शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
अतीतबाट साभार

कालोपट्टी : जनआन्दोलनको जुनकिरी– ३

शनिबार, १४ असार २०८२, १४ : १७
शनिबार, १४ असार २०८२

घोडाको थोत्रो तबेलामा एक घण्टा बित्यो, अनि दुई घण्टा, अनि तीन घण्टा । बुढा र निम्छरा भनेर होला, युद्धप्रसाद मिश्रलाई माथि प्रहरीको अड्डामै राखेका थिए । पछि उनलाई पनि तबेलामा तल झारे । आउँदाआउँदै हर्षविभोर भएर उनले भने, ‘एक्लै बस्दा मलाई त टिठ लागेर आयो । मैले भनेँ— मान र सुबिस्ता मलाई चाहिँदैन, मलाई मेरा साथीको गोलोमा लग ।’ युद्धप्रसाद आउनु के थियो, तबेलामा उमङ्ग छायो । उनको सम्मानमा तालीको पर्रा छुट्यो । उनलाई पुर्‍याउन आएको प्रहरीले थर्काउन खोज्यो— ‘तपाईंहरूजस्ता विद्वान्ले यस्तो उच्छृङ्खल व्यवहार गर्ने ? थाहा छ, अहिले तपाईंहरू कहाँ हुनुहुन्छ ?’ वातावरण सन्न भयो । चारैतिर क्रोधयुक्त मौन छायो । 

अहिले युद्धप्रसाद लेखक–कलाकारको सर्वमान्य रानो भएर तबेलामा बसेका छन् । युद्धप्रसादको उपस्थितिले कसैलाई व्यथितको सम्झना गराएछ । पुनः सुरु भयो व्यथितको चर्चा । कसैले भन्यो, ‘व्यथित बूढा घरमा मुलायम सोफामा गजधम्म बसेर शायद पुर्पुरो छाम्दै चुकचुकाइरहेका होलान् ।’ कमलमणिले विनोदी बोलीमा कुरामा उकेरा लगाए— ‘ज्या है ! आज व्यथितजीको गाडी छुट्यो ।’ शाही राजसभाको खानदानी पदले व्यथितलाई कालोपट्टी पर्वमा आउन दिएन । तर वृद्ध, रोगी र अशक्त युद्धप्रसाद मिश्रलाई कुनै पनि प्रलोभन, कठिनाइ र कष्टले छेक्न सकेन । दुईतिर फर्केका यी दुई वृद्ध साहित्यकारको प्रवृत्तिले प्रतीकात्मक रूपले उल्टा भाषा बोलिरहेका थिए । एउटा थियो प्रगतिशील परिवर्तनकोे भाषा, अर्को थियो अगतिशील यथास्थितिको भाषा ।

तबेलामा एउटा खबर खासखुसे शैलीमा प्रवाहित भयो । अन्जु दीक्षितलाई सूची गर्न मन लागेछ । त्यसपछि जे भयो, शान्तिक्षेत्रको उग्र रटना गर्ने पञ्चायती राजमा अचम्मै भयो । हिउँसरि सेताम्मे फुलेको कपाल, झिनो जिउडाल, थोरै कुप्रिएको ढाड— अघिअघि अन्जु दीक्षित सुस्त गतिमा हिँडिरहेकी छन्, पछिपछि शाही सुरक्षाकर्मी उनको निगरानीमा मग्न छ । कैदी भाग्ला कि, त्यसले कतै पर्खाल पो नाघ्ला कि भनेर होला, सुरक्षाकर्मीको राइफल अन्जु दीक्षितको शिरतिर सोझिएको छ । बन्दुके जबानले अन्जु दीक्षितलाई सुची गराउन धेरै पर टुकुचाको डिलमा पुर्‍यायो । यस्तो थियो नेपाली हावापानी र माटो सुहाउँदो पञ्चायत व्यवस्था— औधी जनप्रिय, उदार र सहिष्णु !

अतिशय वाचाल गोविन्दप्रसाद लोहनीको बोल्ने पालो आयो । बूढा मच्चीमच्ची बोल्न थाले । मार्कोस, पिनोसे, दादा इदी अमिन... । लोहनी संसारका दुर्नामयुक्त शासकका कुकुत्यका कथा सुनाइरहेका छन् । कथा कहँदै बूढाले क्रुद्ध उत्तेजनासाथ भने, ‘अत्याचारको विश्वसम्राट् रुसी जारशाहीले पनि यत्रो अत्याचार त गरेको थिएन । सिङ्गै मुलुकको विवेक र प्रज्ञाका प्रतिनिधि लेखक–कलाकारको यो थोक गिरफ्तारी, अहो !’

राष्ट्रको आलोचनाशील र सिर्जनशील चेतलाई थोक मात्रामा बन्दी बनाउने पञ्चायती तबेलामा छिनछिनमा दृश्य परिवर्तन भइरहेछ । मेरा आँखा हठात् दुई पाका अनुहारमा स्थिर हुन पुग्छन् । ती हुन् डायमन शमशेर र युद्धप्रसाद मिश्रका अनुहार । ती दुई अनुहारमा दुई विपरीत भाव नाचिरहेछन् । डायमन शमशेरको अनुहारमा चिन्ता र भयको पातलो छाया छ । राष्ट्रका त्यत्रात्यत्रा र त्यतिविधि प्रतिभा जुट्ने विरोध भेलामा शाही हैकमको त्यति निर्मम झम्टाइ होला भनी बूढाले शायद चिताएका थिएनन् । नचिताएको कुरा आइलाग्दा चिन्ताको सागरमा डुब्नु त मानव स्वभावै हो । त्यही स्वभावको छाया अहिले उनको अनुहारमा उत्रिएको छ । युद्धप्रसादका अनुहारमा भने बेग्लै भाव छ, एकदम बेग्लै । उमेर छ ८२ वर्ष, ज्यान छ फु गरे ढल्लाजस्तो । तर अनुहारको त्यो भाव ! विचित्र छैन त्यो भाव— अविचल, निश्चिन्त, निर्भय— स्थितप्रज्ञ ! 

सुम्निमा बताउँदै जान्छिन् । ‘म पद्मरत्न तुलाधरकी छोरी हुँ’ भनेपछि सोधुवाले टिप्पणी गरेछ— ‘ए, नानी त जेल जान बानी परेको परिवारकी पो रहिछ्यौ ।’

घोडाको तबेलामा कार्यकलापको अर्को प्रकरण सुरु भयो । प्रकाश सायमी हातमा कापी–कलम बोकेर लेखक–कलाकारका अन्तर्मनका भावनाको जासुसी गर्न थाले । मान्छे छानीछानी उनले सोधे— कालोपट्टी पर्वमा सहभागी हुँदा अहिले यहाँलाई कस्तो लागिरहेछ ? वरिष्ठ साहित्यकारका अनुभूतिको चियो गर्न आतुर जमातले सायमीलाई पछ्याइरहेछ । मोहन कोइरालालाई सोध्ने पालो आउँछ । विनम्र लबजमा सायमी सोध्छन्— ‘दाइ, तपाईंलाई अहिले कस्तो लागिरहेछ ?’ 

‘कस्तो लाग्नु ? मलाई त बोर लागिरहेछ’— विरक्त भावमा मोहन कोइराला उत्तर दिन्छन् । 

भीडलाई चिर्दै मुन्टो तन्काएर म हेर्छु, मोहन कोइराला अति खिन्न छन्, अनुहार हँसीखुसीशून्य छ । ध्रुवचन्द्र गौतम ठट्ट्याइलो स्वरमा सिकाउँछन्— ‘मोहनजी, यस्तो उदात्त कार्यमा सहभागी हुने अवसर पाउँदा गर्व लागेको छ पो भन्नुपर्छ ।’ मोहन कोइरालाको अनुहारमा झिझ्याटको झन् बाक्लो बादल मडारिन्छ । टिठलाग्दो स्वरमा उनी भन्छन्— ‘केकोे गर्व लाग्नु ? मलाई त बोरै लाग्या छ ।’

विनोदी मुद्रामा कुरा सुनिरहेका कृष्णचन्द्रसिंह हाँस्दा उनका कुम मस्तसँग तलमाथि, माथितल हल्लिएका म देख्छु ।

प्रहरीद्वारा आलोपालो केरकार गर्ने क्रम चलिरहेछ । केरकार गरिनुअगावै केरकारको प्रत्युत्तरमा भन्ने कुराको अभ्यास भइसकेको छ । आयोजक को हो भनी सोधे थाहा छैन भन्ने । कसरी आइस् त भनी सोधे पत्रिकाबाट थाहा पाएर भन्ने । अथवा कतै जाँदै थिएँ, मानिसहरू जुटेका देखेँ । सहकर्मी र सहधर्मीको नाताले ऐक्यबद्धता जनाउन गोलोमा मिसिएँ भन्ने । राजा–व्यवस्थाविरोधी बाटोमा किन लाग्या भनी सोधे मुलुकमा लेखक–कलाकारले निर्भयसाथ बोल्न, लेख्न र चल्न पाएनौँ, त्यसैले अभिव्यक्ति स्वतन्त्रताको दाबी गर्न गोलोमा मिसिएको भन्ने । अनि उक्साउने, बहकाउने को हो भनी गुह्य कुरा धुत्न खोजे म आफ्नै ब्रह्मको आदेशमा आएको हुँ भन्ने । 

केरकार चलिरहेकै छ । कालोपट्टीकर्मी समूहकी सबभन्दा कान्छी कवि सुम्निमा तुलाधर बयान दिएर मुसुमुसु हाँस्दै तल आउँछिन् ।

‘नानीलाई के सोध्यो हँ ?’ कमल दीक्षित सोध्छन् ।

सुम्निमा बताउँदै जान्छिन् । ‘म पद्मरत्न तुलाधरकी छोरी हुँ’ भनेपछि सोधुवाले टिप्पणी गरेछ— ‘ए, नानी त जेल जान बानी परेको परिवारकी पो रहिछ्यौ ।’ 

‘यति कलिली नानी, यस्तोमा किन आएकी तिमी ?’ केरकारेले अगाडि सोधेछ ।

‘म कवि हुँ, त्यसकारण साथीहरू आएका ठाउँँमा आएकी ।’ सुम्निमाले उत्तर दिइछन् ।

‘एउटा कविता सुनाऊ न त, नानी !’ केरकारेले जिस्क्याउन खोजेछ ।

सुम्निमाले ओठे जवाफ दिइछन्, ‘यो खोरमा म कविता सुनाउने मुडमा छैन ।’ 

केरकारको क्रम छिटछिटो चलिरहेको छ । पालो आउँछ अब कमलमणि दीक्षितको । आनन्ददेव भट्ट हत्तपत्त अघि सरेर कमलमणि दीक्षितको बाटो छेक्छन् । अनि कान फुक्दै भन्छन्— ‘दीक्षितजी ! तपाईंंलाई छाड्ने कुरा गरे भने सप्पै छुटेको नदेखी म छुट्दिनँ भनेर अड्डी लिनुहोला है । तपाईंको बोली यहाँ लाग्न सक्छ ।’

कालोपट्टी पर्वको थलोबाट अरु सबैलाई लछार्दै र घचेट्दै ट्रकमा लोड गरिँदा पारिजात जहाँको तहीँ छाडिइछन् । अन्योल र खलबलीको वातावरणमा मलाई त ख्याल पनि भएन । तबेलाबाट छुटेर सोधखोज गर्दा पो थाहा भयो, हामी सबैलाई चलान गरेपछि केही प्रहरी जवान पारिजातलाई पहरा दिएर बसेछन् । तिनले अनुरोध गरेछन्— ‘दिदी, हजुरलाई घर पर्‍याइदिनु भन्ने सापको आदेश छ ।’

कुरा ठीक हो । ठीक मान्छेले ठीक मान्छेलाई ठीक मौकामा समातेका हुन् । हातको पार लाउँदै कमलमणि भट्टलाई आश्वस्त गराउँछन्— ‘यसमा हजुरले फिक्री गर्नुपर्दैन । मर्जीबमोजिम यो सेवक सेवामा हाजिर छ ।’

साँझ पर्न लाग्दा रिहाइ गर्ने क्रम सुरू हुन्छ । सबभन्दा पहिले युद्धप्रसाद मिश्रलाई डाकिन्छ । वृद्ध र अशक्त मान्छे, उनी कसरी घरसम्म जान्छन् ? बूढाका कनिष्ठ सहकर्मीका चित्तमा चिन्ता जाग्छ । सबैका चित्तको चिन्ताग्रस्त आशयलाई वाणी दिँदै कमलमणि भन्छन्— ‘प्रहरी भाइ, उहाँ पाका मान्छे, धेरै कमजोर हनुहुन्छ । उहाँलाई ठाउँँमा पुर्‍याइदिने व्यवस्था त हुनुपर्‍यो नि ।’

 नभन्दै व्यवस्था हुने भयो । युद्धप्रसाद मिश्र हात हल्लाएर सबैलाई ढाडस दिँदै बाटो लागे ।

अहिले साँझ साढे सात बजेको छ । माथि डाकेर चार पाटाको हुलिया राख्न ओर्काइफर्काई भिडियो क्यामेराले तस्बिर खिचिन्छ, सही गराइन्छ र छाडिन्छ । माथि जाने गइरहेछन्, पालो पर्खने व्यग्रतासाथ पर्खिरहेछन् । आफ्नो पालो आउला कि नआउला, पर्खनेका मनमा आशङ्का छ । पछि परेका छुट्लान् कि नछुट्लान्, छुट्नेका मनमा चिन्ता छ । आशङ्का र चिन्ता मेरा मनमा पनि छ । मनमनै आकलन गर्दै म गम्छु, मुरारी र मलाई नछाड्लान् कि ? कालोपट्टी पर्वको तयारीका क्रममा धेरैजसो सम्पर्क र संयोजन कार्य, भेला र छलफल मुरारीको घरमा भएका छन् । सबै गतिविधि खुला छन् । सम्पर्क र संयोजनका क्रममा म पनि बाहिर निकै देखिएको छु, यता र उता कुदेको छु । मेरो घर पनि चाबेलमै छ । कालोपट्टी पर्वको दिन एकाबिहानै स्थानीय वडा अध्यक्ष सानुकाजी शाक्यले मुरारीसँग सोधेका छन्— ‘मुरारी भाइ, आजको लेखक जुलुस चाबहिलबाटै निस्कने हो ? भाते अञ्चलाधीशले मलाई कस्तो ख्याउख्याउ पारेर ल्यायो !’

मलाई आखिरीतिर माथि डाकियो । पहिले मेरो बयान लिएको थिएन । एउटा कोठामा उभ्याएर मेरो नाम, काम, थर र वतन सोधियो । सोध्ने मान्छे उल्लुउल्लु खालको थियो । कुन पार्टीमा लाग्या हो ? एउटा प्रश्न यो थियो । लेखक पार्टीमा, मैले उत्तर दिएँ । लेखक पार्टी पनि छ ? साँच्ची नै होझैँ ठानेर गम्भीर हुँदै उसले सोध्यो । आजको कार्यक्रम गरेकै लेखक पार्टीले हो, हाँसोलाई मनमै दबाउन बल गर्दै मैले जबाफ दिएँ । मलाई लाग्यो, यो केरकार रीत पुर्‍याउने मेसो मात्र पो हो कि ? मलाई अर्को कोठामा लगियो । त्यहाँ भिडियो क्यामेरावाला थियो । अगाडिपछाडि, ओल्टोकोल्टो, ओर्काइफर्काई भिडियो क्यामेराद्वारा तस्बिर खिचियो । आखिरमा म छुटेँ भनेर सहीछाप गराउन बाहिरपट्टिको कोठामा लगियो । त्यहाँ रुद्र खरेलसँग भेट भयो । सही गराउने प्रहरी खरेलजीको कानुन क्याम्पसको पुरानो चेलो परेछ । कानुनको रकमी भाषामा गुरुचेलाको कुरा भइरहेको रहेछ । 

‘सरजस्तो मान्छे पनि यस्तामा लाग्ने ?’ चेलाले गुरुलाई सम्झायो । 

‘अब प्रहरी समेतले यस्तोमा लाग्नुपर्छ, भाइ’— खरेलजीले गुरुकुल शैलीमा चेलालाई उपदेश दिए ।

हामी सडकमा निस्क्यौँ । हरिगोविन्द र वासुदेव अधिकारीसँग हाम्रो भेट भयो । केही विरोधकर्मी छुट्न बाँकी थिए । रामेश, शार्दूल भट्टराई र त्रिरत्न शाक्यसँग दोहोर्‍याएर बयान लिएको चाल पाउँदा हामीलाई अनिष्ट सङ्केतको आभास भयो । उनीहरूलाई एकाध दिनअघि गौशालामा पर्चा छरेको फत्तुर लाएर हैरान पार्न खोजेको रहेछ ।

रामेश, शार्दूल र त्रिरत्न भोलिपल्ट हाजिर हुने गरी तारिखमा छुटे । 

अब भने सबै छुटियो, हामी ढुक्क भयौं । 

कथाको एक पाटो सकियो । तर कालोपट्टी पर्वकी नायिका पारिजातको कथा सुनाउन बाँकी नै छ । कालोपट्टी पर्वको थलोबाट अरु सबैलाई लछार्दै र घचेट्दै ट्रकमा लोड गरिँदा पारिजात जहाँको तहीँ छाडिइछन् । अन्योल र खलबलीको वातावरणमा मलाई त ख्याल पनि भएन । तबेलाबाट छुटेर सोधखोज गर्दा पो थाहा भयो, हामी सबैलाई चलान गरेपछि केही प्रहरी जवान पारिजातलाई पहरा दिएर बसेछन् । तिनले अनुरोध गरेछन्— ‘दिदी, हजुरलाई घर पर्‍याइदिनु भन्ने सापको आदेश छ ।’ पारिजातको अडान नै जब्बर, उनी किन टेर्थिन् ? कठोर स्वरमा भनिछन्— ‘महिला प्रहरी ल्याओ । म पनि गिरफ्तारी दिन्छु । म मेरा साथीलाई लगेकै ठाउँँमा जान्छु ।’ आखिरमा उनले भनिछन्, ‘हाम्रो दुई घण्टाको कार्यक्रम हो । बुल्डोजर ल्याएर पेल्छौँ भने पनि दुई घण्टा पूरा नभई म यहाँबाट डेग चल्दिनँ ।’ 

पारिजात मुखमा कालोपट्टी बाँधेको बाँध्यै जहाँको तहीँ बसिरहेकी छन् । आजित र थकित प्रहरी सामुन्नेमा खडा छन् । डेढ घण्टापछि, पारिजातलाई त्यत्तिकै छाडेर प्रहरी लाखापाखा लाग्छन् । पारिजात राजधानी सहरका धेरै मानिसले चिनजानेको नाम । कतिले सुनेर चिनेका, कतिले देखेर चिनेका, कतिले पढेर चिनेका । पारिजात घण्टाघरछेउ सरस्वती सदनअगाडि भतभती पोल्ने चैते घाममा मुढामा बसिरहेकी छन् । मुखमा कालोपट्टी छ, त्यो पनि अरुको होइन, पारिजातको मुखमा ! सरस्वती सदनको सेरोफेरोमा एक कान दुई कान मैदान हुन्छ— पारिजात एक्लै मुखमा कालोपट्टी लाएर सरस्वती सदनअगाडि... । त्यहाँ चिनारु, शुभचिन्तक र रमितेको कुँडुलो लाग्छ ।

दुई घण्टा पूरा भएपछि बल्ल पारिजातले कालोपट्टी खोल्छिन् । कोही शुभचिन्तकले ट्याक्सी खोजेर ल्याइदिन्छ । अनि पारिजात आफ्नो गुँड म्हेपीतिर लाग्छिन् । 

पछि इतिहासले सोध्ला, तोकिएको कार्यक्रम अनुसार पूरा समय मुखमा कालोपट्टी बाँधेर सरस्वती सदनअगाडि टन्टलापुर घाममा टट्टिने एक मात्र लेखक को थियो ?

ढाँट्न नजान्ने समय साक्षी छ, त्यस लेखकको गरिमामय नाम हो पारिजात !

०००

अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र राज्यहिंसाविरोधी लेखक–कलाकारको कालोपट्टी पर्व यसरी सम्पन्न भयो । सहभागीहरूको अटल आपसी विश्वास र क्रियात्मक ऐक्यबद्धता साथ सानदार ढङ्गले त्यो टुङ्ग्यो । भित्रभित्रै मक्किएको जनविरोधी पञ्चसत्ता हल्लियो । वाम, काङ र आफ्नै सुरको बाटोका लेखक–कलाकारको घनिष्ट सडक एकता देखेर जनविरोधको तारो बनेको जर्जर पञ्चसत्ता अताल्लियो । पछिको प्रतिक्रिया र प्रतिरोधको डरले हुनुपर्छ, गिरफ्तार गरिएका सबैलाई छाड्न शाही कमान्डो शासन बाध्य भयो । 

२०४६ सालको जनआन्दोलनमा भएको पहिलो सामूहिक गिरफ्तारी त्यही थियो— कालोपट्टी पर्वमा लेखक–कलाकारको आम गिरफ्तारी । भिन्नभिन्न आस्थाका स्वतन्त्रताप्रेमी लेखक–कलाकारको त्यो पहिलो एकताबद्ध सडक अभियान थियो । नेपाली साहित्यकलाको इतिहासमा पहिले कहिल्यै नभएको घटना थियो त्यो । चल्तीको भाषामा अभतपूर्व भनौँ न ।

सुरुमैै भनिसकेँ, बर्बर दमनको सिकार भई जनआन्दोलन गतिरोधको अक्करमा अल्झेकोे नाजुक घडी थियो त्यो । इतिहासको त्यो कष्टकर घडीमा लेखक–कलाकारको कालोपट्टी पर्व औँसीको निस्पट्ट अँध्यारोमा जूनकीरीको चमकसरह भइदियोे । लोसे तन्द्रामा झुलिरहेको जनआन्दोलनलाई बिउँझाउन कालोपट्टी पर्वले अलिकता भए पनि जीवनदायी ऊर्जा थपिदियो । नेपाली साहित्य र कलाको इतिहासमा त्यो एक सचेत, सुविचारित र सुसङ्गठित पाइलो थियो । सबुतहरू साक्षी छन्— कालोपट्टी पर्वले आफ्नो महत्ता आफ्नै सामर्थ्यको बलले आफैँ सिद्ध गरिछाड्यो । 

हामी लेखक–कलाकारका आफ्नै गौरवमय सबलता पनि छन्, हेलचेक्र्याइँवश आफ्नै इतिहासको स्मरण गर्न बिर्सने दुर्बलता पनि छन् । सामूहिक बुद्धिमत्ता र सौर्यको बलले नेपाली लेखक–कलाकारको त्यत्रो सार्थक घटना इतिहासमा रचियो तर वर्षमा एक पटक त्यसको सामूहिक संस्मरण गर्ने शुद्धिधरी हामीलाई आएन । कसैले मलाई सुनायो— कालोपट्टी पर्वपछिको अर्को चैत ३ गते कमसेकम अनाम नाट्य जमात, धरानले कालोपट्टीको इतिहासको सामूहिक रुपले संस्मरण गर्‍यो रे ।

बस्, यही हो कालोपट्टी पर्व— जनआन्दोलनको जुनकिरी ! नेपाली लेखक–कलाकारको अभूतपूर्व गौरव दिवस !

०००

समाप्त

२०५३ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप