मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
राजनीति

संसद्‌मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप

सोमबार, ०२ असार २०८२, १८ : ४६
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रीको राजीनामा माग्दै संसदमा विरोध प्रदर्शन गर्यो, तर सत्तापक्ष र प्रतिपक्षी दल माओवादी केन्द्रको सांसद बोल्दा फरक व्यवहार देखायो।
  • रास्वपाका सांसदहरूले बजेटमाथिको छलफलमा अवरोध गर्दै मानव तस्करलाई कारबाहीको माग गरे, तर माओवादी केन्द्रका सांसद बोल्दा मौन बसे।
  • सत्तारुढ दलका सांसदहरूले रास्वपाको विरोध शैलीलाई संसदीय मर्यादाको प्रश्न उठाए, भने रास्वपाले आफूले अवरोध गरेको बैठकको भत्ता नलिने घोषणा गर्यो।

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद्मा आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो विरोध प्रदर्शनमा विरोधाभासपूर्ण र ‘दोहोरो चरित्र’ देखाएको छ । 

आइतबारदेखि सुरु भएको बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा रास्वपाले लिएको यस्तो रणनीति संसदीय वृत्तमा नौलो हो । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरू बोल्दा आक्रामक रूपमा प्रस्तुत हुने रास्वपा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद बोल्दा भने मौन देखियो । 

सोमबारको प्रतिनिधि सभा बैठकको सुरुदेखि नै रास्वपाका सांसदहरू सभामुखको आसनअघि भेला भएर नाराबाजी गरिरहेका थिए । उनीहरूले ‘हाम्रो आन्दोलन जारी छ’, ‘मानव तस्करलाई कारबाही गर,’ ‘गृहमन्त्री राजीनामा दे,’ ‘मानव तस्करलाई संरक्षण बन्द गर’ र ‘झुटो कति बोलेको, जनताले छ सुनेको’ जस्ता नारा लगाए । 

फरक विरोधको शैली अपनाएका रास्वपाका सांसदहरू कहिले उभिएर त कहिले सभामुखको आसनअगाडि भुइँमा पलेँटी कसेर बसेका थिए । जब सत्तारुढ दल एमाले र कांग्रेसका सांसदहरू बजेटमाथिको छलफलमा भाग लिन रोस्ट्रममा पुगे, रास्वपाको नाराबाजी र विरोध अझै चर्किएको थियो ।

तर, जब प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बोल्न रोस्ट्रममा उभिए, चर्को नारा लगाइरहेका रास्वपाका सांसदहरू एकाएक चुप लागे । बस्नेतले आफ्नो मन्तव्य राखिरहुञ्जेल मौन बसेका उनीहरू सत्तापक्षका सांसद बोल्दा अवरोध गर्न थाले ।

प्रतिपक्षी रास्वपाको यस्तो व्यवहार संसदीय मर्यादामाथि प्रश्न र सत्तापक्षको आपत्ति

रास्वपाको विरोध गर्ने यस्तो शैलीप्रति सत्तारुढ दलका सांसदहरूले भने संसदीय मर्यादाको प्रश्न उठाउँदै नियमापत्ति जनाए । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले रास्वपा सांसदहरूको व्यवहारले संसदीय गरिमामाथि प्रहार भएको बताए । 

उनले व्यंग्यात्मक शैलीमा भने, ‘हामी सबै सदस्यले कस्तो मर्यादा पालना गर्नुपर्ने हो ? म ध्यानाकर्षण गराउन चाहन्छु । हामी रत्नपार्कमा छौँ कि सहिदगेटमा छौँ कि, कलंकी वा पोखराको चिप्लेढुंगामा छौँ ? मैले बुझ्न सकिनँ, माननीयहरूका कुर्सी रोइरहेका छन् ।’ 

रास्वाको विरोध जनाउने तरिकालक्षित उनको उनको अभिव्यक्ति थियो । त्यस्तै एमालेकै अर्का सांसद दामोदर पौडेल ‘वैरागी’ले विरोधको शैलीगत पक्षमाथि आपत्ति जनाए । उनले भने, ‘संसद्मा संसदीय मर्यादा कायम गर्नुपर्दछ । विरोध गर्नुपर्‍यो भने उभिएर विरोध गर्ने परम्परा र व्यवस्था छ । तर सभामुखको आसनतर्फ जुत्ताचप्पल खोलेर, ध्यान गरेजस्तो गरेर विरोध गर्नु संसदीय मर्यादाभित्र पर्दैन ।’

सत्तारुढ दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले पनि रास्वपाले लगाएको नाराप्रति आपत्ति जनाइन् । विशेषगरी अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिइरहेका बेला ‘मानव तस्करीलाई कारबाही गर’ भन्ने नारा गुञ्जिएपछि उनले प्रश्न गरिन्, ‘आपत्तिजनक शब्दहरू यहाँ उठे । वक्ताले बोलिरहेका बेलामा अवरोध भयो । मानव तस्कर भनेर कसलाई भन्न खोजेको हो ? के तपाईंहरू परिभाषित गर्न सक्नुहुन्छ ?’

फरक प्रतिपक्षी, फरक रणनीति

संसद्मा भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले फरक–फरक रणनीति अपनाएका छन् । रास्वपाले सदनभित्रै रहेर ‘छनोटपूर्ण अवरोध’को नीति लियो भने प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने दुवै दिनको बैठक बहिष्कार गर्‍यो । 

रास्वपाले आफूले अवरोध गरेको बैठकको भत्तासमेत नलिने घोषणा गर्‍यो । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले भने सरकारसँग दुईबुँदे सहमति गरेपछि संसद् अवरोध नगर्ने बताएको छ । तर एक महिनाभित्र उक्त सहमति पालना नभए थप आक्रामक बन्ने चेतावनी दिएको छ। 

बजेटमाथिको बहसका क्रममा ‘सफेद झुट’को आरोप

रास्वपाको विरोध र राप्रपाको बहिष्कारबिच सदनमा बजेटमाथिको छलफल भने चलिरह्यो । प्रतिपक्षी सांसदहरूले राष्ट्रिय योजना आयोगको निर्देशनविपरीत तीन करोडभन्दा कमका हजारौँ आयोजनामा बजेट छुट्याइएको भन्दै सरकारको चर्को आलोचना गरे ।

अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने क्रममा चालु अवस्थामा रहेका र भुक्तानी दायित्व सिर्जना भइसकेका आयोजनाका लागि मात्रै ३ करोडभन्दा कम रकम विनियोजन गरिएको दाबी गरे ।

तर, उनको जवाफप्रति माओवादी सांसद शक्ति बस्नेतले ठाडै असहमति जनाए । अर्थमन्त्रीको जवाफ सकिएलगत्तै बस्नेतले भने, ‘सभामुख महोदय, अघि माननीयज्यूहरूले त गलत कुरा बोल्नुभएकै थियो रोस्ट्रमबाट र अहिले अर्थमन्त्रीज्यूले अर्को ‘सफेद झुट’ रोस्ट्रममा गएर बोलिदिनुभयो ।’ 

उनले सहरी विकास मन्त्रालयमा मात्रै ६ हजार ७४० मध्ये ५० प्रतिशतभन्दा बढी योजना १० लाखदेखि तीन करोडसम्मका रहेको तथ्यांक प्रस्तुत गर्दै अर्थमन्त्रीको दाबीलाई खण्डन गरेका थिए । 

बस्नेतले अर्थमन्त्रीलाई ‘सफेद झुट’ बोलेको आरोप लगाइरहँदा पनि रास्वपाका सांसदहरू मौन नै थिए । र रास्वपाका सांसदहरू नाराबाजी गरिरहेका वेला बजेटमाथिको सामान्य छलफल सकिएको सभामुख घिमिरेले सभालाई जानकारी गराए ।

बैठकको अन्तिममा सभामुख घिमिरेले उपप्रधान तथा अर्थमन्त्री पौडेललाई ‘विनियोजन विधेयक, २०८२’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । 

सभामुखको अनुमतिअनुसार मन्त्री पौडेलले उक्त प्रस्ताव सभामा प्रस्तुत गरेका थिए । सोमबारै बसेको दोस्रो बैठकमा समेत रास्वपा सांसदहरूले विरोधलाई जारी राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप