बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय

एआई विरुद्ध २१औँ शताब्दीमा ‘लुडाइट’ आन्दोलनको खतरा

मङ्गलबार, २७ जेठ २०८२, ११ : २८
मङ्गलबार, २७ जेठ २०८२

समाचार सारांश

  • प्रविधिले श्रमिकको जीवनमा पार्ने नकारात्मक असरबारे विश्लेषण गरिएको छ, लुडाइट आन्दोलनको कथा र एआईको वर्तमान अवस्थालाई तुलना गरिएको छ।
  • एआई प्रविधिले भविष्यमा रोजगारीमा पार्ने सम्भावित असर र यसको समाधानका उपायबारे विभिन्न अर्थशास्त्री र विज्ञहरूका विचार प्रस्तुत छन्।
  • लेखमा एआईको विकासलाई मानव श्रमको सहयोगी बनाउन र सामाजिक असमानता कम गर्न नीतिगत सुधारको आवश्यकता औंल्याइएको छ।

सन् १८१२ को अप्रिल १२ तारिखका दिन बिहान सबेरै मानिसहरूको एक ठुलो समूह वेस्ट योर्कशायरको स्पेन नदी किनारमा रहेको राफोल्ड्स मिलतर्फ अघि बढिरहेको थियो । उक्त मिल ढुङ्गाको चार तले विशाल भवनका रूपमा थियो । मिल साहित्यकार ब्रन्टे दिदीबहिनीहरूले आफ्ना कृतिमा चित्रण गरेका जस्ता नाङ्गा र रुखा पाखा, गहिरा उपत्यका तथा फराकिला फाँटमा बसेका साना सहरहरूको सुस्त भूगोलको बिचमा थियो । 

मानिसहरू केही अघिदेखि नै डाँडामा भेला भएका थिए । तिनीहरू हातहतियार, लौरो, बन्चरो तथा फलामका गह्रुङ्गा हथौडा बोकेर आएका थिए । मिलमा पुगेपछि कोही झ्याल फुटाएर भित्र पस्ने कोसिस गर्न थाले त कोही अँध्यारो कारखानातर्फ गोली चलाउन थाले । उता मिलका साहु विलियम कार्टराइट भने यस्तो घटनाको पूर्व आङ्कलनसहित पहिल्यै तयारी अवस्थामा थिए ।

अघिल्लो वर्षदेखि नै इंग्ल्याण्डका मध्य र उत्तरी भागमा रहेका कपडा कारखानाहरूमा एकपछि अर्को यस्ता आक्रमणहरू भइरहेका थिए । यसको सुरुवात भने नटिङ्घमशायरबाट भएको थियो । जहाँ मोजा बुन्ने कामदारहरू आफ्ना मालिकको घरमा छिरेर नयाँ किसिमका कपडा बुन्ने मेसिन तोडफोड गरिरहेका थिए । 

उनीहरूलाई ती मेसिनले आफ्नो ज्यालामा कटौती गरेर भोकमरीमा धकेलिरहेका छन् भन्ने लाग्थ्यो । यो आन्दोलन नटिङघमशायरमा मात्रै सीमित रहेन । कपडा उत्पादनको मुख्य थलो नल्यान्कासायर पनि पुगिसकेको थियो । त्यहाँ मिल मालिकहरूले परम्परागत सीप प्रयोग गरेर ऊन तयार पार्ने कामलाई मेशिनले विस्थापित गर्न थालिसकेका थिए ।

सयौँ वर्षदेखि ऊनको कपडालाई न्यानो बनाउने र काटेर मिलाउने काम कामदारहरूले हातैले गर्दै आएका थिए । उनीहरूले आफ्नो सीप पिँढी दर पिँढी हस्तान्तरण गर्दै आएका थिए । त्यो सीप एक किसिमको धार्मिक अभ्यासजस्तो भई सकेको थियो । तर, अब भने त्यो काम गिग मिल भन्ने चिसा फलामका रोलरले गर्न थालेका थिए ।  

फ्रेमहरूमा एक जना मानिसले रोटेटर घुमाउँदा नै सारा काम सकिने भएको थियो । यसरी घुम्दा आउने आवाजले  पुरानो जीवन शैलीको अन्त्यको कथा सुनाए जस्तै भान हुन्थ्यो । फ्याक्ट्रीका साहु कार्टराइटले यस्तो खतरा बुझेर मिल भित्रै केही कामदार र मिलिसिया पृष्ठभूमिबाट आएका सशस्त्र सुरक्षाकर्मीहरूलाई राखेका थिए । 

लुडाइटहरूले भने धेरै अघि नै प्रविधिले श्रमिकहरूको जीवनमा पार्न सक्ने नकारात्मक असरबारे बुझिसकेका थिए ।  कारखाना प्रणालीले उनीहरूको सीपमूलक काम र जीवनशैलीलाई जोखिममा पारेको कुरा उनीहरूले बुझेका थिए । 

आक्रमण सुरु भए लगत्तै ती सुरक्षाकर्मीहरूले गोली चलाए । छानाबाट ढुङ्गा खसालियो । अचानक यस्तो कडा प्रतिरोध देखेपछि आक्रमणकारीहरू तितरबितर भए । दुई जना युवा गम्भीर घाइते भए, जसले दुई दिनभित्रै ज्यान गुमाए । त्यसपछि भएको कानुनी अनुसन्धानमा उनीहरूको मृत्युहरूलाई ‘न्यायिक हत्या’ भनियो ।

सन् १८१३ जनवरीमा योर्कमा १४ जना कामदारमाथि दङ्गा र मेशिन तोडफोडको अभियोगमा मुद्दा चलाइयो । संसद्ले केही अघि मात्रै पास गरेको ‘फ्रेम–ब्रेकिङ एक्ट’ अनुसार यो अपराधमा मृत्युदण्डको सजाय समेत हुन सक्थ्यो । केहीलाई निर्दोष ठहर गरियो । पाँचलाई दोषी ठहर गरियो । थप मुद्दामा नौ जना अरू दोषी पाइए । 

जनवरी १६ मा योर्कशायरका जल्लादले ती सबै १४ जनालाई झुण्ड्याएर मृत्युदण्ड दिए । उक्त घटनाका एक प्रत्यक्षदर्शीका अनुसार, ‘उनीहरूलाई हेर्दा लाग्थ्यो– उनीहरूले आफैले गरेको अपराधको गहिरो अर्थसमेत बुझेका थिएनन् ।’

‘लुडाइट’ भन्ने शब्दको उत्पत्ति स्पष्ट छैन । सन् १७७९ मा नेड लड नामका कामदारले कपडा बुन्ने फ्रेम तोडेपछि त्यसैबाट यो नाम आएको हो भन्नेहरू पनि छन् । अन्य व्यक्तिहरू भने यो नवौँ शताब्दीका राजा लुडेकाको कथाबाट आएको हो भन्छन् । जेसुकै भएता पनि धेरैजसो मेशिन तोड्नेहरू ‘जनरल लड’ लाई आफ्नो नेता मान्ने गर्थे । 

राफोल्ड्सको घटनाको केही हप्तापछि अर्को मिल मालिक विलियम होर्सफललाई गोली हानी मारियो । त्यसपछि पठाइएको एउटा पत्रमा लेखिएको थियो, ‘राफोल्ड्समा ज्यान गुमाएका दुई बहादुर युवाको बदला पूरा भयो ।’ उक्त पत्रको सुरुवात ‘जनरल लडको आदेशअनुसार’ भनेर गरिएको थियो ।

त्यसबेला बेलायत सरकार फ्रान्सका नेपोलियनसँगको युद्धमा थियो । उसले लुडाइटहरूलाई विद्रोही ज्याकोबिन सरह ठानेर कठोर दमन गर्‍यो । तर, त्यो प्रतिक्रियाको जगमा एउटा गम्भीर भ्रम थियो । लुडाइटहरू क्रान्तिकारी थिएनन् । उनीहरूको आन्दोलन आफ्ना जीवनयापनका सीप र पहिचान जोगाउन गरिएको रक्षात्मक प्रयास मात्र थियो । 

उनीहरू प्रविधिको विरोधी थिएनन् । बरु प्रविधिले कामदारहरूको अस्तित्वलाई नै खतरामा पुर्‍याई दिएपछि उनीहरू विरोधमा उत्रिएका थिए । त्यो सोच मौलिक रूपमा संरक्षणमुखी थियो । उनीहरूको राजनीतिक प्रतिनिधित्व थिएन । सन् १८६७ भन्दा अघिसम्म अधिकांश जनताले मतदान गर्न पनि पाउँदैनथे । त्यसैले उनीहरूले हिंसात्मक विरोधलाई अन्तिम उपाय ठाने । 

योर्कशायरका एकजना कामदारले लेखेका थिए, ‘कारखाना जलाउनु वा कसैको सम्पत्तिमा आगो लगाउनु ठिक होइन भन्ने थाहा छ । तर, भोकले मान्छेलाई जे गर्नुपर्छ त्यही गराउँछ । हामीले लुगा र भाँडा बेचेर बाँच्ने प्रयास गर्‍यौँ । नसके पछि अब अन्तिम संघर्षको मोर्चामा छौँ ।’

लुडाइट आन्दोलन छोटो समय चलेको भएता पनि ऐतिहासिक रूपमा यसको गम्भीर महत्त्व छ । यसले एउटा मौलिक प्रश्न उठाएको थियो– श्रमिकहरूले मूल्य सिर्जना गर्ने तर पुँजीवादका निर्दयी नियमहरूका अधीन रहन बाध्य हुनुपर्ने आर्थिक प्रणाली कसरी वैध हुनसक्छ ?

आज विश्वभर कृत्रिम बुद्धिमत्ता वा भनौँ एआईप्रति चासो बढेसँगै लुडाइटहरूको कथा पनि फेरि चर्चामा आएको छ । विभिन्न पोडकाष्ट तथा मिडिया रिपोर्ट वा आलेखहरूमा एआई तथा लुडाइटहरुका कथा छापिन थालेका छन् ।

यस्तै सन्देश प्रविधि पत्रकार ब्रायन मर्चन्टले सन् २०२३ मा निकालेको पुस्तक ‘ब्लद इन द मेसिन’ मा पनि पाइन्छ । उनले पुराना लुडाइटहरूको कथा र अमेजन तथा उबर जस्ता आजका प्रविधि कम्पनीबारेको आलोचनालाई जोडेर देखाएका छन् । 

उनी भन्छन्, ‘आज फेरि श्रमिकहरू उद्यमी, प्रविधि एकाधिकार र लगानीकर्ताहरूको नजरमा परेका छन् । जो नयाँ प्रविधि, एआई, रोबोटिक्स वा सफ्टवेयर अटोमेसनको माध्यमबाट उनीहरूलाई विस्थापित गर्न खोजिरहेका छन् । फेरि उनीहरू आफ्नो काम मेशिनसँग गुमाउने डरमा छन् ।’

एआईले रोजगारीमा पार्न सक्ने असरबारे अनेक अध्ययनहरू भएका छन् । विभिन्न प्रकारका पूर्व–चेतावनीहरू पनि दिइएका छन् । जसमा अफिसमा गरिने कामसमेत परेको छ । जुन काम पहिले अटोमेसनबाट सुरक्षित मानिन्थ्यो । सन् २०२४ मा अद्यावधिक गरिएको म्याकिन्सीको चर्चित रिपोर्ट अनुसार जेनेरेटिभ एआईजस्ता प्रविधिहरूले आजका कर्मचारीहरू गर्ने ७० प्रतिशत काम ‘अटोमेट’ गर्न सक्छन् । 

गोल्डम्यान स्याचको एक विश्लेषण अनुसार विश्वभर ३० करोड पूर्णकालीन जागिर खतरामा पर्न सक्ने भविष्यवाणी गरिएको छ । अमेरिकाको सरकारी तथ्याङ्क अनुसार पछिल्ला दुई वर्षमै एक चौथाइ भन्दा बढी कम्प्युटर प्रोग्रामिङका जागिरहरू गुमिसकेका छन् । त्यस्ता खालका काममा एआई धेरै प्रभावकारी साबित भएको छ ।

  • प्रविधिको शक्ति र श्रमिकको दुःख

कृत्रिम बुद्धिमत्ता (एआई) को विषयमा अर्थशास्त्रको परम्परागत दृष्टिकोण पहिले केही हदसम्म आशावादी थियो । विगतमा बाफ इन्जिन र विद्युतीकरण जस्ता ठुला प्रविधिहरूले उत्पादनशीलता बढाएको र त्यसले जीवनस्तर उकासेको अनुभव भएको हुँदा अर्थशास्त्रीहरू नयाँ प्रविधिलाई सकारात्मक रूपमा हेर्ने गर्थे । 

एमआईटीका अर्थशास्त्री एरिक ब्रायन जोल्फसन र एन्ड्र्यू म्याकेफीले सन् २०१४ मा लेखेको ‘द सेकेन्ड मेसिन एज’ नामक पुस्तकमा, एआई र रोबोटिक्सले बाफ इन्जिन जस्तै आर्थिक रूपान्तरण ल्याउन सक्ने विश्वास व्यक्त गरिएको थियो । ‘डिजिटल प्रविधिहरू समाज र अर्थतन्त्रमा गहिरो परिवर्तन ल्याउने अवस्थामा पुगेका छन्’ उनीहरूको भनाई थियो ।

त्यो समय जेनेरेटिभ एआई प्रारम्भिक चरणमै थियो । सन् २०२३ मा ओपेन एआईले च्याट्जीपीटी सार्वजनिक गरेको करिब ६ महिनापछि ब्रायनजोल्फसन र उनका सहकर्मीहरूले एउटा लेख लेखेका छन् । जसमा कसरी उक्त च्याटबट  प्रयोग गरेर उनीहरूमध्ये एक जनाले  एक हप्ता लाग्ने अनुसन्धानको काम एक बिहानमै सम्पन्न गरे भन्ने विवरण उल्लेख गरेका छन् ।

अहिलेसम्म स्वास्थ्य, शिक्षा, कानुन लगायतका महत्त्वपूर्ण सेवा केवल उच्च शिक्षा प्राप्त व्यक्तिहरूले मात्रै दिने गरेका छन् । त्यस्तो अवस्थामा उनीहरूलाई फाइदा हुन्छ । उपभोक्ता भने पीडित हुन्छन् ।

उनले सामान्य अंग्रेजी प्रयोग गरेर निर्देशन दिए । च्याटबटले तुरुन्तै उपयुक्त प्रकारको आर्थिक मोडेल बनायो । कोड लेख्यो । शीर्षकहरू समेत सुझायो । एआईले यस्ता दक्ष र व्यावसायिक स्तरका व्यक्तिको उत्पादनशीलता बढाएता पनि यसको विश्वव्यापी असर भने अझै सीमित हुन सक्छ ।

यदि मानसिक श्रममा संलग्न व्यक्तिहरू अझ प्रभावकारी भए भने, प्रविधिगत प्रगति तीव्र हुने र उत्पादनशीलताको दर दीर्घकालीन रूपमा बढ्ने सम्भावना छ भनेर उनीहरूले त्यही लेखमा व्याख्या गरेका छन् । एउटा चार्टमा त अझ यदि अनुकूल परिदृश्य भयो भने, २० वर्षभित्र एआईले श्रम उत्पादनशीलता र कुल गार्हस्थ्य दुवै दोब्बर बनाउन सक्छ भनेर देखाइएको थियो ।

तर, उत्पादन बढ्दा पनि सबैले त्यसको समान लाभ पाउँछन् भन्ने ग्यारेन्टी भन्ने पक्कै पनि हुँदैन । लेखकहरूले विगतमा प्रविधिले केही रोजगारी विस्थापित गरे पनि नयाँ रोजगारीहरू पनि सिर्जना भएका कुरा उल्लेख गरेका छन् । तथापि पुराना उदाहरणहरूलाई आजकै सन्दर्भमा जस्ताको तस्तै लागू गर्न भने नसकिने पनि बताएका छन् ।

नोबेल पुरस्कार विजेता तथा एमआईटीका प्राध्यापक ड्यारन एसिमोग्लुले पनि यो सन्दर्भमा गहिरो चिन्ता व्यक्त गरेका छन् । सन् २०२३ को अन्त्यतिर उनले भने ‘एआईलाई दक्षता बढाउने होइन, स्वचालनका लागि प्रयोग गरिएको देखिन्छ । भनेर लेखेका थिए ।

पछि उनले ‘एआईले उत्पादनशीलता र निर्णय क्षमता सुधार्न सक्छ, तर यसले रोजगारी नष्ट गर्‍यो, ज्ञान केन्द्रीकृत गर्‍यो, मानव जिज्ञासालाई दबायो, केही कम्पनीलाई अत्यधिक शक्तिशाली बनायो, अनि सामाजिक विभाजन र असमानता चरममा पुर्‍यायो भने त्यो लोकतन्त्रका लागि गम्भीर खतरा बन्न सक्छ’ भनेका छन् । उनी अहिलेको समय त्यतै गएकोमा आफूलाई डर लागेको बताउँछन् ।

  • लुडाइट विद्रोहको पाठ

लुडाइटहरूले भने धेरै अघि नै प्रविधिले श्रमिकहरूको जीवनमा पार्न सक्ने नकारात्मक असरबारे बुझिसकेका थिए ।  कारखाना प्रणालीले उनीहरूको सीपमूलक काम र जीवनशैलीलाई जोखिममा पारेको कुरा उनीहरूले बुझेका थिए । कपास उद्योगमा यो रूपान्तरण अझ तीव्र थियो । म्यानचेस्टरको एन्कोट्समा रहेको मरे मीलको आठ तले विशाल भवनमा  बाफ इन्जिनहरू तथा १२०० भन्दा बढी श्रमिकहरू थिए ।

कुनै समय त्यसलाई नयाँ अर्थतन्त्रको प्रतीक जस्तै मानिन्थ्यो । पर्यटकहरू समेत त्यो कारखाना हेर्न जान्थे । त्यसबेला कपास उत्पादन दुई चरणमा हुने गर्थ्यो । पहिले रेसालाई धागो बनाइन्थ्यो त्यसपछि कपडामा बुन्ने काम हुन्थ्यो । धागो बनाउने काममा प्रविधिको प्रयोगले स्वचालन ल्यायो ।

तर बुनाइको काम भने अझै जटिल भएकाले हातैले गर्नुपर्थ्यो । त्यसैले त्यसबिचको समय बुनकरहरूका लागि फलिफाप भएको थियो । सन् १७८० देखि १८१२ सम्म बेलायतमा उनीहरूको संख्या पाँच गुणा बढेको थियो । साथै उनीहरूको आय पनि राम्रो थियो ।

एआईले उत्पादनशीलता र निर्णय क्षमता सुधार्न सक्छ, तर यसले रोजगारी नष्ट गर्‍यो, ज्ञान केन्द्रीकृत गर्‍यो, मानव जिज्ञासालाई दबायो, केही कम्पनीलाई अत्यधिक शक्तिशाली बनायो, अनि सामाजिक विभाजन र असमानता चरममा पुर्‍यायो भने त्यो लोकतन्त्रका लागि गम्भीर खतरा बन्न सक्छ

तर, सन् १७८५ मा एडमन्ड कार्टराइटले ‘पावर लूम’ को आविष्कार गरेपछि भने अवस्था फेरियो । सुरुमा कठिन भए पनि सन् १८०० को दशकको सुरुवातमा ल्याङ्कसायरका मिलहरूले पनि बिस्तारै तीनै लूम प्रयोग गर्न थाले । यता नेपोलियन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कपासको माग पनि घट्दै गयो । यसले बुनकरहरूको आम्दानीमा ठुलो क्षति गरायो । सन् १८०४ देखि १८१० भित्रै उनीहरूको तलबमा करिब ४० प्रतिशत भन्दा धेरैले गिरावट देखा पर्‍यो ।

सुरुमा उनीहरूले यसको प्रतिक्रिया शान्तिपूर्ण रूपमा दिए । श्रमिक सङ्गठनहरु प्रतिबन्धित थिए । तर, उनीहरूले संसदमा न्यूनतम तलबको माग गर्दै १ लाख ३० हजार हस्ताक्षरसहितको निवेदन पठाए । सन् १८०८ मा त्यो माग सिधै अस्वीकृत भयो । त्यसपछि ल्याङ्कसायरका सहरहरूमा हडताल र दङ्गाले विस्तारित रुप लिन थाल्यो ।

सन् १८१२ मा स्टकपोर्टमा एउटा कारखाना जलाइयो । मिडलटनमा आक्रमण हुँदा तीनजना मारिए । सेनासँग भिडन्त हुँदा कम्तीमा सात जनाले ज्यान गुमाए । लुडाइट आन्दोलन खासमा युद्धकालीन आर्थिक मन्दी र महँगीका कारण चर्किएको थियो । मिल मालिकहरूले धम्कीपूर्ण पत्रहरू पाउन थाले । जसमा ‘ड्रेसिङ मेसिन र स्टिम लूम दुवै नष्ट गरिनेछ’ भनेर लेखिएको हुन्थ्यो ।

बेलायती राज्यको कठोर रवैयाले आन्दोलनलाई क्रमशः थकाउँदै लग्यो । सन् १८१५ सम्म आन्दोलन मृतसरहनै भयो । तर, श्रमिकहरूको अवस्था भने झन्–झन् दयनीय बन्दै गयो । सन् १८०० पछि केही सुधार भएको भएता पनि सन् १८३० सम्म उनीहरूको आम्दानी ८० प्रतिशतले घटिसकेको थियो । सन् १८२० देखि १८४५ भित्र बुनकरहरूको संख्या पनि दुई लाख ४० हजारबाट घटेर ६० हजार पुग्यो ।

  • पुँजीवादमाथि प्रश्न

लुडाइट आन्दोलन छोटो समय चलेको भएता पनि ऐतिहासिक रूपमा यसको गम्भीर महत्त्व छ । यसले एउटा मौलिक प्रश्न उठाएको थियो । श्रमिकहरूले मूल्य सिर्जना गर्ने तर पुँजीवादका निर्दयी नियमहरूका अधीन रहन बाध्य हुनुपर्ने आर्थिक प्रणाली कसरी वैध हुनसक्छ ?

इतिहासकार ईपी थम्पसनले आफ्नो पुस्तक ‘द मेकिङ अफ द इङ्लिस वर्किङ क्लास’ मा भनेका छन्, ‘लुडाइटहरु प्रविधिको मात्र विरोधी थिएनन् । खासमा उनीहरू पुँजीपतिको ‘स्वतन्त्रता’ को विरोधमा थिए । पुँजीपतिहरूको त्यस्तो स्वतन्त्रताले परम्परा, निष्ठा र मानव सीपलाई कुल्चिन सक्थ्यो ।’

एआईको विकास गति पुरानो बुनाई मेसिनभन्दा धेरै तीव्र छ । अमेरिकामा मात्रै ३५ लाख ट्रक चालक तथा झन्डै २० लाख ट्याक्सी, राइडसेयर चालकको रोजगारी जोखिममा छ ।
  • ए.आई.को जमानामा लुडाइटहरू

लुडाइटहरू त्यस निष्पक्षता, गुणस्तर र आपसी जिम्मेवारी बोध जस्ता पुराना मूल्यहरू त्यागेको त्यसवेला विद्यमान प्रणालीको नैतिक र राजनीतिक अधिकारलाई अस्वीकार गर्थे । सामन्तवाद र व्यापारी पुँजीवादको समयमा बेलायतको वर्गीय समाज कठोर रूपमा विभक्त थियो । माथिल्लो वर्गमा जमिन्दार, मध्यमा व्यापारी र डाक्टर, पादरी, वकिल जस्ता पेशेवरहरू अनि तल्लो वर्गमा बहुसंख्यक आम जनता थिए ।

यद्यपि यस्तो वर्ग संरचनासँगै केही नियमहरू पनि थिए, जसले मजदुरहरूलाई थोरै भए पनि सुरक्षा दिने गर्थे । कुनै सीपयुक्त काम गर्न ‘एपरेन्टिस’ बनेर तालिम लिनु पर्थ्यो । अनि बेरोजगार हुँदाका बखत स्थानीय निकाथरुले खाद्यान्न, पैसा वा लुगाफाटो सहयोग गर्ने गर्थे ।

तर, औद्योगिक पुँजीवादसँगै आएको स्वतन्त्र बजारको विचारधाराले भने मालिकहरूको अधिकारमा जोड दियो । सरकारको हस्तक्षेपलाई गलत घोषणा गर्‍यो । इतिहासकार ईपी थम्पसनले भनेका छन्, ‘लुडाइटहरूले लेसेज फेयर (खुला बजार) लाई स्वतन्त्रता नभएर अन्यायपूर्ण जबरजस्ती हो भन्ने माने । उनीहरूले जसले मुठिभर व्यक्तिलाई हजारौँ मानिसको जीवनमा प्रत्यक्ष क्षति पुर्‍याउने स्वतन्त्रता दिने त्यस्तो प्रणालीलाई अस्वीकार गरे ।’

आज एआईका समर्थकहरू अहिले पनि यस्ता गम्भीर प्रश्नहरू उठिरहेका छन् भन्ने कुरा स्वीकार गर्छन् । सन् २०२२ मा प्रकाशित एक लेखमा इरिक ब्रायन जोल्फसनले ‘हामीले एआईलाई मानव श्रमलाई प्रतिस्थापन तर्फ नभएर त्यसमा सहयोग गर्ने दिशातर्फ लैजानु पर्छ, जुन अहिलेको सबै भन्दा ठुलो चुनौती हो । जब एआईले मानव क्षमतालाई बढाउँछ त्यसबेला मानिस र मेसिन परस्पर सहायक हुन्छन् ।’ त्यसो हुँदा मानिसहरू अझै पनि श्रम बजार र राजनीति दुवैमा महत्त्वपूर्ण भूमिकामा रहन सक्छन् ।

ब्रायनजोल्फसनले त्यही आलेखमा चेतावनी दिँदै लेखेका छन्, ‘तर एआईले सीधा मानिसको कामै हत्यायो भने मेसिनले मानिसको श्रमलाई प्रतिस्थापन गर्छ । अनि श्रमिकहरूको आर्थिक र राजनीतिक शक्ति गुम्न थाल्छ । टेक कम्पनीहरूले अत्यधिक शक्ति र सम्पत्ति कमाउँछन् । तर, साधारण मजदुरहरूको अवस्था भन्दा अवस्था झन्–झन् बिग्रन्छ । उनले यस अवस्थालाई ‘टुरिङ ट्रयाप’ भनेका छन् । यस्तो उपमा एआईका जनक मानिने एलन ट्युरिङको नामबाट राखिएको हो ।

त्यसो भए के गर्ने त ? ब्रायनजोल्फसनको जवाफ छ, ‘अब कर प्रणालीमा परिवर्तन गर्नुपर्छ । अहिलेको प्रणालीले मेसिनमा लगानी गर्न प्रेरित गर्छ । किनभने मानिसलाई काममा राख्दा तलबमा कर लाग्छ । तर, मेसिन राख्दा पुँजी आम्दानीमा कम कर लाग्छ । यस्तो असन्तुलनलाई सुधार्न सकियो भने कम्पनीहरू मानवमैत्री प्रविधिमा लगानी गर्न तयार हुन्छन् ।

त्यति मात्रले पुग्छ त ? प्रख्यात अर्थशास्त्री डारन एसिमग्लु र उनका सहकर्मी डेविड अटोरका अनुसार त अझ व्यापक नीति आवश्यक हुन्छ । अटोरका अनुसार जब चीनबाट सस्तो सामान आयात भयो कतिपय उद्योगहरू धराशायी भएका थिए । सेवा क्षेत्र भने बाँकी नै रहेको थियो । तर, एआईको हकमा त्यस्तो हुँदैन । एआई त हरेक क्षेत्रमा पस्न सक्छ ।

अटोरका अनुसार सम्भावना र जोखिम दुवै विद्यमान छन् । एआईले अनुसन्धान क्षमता र उत्पादकत्व बढाउन सक्छ । साथै दक्ष काम समेत खोस्न सक्छ । जसले गर्दा मानिसको सीपको मूल्य घट्छ । अनि अति थोरै मानिसले मात्रै लाभ लिन्छन् । बाँकीलाई कुल आयको थोरै हिस्सा मात्रै वितरण गरिन्छ । तथापि उनी पूर्ण निराश भने छैनन्, ‘हामीलाई यस्तो प्रविधि चाहिन्छ, जुन हाम्रो काममा सहयोगी हुन सकोस् । अब त्यस्तै मेसिनको डिजाइन गर्नुपर्ने हुन्छ ।’

उदाहरणका लागि अमेरिकामा सबैभन्दा बढी रोजगार दिने भनेको स्वास्थ्य क्षेत्र हो । यदि नर्सहरूलाई सहयोगी एआई प्रणाली दिइयो भने उनीहरूले अझ धेरै उपचारको जिम्मेवारी लिन सक्छन् । डाक्टरको अभाव पूर्ति गर्न सक्छन् । साथै स्वास्थ्य खर्च घटाउन सक्छन् ।

एआईले मानवीय सीपलाई प्रतिस्थापन नगरी सहायता गर्‍यो भने त्यसले मध्यम स्तरको कामको अवसर बढाएर समानताको अवस्था ल्याउन सक्छ । तर, अहिले एआईको विकास श्रमिकलाई सहयोग गर्न नभएर डाटा सेटमा राम्रो गर्नकै लागि भइरहेको छ ।

शिक्षा र कानुनको क्षेत्रमा पनि यस्तो सम्भावना छ । अहिलेसम्म स्वास्थ्य, शिक्षा, कानुन लगायतका महत्त्वपूर्ण सेवा केवल उच्च शिक्षा प्राप्त व्यक्तिहरूले मात्रै दिने गरेका छन् । त्यस्तो अवस्थामा उनीहरूलाई फाइदा हुन्छ । उपभोक्ता भने पीडित हुन्छन् ।

यदि एआईले मानवीय सीपलाई प्रतिस्थापन नगरी सहायता गर्‍यो भने त्यसले मध्यम स्तरको कामको अवसर बढाएर समानताको अवस्था ल्याउन सक्छ । तर, अहिले एआईको विकास श्रमिकलाई सहयोग गर्न नभएर डाटा सेटमा राम्रो गर्नकै लागि भइरहेको छ भन्नेबारे अटोर चिन्तित देखिन्छन् । 

एउटा अध्ययनको हवाला दिँदै उनी भन्छन्, ‘केही डाक्टरहरू एआईको सुझावमा धेरै भर परेका कारण गलत निर्णय गर्न थालेको पाइएको छ । त्यसैले सरकारले एआई प्रणालीलाई वास्तविक जीवनमा परीक्षण गर्न तथा सामाजिक प्रभावको मूल्याङ्कन गर्न हस्तक्षेप गर्नुपर्छ ।’

सरकारसँग ठुलो शक्ति छ । सरकारले अनुसन्धान अनुदान र एआई खरिद, उत्पादन र परीक्षणका लागि कडा सर्तहरू राख्यो भने खासमा मानवमैत्री र सहयोगी प्रविधिको विकास गर्न सम्भव हुन्छ । तर, यहाँनिर समस्या के छ भने एआईको विकास निजी क्षेत्रले गरिरहेको छ । उसको लक्ष्य भनेको नाफा हो । 

सन् १९८० तिर इन्टरनेट विकासमा सरकारी संस्थाहरूको ठुला भूमिका थियो । तर, अहिले सरकारसँग त्यस बेलाको जस्तो शक्ति छैन । यति हुँदाहुँदै पनि धेरै कुरा हाम्रो हातबाट गइसकेको छैन भन्ने अटोरको बुझाई छ । 

सन् १८१२ मा २४ वर्षीय कवि लर्ड वायरनले बेलायती माथिल्लो सभा अर्थात् ‘हाउस अफ लर्डस’ मा आफ्नो पहिलो भाषण दिए । त्यसबेला नटिङ्घमसायरमा कामदारहरू तलब घटेको र बेरोजगारीको विरोधमा मेसिन फुटाइरहेका थिए । वायरनले तिनलाई ‘उपद्रो’ भनेका थिए । साथै त्यस्तो उपद्रवका पछाडि ‘कारुणिक अवस्था’ रहेको तर्क पनि गरेका थिए । 

आफ्नो भाषणका क्रममा उनले संसद्मा सोधेका थिए– ‘के हरेक खेतमा फाँसीको पोल ठड्याएर मानिसहरूलाई बिजुलीका तार जसरी झुन्ड्याउने हो ? के तपाईँ मुलुकलाई सैनिक शासनमा राख्न चाहनुहुन्छ ?’

संसद्ले बायरनको चेतावनीलाई गम्भीरतापूर्वक लिएन । तर, केही दशकपछि भने बेलायतले कारखाना सम्बन्धी विविध कानुनहरू पारित गर्‍यो । जसले श्रमको समय सीमित गर्‍यो । बालश्रम प्रतिबन्ध गर्‍यो । मजदुर संगठनलाई कानुनी मान्यता दियो । साथै स्वास्थ्य तथा बेरोजगारी बीमाको प्रावधानहरू पनि ल्यायो ।

तर, एआईको विकास गति पुरानो बुनाई मेसिनभन्दा धेरै तीव्र छ । अमेरिकामा मात्रै ३५ लाख ट्रक चालक तथा झन्डै २० लाख ट्याक्सी, राइडशेयर चालकको रोजगारी जोखिममा छ । यो प्रविधिले यदि मानिसको जीवन सुधार गर्नु अगावै व्यापक विरोधको सामना गर्न पुग्यो भने त्यसले समाजमा ठुलो संकट ल्याउन सक्छ ।

एआई पुँजीवाद आफ्नो वैधानिकता कायम राख्न चाहन्छ भने पुँजीमा अत्यधिक कर लाग्नु पर्छ । जसले आखिर कुल आयको वितरणमा समानता ल्याउने प्रयास गर्छ । एआईका अगुवा जेफ्री हिन्टनलाई सोधिएको एउटा प्रश्नको जवाफमा केवल एउटा शब्द भनेका छन्, ‘समाजवाद’ । सम्भवतः उनले यही अर्थमा भनेको हुनुपर्छ ।

१९औँ शताब्दीको अन्त्यमा जर्मन चान्सलर बिस्मार्कले कामदारहरूले क्रान्ति गर्न सक्ने डरले व्यापक सामाजिक बीमा प्रणाली ल्याएका थिए । जुन पछि धेरै देशहरूले पनि अपनाए । आज पनि शिक्षक, चिकित्सक, वकिल जस्ता पेशेवरहरू मिलेर यस्तो दबाब दिन सक्ने सम्भावना छ । 

तर, अहिले कुनै ठोस नीति देखिएको भने छैन । समाज गहिरो रूपमा विभाजित छ । नियमन गर्ने निकायहरूलाई कमजोर पारिँदै छ । साथै तथ्यमा आधारित नीति निर्माण पनि सङ्कटमा छ ।

डेभिड अटोर भन्छन्, ‘सन् १९७० तिर भएको भए हामीले यो समस्या अहिले भन्दा राम्रोसँग समाधान गर्न सक्थ्यौँ । आज हामीसँग धेरै प्रविधि भए पनि एआईलाई ह्यान्डल गर्ने हाम्रो क्षमता भने कमजोर छ । सम्भवतः एआई आउनको लागि यो गलत समय हो ।’ 

(न्यु योर्करबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जोन क्यास्सिडी
जोन क्यास्सिडी
लेखकबाट थप