शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा
इरान इजरायल तनाव

LIVE UPDATES : इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा

शुक्रबार, ३० जेठ २०८२, ०६ : ४७

समाचार सारांश

  • इजरायलले इरानमाथि हमला गरेको घोषणा गरेको छ, संकटकाल घोषणा गर्दै।
  • इरानमा विस्फोटका आवाज सुनिए, इजरायलको आक्रमण आणविक कार्यक्रम र क्षेप्यास्त्र क्षमतामा केन्द्रित थियो।
  • इजरायलले 'सटीक र समन्वित आक्रमण' गरेको र हमला जारी राख्ने योजना बनाएको छ।

तेल अभिभ । इजरायलले इरानमाथि हमला गरेको घोषणा गरेको छ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जका अनुसार देशमा संकटकाल घोषणा गरिएको हो।

‘इजरायलले इरानमाथि गरेको हमलापछि, इजरायली नागरिक र देशमाथि क्षेप्यास्त्र तथा ड्रोन हमला हुने तत्काल सम्भावना रहेको’ काट्जले एक वक्तव्यमा भनेका छन्।

इरानी सरकारी सञ्चारमाध्यम आईआरएनएका अनुसार तेहरानमा लगातार विस्फोटहरूको आवाज सुनिएको छ। इजरायलको प्रारम्भिक हमला मुख्यतया इरानको आणविक कार्यक्रम र लामो दूरीका क्षेप्यास्त्र क्षमतामाथि लक्षित गरिएको इजरायली सैन्य अधिकारीले जानकारी दिएका छन्।

उक्त हमला ‘सटीक र समन्वित आक्रमण’ भएको बताइएको छ, जसमा इरानका विभिन्न क्षेत्रमा रहेका ‘दर्जनौँ लक्ष्यहरू’ समेटिएको थियो। इजरायलले इरानमाथि यस्ता हमलाहरू क्रमशः जारी राख्ने योजना बनाएको पनि एक इजरायली स्रोतले सीएनएनलाई बताएका छन्।

‘यो केवल एक दिनको हमला होइन,’ स्रोतले भने। इजरायली सरकारले यो हमला गर्न सैन्य तथा कूटनीतिक रूपमा उपयुक्त समय देखेको भन्दै, यही अवसर प्रयोग गरेर कारबाही थालिएको जनाइएको छ।

इजरायलद्वारा 'रिभोलुसनरी गार्ड्स' को मुख्यालयमा पनि आक्रमण

तेहरान । इरानको सरकारी टेलिभिजनले इजरायलले शुक्रबार बिहान गरेको आक्रमणमा तेहरानस्थित ‘इस्लामिक रिभोलुसनरी गार्ड्स’ को मुख्यालयलाई पनि लक्षित गरिएको जानकारी दिएको छ। स्थानीय सञ्चारमाध्यमहरूले उक्त स्थानमा आगो र धुवाँ निस्किएको देखिएको प्रत्यक्षदर्शीहरूको हवाला दिँदै जनाएका छन्।

इस्लामिक रिभोलुसनरी गार्ड्स इरानको सशस्त्र बल अन्तर्गतको एउटा बलियो र प्रभावशाली शाखा हो, जसले देशको आन्तरिक सुरक्षा, विदेश नीति र आणविक कार्यक्रममा समेत गहिरो प्रभाव राख्छ।

सञ्चारमाध्यमका अनुसार इजरायली मिसाइलले तेहरान र अन्य सहरका आवासीय क्षेत्रहरूमा पनि प्रहार गरेका छन्। रायटर्सले इरानी टेलिभिजनलाई उद्धृत गर्दै मारिनेहरूमा बालबालिका पनि रहेको जनाएको छ।

नेतन्याहुले भने, ‘इरानको आणविक कार्यक्रमको मुटुमा प्रहार गर्‍यौँ’

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथिको आक्रमण ‘इरानको आणविक संवर्द्धन कार्यक्रमको मुटुमा प्रहार’ भएको बताएका छन्।

उनका अनुसार इजरायलले इरानको तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको नतान्ज सहरस्थित प्रमुख युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण गरेको हो। नेतन्याहुले भने, ‘इजरायलले इरानी बममा काम गरिरहेका वैज्ञानिकहरूलाई पनि लक्षित गर्‍यो।’ 

नेतन्याहुले ‘अप्रेसन राइजिङ लायन’ नाम दिइएको कारबाहीको घोषणा गर्दै भने, ‘केही समयअघि इजरायलले इरानी खतरा हटाउनका लागि लक्षित सैनिक अपरेसन सुरु गरेको छ। यो अपरेसन तबसम्म चल्नेछ, जबसम्म खतरा हट्दैन।"

तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द

तेहरान । इरानले जारी गरेको नोटमका अनुसार राजधानी तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द गरेको छ । नोटम भनेको विमान उडान गर्नुअघि सबै पाइलटहरूले पढ्नुपर्ने सूचना बुलेटिन हो।

तेहरानमा हालसम्म ६ देखि ९ वटा विस्फोट भएको रिपोर्ट आएको छ। सीएनएनका इसाक यीले भनेका छन्, ‘मैले व्यक्तिगत रूपमा कम्तिमा दुई विस्फोट सुनेको छु।’ विस्फोटहरू कुनै एक ठाउँमा मात्र नभई सहरका विभिन्न भागहरूमा भएका छन्।

इरानी सरकारी टेलिभिजन आईआरआईबीले पनि विस्फोटहरू पुष्टि गरेको छ र घटनाका केही दृश्यहरू देखाएको छ।

इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले इजरायलले इरानमाथि गरेको हमलामा आफ्नो कुनै संलग्नता वा सहयोग नरहेको बताएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सो जानकारी दिएका हुन्।

‘आज राति इजरायलले इरानमाथि एकपक्षीय रूपमा कारबाही गरेको छ। हामी उक्त हमलामा संलग्न छैनौँ, र हाम्रो प्रमुख प्राथमिकता क्षेत्रका अमेरिकी फौजहरूको सुरक्षा गर्नु हो,’ उनले वक्तव्यमा भनेका छन्।

‘इजरायलले यो कारबाही आत्मरक्षाका लागि आवश्यक भएको विश्वास व्यक्त गरेको छ। राष्ट्रपति ट्रम्प र प्रशासनले हाम्रा फौजको सुरक्षा गर्न आवश्यक सबै कदम चालेका छन् र हामी हाम्रा क्षेत्रीय साझेदारहरूसँग निरन्तर सम्पर्कमा छौँ। म स्पष्ट भन्न चाहन्छु: इरानले अमेरिकी स्वार्थ वा जनशक्तिमाथि हमला गर्नु हुँदैन,’ रुबियोले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया