अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय जेठ २९ र ३० गते बन्द
सारांश
- वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै जेठ २९ र ३० गते विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
- पर्साको पोखरिया नगरपालिकाले पनि गर्मीका कारण जेठ २८ देखि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ, जसमा बालविकासदेखि कक्षा १२ सम्मका विद्यार्थीहरु प्रभावित हुनेछन्।
- विद्यालय बन्द भए पनि प्रशासनिक कार्य भने नियमित सञ्चालन हुनेछ र असार १ गतेदेखि विद्यालयहरू पुनः सञ्चालनमा आउनेछन्।
वीरगञ्ज । अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि वीरगञ्ज महानगरले पनि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वीरगञ्ज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखिको बढ्दो गर्मीलाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई ध्यान दिँदै जेठ २९ र ३० गते दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिए ।
‘दुई दिन बर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा गरिएको हो’, उनले भने, ‘पठनपाठन बन्द भए पनि सो अवधिमा विद्यालयको प्रशासन भने खुला रहनेछ ।’ पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीका कारण जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए ।
‘अत्यधिक गर्मीकले बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जेठ २८ देखि ३० गतेसम्म तीन दिन गर्मी बिदा दिने निर्णय गरेका छौँ’, उनले भने, ‘असार १ गतेदेखि भने विद्यालय सञ्चालन गरिनेछ ।’ नगरपालिकाले बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन कार्य स्थगन गरिएको जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण