शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एन्टी–डोपिङको विषयमा नेपाली खेलाडीलाई थप प्रशिक्षण आवश्यक

के हुन् डोपिङबाट बच्ने उपाय ?
बिहीबार, १२ असार २०८२, १२ : ५०
बिहीबार, १२ असार २०८२

सारांश

  • खेलाडीहरूले विश्व एन्टी-डोपिङ एजेन्सी (वाडा) द्वारा प्रतिबन्धित औषधि प्रयोग गर्न नपाइने नियम छ।
  • नेपाली खेलाडीहरूलाई लागु पदार्थ दुरुपयोग सम्बन्धी प्रशिक्षण दिइएको छ, जसमा एन्टी-डोपिङ र यसको रोकथामबारे सचेतना दिइयो।
  • राष्ट्रिय खेलकुद परिषद्का अनुसार खेलाडी आफैं सचेत हुनुपर्छ र डोपिङबाट बच्नका लागि डाक्टरको सल्लाह लिनुपर्छ।

काठमाडौँ । खेलाडीले विश्व एन्टी–डोपिङ एजेन्सी (वाडा) बाट प्रतिबन्धित औषधि वा उपायहरू प्रयोग गर्न मिल्दैन । यदि प्रयोग गरेमा डोपिङ गरेको भनिन्छ ।

खेलाडीलाई वाडाबाट प्रतिबन्धित औषधि वा उपायहरू प्रयोग नगर्न सञ्चालन गरिने सचेतनामूलक कार्यक्रमलाई एन्टी–डोपिङ भनिन्छ । डोपिङमा वाडाबाट प्रतिबन्धित औषधि र उपाय खेलाडीले प्रयोग गरे÷नगरेको बारेमा जाँच गर्न खेलाडीको पिसाब र रगत परीक्षण गरिन्छ ।

संसारभर डोपिङका २३ वटा ल्याब छन्, जुन वाडाबाट स्वीकृत हो । सोही ल्याबमा पिसाब र रगतको परीक्षण हुन्छ । परीक्षणमा वाडाबाट प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएमा खेलाडीले ‘एन्टी–डोपिङ रुल भोइलेसन’ गरेको भनिन्छ । यदि खेलाडीको डोपिङ परीक्षण गर्दा केही फेला परेन भने पास भएको मानिन्छ ।

नेपालमा पनि पछिल्लो समय एन्टी–डोपिङको विषयलाई ध्यानमा राखिएको हुन्छ । विभिन्न खेल खेल्ने खेलाडीहरूलाई विभिन्न औषधि प्रतिबन्धित गरिएका हुन्छन् । त्यस्ता औषधि खेलाडीले प्रयोग गरेका छन् कि छैनन् भनेर खेल सुरु हुनुभन्दा अघि वा खेल सकिएपछि रगत वा पिसाब जाँच गरेर परीक्षण गरिन्छ ।

  • नेपाली खेलाडीमा कस्तो छ यो विषयमा ज्ञान ? 

बुधबारमात्र लागु औषध प्रयोगबारे सचेतना पैmलाउन नेपाली खेलाडीहरूलाई लागु पदार्थ दुरुपयोग सम्बन्धी प्रशिक्षण दिइएको छ । यसमा खेलाडीहरूलाई मात्र होइन, खेलकुद र खेलाडीमार्फत लागु पदार्थको रोकथाम गर्नुपर्ने सन्दर्भमा सचेतना कार्यक्रम गरिएको हो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र लागु पदार्थ तथा एड्सविरुद्ध नेपाल खेलकुद महासंघले संयुक्त रूपमा पछिल्लो सयमा धेरै कार्यक्रम चलाउने गरेका छन् । कार्यक्रमा सहभागी विभिन्न खेलाडीले आफूहरू यस विषयमा सचेत रहेको बताएका छन् । 

राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई एन्टी–डोपिङका बारेमा प्रशिक्षण दिइएको हो । यस प्रशिक्षणमा लागुऔषध सेवनले कस्तो असर पर्छ र यसको रोकथामका लागि खेलाडीको कस्तो भूमिका रहन सक्छ भन्ने विषय पनि आधारित थियो । 

प्रशिक्षणमा सहभागी सबै खेलाडीले यासबारेमा सचेत रहन आवश्यक रहेको बताएका छन् । 

  • एन्टी–डोपिङको विषय खेलाडीका लागि महत्त्वपूर्ण 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एन्टी–डोपिङको विषयमा सबैभन्दा पहिला खेलाडी नै सचेत हुन आवश्यक रहेको बताए । ‘खेलाडी नै सचेत भएमा स्वयं खेलाडीको खेल जीवनमा सहज हुनेछ,’ उनले भने । 

धाविका सन्तोषी श्रेष्ठले पनि एन्टी–डोपिङको विषयमा पछिल्लो समय खेलाडीहरू सचेत रहेको बताइन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली खेलाडीको एन्टी–डोपिङको केस कमै आउने गरेको उनको भनाइ छ ।

‘एन्टी–डोपिङको विषयमा नेपाली खेलाडीहरू सबै सचेत छन् । पछिल्लो समय यसको केस कमै आउने गरेको छ । यसको मतलव नेपाली खेलकुदमा एन्टीडोपिङ हुँदैन र खेलाडी सचेत छन् जस्तो लाग्छ,’ श्रेष्ठले भनिन् । 

डोपिङ परीक्षण बाहिर र भित्र गरिन्छ । खेलाडीले घरमा, ट्रेनिङ गर्ने ठाउँमा गएरसमेत डोपिङ जाँच गर्न सकिन्छ । 

  • के हुन् डोपिङबाट बच्ने उपाय ? 

हरेक वर्ष वाडाले अक्टोबरमा प्रतिबन्ध गरिएका औषधिको सूची निकाल्छ र त्यो जनवरीमा लागु हुन्छ । उक्त सूचीमा भएको औषधि खेलाडीले खान मिल्दैन । त्यसबारे खेलाडीलाई विभिन्न कक्षासमेत सञ्चालन गरिन्छ ।

केही गरी खेलाडी बिरामी भएमा खेलकुदको डाक्टरसँग सम्पर्क गर्न सक्छ । ईमरजेन्सी भएमा खेलाडीले डाक्टरलाई डोपिङ लिस्टमा भएको औषधिबारे पहिल्यै जानकारी दिनुपर्छ ।

इमरजेन्सी परेमा खेलाडीले चिकित्सकबाट कागजपत्र लिनुपर्छ । त्यसमा डाक्टरले दिएको औषधिबारे लेखिएको हुन्छ । डोपिङको समयमा कागजपत्र देखाएमा खेलाडी बच्न सक्छ ।

तर, डोपिङमा पर्ने औषधि डाक्टर र प्रशिक्षकले खुवाएको प्रमाण भेटिएमा खेलाडी लगायत सबैलाई प्रतिबन्ध लाग्छ । खेलाडीले कुनै पनि औषधि खाएमा कागजपत्र लिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप