बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमाले संसदीय दलको बैठक

गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत : प्रधानमन्त्री

सोमबार, १९ जेठ २०८२, १४ : ५४
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताएका छन् । 

साेमबार नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने बताए । ‘भोलिदेखि नियमित संसद् चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जी कुरा गर्न खोजेँ तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन’, प्रधानमन्त्रीले भने, ‘वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैँ चल्दैन । संसद् यस्ता नचाइने कुरामा सधैँ बन्द हुँदैन ।’

प्रधानमन्त्री ओलीले विपक्षीले केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको पनि बताए । ‘जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद् अवरुद्ध हुँदैन’, उनले भने,  ‘माननीयज्यूहरू तयार भएर बस्नुस् । भोलिदेखि सदन चल्छ ।’ 

उनले सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुँदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्णरुपमा आफ्ना कुरा राख्न सांसदहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई संसदीय गतिविधिलाई महत्त्व दिन निर्देशन दिए । 

अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरुले विरोध गरिरहेका बेला बेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै उनले राजतन्त्र आजको बहसको विषय नै नभएको बताए । 

‘आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मूर्खता हो । भारत र चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले चलाएका छन् । केही देशमा खुम्चिएर राजतन्त्र टिकेको छ । दुनियाँमा राजतन्त्रको वैज्ञानिकता र न्यायिकता केही छैन । यस्तो बेलामा नेपालमा राजतन्त्र पुनः स्थापनाको कुरा गर्नेहरूको चेतनाको स्तर देख्दा दया लागेर आउँछ’, प्रधानमन्त्री ओलीले भने, ‘समाज थिति विधिमा चल्नुपर्छ । संविधान र कानुनबाट चल्नुपर्छ । दलभन्दा माथि जनता हुन्छन् । सम्पूर्ण शक्तिका स्रोत जनता हुन् ।’

उनले अराजकता र असन्तुष्टवादीहरुले श्रीलंका वा बंगलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुकमा लोकतन्त्रमा फर्केर मात्रै निकास आउने कुरा बुझ्नुपर्ने बताए । कतिपयमा सत्ता छोड्नुपरेकाले वैचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै उनले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्तिहरू देखिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप