बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन

समाचार सारांश
- माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको आरोप लगाए।
- बजेटले गरिब, मजदुर, किसान र सहकारी पीडितलाई नछोएको भन्दै पुनले आपत्ति जनाए, साथै सहकारी र लघुवित्तको समस्यामा ध्यान नदिइएको बताए।
- पुनले सहरी विकास मन्त्रालयलाई बजेट बढी विनियोजन गरिएकोमा शङ्का व्यक्त गर्दै, प्रदेश र स्थानीय तहलाई दिइएका अधिकार फिर्ता ल्याउन थालिएकोमा चिन्ता व्यक्त गरे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले तल्लो वर्गलाई छुन नसकेको बताएका छन् ।
‘सोमबार राजधानीमा आयोजित ‘सङ्घीयताको दृष्टिमा आर्थिक वर्ष ०८२/०८३ को बजेट’ शीर्षक कार्यक्रममा पुनले बजेटले तल्लो तहका जनताको भावना सम्बोधन गर्नुको साटो उपेक्षा गरेको बताएका हुन् । बजेटले गरिब, मजदुर, किसान र सहकारी पीडितलाई नछोएको भन्दै उनले आपत्ति जनाए । अर्थतन्त्र चलायमान हुन नसक्नुको कारणमध्ये एक सहकारी र लघुवित्तमा देखिएको समस्याको नकारात्मक प्रभाव रहेको भए पनि अर्थमन्त्री र सरकारको ध्यान त्यसतर्फ नगएको उनको भनाइ थियो ।
‘अर्थतन्त्र चलायमान हुन नसक्नुको कारण लघुवित्त र सहकारीको समस्या पनि हो’, उनले भने, ‘त्यसमा अर्थमन्त्रीको ध्यान गएको देखिएन ।’
फरक प्रसङ्गमा पुनले आगामी आर्थिक वर्षको बजेटमा सहरी विकास मन्त्रालयलाई मागेको भन्दा बढी रकम दिइएकामा आशङ्का रहेको बताए । उक्त मन्त्रालयको सिलिङ ९१ अर्ब रहेकामा २७ अर्ब बढाएर १ खर्ब १८ अर्ब बजेट दिइनुको कारण आफूहरूले खोज्ने उनले उल्लेख गरे ।
‘७२ अर्बको सिलिङ भएको मन्त्रालयलाई २६ अर्ब बढी बजेट दिनुको कारण के हो ? खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको आशङ्का छ’, उनले भने । राष्ट्रिय योजना आयोगले सहरी विकास मन्त्रालयलाई ९१ अर्ब रुपैयाँ बजेटको सीमा (सिलिङ) तोकिदिएको थियो । यद्यपि उक्त मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको तुलनामा यो २८ प्रतिशतले बढी हो । सरकारका २२ मध्ये अधिकांश मन्त्रालयको बजेट सीमा घटेकामा सहरीको भने अस्वाभाविक रूपमा बढाइएको छ । कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंह उपप्रधानसहित सहरी विकास मन्त्री छन् ।
अर्थमन्त्री विष्णु पौडेलले तीन करोडभन्दा कम बजेट विनियोजन नभएको दाबी गरिरहेको भए पनि सांसदहरूलाई उपलब्ध गराइएको रातो किताबको डिजिटल कपीमा सहरी मन्त्रालयअन्तर्गत १ लाखदेखि ५ लाखसम्मका योजनामा रकम विनियोजन गरेको भेटिएको उनले बताए ।
‘सहरी विकास मन्त्रीले नै अनौपचारिक रूपमा २५ लाखसम्मका योजना रहेको स्वीकार गर्नुभएको छ । तर, रातो किताबको डिजिटल कपीमा एक लाखदेखि ५ लाखसम्मका योजना बग्रेल्ती भेटिएका छन्’, पुनले भने, ‘सरकारले भन्ने एउटा गर्ने अर्को गरेको छ ।’
यस्तै उनले यसअघि प्रदेश र स्थानीय तहलाई दिइएको अधिकार सरकारले फेरि सङ्घमा फिर्ता ल्याउन थालिएको बताए ।
पुनले संघीयतासम्बन्धी संविधानको मर्म विपरीत स्वास्थ्य, शिक्षा, ऊर्जा र वन मन्त्रालयअन्तर्गत तल दिइएका अधिकार फिर्ता ल्याइएको जनाए । ‘सिद्धान्ततः हामी सबै सङ्घीयताको पक्षमै छौँ । त्यसमा सबैको प्रतिबद्धता पनि छ’, पुनले भने, ‘तर, व्यवहारमा भने तल दिइसकिएका अधिकारहरू पनि फिर्ता ल्याउने काम भएको छ ।’
सङ्घीयताको परिकल्पना गर्नेहरू नै कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेको भन्दै कार्यान्वयन पक्षमा देखिएको अनुदार प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए । यस्तै उनले सङ्घले प्रदेश र स्थानीय तहलाई विश्वास नगर्ने र सङ्घप्रति प्रदेश र स्थानीय तहले विश्वास गर्न नसक्ने अवस्था विद्यमान रहेको उल्लेख गरे । ‘सङ्घीयताको डिजाइन हामीले नै गरेका हौं । अहिले एक अर्काप्रति अविश्वास छ’, पुनले भने, ‘सङ्घले प्रदेश र स्थानीय तहलाई, प्रदेश र स्थानीय तहले सङ्घलाई विश्वास नगर्ने जुन अवस्था छ, यो अन्त्य हुनुपर्छ ।’
पुनले सङ्घीयतापछि स्थानीय तहहरूले प्रभावकारी काम गरेको बताए । भौतिक पूर्वाधारसहित अन्य विकास आयोजनाको छनोटदेखि कार्यान्वयनसम्म स्थानीय जनताको सहभागिता रहने गरेकाले प्रभावकारी देखिएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट डिपोर्ट भएका ३७ जना : एक जनाबाहेक अरुसँग पासपोर्ट भेटिएन
-
राष्ट्र बैङ्कले माग्यो आगामी मौद्रिक नीतिका लागि सुझाव
-
एमालेलाई सुधार्ने ६ उपाय
-
कानुनी व्यवस्था विपरीत कर्मचारीलाई सदस्यसचिव नियुक्त गरेको भन्दै अदालतमा रिट
-
सूचना आयोगमा २ महिनामा ६८ वटा मुद्दा दर्ता, ११० वटा फर्छ्यौट
-
योजना छनोटमा गलत भएको भन्दै कर्णालीमा प्रतिपक्षीद्वारा संसद् अवरुद्ध