पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल

पोखरा । पोखरामा गुड्ने सवारी साधनको प्रदूषण जाँच गरिएको छ । यातायात व्यवस्था कार्यालय, कास्कीले पोखराभित्र गुड्ने नगर बसहरूको प्रदूषण स्तर जाँच गरेको हो ।
शुक्रबार गरिएको आकस्मिक जाँचमा आधा सवारी साधनहरू प्रदूषण मापदण्डमा फेल भएका छन् । चेक गरिएका २१ वटा सवारी साधनमध्ये १० वटा फेल भएका इन्जिनियर सुमन शर्माले जानकारी दिए । मापदण्डमा फेल भएका सवारी साधनहरूको कागजात जफत गरी मर्मत गरेर पुनः जाँच पास गरेपछि मात्रै सञ्चालन अनुमति दिइने उनले बताए ।
डिजेल गाडीको प्रदूषण मापन ‘ओपासिटी’ मा गरिन्छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार ६५ प्रतिशतसम्मको ओपासिटीलाई पास मानिन्छ भने सोभन्दा बढी देखिएमा फेल गरिन्छ ।
‘आकस्मिक रूपमा गरिएको जाँचमा झन्डै ५० प्रतिशत गाडी फेल भएका छन्,’ उनले भने, ‘हामीले जाँच पास र रुट परमिट नियन्त्रणमा लिएका छौँ । अब उहाँहरूले सर्भिसिङ गरेर गाडीलाई मापदण्डभित्र ल्याएपछि पुनः परीक्षणमा पास भएपछि मात्र कागजात फिर्ता पाउनुहुनेछ ।’
उनका अनुसार १०० प्रतिशत ओपासिटी भनेको चाहिँ गाडीबाट कुनै पनि धुवाँको कण नछिरेको भन्ने मान्छ । नेपालको मापदण्डले ६५ प्रतिशत सम्म आयो भने पास गर्ने र त्यो भन्दा बढ्दै गएपछि फेल गर्ने नियम छ ।
कार्यालय प्रमुख ढाका प्रसाद शर्माका अनुसार, दुई हप्ताअघि गरिएको नमुना परीक्षणमा १० मध्ये ६ वटा गाडी फेल भएका थिए । तर, निरन्तरको अनुगमन र कारबाहीका कारण अहिले पास हुने सवारीको अनुपात बढेकोले यसलाई सकारात्मक रूपमा लिइएको छ । ‘हामीले ट्राफिक प्रहरीसँगको समन्वयमा अत्यधिक धुवाँ फाल्ने गाडीहरूलाई सिधै कारबाहीका लागि कार्यालयमा पठाउन भनेका छौँ,’ उनले भने, ‘जसले गर्दा सवारी धनीहरू सचेत हुन थालेका छन् ।’
दुई हप्ताअघि फेल भएका सवारी साधनहरूले पनि मर्मत सम्भारपछि पुनः जाँच पास गराएर सञ्चालन अनुमति लिइसकेको उनले सुनाए ।
पोखरामा गुड्ने गाडीहरूले फाल्ने धुवाँको मुस्लोका कारण सडकमा यात्रुलाई सास्ती भएको गुनासो पटक पटक गर्दै आएका छन् । तर यातायात व्यवसायीहरूले भने इन्धनको गुणस्तर कमजोर भएकोले धुवाँ बढी फाल्ने समस्या आएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात