बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीको आज पनि प्रदर्शन

मङ्गलबार, ०३ असार २०८२, १५ : ४९
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • सुनचाँदी व्यवसायीहरूले विलासिता कर फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन गरे।
  • नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले अनावश्यक करको विरोध गर्दै प्रदर्शन गरेको छ।
  • प्रधानमन्त्री केपी ओलीसँगको भेटमा व्यवसायीहरूले करको व्यवस्थाले व्यवसाय धराशायी हुने बताए, प्रधानमन्त्रीले समाधानको लागि पहल गर्ने आश्वासन दिए।

काठमाडौँ । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले मंगलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप सङ्कटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले काठमाडौँको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ । सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने समेत उनीहरूको माग छ ।

यसैबिच सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले उक्त करको व्यवस्था लागु गर्दा आफूहरूको व्यवसाय धराशायी हुने भएकाले पुनः विचार गर्न माग गरेको हो ।

सो क्रममा प्रधानमन्त्री ओलीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउँदै आन्दोलनको बाटोमा नलाग्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप