बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निबन्ध

शनिबार, १४ असार २०८२, ११ : ५७
शनिबार, १४ असार २०८२

सारांश

  • लेखमा दुई पुस्ताबीचको सम्बन्ध र द्वन्द्वलाई व्यक्त गरिएको छ।
  • दुई पुस्ताका सोच र व्यवहारमा आउने भिन्नतालाई विभिन्न उदाहरणबाट प्रस्तुत गरिएको छ।
  • पुरानो पुस्ता र नयाँ पुस्ताको सम्बन्ध सुधारका लागि सुझावहरू दिइएको छ।

म धेरै ज्ञानी, म धेरै सोझो, म सन्त, म तपस्वी, म धेरै असल, म बुद्धिमान, म विवेकी, म धेरै इमानदार, म सत्यवादी, म दानवीर, म धेरै पढाकु, म धेरै दयालु, म धेरै शान्त, म धेरै बुझक्क, म धेरै समझदार, म धेरै जानिफकार, म देश खाएर शेष भएको मान्छे, म कर्तव्यनिष्ठ, म कर्तव्य–परायण, म धर्म–परायण, म सर्वज्ञाता, म अरुको मर्का बुझ्ने, म मर्मज्ञ, म सर्वज्ञ, म संवेदनशील, म दयाको सागर, म कृपालु, म श्रद्धालु, म विनयशील, म विचारशील, म स्वाभीमानी, म गौरवशाली, म सभ्य, म सुकुमार, म सुन्दर, म समयानुसार चल्न सक्ने, म सच्चरित्रवान्, म न्यायको मूर्ति, म निश्छल, म निष्पक्ष, म निष्कपट, म सहृदयी, म कर्मयोगी, म मनको धनी, म तनको स्वस्थ, म शिल्पी, म नर्तक, म गायक, म इमानदार, म मानव ।

अनि म परिश्रमी किसान, म सफल उद्योगी, म कर्मठ व्यवसायी, म विद्यार्थीले मन पराएको शिक्षक, म चर्चित खेलाडी, म प्रखर वक्ता, म सफल प्राध्यापक, म कुशल चिकित्सक, म चेतनशील प्राणी, म नैतिकवान्, म कर्मठ, म चरित्रवान्, म नीतिज्ञाता, म तटस्थ न्यायाधीश, म चर्चित कलाकार, म ऊर्जावान् साहित्यकार, म कुशल चित्रकार, म संगीतज्ञ, म प्रखर वैज्ञानिक, म सर्जक, म महान् दार्शनिक, म विचारक, म चिन्तक, म लोकप्रिय विधायक, म सक्षम राजनेता, म प्रजा पालक, म मुलुकका लागि बलिदान दिन पनि तत्पर देशभक्त अर्थात् म सबैथोक हुँ तर आफ्नो दृष्टिमा, आफ्नै सोचाइमा । अरुले मलाई के सोच्छन्, कस्तो देख्छन्, के भन्छन् मलाई थाहा छैन । अरुको ‘म’प्रतिको धारणा के छ ? त्यो पनि मलाई थाहा छैन, थाहा हुनुपरेको पनि छैन । आखिर ‘म’ त ‘म’ नै हुँ नि । कि कसो... ! (‘म’बारे नयाँ पुस्ताको आफ्नो बुझाइ यस्तो ।) 

यो पहिलो पाटो हो ।

हजुर पनि ‘म’ हो, तपाईं पनि ‘म’ हो, तिमी पनि ‘म’ हो, तिनी पनि ‘म’ हुन्, उनी पनि ‘म’ हुन्, ऊ त्यो पनि ‘म’ हो, अनि तँ पनि त ‘म’ नै होस् । सारा संसार नै ‘म’मय छ तसर्थ कसैले पनि फूर्ति नलाए हुन्छ, उसले आफूलाई मात्र ‘म’ भन्या होला भनेर यो संसारमा कसैले पनि नठाने हुन्छ ।

अनि पुरानो पुस्ताले बुझेको (व्यङ्ग्यको पारामा) ‘म’ चाहिँ यस्तो ः म अज्ञानी, म बाङ्गो, म दुष्ट, म धेरै खराब, म सोहमत नभएको मान्छे, म क्रूर, म अविवेकी, म बेइमान, म झुटो, म कञ्जुस, म किरन्टोकी, म बेफ्वाँकको मान्छे, म कुरूप, म मनको गरिब, म तनको रोगी, म कुवाको भ्यागुतो, म कर्तव्यच्युत, म ढोंगी, म कपटी, म घमण्डी, म उन्मत्त, म मैमत्त, म क्यै नजान्ने, म समयसँग हिँड्न नसक्ने, म पाखे, म असभ्य, म बोल्न नजान्ने, म हिँड्न नजान्ने, म बस्न नजान्ने, म खान नजान्ने, म लाउन नजान्ने, म सुत्न पनि नजान्ने, यहाँसम्म कि तरिका पुर्‍याएर सास फेर्न समेत म ढङ्ग नभएको, म कुरा नबुझ्ने, म निकृष्ट बज्रस्वाँठ, म साथीभाइसँग पनि नमिल्ने, म कोहीसँग मिल्न नसक्ने, म परिवारलाई पनि मिलाएर राख्न नसक्ने, म नराधम, म कुपुत्र, म अक्षम पिता, म अधम पति, म भाइमारा दाइ, म ईष्र्यालु भाइ, म जोरी खोज्ने काका, म भँडुवा भिनाजु, म आवारा सालो, म लोभीज्वाइँ, म घमण्डी जेठान, म लुत्रे ससुरो, म निहुँ खोजुवा मित्र, म साँध मिचुवा छिमेकी, म बेइमान ठेकदार, म मूर्ख शिक्षक, म फुइँ लगाउने प्राध्यापक, म सबैको दुस्मन, म अमिल्दो प्राणी, म दानव ।

यसै गरी म घुस्याहा कर्मचारी, म पातकी, म भ्रष्टाचारी, म बलात्कारी, म चरित्रहीन, म जँड्याहा, म मिचाहा, म पिराहा, म अनैतिक, म पतीत, म देशद्रोही, म दुष्ट, म भ्रष्ट, म अन्यायी, म अमानवीय स्वभावको व्यक्ति, भनेर मलाई अनेक उपाधिले विभूषित गरे पनि सायद थोरै नै हुन्छ होला । तर, तर यहाँ कोही दङ्ग नपरे हुन्छ, यहाँ ‘म’ भनेर सम्बोधन गरिएको पात्र म मात्र हो जस्तो लाग्दैन मलाई । हजुर पनि ‘म’ हो, तपाईं पनि ‘म’ हो, तिमी पनि ‘म’ हो, तिनी पनि ‘म’ हुन्, उनी पनि ‘म’ हुन्, ऊ त्यो पनि ‘म’ हो, अनि तँ पनि त ‘म’ नै होस् । सारा संसार नै ‘म’मय छ तसर्थ कसैले पनि फूर्ति नलाए हुन्छ, उसले आफूलाई मात्र ‘म’ भन्या होला भनेर यो संसारमा कसैले पनि नठाने हुन्छ । सबै आ–आफ्ना ठाउँमा ‘म’ छन्, अझ ‘म’ मात्र छैनन्, ‘मै हुँ’ छन् ।

(यो फेरि अर्को पाटो हो ।) दोस्रो (नयाँ) पुस्ता अब पहिलो (पुरानो) पुस्तामा पदोन्नति वा परिवर्तित भइसकेपछि विगतमा आफूले गरेका काम सम्झँदै त्यै ‘म’ पात्रका रूपमा ः

शिक्षक र प्राध्यापकको भूमिकामा छँदा आफू स्वयं नैतिकवान् रही विद्यार्थीलाई समेत ‘ज्ञानभन्दा विवेक धेरै ठुलो हो’, ‘ठुलो मान्छे बन्नुभन्दा असल मान्छे हुनु उपयुक्त हो’ भन्दै नैतिक शिक्षा दिन खोेज्यो, के–बिगार्‍यो ‘म’ले...? चिकित्सक हुँदा अति संवेदनशील भई रोगीको उपचारमा संलग्न रह्यो, के ‘म’ले त्यसो नगर्नुपथ्र्याे... ? ‘म’ न्याय सेवामा रहँदा तटस्थ एवं निष्पक्ष भई मर्का परेकाहरूको पक्षमा फैसला गरी सकेसम्म कसैलाई अन्याय हुन दिएन, त्यो पाप थियो त ‘म’को... ? ‘म’ले साहित्यकारका हैसियतले आजीवन यो समाजलाई दर्पण देखाइरह्यो, कलाकार भएर जनचेतनामूलक नाटक प्रदर्शन गर्‍यो, गायक–सङ्गीतकार भएर स्वस्थ मनोरञ्जन प्रदान गर्‍यो । त्यसै गरी ‘म’ले वैज्ञानिक भएर विश्वलाई नयाँ आविष्कार दियो, अन्वेषकका रूपमा नयाँ अन्वेषण गर्‍यो, दार्शनिकका रूपमा नयाँ दर्शनको प्रतिपादन गर्‍यो, एक विचारक र चिन्तकका हैसियतमा स्वस्थ चिन्तनका माध्यमले समाज परिवर्तन गर्नका निम्ति नयाँ विचार दिन खोेज्यो । परिश्रमी किसान भएको नाताले ‘म’ विषादिरहित शुद्ध अन्नबाली उत्पादन गरी देश र जनताका लागि खाद्यान्न आपूर्तिको उचित व्यवस्थापनमा लागिपर्‍यो । त्यसमा पनि बिचौलिया र दलाल पुँजीपतिहरूले धेरै भाँजो हालिरहे ‘म’लाई सजिलै काम गर्न दिइएन ।

यसरी नै ‘म’ले विधायकका हैसियतमा संसद्मा सधैँ निमुखा जनताका लागि बृहस्पतिका रूपमा रहेर एक्लै भए पनि आवाज उठाइरह्यो । त्यसमा पनि ‘म’ले आफ्नै साथीहरूको समेत हुटिङको सामना गर्नुपयो । ‘म’ चर्चित खेलाडी भएको हुँदा उसले कैयौँ सिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरी देशको कीर्तिमान कायम गर्‍यो, उद्योगी भएकाले ‘म’ बढीभन्दा बढी गार्हस्थ्य उत्पादनमा जोडिँदै निर्यातमा समेत अग्रणी भूमिकामा रहन खोेज्यो । इमानदार व्यवसायी भएको हुँदा ‘म’ आफ्नो व्यवसाय प्रवर्द्धनका साथै सेवामूलक कार्यमा पनि दत्तचित्त भई सहज आपूर्ति व्यवस्थापनमा लागिरह्यो । ‘म’ संवेदनशील प्रजापालक र सक्षम राजनेता भएको हुँदा देश विकासका लागि सधैँ चिन्तित रह्यो । हुन त यो त्यति पत्यारलाग्दो कुरो हो जस्तो लाग्दैन । र ‘म’ कुशल कूटनीतिज्ञका हैसियतले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्न एवं आफ्नो मुलुकको नाक ठाडो राख्नका निम्ति सधैँ लागिपर्‍यो ।

‘म’लाई आफ्ना सन्तानप्रति आफ्नो दायित्व बोध हुँदाहुँदै पनि एवं ‘म’ले दिलोज्यानले आफ्नो कर्तव्य पूरा गर्दागर्दै पनि ‘म’को यही कमजोरी भनौँ वा सरलता भनौँ सन्तानप्रतिको माया, मोह र आशक्तिले गर्दा ‘म’ले आफन्तबाटै वेलाबखत दुई–चार नकारात्मक कुरा पनि सुन्नुपरेको छ ।

विगतमा गरेका आफ्ना कार्यहरूप्रति ‘म’को सन्तुष्टि ः आफ्ना साथीभाइ, सहकर्मी, इष्टमित्र, छरछिमेकी सबैलाई परेका बखतमा आफ्नो बर्कतले भ्याएसम्म ‘आत्मवत् र्सवभूतेषु’को भावना राखी ‘म’ले सहयोग गरेकै हो । समाजमा सञ्चो–बिसञ्चो, आराम–विराम, औषधि मूलोमा होस् वा पाहुनापासा, चाडबाड, बिहे–बर्तमन, ऐँचोपैँचो जस्तोसुकै सामाजिक कार्यमा पनि ‘म’ कहिल्यै पछि हटेन, सबैभन्दा अघि सरेर सधैँ आफन्तलाई र अरुलाई पनि सहयोग गरिरह्यो । ‘म’ आफ्नो अहिलेसम्मको जीवनकालमा सय जनाभन्दा बढी बिरामी व्यक्तिको औषधि उपचारमा आफ्नो बहुमूल्य समय र थोरबहुत सम्पत्तिको समेत वास्ता नगरी दिनरात सेवामा संलग्न रह्यो । त्यस्तै अन्य आफन्त र पराई गरी सयौँ मृतकहरूको दाह संस्कारमा समेत सहभागी भई ‘म’ले सकेसम्म आफ्नो खल्तीले, नभ्याए ऋण–सापटी नै गरेर भए पनि आफ्नै हातले ती सबैको अन्त्येष्टि कार्य पनि सम्पन्न गरेकै हो ।

‘म’ले आफ्नै घर–परिवारमा पनि आफूले होस् सम्हालेको बेलादेखि नै आफूभन्दा ठुलाबडालाई सम्मान दिने र सानालाई औधि माया गर्ने गर्‍यो । अझ आफ्ना भाइबैनीदेखि लिएर भतिजा–भतिजी, भाञ्जा–भाञ्जीलाई मात्र नभई टोल छिमेकका कोटाकेटीलाई समेत असाध्यै माया गर्‍यो । बच्चाबच्ची भनेपछि हुरुक्क हुने यस्तो प्रवृत्तिको मान्छे ‘म’ले झन् आफ्नै सन्तान जन्मिएपछि के चाहिँ गर्‍यो होला र के मात्र गरेन होला, अहिले सम्झँदा पनि ‘म’को मन आनन्दानुभूतिका साथै सिरिङ्ग पनि हुन्छ । त्यसै गरी अब झन ‘म’का लागि उसका नातिनातिना त ‘साउँ भन्दा ब्याज झनै प्यारो’ भन्याझैँ भइगए । अब तिनीहरूलाई पनि आफ्नो उमेर र शारीरिक सामर्थ्यले भ्याउन्जेलसम्म माया प्रेम र सेवा गरी नै रहनेछ, संरक्षण दिइरहनेछ भन्ने ‘म’लाई अहिले पनि आत्मविश्वास छ ।

नयाँ वा दोस्रो पुस्ताका ‘म’हरूप्रति पुराना वा पहिलो पुस्ताका ‘म’हरूको गुनासो वा क्षोभ :

‘म’लाई आफ्ना सन्तानप्रति आफ्नो दायित्व बोध हुँदाहुँदै पनि एवं ‘म’ले दिलोज्यानले आफ्नो कर्तव्य पूरा गर्दागर्दै पनि ‘म’को यही कमजोरी भनौँ वा सरलता भनौँ सन्तानप्रतिको माया, मोह र आशक्तिले गर्दा ‘म’ले आफन्तबाटै वेलाबखत दुई–चार नकारात्मक कुरा पनि सुन्नुपरेको छ, ‘सन्तानको बाल्यावस्थादेखि नै अहिलेसम्म तेरो अत्यधिक माया र पुलपुल्याइले गर्दा नै तेरा सन्तान अहिले तेरा वशमा छैनन्, यसरी घर–परिवार बिग्रनुको कारण नै तैँ होस्’ भन्ने आरोप समेत खेप्नुपरेको छ । बरा... उनीहरूलाई के थाहा... ? ‘मायालु स्वभावको हुनु, दयालु हुनु, सरल हुनु, सबैसँग झुक्नु, नम्र हुनु अनि ‘म र मेरो’ नभनेर सधैँ ‘हामी र हाम्रो’ भन्नु ‘म’को कमजोरी होइन, अपितु उसको संस्कार हो’ भन्ने कुरा । तैपनि ‘फलानोले मलाई यस्तो भन्यो, मैले यस्ता कुरा सुन्नुपर्‍यो’ भनेर ‘म’ विचलित हुँदिनँ । बरु नयाँ पाठ सिक्न पाएको अनुभव गर्छ । शङ्कर लामिछानेको निबन्ध– ‘जीवन एक प्राध्यापक’मा भनेझैँ । यस्ता कुराहरूले ‘म’लाई जीवनमा ठुलो पाठ पढाएको मात्र होइन, धेरै धेरै ज्ञान पनि सिकाएको छ ।

अहिले ऊ अर्थात् ‘म’ छिमेकको अर्काे एउटा घटना पनि सम्झन पुग्छ । पचासौँ वर्ष पहिले ‘म’का छिमेकी अर्का एक ‘म’का सन्तान (दोस्रो पुस्ता)ले एक दिन के कुरामा चित्त नबुझेर हो कुन्नि दमको रोगले थलिएका आफ्ना पिता (पहिलो पुस्ता)सँग ‘तपाईंले हाम्रा लागि के गर्नुभएको छ अहिलेसम्म... ? उही जन्माएर हुर्काएँ भन्नुहुन्छ भने त्यो त तपाईंले आफ्नो मोज–मजाका लागि जे जे गर्नु भो गर्नु भो, हामीलाई नै यसरी जन्मदिन्छु भनेर जन्माएको पनि त हैन नि र हो नै भने पनि कुन चाहिँ महान् काम गर्नुभो र... ? सन्तान त पशुले पनि जन्माएकै छन् नि’ भनेर वचन लगाएको उनीहरूकै घरछेउ र बाटोमा हिँडिरहेका बखत ‘म’ले सुनेको थियो र झसङ्ग भई टक्क अडिएको थियो, अनि त्यसै बेलादेखि आफ्नो बुढेसकालका बारेमा पनि सोच्न थालिसकेको थियो ।

  • अब अहिलेको वास्तविकता

यी कुराहरू ‘घर–घरकी कहानी’ भनेझैँ हो । अचेल प्रायःजसो घरहरूमा एउटै छानामुनि बस्ने र एउटै भातभान्साका परिवारका सदस्य पनि दुई पुस्तासँगै बसेर खाना खाने चलन हराउँदै गइरहेको छ, त्यति मात्र होइन दुई तीनसम्म पनि एक आपसमा देखादेख र भेटघाट समेत हुन गाह्रो भइसक्यो, घरमै भए पनि सबै आ–आफ्नै तालमा वा सामाजिक सञ्जालमै व्यस्त भएका पाइन्छन । ‘हु केयर्स हु’भन्ने अंग्रेजीको पदावलीझैँ । सामाजिक सञ्जालमा जोडिएका हजारौँ तथाकथित मित्रहरूका प्रायःजसो गतिविधि ती ‘म’हरूलाई थाहा भइरहेको हुन्छ तर आफ्नै घर–परिवारका अनण्य ‘म’ सदस्यका बारेमा ती ‘म’हरू सर्वथा अनभिज्ञ हुन्छन् । दन्त्यकथाको महलको झैँ चकमन्न वातावरणले घरमा मुर्दा शान्ति छाएको हुन्छ, शीतयुद्धको भूमि भएझैँ आभास हुन्छ । यस्तो शुष्क र नीरस वातावरणमा नयाँ पुस्ताका ‘म’हरूले भन्दा पनि पुराना पुस्ताका ‘म’हरूले चाहिँ आफूलाई उपेक्षित र एक्लो महसुस गरिरहेका हुन्छन् । 

  • दुईपुस्ते ‘म’हरू बिच द्वन्द्व र संघर्ष

द्वन्द्व र संघर्षकै कुरा गर्ने हो भने कसैका घरमा बाबु ‘म’ र छोरा ‘म’का बिचमा बौद्धिक र वैचारिक सङ्घर्ष होला, अरु कसैका घरमा सासु ‘म’ र बुहारी ‘म’का बिचमा आ–आफ्नो घरको–चालचलन, रहनसहन, रीतिरिवाज, चोखीनिती, धर्म–संस्कृति, संस्कार र परम्परालाई लिएर द्वन्द्व चल्दो हो अनि अरु थुप्रै थुप्रै ‘म’हरूका घर–घरमा पनि त्यस्ता ‘मेरो गोरुको बाह्रै टक्का’ खाले संस्कारी भूतबाट ग्रसित अत्यधिक कठोर पुराना पुस्ते ‘म’ र ‘आफूलाई अत्याधुनिक युगका हौँ भन्ने भ्रम पालेका, हामी जति जान्ने–सुन्ने कोही छैनन्, हामीले भनेको नै हुनुपर्छ’ भन्ने मैमत्त सोच भई आधुनिकताको खोल ओढेर उद्दण्डतामा ओर्लन तम्सिएका नयाँ पुस्ते ‘म’का बिचमा पनि दिनहुँजसो कति जुँगाको लडाइँ (इगो क्ल्यास) चलिरहेकै छ । अभिभावक ‘म’हरूको अनुभवपूर्ण अस्तित्वलाई सके निषेध गर्ने वा निषेधै नगरे पनि सन्तान ‘म’हरूले सहज रूपमा स्विकारेको अवस्था छैन र यता सन्तान ‘म’हरूका चाहिँदो भन्दा बढी खुलापन र स्वतन्त्र जीवनशैलीलाई कट्टर अभिभावक ‘म’हरूले पनि सजिलै पचाउन सकिरहेका छैनन् ।

यो ध्रुवसत्य कुरा हो कि दुई पुस्ताका ‘म’ र ‘म’बिच समन्वय गर्न गाह्रो हुनेरहेछ उही ‘हेगल र मार्क्स’को दर्शनमा ‘वाद, प्रतिवाद र समन्वयवाद’ (थेसिस, एन्टिथेसिस र सिन्थेसिस) गरी केलाएर विचारको व्याख्या गरेझैँ ।
  • यथार्थ धरातल र सामाजिक वास्तविकता

यसरी हेर्दा के देखिन्छ भने ‘म’ र ‘म’का ती–पचासौँ वर्ष पुराना रोगी छिमेकीले मात्र होइन, ‘म’ पात्रजस्ता अरु कैयौँ ‘म’का प्रत्येक घर–परिवारमा र यो सम्पूर्ण समाजमै पुरानो पुस्ता र नयाँ पुस्ताका बिचमा, एउटा ‘म’ र अर्काे ‘म’का बिचमा यस्ता वैचारिक द्वन्द्वहरू, शक्ति सङ्घर्षहरू बढ्दै गइरहेको कुरा म, तँ, तिमी, तपाईं, हजुर, त्यो, ऊ, उनी, तिनी, हामी आदि विभिन्न नामबाट सम्बोधन हुने सबै ‘म’हरूले सुन्दै, देख्दै, भोग्दै, अनुभव गर्दै आइरहेका छन् । अपवादको कुरा भिन्नै हो । ती अपवादमा पर्ने वैचारिक द्वन्द्वरहित घरका भाग्यशाली ‘म’हरू दश–बिस प्रतिशत होलान् कि यो समाजमा... ? हुन पनि सक्लान्, नहुन पनि सक्लान्, भए पनि अल्पसंख्यक रूपमा मात्र । तर ‘म’ले यो कसलाई भनिरहेको छ, कसलाई सुनाइरहेको छ, कसलाई व्यथा पोखिरहेको छ, कसले सुन्छ र उसको व्यथा, सायद ऊ आत्मालापमा छ ।

यो ध्रुवसत्य कुरा हो कि दुई पुस्ताका ‘म’ र ‘म’बिच समन्वय गर्न गाह्रो हुनेरहेछ उही ‘हेगल र मार्क्स’को दर्शनमा ‘वाद, प्रतिवाद र समन्वयवाद’ (थेसिस, एन्टिथेसिस र सिन्थेसिस) गरी केलाएर विचारको व्याख्या गरेझैँ । एउटै व्यक्तिभित्र त विचारको सङ्घर्ष चलिरहेको हुन्छ भने दुई पुस्ताबिच विचारको द्वन्द्व नचल्ने कुरै भएन । जुनसुकै समाज र जुनसुकै समयमा पनि सधैँ एउटै विचार मात्र अस्तित्वमा टिकिरहेको हुँदैन, आजको समयमा एउटा विचार अस्तित्वमा छ भने त्यस विचारलाई काट्न भोलि अर्काे विचारले जन्म लिन्छ र दुवै विचारको सङ्घर्षबाट पर्सि फेरि अर्काे विचारले जन्म लिइसकेको हुन्छ, यो निरन्तर चलिरहने प्रक्रिया पनि हो । अंग्रेजीमा भनाइ छ, ‘पुस्ताहरू बिचको अन्तरले द्वन्द्व सिर्जना गर्छ वा पुस्ताहरू बिचको टकरावले संकटलाई निम्त्याउँछ । यो कहिल्यै अन्त्य नहुने र निरन्तर चलिरहने प्रक्रिया हो । यो आफैँ घुमिरहन्छ र एक पुस्ताबाट अर्को पुस्तामा रूपान्तरण हुँदै जान्छ ।’

यस भनाइबाट यो पुष्टि हुन्छ कि दुई पुस्ते ‘म’हरूका बिचको विचारको खाडल आजको मात्र समस्या होइन यो त हजारौँ वर्षदेखि, परापूर्वकालदेखि, अझ मानव सभ्यताको विकासको प्रथम चरणदेखि नै चल्दै आइरहेको छ । यो विचारको खाडल पूरेर पूरी नसक्नु छ, कसैले पुर्ने दुस्साहस गर्नु पनि हुँदैन, खाडल पुर्ने मूर्ख प्रयास गरियो भने आफैँ पुरिन बेर छैन । बरु यस खाडलको गहिराइलाई न्यूनीकरण गर्न सकिन्छ कि भन्ने प्रयासमा भने दुवै पुस्ता लागि रहनुपर्छ अर्थात् बुढो ‘म’ र युवा ‘म’का बिचको द्वन्द्व व्यवस्थापन एवं पुल निर्माणका लागि दुवै पुस्ताका ‘म’हरूले आ–आफ्ना थोत्रे ‘इगो’ र अहंलाई थाती राखी मायालु वातावरणमा स्वस्थ–वार्ताद्वारा द्वन्द्व व्यवस्थापन गर्न पहल गर्नुपर्छ, मनमा कुरो गुम्स्याउने होइन खुलेर कुरा गर्नुपर्छ तर दुवै पक्षले आ–आफ्नो मर्यादाको पर्दामा बसेर आ–आफ्ना सीमामा रहेर ।

पुराना पुस्ताका ‘म’ले ‘हावा बगेको प्रतिकूल दिशा’तर्फ नलागी अहिलेको समय र प्रविधि अनुसार नयाँ पुस्तासँग आफूलाई हिँडाउन सक्नुपर्‍यो । उनीहरू (नयाँ पुस्ता)ले वर्तमान समयमा झेल्नुपरेका दैनन्दिन समस्याको पनि ख्याल गरिदिनुपर्‍यो । नयाँ पुस्ताका ‘म’हरूमा समाजको आशलाग्दो सुन्दर भविष्य देख्न सक्नुपर्‍यो, उनीहरूका सानातिना गल्तीहरूलाई ‘आ... यस्तै हो, ‘लेट इट गो’ भनी आँखा चिम्लन पनि सक्नुपर्‍यो । आफूलाई समय र परिस्थिति अनुसार ढाल्नुपर्‍यो सकिँदैन भने ‘जाही विधि राखे राम ताही विधि रहियो’ भन्याझैँ परिस्थितिकै हातमा आफूलाई सुम्पिदिनुपर्‍यो, त्यसका लागि आफूलाई तयार पार्न कमसे कम प्रयास त गर्नैपर्‍यो, आफैँ नरम भइदिनुपर्‍यो, आफैँले पहल गर्नुपर्‍यो । 

अनि नयाँ पुस्ताका ‘म’ले पनि ‘वर्षाैंदेखि कैयौँ दुःखपीडाको थपेडा र हन्डर खाई सँगालेका पुरानो पुस्ताको अनुभवबाट पनि सिक्न सकिने धेरै धेरै मननयोग्य कुराहरू छन् । ती ‘म’ले हामीजस्ता ‘म’लाई जन्म दिएर आफूले खाइनखाई, रातभर अनिँदो बसी, अनन्त दुःखकष्ट सहेर पनि पढाइलेखाइ गराएर हातखुट्टा बलियो पारी समाजका सामु आज शिर ठाडो पारेर अहिलेको ‘म’का रूपमा हामीलाई उभिन सक्ने बनाउनुभएकोे उहाँ ‘म’हरूले नै हो । तसर्थ उहाँ ‘म’हरूले कुनै कुरामा चित्त नबुझेर गाली गर्नुहुन्छ भने माया पनि त उहाँ ‘म’हरूले नै त गर्नुहुन्छ नि ! बाहिरका ‘म’हरू त आउँदैनन्’ भन्ने कुरालाई भित्री हृदयदेखि नै आत्मसात् गर्नुपर्‍यो । उहाँ ‘म’हरूले जे भन्नुहुन्छ वा जे गर्नुहुन्छ ती कुरा हाम्रै कल्याणका लागि नै भनिएको हो, आखिर ‘डाँडामाथिको ‘जून’ भइसक्नुभएको छ, अब हामीबाहेक उहाँहरूको को नै छ र... !’ भन्ने सम्झी अलिकति मात्रै पनि झुकाऊ राखीदिने हो भने एवं सोही अनुसारको नम्र बोली–वचनको प्रस्तुतीकरण, हृदयमा भएको माया प्रेमलाई उहाँहरूले स्पष्ट अनुभव गर्न सक्ने गरी व्यवहारमा पनि झल्काउँदै पारिवारिक आत्मीयता र सद्भावलाई कायम राख्ने हो भने यो विचारको खाडलको गहिराइलाई पुर्न नसके पनि न्यूनीकरण गर्न सकिने कुरामा भने पूर्ण आशावादी बन्न सकिन्छ ।

तसर्थ दुवैथरी ‘म’ले आ–आफ्ना ‘म’का अहंपनालाई त्यागेर हामी भन्ने भाव विकसित गर्न सके ‘म’बाट ‘महान्’ बन्न धेरै समय लाग्नेछैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शुकदेव उपाध्याय
शुकदेव उपाध्याय
लेखकबाट थप