जनता नै इतिहासका निर्माता हुन्, राजावादीहरूले बुझून्

समाचार सारांश
- काठमाडौंको रत्नपार्कमा राजतन्त्रवादीहरूले पृथ्वीनारायण शाहको नारासहित आन्दोलन गरे।
- आन्दोलनका क्रममा पूर्व गृहमन्त्री कमल थापालाई प्रहरीले पक्राउ गरेको घटना सामाजिक सञ्जालमा भाइरल भयो, जसलाई गणतन्त्रवादीहरूले व्यंग्य गरेका छन्।
- लेखकले गणतन्त्रको रक्षा गर्न र भ्रष्टाचारविरुद्ध लड्न आह्वान गर्दै, जनताले नयाँ विकल्प खोज्नुपर्नेमा जोड दिए।
विराटनगर । काठमाडौँको रत्नपार्कमा देशभरबाट भेला भएका केही हजार ‘रैती’हरू कथित छाता आन्दोलन चलाइरहेका छन् । उनीहरूले ‘नेपाल एकीकरण’का अगुवा पृथ्वीनारायण शाहको उवाच लेखिएको प्लेकार्ड र ब्यानरहरू प्रदर्शन गरिरहेका छन् ।
त्यहाँ लेखिएको छ, ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन ।’ यो मुलुक उनै पृथ्वीनारायण शाहले आज्र्याको हो कि होइन ? त्यसवेला जनता थिए कि थिएनन् । राजा महाराजाहरूको बलिदानबाट बनेको हो कि जनताको बलिदानबाट मुलुक एकीकरण भएको हो ? यो बहस गर्नुपर्ने विषय नै होइन । किनकि इतिहासका निर्माता जनता हुन् र जनताले नै मुलुक निर्माण गर्ने हो । अब चर्चा गरौँ कथित राजतन्त्रवादीको आन्दोलनको ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा बनाउने भनेर सुरु भएको आन्दोलनका क्रममा आइतबार कमल थापालाई प्रहरीले ‘तुर्लुङ’ पार्दै पक्राउ गर्यो । यो घटनाको भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल छ । गणतन्त्रवादीहरूले ‘पालाको पैँचो’ भन्दै फोटो पोस्ट्याएका छन् । धेरैले जनआन्दोलनका कमान्डर तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको टाउकामा प्रहरीले बर्साएको लाठीचार्जको फोटो प्रदर्शन गरेका छन् ।
अर्थात् त्यसवेलाको स्मरण गराएका छन् । यद्यपि त्यसवेला गिरिजाप्रसाद कोइरालाको टाउकोमा मात्रै लाठी बर्सिएको थिएन । त्यसवेलाका प्रत्यक्ष शासनमा रहेका ज्ञानेन्द्र शाह र तिनै गृहमन्त्री कमल थापाहरूको निर्देशनमा जनताको छातीमा गोली हानिएको थियो । सयौं मानिस प्रहरीको लाठी र अश्र्रुग्यासबाट घाइते भएका थिए । सञ्चारमाध्यामहरूमा सेन्सरसिप लगाइएको थियो ।
मिडियाहाउसहरू तत्कालीन शाही सेनाको निगरानी र हस्तक्षेपमा परेका थिए । टेलिफोन अवरुद्ध पारिएको थियो । त्यति हुँदा हुँदै पनि त्यसवेला गणतन्त्र र लोकतन्त्र पुनःस्थापित भयो । पृथ्वीनारायण शाहले जस्तै भन्ने हो भने जनताको साना दुःखले गणतन्त्र आएको थिएन ।
‘गणतन्त्रका ब्वाँसाहरूले मच्चाएको लुटधन्दा देखाएर पुनः ल्याउन खोजिएको निरंकुशतन्त्र कुनै पनि बाहनामा मान्य हुँदैन ।’
सुरक्षाकर्मीको गोली र बुटको कुन्दाले गणतन्त्रको नारालाई रोक्न खोज्दा शीर्ष नेताहरूका साथै होनाहार १९ जनाले ज्यान गुमाए । अहिले थापालाई घिसारेको फोटो हेर्दा गज्जब लागिरहेको छ । उनका टाउकोमा प्रहरीको लाठी बर्सिएको भए पनि गणतन्त्रवादीलाई विस्मात हुनुपर्ने होइन । तर, हामी लोकतन्त्रमा, गणतन्त्रमा छौं । यो व्यवस्थामा नागरिकले आवाज उठाएकै कारण सरकारले दमन गर्नु हुँदैन भन्ने मान्यता राखिन्छ ।
एक पटक पूर्वराजा ज्ञानेन्द्र शाह पनि यसैगरी आन्दोलनमा आऊन् र उनको टाउकोमा डण्डा बर्सियोस्, रगतको धारा बगोस् भन्ने मेरो अपेक्षा छ । यो अपेक्षा सबैको लागि रुचिकर नहुन पनि सक्छ । मेरो अपेक्षा मात्रै हो ।
कम्युनिस्टहरूको भाषामा भन्ने गरिन्छ, ‘तिमी तिम्रा तरिकाले लड, हामी हाम्रा तरिकाले लडौंला ।’ हो लोकतन्त्र र गणतन्त्रको पक्षपातीहरू आफ्नै तरिकाले लड्नु आवश्यक छ । लोकतन्त्र या तानाशाहीतन्त्र के रोज्ने भन्ने कुरा जनताले नै फैसला गर्छन् ।
अर्थात् फेरि पनि भनौं जनता नै मुलुकका निर्माता हुन् । जनता नै इतिहासका निर्माता हुन् । यसको मतलब गणतन्त्रको टालोले छोपेर तमाम राज्यकोषमा लुटको धन्दा चलाउनेलाई छुट दिनु हुँदैन । हामी सबैले तिनीहरूलाई तिरस्कार गर्नुपर्छ । बरु गणतन्त्र खतरामा पर्ने भयो भन्ने भाष्य निर्माण गरेर ब्वाँसोले जस्तो जनताको करमा रजाइँ गर्ने कथित नेतातन्त्र फालेर हामीले जनताको गणतन्त्र बनाउन लाग्नुपर्छ ।
जनआन्दोनलको वेला जनताको छातीमा गोली ठोक्ने, जनताको टाउकोमा लाठी बजार्ने र बजार्न लगाउने तत्कालीन कमल थापालाई रायमाझी आयोगले सिफारिस गरेको आधारमा पक्राउ गरी अनुसन्धान गर्नुपर्छ । होनाहार मानिसको छातिमा गोली दाग्नेहरूलाई खोजीखोजी कारबाही नगर्दाको परिणाम अहिले देखिँदैछ । तर, विडम्बना ओली सरकारले यसो गर्न अहिले पनि सक्दैन ।
किनकि दुई तिहाई नामको ढोडको तक्मा भिजिट भिसारूपी बडेमानको ढाकरले थिचिएर भाँचिन लागेको छ । अर्थात् ओलीतन्त्रले तानाशाही निरंकुशता ल्याउन चाहनेहरूका लागि पर्याप्त ‘मसला’ दिइरहेको छ । त्यस्ता मसला भनेकै वाइडबडी घोटाला, गिरिबन्धु टिस्टेट, भिजिट भिसा, नक्कली भुटानी शरणार्थी, विद्युत् प्राधिकरणभित्रको हस्तक्षेप, न्यायलयमाथिको हस्तक्षेप, प्रहरीमाथिको हस्तक्षेप, तस्करी, विमानस्थल निर्माणमा भएको अर्बौं घोटलालगायत हुन् । त्यसबाट आम गणतन्त्रवादी सचेत हुन जरुरी छ । गणतन्त्रवादीमध्ये पनि असली गणतन्त्रवादीहरूले नयाँ आन्दोलनको सूत्रपात गर्नु आवश्यक छ ।
अन्त्यमा, जनताले निरंशुकता पनि चाहँदैनन् । अहिले जस्तो बेथिति, भ्रष्टाचार र कुशासन पनि चाहँदैनन् । बरु जनताले शासन, प्रशासनमा नयाँपन र नयाँ विकल्प चाहन्छन् । कथित पुरानै ढर्रा, पुरानै तरिका, पुरानै सोच, पुरानै रटानले आजको युगलाई नेतृत्व गर्न सक्दैन ।
बरु, आऊँ सबैले बहस गरौं देश र जनताको विकास र समृद्धिको सपनालाई साकार पार्न एकजुट बनौं । निरंशुतन्त्रको भुत र गणतन्त्रका ब्वाँसाहरूलाई पराजित गरौं । नयाँ जनआन्दोलनको सृष्टि गरौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही
-
टर्कीमा गयो भूकम्प, सात जना घाइते
-
कलाकार गौतमलाई कलाकर्मीले दिए अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)
-
आईसीसी विश्वकपमा पाकिस्तानको सबै खेल श्रीलङ्कामा
-
सांसदको प्रश्न– यातायात व्यवसायीसँग तत्कालीन सहमति भएको हो कि दीर्घकालीन ?
-
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण