किशोरी घाउ

अनायसै झस्किएँ । बाटोबाट जुत्ता ट्याक–ट्याक गर्दै कोही हिँड्यो । म स्याँस्याँ हुन थालेँ । त्यही बखत ट्रिपर स्पिडमा कुद्यो । म घरको बरन्डामा थिएँ । त्यहाँबाट जुरुक्क उठेँ, फेरि बसेँ । यसरी उठ्ने र बस्ने गर्नु मेरो शान्त हुने प्रयास हो । यस्तो घबराहट हुँदा भित्र–बाहिर गरिरहन्छु ।
घबराहट कम भयो । पहिलेकै अवस्थामा आएँ र घोरिन थालेँ । किन सानो कुरामा झस्किन्छु ? प्रहरी भ्यानको साइरन र एम्बुलेन्सको साइरनले तर्सिन्छु । झन् जब बुटको ट्याक–ट्याक सुन्छु, पुराना कुरा बग्रेल्ती मनमा बग्न थाल्छन् । आफू दुई बीसकी हुँदै छु भन्ने बिर्सिन्छु । पन्ध्र वर्षे किशोरी भइहाल्छु, त्यही व्यथा सम्झिन्छु र अकस्मात् त्यो समयमा पुगेर रोकिन्छु ।
भर्खरै पन्ध्रमा टेकेकी थिएँ । कक्षा ९ मा पढ्थेँ । साथीहरू बिचकी राम्री थिएँ रे । सबैले त्यस्तै भन्ने गर्थे । कोही मेरो गालामा पर्ने खाल्डाको कुरा गर्थे, कोही ठुला आँखाको, कोही सर्लक्क परेको शारीरिक बनोटको । मेरो रूप र सौन्दर्यको चर्चा चुलिने क्रममा थियो । स्कुलमा त म चर्चित नै थिएँ तर पढ्न जान्ने भएर होइन, आकर्षक देखिएर । मलाई पनि लाग्न थालेको थियो । ओहो ! म कति राम्री । सबैतिरबाट राम्री भनिदिँदा फुरुक्कै हुन्थेँ । घरमा आएर पटक–पटक ऐना हेर्न सुरु गरेकी थिएँ । आमाले भन्ने गर्थिन्, कपाल सिनित्त कोर । म सिनित्त पार्थें । आमा मलाई हेर्दै डराउँथिन् । आफ्नै वरपर राखिरहन मन गर्थिन् । आमाको काममा सघाइदिन्थेँ । काम सकेपछि साथीकोमा जान खोज्थेँ । आमा मलाई हिँड्नबाट रोक्न खोज्थिन् । म गाउँ डुल्न खोज्थेँ । सबैले राम्री जो भन्ने गर्थे । त्यही सुनेर म मख्खिन्थेँ ।
मैले बालाई देखेकी होइन । बा थिए भन्ने कुरा मात्र थाहा थियो तर कस्ता थिए भन्ने थाहा थिएन । छिमेकीहरू भन्थे, काटीकुटी मजस्तै थिए । मेरा दिनहरू आमाको वरपर बित्थे । स्कुल पढ्न जान थालेपछि साथीहरूको कुरा सुनेर बस्थेँ । साथीहरूसँग खेल्दा जति खुसी हुन्थेँ, त्यसको दोब्बर दुःखी उनीहरूका कुराबाट हुन्थेँ । उनीहरू कहिले बाले ल्याएका खेल्ने सामग्री देखाउँथे कहिले मिठामिठा मिठाइहरूको चर्चा गर्थे; कहिले राम्रा जामा र राम्रा टिसर्टका कुरा गर्थे । म साथीहरूका कुराले दुखेकी हुन्थेँ । किनकि त्यो सब मेरो भागमा परेका थिएनन् । जो उनीहरूलाई मिलिरहन्थ्यो । म उनीहरूको जस्तै खुसीको कल्पना गर्थें, मात्र कल्पना । कल्पना गरेर पाइने रहेनछ ।
द्वन्द्वकालीन समय थियो । त्रास बढेको थियो । घरमा आमाछोरी मात्र थियौँ । कहिलेकाहीँ गाउँमा सेनाहरू डुलिरहन्थे । फेरि पनि सबैका आँखा मैतिर तेर्सिन्थे । कोही–कोहीले भन्ने गर्थे । सेनाले अब तँलाई छाड्दैनन् । कुनै न कुनै दिन लुट्न सक्छन् । उनीहरूका कुराले मन बिगाथ्र्यो । भित्र–भित्र त्रसित भएकी थिएँ । किन छाड्दैनन् ? किन लुट्छन् ? लुट्नु भनेको के हो ? कसलाई सोध्ने ? मनभरि प्रश्नका चाङ थुप्रिएका थिए ।
एक रात आमा र म खाना खाएर सुतेका थियौँ । राति बाटोमा ट्याक–ट्याक गरेको आवाज आयो । आमा झस्किन् र मलाई कोट्याइन् । म उठेँ । त्यो रातभर हाम्रो घर वरपर ट्याक–ट्याक भइरह्यो । घरीघरी खासखुस गर्थे तर के कुरा गर्दै छन् भन्ने हामी बुझ्दैनथ्यौँ । आमा ट्याक–ट्याकको आवाजले डराएकी थिइन् । म आमालाई देखेर डराएकी थिएँ । आमाछोरीको निद्रा ट्याक–ट्याकको आवाजले खायो । दुईजना सासले कुरा गथ्र्यौं ।
कुरै कुरामा आमाले भनिन्— स्कुल जाँदा साथीहरूको वरपर रहिरहनु । कतै जानुपरे साथी बेगर एक्लै नजानु । साँझ–बिहान मेरैनजिक बस्नु । आमाका कुराले डरको डिग्री बढायो । त्यो रात एक–अर्कासँग टाँसिएर बितायौँ आमाछोरीले ।
हामी स्कुल जाँदै थियौँ । बाटोमा सम्झनाले सोधी, ‘तेरो दाइ आजकल कता छ ?’
‘थाहा छैन । ६ महिनापहिले रातमा झुलुक्क देखेकी हुँ । त्यसपछि हाम्रो भेट भएको छैन,’ मैले भनेँ ।
‘आज रातभर सेनाहरू हिँडिरहेका थिए रे । सेनाहरूले तिमीहरूको घरलाई निसाना बनाउँछन् रे ।’
कसले भनेको ?
‘मेरो बाबाले भन्नुभएको,’ उसले भनी ।
हजुरसजुर गर्नपर्दैन भन्दै उसले मैले ओढेको सिरक फालिदियो । म झस्किएँ । आमा आत्तिइन् । ओहो यहाँ त खाजाको व्यवस्था रहेछ साथीहरू । उसले मलाई हेर्दै भन्यो ।
किन हाम्रो घरलाई निशाना बनाउने ?
‘थाहा नपाएझैँ नगर् न । तिमीहरूको घर माओवादीको घर हो रे । तेरो दाइ माओवादी छापामार हो त । गाउँका सबैलाई थाहा छ यो कुरा ।’
मलाई पनि थाहा छ, मैले मनमनै भनेँ तर केही बोलिनँ । उसले कुरा सकेकी रहिनछे, फेरि भनी— त्यही भएर तेरो दाइ घरमा बस्दैन । किन थाहा छैन भन्छेस् । सबैलाई थाहा छ, तिमीहरू माओवादी हौ । तिमीहरूको छेउमा हाम्रो घर भएकाले हामीलाई नि खतरा छ । घरमा यस्तै कुरा भएको थियो ।
ऊ के के बोल्दै थिई । म डराउन थालेँ । आमाको कुरा सम्झेर खुट्टा काम्न थाले । ऊ बोली रही, म कामिरहेँ । मेरो डरको खाल्डो गहिरियो । अब राम्री भएका कुराले मख्खिने सोच कमजोर भयो । उसै पनि रातभरि ट्याक–ट्याकको आवाजले सुतेकी थिइन् । साथीका कुराले त्रास बढ्यो तर जहाँ गए पनि जे गरे पनि मैले सम्झनालाई छोडिनँ । आमाले साथीलाई नछाड्ने जो भनेकी थिइन् ।
स्कुल जाँदा–आउँदा हामी सँगसँगै हुन्थ्यौँ । आमा घरमा नहुँदा म उसको घर जान थालेकी थिएँ ।
एक दिन हामी स्कुल जाँदै थियौँ । बाटाभरि सेनाहरूको हुल आइरहेको थियो । म सम्झनाको पछाडि छेल परेँ तर उनीहरूलाई हेर्न छोडिनँ । त्यसबखत मैले देखेँ । गाउँकै एकजना अंकलले हामी भएतिर हेर्दै कुरा गर्दै गरे । कुरा सुनिएन तर उनको कुरा गराई हामीतिर लक्षित थियो । त्यही कारण म डराएकी थिएँ । डरले मेरो दिनलाई अत्यन्तै लामो बनाएको थियो । रात नपरे हुन्थ्यो भन्ने मेरो भित्री इच्छा थियो । कुरा सोच्दैमा समय बदल्न सकिँदो रहेनछ । आखिर साँझ परिहाल्यो । साँझबाट हिजोजस्तै बाटोमा ट्याक–ट्याक सुरु भयो ।
एक रात म निदाइसकेकी थिएँ । घरमा गाइँगुइँ गरेको हल्लाको मधुरो आवाज आयो । आमा छेउमा थिइनन् । अलि पर बोलेको सुनेँ । निदाउने प्रयास गरेँ तर निदाउन सकिनँ । त्यसपछि जुरुक्क उठेर भान्छातिर लागेँ । आमा भात पकाइरहेकी थिइन् । पिँढीमा एक हुल मान्छे बसिरहेका थिए । तिनीहरूले साउतीमा कुरा गरी रहेथे । आमालाई सोधेँ, ‘आमा ! आज हाम्रा घरमा को आएका यति राति !’
आमाले भनिन्, ‘तिमीलाई चाहिँदैन छोरी यो कुरा ।’
मैले जोड गरेँ तर आमाले भन्दै भनिनन् । मेरो ढिपीसँग रिसाएर आमाले मलाई भित्तातिर धकेलिन् । म ठोक्किएँ । त्यहाँ एउटा लामो लौरोजस्तो देखिने वस्तुमा मेरो आँखा पुग्यो । त्यो कालो रङको लौरोजस्तो थियो तर लौरो थिएन । मैले त्यसलाई छुन खोजेँ ।
‘होइन के गरेकी तैँले । त्यो खतरा हुन्छ । न छो त नानी,’ आमाले भनिन् ।
मैले हात हटाएँ तर के हो त्यो सोधिनँ । सोध्नुले जवाफ पाइँदैन भन्ने थाहा भइसकेको थियो । आमाको खतरा शब्द बाहिर बसेकाले सुनेछन् । एकजना भित्र पसे । उनले पहिले त्यो खतरा भनेको वस्तुलाई समाए । मैले देखेँ उनको हातमा रातो रिबन बाँधिएको थियो । जुन मैले स्कुल जाँदा टाउको बाँध्ने गरेको रिबनजस्तै थियो । उसले आमातिर हेर्यो । उसको टाउकोमा पनि उस्तै रातो पट्टी बाँधिएको थियो । आमाको अनुहार हेरेपछि ऊ नबोली बाहिरियो । उनी को थिए ? मैले फेरि प्रश्न गर्न सकिनँ आमालाई ।
आमाले मलाई हेर्दै भनिन्— जा गएर सुत । रात धेरै भइसक्यो ।
म ओछ्यानतिर लागेँ । भान्छामा के के हुँदै छ भन्ने मैले ओछ्यानबाट थाहा पाइरहेकी थिएँ । आमा रोइरहेकी थिइन्, दाइका कुरा गरेर । उनीहरूसँग दाइलाई भेट्ने कुरा गरिन् । उनीहरुले भेट्न नमिल्ने बताएका थिए । उनीहरूले भन्दै थिए—ऊ (मेरो दाइ) धेरै टाढा छ र सकुशल छ ।
कुरा सुनेर आमा रुन छाडिनन्, रोइरहिन् ।
भोलिपल्ट म स्कुल हिँडेँ । बाटाभरि सम्झना फतफताइ रहन्थी । हामीले उसको नामै फतफते राखेका थियौँ । उसले सोधी— राति तेरा घर को आएका, माओवादीहरू हुन् ? अरु को आउँछ र होइन !
उसले यसरी भनी, मानौँ उसले आफ्नै आँखाले देखेकी थिई । म केही बोलिनँ । शर्मिला बिचैमा बोली, ‘यसले कहिले केही भन्छे र तैँले सोध्छेस् सम्झना !’
हो, मैले कहिल्यै माओवादी जोडिएका कुरामा बोलिनँ । किनकि म डरको घेराबन्दीमा थिएँ । त्यस दिन स्कुलमा पढ्दा–लेख्दा राति आमा रोएको मात्र सम्झन्थेँ ।
साँझ पर्यो । आमाछोरी खाएर सुत्न के लागेका थियौँ । बाहिर पहिलेको भन्दा चर्को स्वरमा ट्याक–ट्याक सुरु भयो । आमाछोरीले हेराहेर मात्र के गरेका थियौँ । ढोकाबाट ड्याम्म–ड्याम्म आवाज आयो । मेरा ओठ काप्न थाले । आमा थर्थराइन् । फेरि ड्याम्म गरेपछि ढोका खुल्यो । एक हुल मान्छेहरूभित्र पसे । टुकी धिपधिप बलिरहेको थियो । एउटाले सोध्यो— कति जनालाई भात खुवाइस् अस्ति ?
आमाले कामेको स्वरमा भनिन्— सात जनालाई ।
ऊ फेरि बोल्यो— हामीलाई खुवाउँदिनस् । हामी पाँचजना मात्र छौँ ।
त्यत्तिकैमा म खाटमा चलमलाएँछु ।
‘त्यहाँ को छ ? माओवादी लुकाएकी होस् ।’
होइन हजुर ।
हजुरसजुर गर्नपर्दैन भन्दै उसले मैले ओढेको सिरक फालिदियो । म झस्किएँ । आमा आत्तिइन् । ओहो यहाँ त खाजाको व्यवस्था रहेछ साथीहरू । उसले मलाई हेर्दै भन्यो । आमा आएर मेरो छेउमा बसिन् । उसले आमालाई धकेलिदियो । आमा भुइँमा पुगिन् ।
ऊ मेरैे छेउमा बस्यो र भन्यो— गज्जब छ साथीहरू । आज तिर्खा मेटेर छाडिन्छ ।
अरु गललल हाँसे । उसले त्यहाँ भएका अरुलाई बाहिर जान आदेश दियो । सबै बाहिरिए । आमा उठेर भित्तामा टाँसिइन् । उसले मेरो सुरुवाल तान्यो । मलाई नङ्ग्यायो र मनमर्जी मेरो शरीर चलायो । आमा टाउको ठोकिरहिन् भित्तामा । ऊ खेलिरह्यो मेरो शरीरमा ।
ऊ अघाएर उठ्यो । उठेर लुगा लगाउँदै भन्यो । साला माओवादीहरूले हाम्रा दिदी बहिनी छोडेका छन् र हामीले छोड्नी ! उसको अनुहार प्रफुल्लित थियो । यस्तो लाग्थ्यो, उसले जे गर्यो त्यो जायज थियो । युद्धमा विजयी भएजस्तो भाव उसको बोलीमा झल्कन्थ्यो ।
म रगताम्य भएकी थिएँ । ऊ फुत्त बाहिरियो । उसका साथीहरू ऊसँगै लागे । हामी होस् भएका बेहोसी भयौँ । आमाले मेरो लाज ढाक्न थालिन् ।
दाइ माओवादी भएका कारण म आमाकै अगाडि बलात्कृत भएँ । दाइ त्यसपछि फर्केर आएन । न आयो ऊ सहिद भएको खबर । बेपत्ता पारिएकाको सूचीमा पनि उसको नाम छैन । दाइलाई सोध्न पाएकी छैन मैले, के उसले पनि जनताका छोराछोरीलाई सेनाले जस्तै छाडेन ?
समय धेरै घर्किसकेको छ । दुई बीस पुग्न लागिसकेँ । धेरै घाउहरूमा खाटा बसिसके तर त्यो घाउमा खाटा बसेको छैन, बेला–बेला झनै आलो भइदिन्छ । विशेषतः बुटको आवाजले वा त्यस्तै कुनै आवाजले मेरो त्यो घाउलाई बल्झाउँछ । म आत्तिन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले गर्यो इरानी रक्षा मन्त्रालयमाथि आक्रमण
-
इरान इजरायल तनाव: सिरिया र जोर्डनको हवाई क्षेत्र बन्द
-
शाहरान तेल प्लान्टमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी
-
मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति
-
इरानको आक्रमणपछि हाइफामा क्षति छैन, पश्चिम गालिलिमा १४ घाइते
-
बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का