराउँछ ।
च) जुलियस सिजर (विलियम सेक्सपियर)
रोमन इतिहासमा आधारित यस नाटकमा तत्कालीन रोमन सभ्यतामा हुने शक्ति सङ्घर्षका लागि अपनाइने नैतिक–अनैतिक रणनीतिहरू र तिनका दुःखद परिणामको गाथा छ । हत्या र आत्महत्याका घटनाले भरिएको भन्न मिल्ने यस नाटकमा ब्रुटस र क्यासियसको भूमिका बलियो छ । सेक्सपियरको काव्यात्मक नाट्यशैली बुझ्न यो नाटक धेरै हदसम्म सहयोगी छ ।
छ) कन्फेसन्स (जाँ ज्याक रुसो)
साँचो लेखकले आफूलाई समेत नङ्ग्याउने साहस गर्नुपर्छ भन्ने मान्यताको गुरु ग्रन्थ हो कन्फेसन्स । यस आत्मसंस्मरणमा रुसोले आफ्ना कमी–कमजोरीलाई समेत उदाङ्गो पारेका छन् । आफूभन्दा धेरै बुढी महिलासँगको प्रेमप्रसङ्ग र समकालीन लेखक डिडेरोसँगको द्वन्द्व बडो रोचक प्रसङ्गमा पर्छन् । अठारौँ शताब्दीका यी स्विस फ्रेन्च लेखक ती प्रमुख आत्मसंस्मरणकार हुन्, जसले आत्मसंस्मरणमा सत्यलाई नलुकाई लेख्नुपर्छ भन्ने कुरालाई स्थापित गरेका थिए ।
ज) अ ट्र्यु स्टोरी अफ आह क्यु (लु सुन)
चिनियाँ लोक आख्यानका आधारमा लु सुनद्वारा लेखिएको उपन्यासिका भन्न मिल्ने ‘ए ट्र्यु स्टोरी अफ आह क्यु’ (आह क्युको सत्यकथा) सधैँ शक्तिशालीहरूबाट हार्ने तर सधैँ आफूलाई विजेता ठान्ने निरीहताको कथा हो । यसको कथ्य यथार्थलाई भ्रमपूर्ण मानसिकताले स्विकार्ने प्रवृत्तिको विषयमा केन्द्रित छ । यतिसम्म कि आह क्यु आफ्नो आत्मसुखका लागि एक भिक्षुणीलाई हेप्छ, तर वरिपरिको भीड भने यस्तो कृत्यमा पनि कुनै प्रकारको प्रतिकार नगरी हाँसेर उडाउँछ । मानव समाजको त्यस अमानवीय पाटो र आह क्युजस्तो पात्रको दुःखद अन्त्यलाई लु सुनले आह क्युको कथामार्फत कुशलतापूर्वक उदाङ्गो पारेका छन् । यसो लाग्छ, यस्तो प्रवृत्ति विश्वका धेरै ठाउँमा छन् । मलाई लाग्छ, यस लामो कथाले मानिसलाई आत्मनिरीक्षण गर्न प्रेरित गर्दछ ।
साँचो लेखकले आफूलाई समेत नङ्ग्याउने साहस गर्नुपर्छ भन्ने मान्यताको गुरु ग्रन्थ हो कन्फेसन्स । अठारौँ शताब्दीका यी स्विस फ्रेन्च लेखक ती प्रमुख आत्मसंस्मरणकार हुन्, जसले आत्मसंस्मरणमा सत्यलाई नलुकाई लेख्नुपर्छ भन्ने कुरालाई स्थापित गरेका थिए ।
झ) ‘डन कि हो’ (सर्भान्तेस)
काल्पनिक संसारको निर्माण गरेर उत्पात् मच्चाउने सन्की र पागल पात्र डन कि हो हो र उसका विचित्र कृत्यहरूको निकै रोचक शैलीमा बयान गरिएको सर्भान्तेसको यो बहुचर्चित उपन्यास सदाकालका लागि पठनीय र प्रेरक लाग्दछ ।
नियत सफा भए पनि यथार्थ दुनियाँ बुझ्न असफल हुनाले डन कि होका कर्तूतका कारण धेरै मानिसले दुःख पाउँछन् । अति साधारण जीवन व्यतीत गरिरहेको उसको पछुवा सान्चो पान्जा उसप्रति निकै इमानदार देखिन्छ, जबकि अन्य कतिपय पात्रहरूले डन कि होको पागलपनको शोषण गर्छन् । अशिक्षित, गँवार, मूर्ख सान्चो पान्जा र कल्पनालोकमा रमिरहेको डन कि होका पागलपनले भरिएका उट्पट्याङ कर्महरूले उपन्यासको पठनीयतालाई कायम गराइराख्छन् । काल्पनिक शत्रु खडा गर्दै तिनलाई पराजित गरी आफूले सन्तोष मान्ने दिमागी बिमार भएका ‘डन कि हो’हरू वेलावेला समाजमा देखिन्छन् । त्यसैले यसको सान्दर्भिकता पनि रहिरहन्छ ।
ञ) ‘अ लङ वाक् टु फ्रिडम’ (नेल्सन मन्डेला)
पछिल्लो समय महान् राजनीतिक छवि बनाएका दक्षिण अफ्रिकी नेता नेल्सन रोलिलाहला मन्डेलाको यो अटोबायोग्राफिकल कृति हो । उनले गरेका त्याग र बलिदानका कथा यसमा आएका छन्, जसले हाम्रो जीवनलाई सार्थक बनाउन मद्दत गर्छन् ।
यसमा हजारौँ यस्ता साना–ठुला घटना छन् जसले हामीजस्ता पाठकलाई अनौठो स्थितिमा पुर्याउँछन् । रङ्गभेदको गहिराइ बुझ्न ती पर्याप्त हुन्छन् । आफ्नै मुलुकमा वकिलका रूपमा एक विदेशी कानुन व्यवसायी फर्ममा काम गर्दा उनको कानुन क्षमताको उपयोग गर्ने गर्थे फर्मका गोरा मालिकहरू; तर तिनले मन्डेलाबाट परामर्श लिएको देखाउन चाहँदैनथे । एक दिन एक गोरी सहकर्मीले उनलाई एकान्तमा लगेर ‘डिक्टेसन’ लिँदै थिइन्, अर्को गोरा हाकिम आइहाल्यो । मन्डेलाबाट ‘डिक्टेसन’ लिएको थाहा नहोस् भनेर उनले मन्डेलालाई चकलेट किन्न पठाइन् । मन्डेला यसरी त्यहाँबाट बाहिरिए । रङ्गभेदको यति सूक्ष्म र गहिरो आघातलाई समेत मन्डेलाले यस पुस्तकमा समेटेका छन् । करिब तीन दशकसम्म रोबिन टापुको जेलमा बिताएका मन्डेला जब मुक्त भएर राष्ट्रपति चुनिन्छन् आफ्नै सङ्घर्षकी सहयोद्धा पत्नी विन्नीसँग पनि उनका कुकृत्यका कारण सम्बन्धविच्छेद गर्दछन् । नैतिकता, विद्रोह, सालीनता, विद्वता र निरन्तर सङ्घर्षका प्रतीक मन्डेलाको जीवनमा आइलागेका वा उनैले स्वयं निम्त्याएका घटनाहरूको पुनर्कथनको शैली पनि लोभलाग्दो छ ।
ट) ‘फ्रम थर्ड वर्ल्ड टु फर्स्ट : द सिंगापुर स्टोरी’ (ली क्वान यु)
तालिमले एक वकिल, नस्लले चिनियाँ र नागरिकताले पहिले ब्रिटिस र पछि मलेसियाली ली क्वान युले कसरी एक अति सानो टापुलाई संसारकै उच्च विकसित र धनी मुलुक बनाए भन्ने कुराको फेहरिस्त उनकै कलमबाट लेखिनु जति आधिकारिक अर्को हुनु सम्भव छैन । सिंगापुरलाई तेस्रो र अति कम विकसित अवस्थाबाट पहिलो विश्वको सम्मानित र आर्थिक शक्ति बनाउन उनी र उनको टिमले गरेका यावत् प्रयासलाई निकै रोचक ढङ्गले आधिकारिकताका साथ राखिएको यो पुस्तक राजनीतिकर्मीले त पढ्नैपर्छ, राजनीतिलाई कसरी विकासमा केन्द्रित गर्न सकिन्छ भनी बुझ्न चाहनेहरूका लागि समेत यो पुस्तक उत्तिकै महत्त्वपूर्ण छ ।
ठ) थिङस् फल अपार्ट (चिनुवा अचिबी)
नाइजिरियाली लेखक चिनुवा अचिबीको यस सानो आकारको उपन्यासले मलाई समग्र अफ्रिकाको चित्र देखाइदिएको थियो । क्रिस्चियन मिसनरीहरूले कसरी अफ्रिकालाई उपनिवेश बनाए र ‘ओकोन्क्वो’जस्तो अफ्रिकी दुनियाँ कसरी मुक्तिको सपना देख्न थाल्यो भन्ने बुझेँ मैले यस उपन्यासबाट । यसअघि मैले थियोङ्गोको पुस्तक पढिसकेको थिएँ जसले मलाई भाषाको महत्त्व सम्झाइदिएको थियो । थिङ्स फल अपार्टले विशाल चित्रपटमा अफ्रिकी जनजीवनका झाँकीहरू देखाइदियो ।
- केही मन परेका नेपाली लेखक र पुस्तक मन पर्नुको कारण ?
१) लक्ष्मी निबन्ध सङ्ग्रह (लक्ष्मीप्रसाद देवकोटा)
नेपाली साहित्यको निबन्ध विधाको आदर्श पुस्तक हो यो, मेरो निबन्ध गुरु पुस्तक । महाकविको गद्यको शक्ति पनि यसमा अनुभव गर्न सकिन्छ । के नेपाल सानो छ ? प्रभुजी मलाई भेडो बनाऊ, गधा बुद्धिमान कि गुरु जस्ता व्यङ्ग्य चेतका प्रखर तर्कयुक्त निबन्ध रचनाहरू भएको यो पुस्तक हरेक नेपालीको पुस्तकको दराजमा हुनैपर्ने पुस्तक हो । निबन्धको विषयवस्तु कहाँसम्म विस्तार हुन सक्छ, भावनाको उडान कतिसम्म रुचिकर तुल्याउन सम्भव छ र निबन्धमा कलात्मक श्रेष्ठता भनेको के हो भनी बुझ्न यो पुस्तकको दाँजोमा अर्को कुनै पनि पुस्तकले बढी काम गर्दो हो जस्तो मलाई लाग्दैन ।
२) आमाको सपना (गोपालप्रसाद रिमाल)
जनबोलीका शब्दहरूमा उत्कृष्ट काव्य रचना कसरी हुन सक्छ भन्ने कुराका दरो प्रमाण हुन् रिमालका कविता । ‘आमाको सपना’ र ‘परिवर्तन’ त तिनमा पनि सर्वश्रेष्ठ रचना हुन् । यस सानो पुस्तकले मलाई नेपाली गद्यमा उत्कृष्ट कविता सम्भव छ भन्ने देखाइदियो । यसकै कारणले हुनुपर्छ— भानुभक्त, लेखनाथ, देवकोटा र घिमिरेका शास्त्रीय छन्दमा बाँधिएका कविताबाट म बाहिरिएँ र गद्यतिर लागेँ । वास्तवमा म नेपाली समाज र साहित्यको यस महान् ‘पागल’लाई भेट्न चाहन्थेँ तर म काठमाडौँ आउनुका पाँच वर्षअघि नै रिमाल अस्ताए ।
३) घुम्ने मेचमाथि अन्धो मान्छे (भूपी शेरचन)
नेपालीका मनोभाव र परिवेशलाई गहिराइमा गएर बुझेका कवि भूपि शेरचनका प्रखर व्यङ्ग्य चेतले परिपूर्ण र प्रगतिशील चरित्रका कविता यस पुस्तकमा छन् । हामी, यो हल्लै हल्लाको देश हो, हो ची मिन्हलाई चिठी, घण्टाघर जस्ता कवितामा उनको राजनीतिक चेतना र राष्ट्रिय अन्तर्राष्ट्रिय चासो कलात्मक भंगिमाका साथ अभिव्यक्त भएको छ । नेपाली कवितामा जटिलताको हालीमुहाली चलिरहेका वेला जनभाषामा सुन्दर र आश्चर्यजनक कलात्मक बान्कीका कविता भूपिले हामीलाई दिएका थिए । नेपाली चेतनालाई विश्वचेतनासँग जोड्ने अहं काम पनि उनका कविताले गर्छन् । साम्राज्यवादका विरुद्ध लडिरहेका हो चि मिन्हजस्ता मुक्तियोद्धाको पक्षमा खुलेर नेपाली जनमत बनाउने भूपिले सगरमाथाको देशबाट उनको विजयको कामना गरेका मात्र होइनन्, आफ्नो गृहजिल्ला मुस्ताङकोे सानो खोला लेतेलाई हिन्दचीनको जीवनरेखा भन्न मिल्ने मेकोङ महानदीसँग जोडेर महाचेतनाको निर्माण गरेका छन् । गरिबीले ग्रस्त नेपाली समाजका विसङ्गतिहरूमाथि भीषण प्रहार गर्ने सधैँ सधैँ मेरो सपनामा’ उनको अर्को महत्त्वपूर्ण कविता हो ।
- कुनै पुस्तक चोरेको ? कुनै पुस्तक हराएको प्रसङ्ग सम्झनुपर्दा !
मेरा धेरै पुस्तक चोरिएका छन् । तीमध्ये डोमिनिक लापिएरको ‘द सिटी अफ ज्वय’, मार्क्स एङ्गेल्सको ‘द कम्युनिस्ट मेनिफेस्टो’, धूमिलको ‘संसद से सडक तक’, देवकोटाको ‘मुनामदन’, माधव घिमिरेको ‘गौरी’, भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पनि हुन् ।
- आफूले खोजेको र नभेटेका कुनै पुस्तक !
थुप्रै छन्, खोज्दै छु, केही भेट्दै छु, केही भेटिने क्रममा छन् ।
- पहिलो पढेको ठुलो आकारको पुस्तक ! त्यसबाट के पाउनुभयो ?
महाभारत नै मैले पढ्न पाएको पहिलो ठुलो आकारको पुस्तक हो । यसमा सयौँ पात्र छन् । यसमा दर्शन, राजनीति, कूटनीति, मनोविज्ञान, युद्ध, प्रेम, कुण्ठा, हत्या, सत्य, असत्य, इमानदारी, बेइमानी, वीरता, कायरता, घमण्ड, आत्मबोधजस्ता अनेकौँ पक्ष छन् ।
दोस्रो ठुलो पुस्तक लियो टोल्सटोयको ‘वार एन्ड पिस’ हो । विश्वका महान् कथाशिल्पी लियो टोल्सटोयका सबै कृतिमा त्यति वेलाको रसियाली जीवन र संस्कृति जति जीवन्त भएर आउँछन्, त्यति अन्यत्र भेटिन्न । यो बृहदाकार उपन्यासको अङ्ग्रेजी संस्करण मैले २०३६ सालमा पुतलीसडकमा र बालुवाटारका खेतको आलीमा बसेर तीन महिना लगाएर बल्लबल्ल सकेको थिएँ । अहिले यो उपन्यास मसँग छैन, तर लागिरहेको छ — यो मेरो दराजमा हुनैपर्छ । महाभारतबाहेक अर्को यति ठुलो ग्रन्थ यसअघि मैले पढेको थिइनँ, न त एउटै कथामा सयौँको संख्यामा रहेका चरित्र नै पाएको थिएँ । यसले मेरा समस्त पूर्वधारणामा पहिरो ल्यायो । यसमा पृष्ठैपिच्छे प्रयोग भएका भन्न मिल्ने फ्रेन्च भाषाका वाक्यहरूले पनि मेरो पढाइको निरन्तरतामा बाधा उत्पन्न गरेका थिए । यो उपन्यास पढिसकेपछि मलाई टोल्सटोयजस्तो महान् र प्रतिभासम्पन्न लेखक सायद यस दुनियाँमा अर्को कोही थिएन, छैन र हुने पनि छैन भन्ने लागेको थियो । त्यत्रो विशाल फलकमा सयौँ चरित्रहरूको सुन्दर संयोजन गरिएको देख्ता म अहिले पनि जिब्रो टोक्छु । त्यही कारणले मैले उनको अर्को बृहत् उपन्यास ‘अन्ना करेनिना’ पढेँ, उनका कथाहरू खोजी खोजी पढेँ । उनका कृतिको अनुवाद गर्नेहरूको प्रतिभा र साहसलाई मैले हजारौँपल्ट सलाम गरेको छु । यसमा इतिहासको यथार्थ र आख्यानको निकै रोचक सन्तुलन भेटिन्छ । यसमा आख्यानको गद्य कविता भेटिन्छ ।
- तपाईंको सोचलाई बदलिदिने पुस्तक !
कार्ल मार्क्सका ‘द कम्युनिस्ट मेनिफेस्टो’ र ‘द एटिन्थ ब्रुमेयर अफ लुइस बोनापार्ट’ ।
- आख्यान र गैरआख्यानमध्ये कुन विधा पढ्न बढी रुचाउनुहुन्छ ?
दुवै रुचाउँछु ।
- तपाईंलाई कुन कुराले लेख्न प्रेरित गर्छ ?
मानव समाजको विडम्बनापूर्ण अप्रतीम सौन्दर्य र भयानक कुरूपताले मलाई केही न केही लेख्न प्रेरित गर्छ ।
- पछिल्लो समय नेपालको पठन संस्कृति कस्तो पाउनुभएको छ ?
पढ्नेभन्दा हेर्ने संस्कृति बढ्दो छ । मल्टी मिडियाको जमाना छ । प्रविधिले हाम्रो आनीबानीमा ठुलो परिवर्तन ल्याइदिएको छ । अतः पठन पनि प्रभावित हुनैपर्यो, तर हाम्रो पठन पश्चिमाभन्दा ज्यादै तल्लो स्तरमा छ भन्ने बुझेर मलाई साह्रै नरमाइलो लाग्छ । हामी फोस्रा गफमा अल्झेर समय खेर फालिरहेका छौँ । हाम्रो समाजको उपल्लो स्थानमा भएकाहरू अति नै मूर्ख छन् । ती पढ्नमा विश्वास गर्दैनन् । तिनले पुस्तक र पुस्तकालयको महत्त्व बुझेका छैनन् । नयाँ पुस्ताले तिनीहरूबाट छलकपट र मूर्खता सिकिरहेको छ । पुस्तक किन्ने मानिसलाई ती अमिलो कटाक्ष गर्छन् । हाम्रा शिक्षण संस्थाहरू ज्ञान होइन धन कमाउने सजिलो माध्यम बनेका छन् । अतः राज्य र नागरिकले नबुझेसम्म पठन संस्कृति उकालो लाग्ने कुनै सम्भावना छैन ।
- आगामी दिनका योजना ?
ठोस योजना त छैन, तर केही राम्रा पुस्तक पढ्ने र आफ्ना अधुरा काम पूरा गर्ने धोको भने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : राजावादी आन्दोलनमा धरपकडदेखि वाईसीएललाई प्रचण्डको निर्देशनसम्म
-
भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट
-
जनता नै इतिहासका निर्माता हुन्, राजावादीहरूले बुझून्
-
गण्डकीको ‘राइड सेयरिङ’को विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायी
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
मंगलबार संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी