शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अन्तर्वार्ता

'...तर तेस्रो मिनेटमा ‘तँ जागिरे होस्’ भनेर फोन बजिहाल्छ'

'कथा मलाई आफ्नो कोठाजस्तो लाग्छ'
शनिबार, २१ असार २०८२, १५ : ५३
शनिबार, २१ असार २०८२

काठमाडौँ । कथाको दुनियाँमा पछिल्लोपटक ‘बहरूपि’का रूपमा आएका छन् श्रेयज सुवेदी । गत वैशाखमा प्रकाशित पहिलो सङ्ग्रहबाटै पाठकमाझ राम्रो छाप छाड्न सफल लेखकमा गनिन्छन् उनी । मधेशको जीवन, प्रकृति, भूगोल, भाषा र आञ्चलिकतालाई उनले किताबमा सङ्ग्रहित गरेका छन् । उनै लेखक सुवेदीसँग रातोपाटीका लागि मिरमाले गरेको संवादको संक्षिप्त संक्षिप्त सारः

हाल केमा व्यस्त हुनुहुन्छ ? पछिल्लोपटक पढेको कृति कुन हो र कस्तो लाग्यो ?

म त जागिरमै व्यस्त छुँ । लेखक हुँ भनेर २ मिनेट सोच्न नपाउँदै तेस्रो मिनेट ‘तँ जागिरे होस्’ भनेर फोन बजिहाल्छ । पछिल्लो समय म उपेन्द्र सुब्बाको लाटो पहाड पढिरहेको छु । लिम्बू समाज र मुन्धुमी संस्कृति, मानवीय संवेदना, सामाजिक चेतना, आञ्चलिकता यस कथा सङ्ग्रहका बलशाली पक्ष हुन् । माटोको बासना किताबभरि भेटिन्छ । उहाँ त सिनेमा लेखक पनि । पछिल्लोपटक त निर्देशनमा पनि व्यस्त हुनुहुन्छ । यस कथासङ्ग्रहमा पनि सिनेमाका मोटा पातला खम्बाहरू भेटाएँ ।

हालै तपाईंको कथासङ्ग्रह बहुरूपि प्रकाशनमा आएको छ । बजार माहोल कस्तो छ ? 

यथार्थमा नेपाली साहित्यको बजार सानो, तर बहस ठूलो छ । जुन हुनुपर्छ पनि जस्तो लाग्छ । बहसबाटै संसारमा ठूलाठूला कुरा पार लागेका छन् । तर बहस मात्र होइन, बजार विस्तारमा पनि लाग्नुपर्ने देखिन्छ । यसको एक मात्रै उपाय पठन संस्कृतिको विकास हो । किताब पढ्नु, किताब किन्नुलाई ‘ग्लायामराइज’ गर्न जरूरी छ । अनुवाद र अडियोबुक अर्काे माध्यम हुनसक्छ । बजार भन्ने, तर किताबलाई वस्तु नमान्ने भन्ने हुँदैन । बेच्नुपर्छ । विज्ञापन गर्नुपर्छ । नेपालमा पुस्तक प्रवर्द्धनको अभाव छ । साहित्यले सामाजिक सञ्जालको प्रयोग गर्न जानेको छैन । 

पाठकलाई पढ्न सिफारिस गर्नका लागि ‘बहुरुपी’मा त्यस्तो के छ ? 

सिनेमा मन पर्छ ? अझै हिन्दी सिनेमा मन पर्छ ? तराईको परिवेश रंग मन पर्छ ? झट्का मन पर्छ ? शब्द पढ्दा दृश्य देख्न रूचाउनु हुन्छ ? हुन्छ भने बहरूपी त्यही हो । ती सबै एउटै थालमा पस्केको नयाँ परिकार हो । नेपाली सिनेमामा कथाको अभाव छ भन्ने सोच्नुहुन्छ भने उहाँहरूको लागि यो किताब अझै बढी सिफारिस गर्न चाहन्छु ।

अन्तिम पटक तपाईंलाई झक्झकाएको साहित्यिक कृति कुन हो ? किन ?

झक्झकाएको छैन । तर नवीन प्राचिनको ‘प्वाँख’ले मलाई आनन्द दियो । किताब नाम जस्तै हलुङ्गो छ  । 

तपाईं किन लेख्नुहुन्छ ?

नयाँ सोच्न र आफूलाई अभिव्यक्त गर्न । लेख्नका लागि मात्रै लेख्दिनँ । यही स्वतन्त्रता मेरो सुख हो । यही सुख मेरो भ्रम हो ।

वास्तवमा कथा के हो ? साहित्यका अरु पनि विधा छन् । यसमै किन र आकर्षित हुनुभयो ? 

लेखनको पहिलो शर्त त विचार हो । त्यो विचार अभिव्यक्त गरिसकेपछि त्यो तपाईंलाई कविता लाग्न सक्छ, निबन्ध लाग्न सक्छ । कथा पनि मेरा लागि त्यही हो । म यसमा पोखिन पाउँछु  ।मलाई छिट्टै अभिव्यक्त भैहाल्नुपर्छ । हतारे छु । एउटा विचार लामो समय पालिरहन सक्दिनँ । म खरायोजस्तो चञ्चल छु, बुद्रुकी मारिरहन मन लाग्छ । यो सबैका लागि कथा सहज विधा हो मेरा लागि ।

कथा लेखनका चुनौती के हुन् ? 

कथा मलाई आफ्नो कोठा जस्तो लाग्छ । म यसमा अटाउँछु । कथामा मलाई केही पनि चुनौतीपूर्ण लाग्दैन । चुनौती भन्ने शब्दसित अप्ठ्यारो पनि जोडिन्छ । लेखनले मलाई आनन्द दिन्छ । असहजता दिँदैन । 

समकालीन नेपाली कथाको अवस्था कस्तो छ ? यसले कुन दिशा लिइरहेको छ ?

अहिलेको अवस्थामा म निकै आशावादी छु । नयाँ लेखकहरूलाई माथि ल्याउन बाह्रखरी कथा प्रतियोगिता जस्ता प्रतियोगिता हुने गरेका छन् । यस्ता अरू प्रतियोगिता पनि ल्याउन जरुरी छ । बुकाहोलिक्सजस्तो पेजहरूले पनि राम्रो योगदान गरेका छन् । अरू विधासँग दाज्दा त्यति सफा नदेखिएला । तर हिजो र आज कथाको दिशा सकारात्मक नै देख्छु । 

लेखेर अहिलेसम्म के कमाउनुभयो वा के गुमाउनुभयो ? 

थोरै मान्छे कमाएको छु । गुमाएको केही छैन । नाफामै छु ।  

अन्तिममा, आखिर जिन्दगी के रहेछ त ?

ओशोले भने जस्तै, जिन्दगी अर्थपूर्ण पनि छैन अर्थहिन पनि छैन । जिन्दगी छनोट हुनसक्छ । कस्तो रंग, कस्तो अर्थ आ–आफ्नो जिम्मा ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा