शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
स्थानीय तह बजेट

लुम्बिनी प्रदेशका उपमहानगरको बजेट : चालु खर्चमा ध्यान, पुँजीगतमा ‘बेवास्ता’

बुधबार, ११ असार २०८२, २० : ४२
बुधबार, ११ असार २०८२

सारांश

  • लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकाले पछिल्ला तीन आर्थिक वर्षमा पुँजीगतभन्दा चालुतर्फको बजेट बढी खर्च गरेको पाइएको छ।
  • बुटवल, तुलसीपुर, घोराही र नेपालगञ्ज उपमहानगरपालिकाले चालु खर्चमा जोड दिँदा स्थानीय विकासमा लगानी कम भएको देखिएको छ।
  • आर्थिक वर्ष ०८२/८३ को बजेटमा तुलसीपुर उपमहानगरपालिकाले चालु र पुँजीगत खर्च स्पष्ट रूपमा उल्लेख नगरेको पाइयो।

बुटवल । पछिल्ला तीन आर्थिक वर्षमा लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकाले ल्याएको बजेटमा पुँजीगतभन्दा चालुतर्फको रकम बढी खर्च भएको देखिएको छ । 

प्रदेशका बुटवल, तुलसीपुर, घोराही र नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्ला  आर्थिक वर्षका लागि ३७ अर्ब बढीको बजेट ल्याएका छन् । जहाँ चालुतर्फको बजेट खर्चको प्रतिशत निकै बढी छ ।  

प्रत्येक आर्थिक वर्षमा अर्बभन्दा माथिको बजेट ल्याउने यी उपमहानगरपालिको बजेट खासगरी तलब, भत्ता, सामाजिक विकासमै सकिने गरेको छ । जसले स्थानीय तहको लगानी अनुत्पादक क्षेत्र गएको अर्थशास्त्री एवं लुम्बिनी प्रदेश योजना आयोग पूर्वसदस्य डा. दामोदर भुसालले बताए ।

आर्थिक अनुसन्धान केन्द्र  लुम्बिनीका संयोजक होमराज भुसाल पनि उपमहानगरपालिको बजेट लगानी गर्नुपर्ने ठाउँमा जान नसकेको बताउँछन् । यस्तो बजेट तलबभत्ता र तालिम गोष्ठीमा धेरै खर्च भएकाले त्यसलाई सुधार्नुपर्ने तर्क गर्छन् । 

लुम्बिनी प्रदेशका यी उपमहानगरपालिकाहरूले ठुलो आकारको बजेट ल्याए पनि त्यसको सदुपयोग गर्न नसकेका बुटवलका अर्का अर्थशास्त्री राजीव गौतमको पनि धारणा छ । यसले स्थानीय विकासको गति निर्धारण नगर्ने उल्लेख गर्दै उनले चालु खर्चको हिस्सा घटाएर पुँजीगत खर्चमा जोड दिए । 

कुन उपमहानगरपालिको अवस्था के छ ? 

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह छन् । जसमध्ये ४ उपमहानगरपालिका हुन् । यी चार उपमहानगरकाका बजेट आकार प्रदेशका केही मन्त्रालयका भन्दा ठुलो छ । 

दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब बढीको बजेट ल्याएको छ । उपमेयर स्यानी चौधरीले ०८२/०८३ का लागि २ अर्ब ६ करोड ६६ लाख ९३ हजार ८ सय ५५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । चौधरीले आगामी आर्थिक वर्षका लागि मंगलबार प्रस्तुत गरेको बजेटमा चालु र पुँजीगत खर्च स्पष्ट रूपमा उल्लेख छैन । 

अन्य बजेटमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिए पनि ठ्याक्कै पुँजीगत अङ्क यकिन गरिएको छैन । यस उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैयाँ बजेट ल्याएको थियो । 

जसमा चालुतर्फ १ अर्ब  २९ करोड ७७ लाख र पुँजीगत तर्फ ७७ करोड ८२ लाख रहेको छ । आर्थिक ८० ८१ म कुल बजेट रु १ अर्ब ७९ करोड ४५ लाख ६९ बजेटमध्ये चालुतर्फ १ अर्ब २ करोड २५ लाख र पुँजीगततर्फ ७७ करोड ७८ लाख छ । 

चौधरी नगर उपप्रमुख हुनुभन्दा पहिल्यै जिल्लाको तुलसीपुर–६ डुम्री गाउँस्थित आफ्नै घरमा ‘दिदी घर’ नामक संस्थालाई ५० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि व्यापक आलोचना भइरहेको छ । 

नेपालगञ्ज 

नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६४ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।पुँजीगततर्फ ५९ करोड ७७ लाख विनियोजन गरेको उपमहानगरले चालुतर्फ भने १ अर्ब ९ करोड ३४ लाख विनियोजन गरेको छ । 

नगरसभाको १७ औँ अधिवेशनमा सभाका उपाध्यक्ष एवं नगर उपप्रमुख कमरुद्दिन राईले पेस गरेको बजेट चालु आर्थिक वर्षको भन्दा केही ठुलो आकार हो । चालु आर्थिक वर्षका लागि यहाँ १ अर्ब ५६ करोड ६० लाख ८६ हजारको बजेट थियो । जसमा पुँजीगततर्फ १ अर्ब  १७ करोड ७९ लाख र चालुतर्फ ५४ करोड ७७ लाख छ । 

घोराही 

घोराहीले २०८२/८३ को लागि २ अर्ब ९ करोड २७ लाखको बजेट ल्याएको छ । जसमा चालुतर्फ १ अर्ब २८ करोड ७५ लाख छ भने पुँजीगततर्फ १ अर्ब ५१  लाख छ । यहाँ चालु आर्थिक वर्षमा २ अर्ब ४२ करोड ७७ लाखको बजेट आएको थियो । 

जसमा  चालुतर्फ १ अर्ब २७ करोड १० लाख र पुँजीगततर्फ १ अर्ब १५ करोड ६८ लाख छ । त्यस्तै ०८०/८१ मा घोराहीले २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको थियो । जसमा  चालुतर्फ १ अर्ब २८ करोड ३ लाख र पुँजीगततर्फ  ७७ करोड ५१ लाख थियो । 

बुटवल 

बुटवलले आर्थिक वर्ष ०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख बजेट ल्याएको छ । उपप्रमुख सावित्रीदेवी अर्यालका अनुसार ४९ प्रतिशत चालुतर्फ छुट्याइएको छ । 

यो बजेट चालु आर्थिक वर्षको भन्दा ठुलो हो । त्यस्तै बुटवलले ०८१/८२ का २ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएको थियो । जहाँ चालुतर्फ ४८ दशमलव ६५ प्रतिशत छुट्याइएको थियो । 

यस्तै बुटवलले ०८०/८१ का लागि २ अर्ब ३८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमा १ अर्ब ४२ करोड चालु र ९४ करोड ६५ लाख पुँजीगत थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप