बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिन्दु संस्थाको दबाबपछि ‘जनै हराएको बाहुन’बाट हट्यो 'बाहुन'

सोमबार, १९ जेठ २०८२, १४ : ४६
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । चलचित्र ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’ को नाम परिवर्तन गरिएको छ । निर्माण युनिटले चलचित्रको नाम परिवर्तन गरेर ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ राखिएको जानकारी गराएको छ । 

हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा 'मान्छे' राखिएको हो ।

आगामी भदौ ६ गते रिलिज मिति तोकिएको चलचित्रको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्र विजय बराल छन् । रातो सटमा दुई वटा झोला बोकेर उनी घरबाट निस्किन लागेको जस्तो देखिन्छ । पोस्टरले गाउँको व्यक्तिले गाउँ छोडेर सहर पुगेर गरेको संघर्ष बताउने संकेत गरेको छ । 

काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन भएको चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ । फिल्मका निर्देशक हिमाल न्यौपाने हुन् । फिल्मले आमा र छोराबिचको भावनात्मक कथा भन्ने न्यौपाने बताउँछन् ।

चलचित्रमा अभिनेता बरालसँगै केकी अधिका, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली र भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायत पनि अभिनय छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सहनिर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङको डीओपी र कृष्ण परियारको छायांकन छ । 

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप