बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कला

रङका साधक केजी रञ्जित : ‘कोर्न छाडे त म के पो हुन्थेँ होला !’

शनिबार, १४ असार २०८२, १६ : ००
शनिबार, १४ असार २०८२

सारांश

  • केजी रञ्जित, एक वृद्ध कलाकार, आफ्नो ९३ वर्षको उमेरमा पनि कला प्रदर्शनीमा सक्रिय छन्।
  • उनको कलामा गहिरो ध्यान, निरन्तरको अभ्यास र मिहिनेतको प्रतिबिम्ब देखिन्छ, जसले उनलाई नेपाली कला इतिहासमा विशिष्ट स्थान दिलाएको छ।
  • रञ्जितको कला शैली र व्यावसायिकतामा नयाँ आयाम थपेको र उनले आफ्नो स्टुडियोलाई सफा राख्ने अनौठो तरिका अपनाए।

२०८२ को वैशाख २ गते एउटा कार्यक्रममा वयोवृद्ध कलाकार केजी रञ्जित (कृष्णगोपाल रञ्जित) ठमठम हिँड्दै आइरहेको देखेँ । सफासुग्घर पहिरनमा, फरासिला देखिने उनी आफ्नो उमेरभन्दा भर्खरका लाग्थे । 

‘दाइ कति वर्ष पुग्नुभयो होला ?’ अभिवादनपछि मैले सोधेँ । 

‘९३ मा हिँड्दै छु ।’ उनले तत्कालै जवाफ दिए ।

नब्बे काटिसकेपछि पनि मान्छेहरू यसरी हिँड्न सक्छन् र ! तत्क्षण मलाई अझ अचम्म लागेको थियो । 

ओहो अझसम्म यस्तो कार्यक्रममा सजधजका साथ हिँड्दै हुनुहुन्छ हगि ?  ‘साथीभाइले सम्झन्छन्, हिँड्न त परिहाल्यो ।’ उनको सटीक जवाफ थियो । 

‘अहिले पनि चित्र कोर्दै हुनुहुन्छ ?’ मैले सोधेँ । 

उनले लामो सास तानेर भने, ‘कोर्दै छु नि ! कोर्न छाडे त म के पो हुन्थेँ होला ! बेलामा अझ बढी नै गरिन्थ्यो । अहिले अलि शिथिल भएजस्तो अनुभव भइरा’छ ।’ 

IMG_20250415_135243 - Copy

युवा छँदा उनी फूर्तिका साथ आफ्नो घरको भर्‍याङमा तल–माथि गर्थे । उनले कला पोत्ने ठाउँ घरको माथिल्लो तलामा थियो । यसरी कला कोर्ने अभ्यास गर्दै आएकाले उनको कला मजैले माझिन पायो । गहिरो ध्यान, निरन्तरको अभ्यास र मिहिनेतले गर्दा पनि आज उनका कलामा कतै खोट लगाउने ठाउँ भेटिँदैन, उनीजस्तै सुकिला देखिन्छन् । 

यसरी केही भलाकुसारी भएको दुई सातापछि (जेठ १५ गते) उनीसँग पुनः भेट भयो, राष्ट्रिय कला प्रदर्शनी २०८२ मा । यसपटक पनि उनी उसरी नै ठमठम गरेर आएका थिए । अचेल उनलाई यताउति घुमिरहन मनलाग्दो रहेछ । हिजोआज कलाका यस्ता कार्यक्रममा युवा भनिने कलाकार आउँदैनन् । बरु वयोवृद्ध अवस्थामा पनि उनी यस्ता कार्यक्रममा देखिनु हामी सबै कलाकारका लागि गौरव र प्रेरणाको कुरा हो । 

सरल, सहज र शान्त स्वभावका धनी यी कलाकार मान र भाउ खोज्दैनन् । त्यसैले उनलाई सबैले आदर भावका साथ हेर्ने गर्छन् । वर्षले मात्र होइन उनको स्वभाव र उनको कलामाथिको एकाग्रता, निरन्तरता अनि अब्बल कला कोर्ने क्षमताका कारण नेपालको कला इतिहासमा उनको नाम एक अलग्ग स्थानमा सुरक्षित छ । उनका समकालीन कलाकारहरू अहिले सक्रिय देखिँदैनन् । कोही परलोक गइसके, कोही शिथिल भएर घरकै कुनै कुनामा आराम गरिरहेका होलान् । यसो हुँदा आजका कलाकार वा भावकले कतिपय पुराना कलाकारका कला हेर्न पाइरहेका छैनन् । नेपालमा पाका कलाकारका कला प्रदर्शन भइरहने सङ्ग्रहालय बन्न सकेको छैन । यस्तो सोचको विकास भएको पनि छैन । फलस्वरूप सक्रिय भइरहने कलाकारकै मात्र कलाहरू देखिने अहिलेको अवस्था छ । यसकारण केजी रञ्जितलाई सबैले सम्झने, मान्ने अनि उनका कलाबारे चिन्तनमनन गर्ने पनि गर्छन् । कलाकारहरु उनीकहाँ जाने वा उनी नै यस्ता कार्यक्रममा आइरहने हुँदा उनका कला सबैले हेर्ने र बुझ्ने गर्छन् । कला राम्रो भएर मात्र नहुने रहेछ, त्यसबारे छलफल र बहसको वातावरण पनि अनिवार्य हुन्छ । 

उनी भन्ने गर्थे, ‘जब म कला बनाउँदै जान्छु, मेरो एउटै उद्देश्य र ध्यान हुन्छ कि कसरी कलामा मैले कलात्मक सौन्दर्य प्रदान गर्न सक्छु वा बनाउन सक्छु !’ यही सौन्दर्य भाव ल्याउन उनी दिनरात मेहनत गर्ने गर्थे । कल्पनामा प्रविधिलाई गाँसेर अनेकानेक प्रयोग पनि गरिबस्थे ।

केजी रञ्जित मूलतः प्रकृतिवादी कलाकार हुन्, यथार्थ रूपलाई सुन्दर ढंगले क्यानभासमा सजाउन उनी माहिर छन् । यथार्थ तर सौन्दर्यले वशीभूत भएकाजस्ता कला उनी बनाउने गर्छन् । कल्पनागत यथार्थता उनको मूल विशेषता हो । उनका यथार्थपरक दृश्यचित्र यति मनमोहक हुन्छन्, सधैँ हेरिरहुँजस्ता ।

Messenger_creation_7B828BF9-F9E9-4538-AA82-C936E3ACBDB5

२०५८ सालतिर होला, रातको दृश्यचित्र मात्र समेटेर उनले एउटा अलग्ग प्रकारको एकल कला प्रदर्शनी गरेका थिए । यो उनको एउटा ‘इनोभेटिभ आइडिया’ थियो । अलि गाह्रो हुने खालका यस्ता चित्र बनाएर उनले नयाँ प्रयोग मात्र गरेका थिएनन्, आफ्नो शिल्प दक्षतालाई सबैको माझ पस्केका थिए । यस्ता कलामा अलि बढी नै शिल्प दक्षता चाहिने हुँदा धेरै कलाकारले यस्ता दृश्यचित्र बनाउने आँट गर्दैनन् । कृत्रिम प्रकाशलाई कल्पनामा उनेर अलिकता भाव, अलिकता शिल्पलाई सँगालेर त्यसमाथि सौन्दर्यलाई मिसाउँदै उनले कलाको निर्माण गरेका थिए । यसरी उनले झैँ एउटा अलग्ग विषयलाई लिएर दृश्यचित्र बनाएको र अलग्ग प्रदर्शन गरेको आजको दिनसम्म देखिएको छैन ।   

उनी भन्ने गर्थे, ‘जब म कला बनाउँदै जान्छु, मेरो एउटै उद्देश्य र ध्यान हुन्छ कि कसरी कलामा मैले कलात्मक सौन्दर्य प्रदान गर्न सक्छु वा बनाउन सक्छु !’ यही सौन्दर्य भाव ल्याउन उनी दिनरात मेहनत गर्ने गर्थे । कल्पनामा प्रविधिलाई गाँसेर अनेकानेक प्रयोग पनि गरिबस्थे । जवानीमा उनी कला कर्ममा निकै सक्रिय थिए ।

घरको माथिल्लो तलामा रहेको आफ्नो कला स्टुडियोमा कहिलेकाहीँ उनी बिहान ३ बजेतिरै पुग्थे र कला पोत्न सुरु गर्थे । खाना खान तल झर्‍यो अनि फेरि कुदेर माथि गइहाल्यो । निरन्तरको अभ्यास र मेहनतले नै उनका कलामा एक प्रकारका मिठास भरिएका हुन्थे । खाइलाग्दो कोमल रङले उनको क्यानभास भरिएको हुन्थ्यो । सेतो रङ मिसाई कुनै पनि रङको कडापनलाई हटाउने उनको तरिका थियो । आँखा खाने चम्किला र उत्ताउला रङहरूलाई उनी टाढै राख्थे । कोमल र नरम रङहरूले भरिएका उनका कलाले भावकलाई आनन्दानुभूति गराउँथ्यो । 

उनले २०१७ सालमै न्युरोडमा रञ्जित आर्ट (कलाको पसल) खोलेर व्यावसायिक कलामा नौलो आयामको थपेका थिए । त्यसअघि पनि व्यावसायिक कलाको आफ्नै ढंग थियो । उनी केही समय कलकत्ता बसेर आएको मान्छे, बाहिरका कुरा बुझेको हुनाले उनले कलाको व्यावसायिकतामा केही नयाँ अभ्यास गरेका थिए । 

आजभन्दा झन्डै ६०–७० वर्षअघिका प्रभाववादी कलाकारहरू भन्ने गर्थे— सौन्दर्यता कलाकारको उपज हो, सौन्दर्यता कलाकारले ल्याउने कुरा हो । छ्या भन्ने वस्तुलाई पनि कलाकारले सुन्दर बनाइदिन सक्छ । 

Messenger_creation_A9933CE3-C8FA-4B92-AA86-3DF1068A7E51

त्यस भनाइलाई केजी रञ्जितले साकार गरिदिएको जस्तो लाग्छ । अझै पनि केजी रञ्जितले यस्ता कलाको अभ्यास गरिरहेका छन् । कलाको पुरानो शैलीलाई जीवन्त राख्ने कलाकारका रूपमा उनलाई हेर्ने गरिन्छ ।

अहिले बुढेसकालतिर गति केही कम भए पनि उनी थाकेका देखिन्नन् । बेलाबेला उनी कुचिका, रङ र क्यानभासमा हराउँछन् । उनी पैसाका लागि कला गर्दैनन् । यद्यपि उनका कला खुबै बिक्री हुन्थे । बिक्री बढी भएकैले व्यावसायिक कलाकारमा उनको नाम चिनिन थाल्यो । कल्पनालाई क्यानभासमा उतारी हेर्दै आहा भन्ने खालका चित्र बनाउनु उनको ध्येय हुन्थ्यो । 

‘म रङहरूलाई पहिले नै मिलाएर राख्छु,’ उनले भनेका थिए । त्यसवेला मलाई अलिकता अचम्म लागेको थियो । यो कस्तो खालको प्रविधि होला । पहिले नै मिलाएर राखेपछि रङ सुकिहाल्छ । मैले जिज्ञासु हुँदै सोधेको थिएँ, ‘कसरी राख्नुहुन्छ ?’ 

उनी आफ्नै ढंगले, आफ्नै पाराले र आफ्नै शैलीमा आजको दिनसम्म लागिपरेका छन् । यसर्थ आज उनको एक अलग कलागत सिग्नेचर बन्न गएको छ । उनी आफू कलाकार भएको गौरव मान्दै भन्छन्, ‘हामी कलाकारहरू साँच्चिकै भाग्यमानी रहेछौँ । चित्र कोर्न नसकेको भए त के गर्नु, के गर्नु पो हुन्थ्यो होला ।’ 

उनी मूलतः पोखराका हुन् । उनको जन्म १९८९ सालमा पोखरामै भएको हो । सुरुमा उनलाई बुवाले काठमाडौँ ल्याएका थिए, पढाउनका लागि । उनका बुवाले हस्तकला बनाउँथे । हस्तकला उपयोगी कला हुँदा पनि उनी उपयोगी कलामा ज्यादा लागेको हुनुपर्छ ।

पछि उनका बुवा कलकत्ता जानुपर्ने भयो । बुवाले उनलाई पनि साथमा लिएर गए । यसरी उनले उतै कला पढ्ने अवसर पाए । ६–७ वर्षको हुँदा उनले चित्र बनाएका थिए रे । पछि उनले राजा महेन्द्रको व्यक्तिचित्र बनाए । त्यो चित्र देखेर उनलाई कसैले वायुसेवा निगममा चित्र कोर्ने जागिर लगाइदिएछ । यसरी उनले २८ वर्ष जागिरे जीवन बिताए ।

कुराकानी गर्दै जाँदा उनले पुराना कुरा कोट्ट्याए । वायुसेवा निगममा काम गर्दा उनले जहाजमाथि चढेर र झुन्डिएर कला कोर्नुपर्थ्यो । ‘त्यसबखत मैले रमाइरमाई चित्र कोर्थें । चित्र कोरिरहन रमाइलो लाग्थ्यो,’ उनी भन्छन्, ‘हामीले सुख खोज्न जान्नुपर्छ नि !’ 

झन्डै ३० वर्षअगाडि म उनैको घरमा पुगेथेँ, केही कुरा गरौँ भनेर । उनी सफासुग्घर ब्रसले चित्र बनाउँदै थिए । सफासुग्घर ब्रस भन्नुमा एउटा अर्थ लुकेको छ । सामान्यतया कलाकारहरूको कलर–प्लेट रङले लतपतिएको हुन्छ । अनि स्टुडियो आफैँ पनि रङको आहालजस्तो हुन्छ । छरपस्टिएका सामान लथालिङ्ग हुन्छन् । जिउको एप्रोन नै रङले लतपत हुँदा कलाकार स्वयं कलाजस्तै बनेको देखिन्छ । कलाकार बस्ने वातावरण घीनलाग्दो फोहोरको डङ्गुरजस्तै हुन्छ । यस्तो भएन भने कला स्टुडियो हुन्छ र ? भन्ने भाष्य अहिले चलन चल्तीमा छ । यो मानेमा उनी नितान्त अलग्ग छन् । उनको कला स्टुडियो सिनित्त परेको सफासुग्घर हुन्छ । रङलाई उनले नाइफले सिधै क्यानभासमा लगाउँदै गरेको देखेर म छक्क परेको थिएँ । निलो सफा आकाश, चम्किलो हिउँ अनि छाया परेका रङहरू सर्लक्कै उठेर आएको देखिन्थ्यो । 

त्यतिबेला मैले सोधेको थिएँ, ‘खै दाइ, कलर प्लेटमा रङ लतपतिएको केही देखिँदैन त !’ 

‘म रङहरूलाई पहिले नै मिलाएर राख्छु,’ उनले भनेका थिए । त्यसवेला मलाई अलिकता अचम्म लागेको थियो । यो कस्तो खालको प्रविधि होला । पहिले नै मिलाएर राखेपछि रङ सुकिहाल्छ । मैले जिज्ञासु हुँदै सोधेको थिएँ, ‘कसरी राख्नुहुन्छ ?’ 

उनले एउटा रङको ट्युब निकाल्दै मलाई देखाए । जहाँ आफूलाई चाहिने रङ पहिले नै मिलाएर राखेका रहेछन् । त्यस्तो टेक्निक मैले पहिला कतै देखेको थिइनँ । 

क्यानभासमा उनले त्यही ट्युबमा राखेको रङहरूलाई डाइरेक्ट नाइफ चलाएर चट्टान, पहाड अनि सेता हिउँहरूलाई एकैचोटि क्यानभासमा उतार्थे । उनले यसरी स्ट्रोक मार्दा रहेछन्, त्यसैले उनका तुलिकाघातहरू सफासुग्घर हुँदा रहेछन् । 

यस प्रकारले हिमाल बनाउने अर्को कलाकार मैले आजसम्म देखेको छैन । अनि उनले यसो गर्न कहीँ सिकेका पनि होइनन् । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप