गौरीशंकरको शरीरभरि छन् प्रमाण, तर अदालतले भन्यो– घटना भएकै छैन
सारांश
- २०६४ सालमा रौतहटको राजपुरमा भएको बम विष्फोटका एक पीडितले घटनाबारे आफ्नो अनुभव सुनाएका छन्।
- विष्फोटमा घाइते भएका व्यक्तिले अदालतले आलमलाई सफाइ दिएकोमा दुःख व्यक्त गर्दै आफूलाई न्यायको लागि अपिल गरे।
- घटनाको अघिल्लो दिन उजुरी परेको भए पनि निर्वाचन कार्यालयले कुनै कारबाही नगरेको र राज्य संयन्त्रले घटनालाई लुकाउन खोजेको आरोप छ।
काठमाडौँ । ‘जब घरको ढोका अगाडि गएँ, एकदमै ठुलो आवाज आयो । मलाई थाहै भएन कि त्यहाँ बम पड्कियो । छातीमा जोरसित लागेपछि म त्यहाँबाट भागेँ । मेरो शरीरमा आगो लागिरहेको थियो । घर पछाडि पानी थियो, त्यहीँ हाम्फालेँ । पानीले शरीरमा जलिरहेको आगो निभायो । अनि जोरसित फेरि भागेँ । त्यतै कतै बेहोस भई ढलेँ,’ आइतबार २०६४ चैत २७ गते रौतहतको राजपुर फरहदवामा भएको बम विष्फोट र इँट्टाभट्टामा जिउँदै मान्छे जलाइएको त्यो कालरात्रि सम्झिए ४३ वर्षीय गौरीशंकर राम चमारले ।
भारत सीतामढीका गौरीशंकर त्यसवेला राजपुरमा इँटा बनाउने काम गर्थे । अफताबका भाइ महताबले उनीसहित तीन जनालाई भारतबाट इँटा बनाउन ल्याएका थिए । त्यसदिन ज्याला लिन बोलाएपछि उनीसहित तीन जना साथीहरू महताबको घरमा गए । साँझ साढे ६ बजेतिर शेख इद्रिसको गोठमा बम विष्फोट भयो । उनीसहित उनका दुई जना साथीहरू पनि घाइते भए ।
‘जब मेरो आँखा खुल्यो अस्पतालको बेडमा थिएँ । मैले आमालाई सोधेँ– यो म कहाँ छु ? उहाँले भन्नुभयो– यो सीतामढी (भारत) हो बाबु,’ उनले भने । गाउँलेहरूले उनको डायरीमा रहेको नम्बरमा फोन गरेपछि उनकी आमा आएर उनलाई लिएर गएकी थिइन् ।
संविधानसभा निर्वाचनको अघिल्लो साँझ नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमका काका शेख इद्रिसको घरमा बम बनाउने क्रममा भएको विष्फोटमा घाइते गौरीशंकरको अनुहार, घाँटी र छातीमा गम्भीर चोट छ । दुवै कान त्यही विष्फोटमा गुमाए । १७ वर्ष तीन महिना भयो, उनले रौतहट बम विष्फोटको प्रमाण शरीरभरि बोकेर हिँडिरहेको । ती घाउ अझै रातभर अठ्याउँछन्, दिनभर चहराउँछन् चमारलाई ।
राम्ररी कान सुन्दैनन् । घाममा निस्किँदा छातीको छाला र अनुहार पोल्छ । उच्च अदालत वीरगञ्जले ‘घटना नै नभएको’ भनेका जिउँदो साक्षी हुन् उनी । तर त्यस घटनाका मुख्य योजनाकार आलमसहितलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएपछि केही राहत महसुस गरेका थिए उनले । शरीरभरि घाउ बोकेर भए पनि काठमाडौँ–भारत गरेर विभिन्न काम गर्दै उनले दैनिकी धानिरहेका थिए । तर साता–दश दिनभन्दा बढी कसैले पनि काममा नराख्ने गरेको नमीठो अनुभव उनीसँग थियो । ‘मेरो शारीरिक अवस्था यस्तो छ, म धुप (घाम) मा काम गर्न सक्दिनँ । काम पाए पनि साता दश दिनभन्दा बढी राख्दैनन् । म यस्तो अवस्थामा छु, जिउने कि मर्ने भन्ने भएको छ । म तमासाजस्तो भएको छु,’ उनले बताए ।
उनी घाइते भएपछि भारतको एक अस्पतालमा तीन महिना उपचार गरे । साढे तीन लाख जति भारु त्यसवेला खर्च भयो । तर उनलाई न आलमले एकपटक भेटे, न सरकारले नै कुनै राहत वा उपचार खर्च दियो । न त अहिलेसम्म कुनै राजनीतिक दलका व्यक्तिहरूले उनलाई भेटेका छन् । घामले छाला पोल्ने भएकाले काम गर्न कठिन हुन्छ । तर पनि घरमा दुई छोराछोरीसहित चार जना छन् । शरीरले साथ नदिए पनि काम गर्नैपर्छ । ‘१५ दिन काम गर्ने, १५ दिन गाह्रो भएर यस्तै बस्ने गरेको छु,’ उनी भन्छन् ।
यसपालि पनि उनी कामकै सिलसिलामा काठमाडौँ आएका हुन् । काठमाडौँ आइसकेपछि मात्रै उनले थाह पाए कि आलमलाई उच्चले सफाइ दियो । सुरुमा त्यति गम्भीर अपराधका आरोपीलाई अदालतले सफाइ दियो भन्ने स्विकार्न उनलाई कठिन भयो । संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट निर्वाचन लडेका शैलेन्द्र साहसँग बुझ्दा मात्रै त्यो सत्य रहेछ भन्ने थाह पाए । ‘म त यहाँ काम गर्ने सिलसिलामा आएको । यहाँ आएपछि थाह भयो कि अफताब आलम छुट्यो । मैले नेताजी (शैलेन्द्र)लाई फोन गरेँ, नेताजीले भन्नुभयो अँ छुट्यो । मलाई दुःख लाग्यो ।’
आलम छुटेपछि उनलाई अब आफ्नो ज्यानको सुरक्षाको पनि चिन्ता छ । त्यसवेला घरमै गएर आलमका मान्छेहरूले धम्की दिएको सम्झिँदै आफूलाई आलमले मार्छ कि भन्ने डर भएको उनी बताउँछन् । ‘म घरमा नहुँदा आलमको मान्छे गएर मेरो आमालाई भनेको छ– तेरो छोरा त गयो अब । दुई साल, चार साल, पाँच साल बितेपछि बाँच्दैन,’ उनले त्यसवेला दिइएको धम्की सम्झिँदै भने, ‘बम फाटेर हामीलाई यस्तो पीडित बनाएको त्यस्तो मान्छे छुट्यो । आज म सरकारसँग निवेदन गर्छु त्यस्तो मान्छेलाई छाड्नुभएन । कडाभन्दा कडा सजाय दिनुपर्यो ।’ त्यसदिन आलमको घरमा कति जना मानिस थिए भन्ने सवालमा उनी बताउँछन्, ‘त्यहाँ धेरै मान्छे थिए ।’
बम विष्फोटमा घाइते गौरीशंकर र उनको बयानलाई नजरअन्दाज गरी अदालतले आलमसहितलाई सफाइ दिँदै ‘वारदात (घटनास्थल)मा उक्त घटना नै नभएको’ फैसला गरेको छ । अदालतको उक्त फैसलाबारे गौरीशंकर भन्छन्, ‘त्यहाँ बम विष्फोट भएर घाइते भएको प्रमाण म छु । मलाई अन्याय भएको छ ।’
आलमको गतिविधिबारे अघिल्लो दिन नै परेको थियो उजुरी
२०६४ चैत २८ गते प्रथम संविधानसभा निर्वाचन थियो । त्यसको अघिल्लो दिन बम बनाउने क्रममा आलमका काका शेख इन्द्रिसको गोठमा बम विष्फोट भएको थियो । तर बम विष्फोट हुनुभन्दा एक दिनअगावै निर्वाचन कार्यालयमा उजुरी परे पनि कार्यालयले कुनै एक्सन लिएको थिएन ।
संविधानसभा निर्वाचनका एमाले उम्मेदवार शैलेन्द्र साहले निर्वाचन कार्यालय गौरका निर्वाचन अधिकृतलाई पत्र लेख्दै आलमले गरिरहेको अवाञ्छित गतिविधिको जानकारी गराएका थिए ।

उक्त पत्रमा शेख महम्मद र सुरेश मसतानको कमाण्डमा १०० बढी गुण्डाहरू प्रहरीबाट खोसिएको राइफल र हातहतियारसहित फरहदवा प्रवेश गरेको जानकारी गराइएको थियो । तर त्यसलाई आयोगले गम्भीरता साथ नलिएको साहले बताए ।
यस्तै उक्त घटनापश्चात् पनि सोही वर्ष चैत ३० गते साहसहित ९ जनाले संविधानसभा अदालतमा चुनावी धाँधली गर्न आलमले बम बनाउन लाग्दा त्यो पड्किएर पिन्टु भनिने त्रिलोकप्रतापसिंह र ओशी अख्तरसहितको हत्या भएको भन्दै उजुरी दिएका थिए । तर प्रहरीले अनुसन्धान नगरेको भन्दै छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको थियो । तर अदालतले पनि त्यसवेला कुनै अनुसन्धान अघि नबढाएको साहको भनाइ छ ।
उक्त घटनालाई गुपचुप राख्न राज्य संयन्त्रबाटै कार्यहरू भएको साहको भनाइ छ । महान्यायाधीवक्ताको कार्यालयले समेत मुद्दा नचलाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध पीडितहरू सर्वोच्च अदालत पुगेपछि १२ वर्षपछि मात्रै अदालतको आदेशले आलमविरुद्ध मुद्दा चलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण