शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
हराए असारे भाका

सर्जकलाई पेटकै चिन्ता ! कसले गाउने असारका गीत ?

आइतबार, १५ असार २०८२, १७ : २७
आइतबार, १५ असार २०८२

सारांश

  • असार महिनामा गाइने गीतहरू पछिल्लो समयमा हराउँदै गएका छन्, जसको मुख्य कारण व्यावसायिकता र नयाँ पुस्ताको चासोको कमी हो।
  • वरिष्ठ लोकगायक नारायण रायमाझी र अन्य संगीतकारहरूले यसको चिन्ता व्यक्त गर्दै, राज्यको संरक्षणको अभाव र लगानीको समस्यालाई कारण मानेका छन्।
  • गीतकार र संगीतकारहरूले व्यावसायिकता बढेकाले र नयाँ पुस्तामा संस्कृतिको चेत घट्दै गएकाले असारे गीतहरू कम बन्दै गएको बताए।

हरियो डाँडामाथि हलो जोत्ने साथी
हो हो माले हो हो, हो हो तारे हो हो 

जनकविकेशरी धर्मराज थापाको यो गीत नसुन्ने सायदै होलान् । वर्षौं पहिले बनेको यो गीत हरेक असारमा यदाकता भए पनि सुनिन्छ । 

सदबहार यो गीतभित्र असारको मर्म लुकेको छ । यो मात्र होइन, ‘रिमिमा झिमी पानी है पर्‍यो असारे मासैमा’ र ‘सिमसिमे पानी परेको वेला केही छैन ओत लाग्ने’ जस्ता असारका मर्ममा तयार भएर गुञ्जँदै आएका थुप्रै गीत छन् । 

कृषिप्रधान हाम्रो देशमा असारलाई कृषि सुरुवातको महिना मानिन्छ । ‘मानो खाएर मुरी उब्जाउने’ महिनाको रूपमा परिचित असारमा नाचगानसहित रमाएर काम गरियो भने उब्जनी प्रसस्तै हुने आम विश्वास छ । गीतका शैली भने ठाउँअनुसार फरक–फरक छन् । 

तर पछिल्लो समय असारका गीतसंगीत हराउन थालेका छन् । यदाकदा सुनिन थालेका छन्, तर अधिकांश ठाउँहरूमा यस्ता गीत बज्न छाडेका छन् । र नयाँ गीतहरू पनि बन्न छाडेका छन् । पछिल्लो समय संगीतको बजार फस्टाएको समय यस्ता गीतसंगीत झन् धेरै बन्नुपर्ने हो । तर बन्न सकिरहेको छैन । 

किन बन्न छाडे असारे गीत ?

आजभोलि गाउँबस्ती खाली र उजाड हुन थालेका छन् । र जनशक्ति नहुँदा खेतबारीहरू पनि बाँझै राख्न थालेका छन् । यस्तो अवस्थामा असारे भाका बोकेका लोकसंस्कृति झल्काउने गीतहरू हराउँदै जान थालेकोमा वरिष्ठ लोकगायक तथा संगीतकार नारायण रायमाझी चिन्ता व्यक्त गर्छन् । 

‘अब ट्याक्टरले जोत्ने, मेसिनले रोप्ने, मेसिनले काट्ने जमाना आयो । गाउँमा पनि गोरु पाल्नै छाडिसके,’ रायमाझी भन्छन्, ‘पहिलेजस्तो हली बाउसे रोपारे खेताला हुँदैनन् ।’ साथै कलाकारले व्यावसायिक गीतसंगीतमा जोड दिँदा पनि यस्ता गीतहरू बन्न नसकेका उनको बुझाइ छ । 

पहिल्यैदेखि असारे गीतसंगीतलाई प्राथामिकतामा राख्दै आएका रायमाझीले गत वर्ष ‘आलीको छेउमा’ बोलको गीत ल्याएका थिए । यो वर्ष भने विभिन्न कामको व्यस्तताले गीत ल्याउन नससकेको उनको भनाइ थियो । 

गायक तथा संगीतकार शिशिर योगी असारे गीत ‘सिजनेबल’ भएकाले कलाकारहरू लगानी गर्न डराउने तर्क गर्छन् । ‘सिजनेबल गीत सधैँ सुन्न पनि मिल्दैन,’ योगी भन्छन्, ‘खर्च अन्य गीतजस्तै हो । लगानी उठ्ने चान्स कमै हुन्छ ।’ 

गीतसंगीत व्यावसायिक बन्न थालेकाले पनि असारे गीत हराउन पुगेको योगीको पनि तर्क छ । 

संस्कृतिसँग जोडिएका अन्य गीत पनि हराउन थाले

असारे गीत मात्र होइन, नेपालमा थुप्रै चाडपर्वका गीत छन् । जो विस्तारै हराउँदै जान थालेका छन् । यसलाई जोगाउनु स्रष्टाहरूको दायित्व हो । तर स्रष्टाहरू बचाउने दायित्व राज्यले नलिएसम्म यस्ता खालका गीतसंगीत जोगाउन गाह्रो पर्ने गायक योगी बताउँछन् ।

‘स्रष्टालाई बचाइदिनुपर्छ भन्ने दायित्व राज्यको छैन । कुरा त्यहाँ छ । स्रष्टा कुन अवस्थामा कसरी बाँचेका छन् भन्ने राज्यलाई मतलब नै छैन,’ उनी भन्छन्, ‘एउटा स्रष्टालाई पेट पाल्न र परिवार पाल्न व्यवसायमा जोड दिनुपर्छ भने यस्तोमा लगानी किन गर्छ ? संस्कृति संस्कारतिर कसरी धान्न सक्छ ?’ 

स्रष्टाहरूमा यस्ता गीतहरू बनाउनुपर्छ भन्ने चेत भए पनि आफूहरूको पनि बाध्यता रहेको उनले गुनासो गरे । यस्तै गीतकार लोकराज अधिकारी पनि गीतमा व्यावसायिकता हाबी हुँदै गएकाले असारे गीत बन्न छाडेको बताउँछन् । ‘सबैभन्दा पहिलो कुरा त अहिले गीतसंगीत कल्चरभन्दा पनि व्यावसायिक बढी बन्न थाले,’ अधिकारी भन्छन्, ‘यहाँ पहिले कसरी कमाउने भन्नेमै सबैको जोड हुन थाल्यो । बिस्तार बिस्तारै संस्कृति पर्वका गीतहरू कम बन्न थाले ।’ 

असार संस्कृतिलाई पुस्तान्तरण गर्न नसक्नु पनि यस्ता गीत हराउनुको कारण भएको उनको ठम्याइ छ । अधिकारी थप्छन् ‘राज्यले पनि यसलाई संरक्षण गर्नुपर्छ, पुस्तान्तरण गर्नुपर्छ भन्नेतिर लागेन ।’
गायक तथा संगीतकार चिरिञ्जीवी भण्डारीको पनि यस्तै तर्क छ । ‘व्यवसायिक नभए पनि फाट्टफुट्ट बनिरहेका थिए,’ भण्डारी थप्छन्, ‘त्यसमा पनि विकृति छाउन थाल्यो । युवायुवतीले असारको गीत बजाएर जथाभावी हिलो छ्यापेर विकृत बनाउन थाले ।’ 

वर्षाैँदेखि चलिआएको परम्परा हराउँदै जान थालेकाले पनि नयाँ गीत बन्न नसकोका उनको बुझाइ थियो । 

कला संस्कृतिप्रति नयाँ पुस्तामा चेत हुन छाड्नु पनि अर्को कारण भएको बताए । ‘त्यस्ता कार्यक्रमहरू पनि हुन छोडे । जुन भाकाहरू पहिला गाइन्थ्यो, ती लोप हुँदै गए ।’ गीतकार नेत्र अर्याल पनि लगानीकै कारण असारे गीत बन्न छाडेको बताउँछन् । ‘म गीत लेख्छु । गीत लेख्न लगाउनेले असारे गीत लेख्नुपर्यो भन्दैनन् । उनीहरू यस्ता गीतमा व्यावसायिकता देख्दैनन्,’ अर्याल थप्छन्, ‘आफै बनाउन फुर्सद, लगानीजस्ता धेरै कुरा आउछ ।’ 

के हो असारे गीत ?

रोपाइको वेला खेतको गह्रा, आलीमा घन्किने गीत हो– असारे गीत । जसलाई कतै कतै ‘बाली गीत’ पनि भनिन्छ । असारे गीतलाई पूर्वी भेगमा ‘रसिया’, पश्चिमाञ्चलतिर ‘काँठेभाका’ समेत भनिन्छ । थारू समुदायले रोपाइँका वेला गाइने गीतलाई ‘सजना’ भन्ने गर्छ । यसरी देशको भौगोलिक विविधताअनुसार फरक–फरक तरिकाले असारे गीतलाई चिनिन्छ । ठाउँअनुसार असारे गीतका भाका पनि फरक छन् । तर जहाँ जे भने पनि यो खेतबारीकै गीत हो । 

कतिपयले यस्ता विषयमा मायाप्रेम समेत मिसाउँछन् । रोपाइमा थाकेका बाउसे र रोपाहारहरू एकअर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट बिर्सन खोज्छन् । जसले थकाइ बिर्साउँदै आनन्द दिन्छ । खेतका गह्रा, खोलानाला र झरीसँगै असारे भाका खुल्छ । गीतले थकित वातावरणलाई आनन्ददायी र रोचक बनाइदिन्छ ।

असारे गीतमा खेतीबाली, हिलो, रोपाहार, बाउसे, हलोजुवा, गोरुका अलावा मौसमलगायत विषय बढी प्रयोग हुन्छन् । कतिपय गीतमा भने व्यंग्य पनि मिसाइएको हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप