अपडेट : राजावादी प्रदर्शनमा सहभागी थप एक जना पक्राउ
आइतबार, १८ जेठ २०८२, १७ : २३

काठमाडौँ । राजावादीहरूको प्रदर्शनस्थलबाट आइतबार थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हिन्दुबादी अभियन्ता डा. राजीव झा छन् । रौतहट घर भएका ४५ वर्षीय झा लाई पनि प्रदर्शनको क्रममा नक्साल स्थित नारायणचौरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
यसअघि राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शन स्थलबाट नियन्त्रणमा लिइएकाहरूको सङ्ख्या सात पुगेको छ ।
आन्दोलनको क्रममा प्रहरीले कमल थापा, ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुर घर भएका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ ।
राजावादी समूहले राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनीहरु पक्राउ परेका हुन् ।