तीन सय युवकमध्ये एउटालाई छान्ने युवती
जहाँ गुरुहरू पद चिह्न छाडेर जान्छन्
चीनमा एक सुन्दर बौद्ध कथा छ ।
एउटा सानो सहरमा एक दिन अचानक एक अत्यन्तै सुन्दरी युवती आइपुग्छिन् । कसैले पनि उनलाई चिनेको थिएन, न कोही जान्दथे कि उनी कहाँबाट आएकी हुन् ! उनको आगमन एक रहस्य थियो । उनी यति मोहक थिइन्, यति अनुपम सौन्दर्यले भरिएकी थिइन् कि कसैले पनि उनलाई सोध्न चाहेन, ‘तिमी को हौ ?’
केही समयमै सहरका सबै मानिस जम्मा भए । विशेष गरी युवाहरू उनको सौन्दर्यले यति मोहित भए कि करिब तीन सय युवकले एकै साथ उनलाई विवाहको प्रस्ताव राख्न पुगे ।
अनि युवतीले मुस्कुराउँदै भनिन्, ‘हेर्नुस्, म त एक हुँ तर तपाईंहरू तीन सय हुनुहुन्छ । मैले एक जनासँग मात्र विवाह गर्न सक्छु । चौबिस घण्टाभित्र तपाईंहरूमध्ये कोही बुद्धको कमल सूत्र कण्ठस्थ गरेर आउनहुन्छ भने म त्यसैसँग विवाह गर्नेछु ।’
यति भनेर उनी गइन् । तीन सय युवकहरू दौडिएर आ–आफ्नो घर फर्किए । कसैले खाएनन्, कोही सुत्न सकेनन्, सबैले बुद्धको कमल सूत्र याद गर्न थाले । रातभरि उनीहरू कण्ठस्थ गर्न प्रयासरत रहे । अर्को दिन बिहान जब ती युवती आइन् त्यहाँ जम्मा दश युवक मात्र थिए, उनीहरू अगाडि आएर बुद्धको कमल सूत्र वाचन गर्न तयार भए । उनीहरूले पाठ गरे, स्त्रीले ध्यानपूर्वक सुनिन् । सबैले सफलतापूर्वक सूत्र दोहोर्याए ।
त्यसपछि ती स्त्रीले भनिन्, ‘ठिक छ तर म त एउटी मात्र स्त्री हुँ । म दश जनासँग कसरी विवाह गर्न सक्छु ? त्यसैले म फेरि तपाईंहरूलाई २४ घण्टा समय दिन्छु । अब तपाईंहरूले पाठ मात्र होइन यसको अर्थ पनि बुझाएर देखाउनुहोस् । किनभने केवल दोहोर्याउनु सजिलो कुरा हो तर तपाईंहरूले त्यसको सार बुझ्नुभएको छैन ।’
अब सबैजना झस्किए । समय थोरै थियो, केवल एक रात । कमल सूत्र लामो र गहिरो छ, रहस्यमय छ । जसले मोहमा परेर सबथोक गर्न तयार हुन्छ, उसले असम्भवजस्तो देखिने कुरालाई पनि सम्भव बनाइदिन सक्छ ।
ती सबै फेरि भागे, रातभरि जागे, ध्यान दिए, पुस्तक पढे, चिन्तन गरे । भोलिपल्ट बिहान जब स्त्री पुनः आइन् । तीनजना युवाहरू मात्र आए । तीनै जनाले सूत्रको अर्थ स्पष्ट रूपमा व्याख्या गरे ।
स्त्रीले मुस्कुराउँदै सुनिन् र भनिन्, ‘अहिले पनि समस्या बाँकी नै छ । संख्या तीन सयबाट घटेर तीनमा आउनु ठुलो प्रगति हो । अझै म तीनजनासँग विवाह गर्न सक्दिनँ । त्यसैले म तपाईंहरूलाई फेरि २४ घण्टा दिन्छु । अब तपाईंले केवल अर्थ बुझाएर मात्र होइन त्यसको स्वाद पनि चाख्नुपर्छ । किनभने तपाईंहरू व्याख्या त गर्न सक्नुहुन्छ तर त्यो व्याख्या अझै पनि बौद्धिक छ । हो, अघिल्लो दिनको भन्दा राम्रो छ तर अझै त्यो केवल बुद्धिमा छ, अनुभवमा होइन । म अब चाहन्छु कि तपाईंको मौनता, तपाईंको उपस्थिति, तपाईंको हिँडाइमा नै कमलको सुवास आइरहेको होस् । म देख्न चाहन्छु कि कमल सूत्र तपाईंमा प्रवेश भइसकेको छ । तपाईं कमलमै परिणत हुनु भइसकेको छ । तपाईंको चेतनामा अब त्यो सूत्र बाँचिरहेको छ । म त्यो गन्ध महसुस गर्न चाहन्छु । भोलि फेरि म आउनेछु ।’
‘हेर्नुस्, म त एक हुँ तर तपाईंहरू तीन सय हुनुहुन्छ । मैले एक जनासँग मात्र विवाह गर्न सक्छु । चौबिस घण्टाभित्र तपाईंहरूमध्ये कोही बुद्धको कमल सूत्र कण्ठस्थ गरेर आउनहुन्छ भने म त्यसैसँग विवाह गर्नेछु ।’
अन्ततः अर्को दिन बिहान, केवल एक युवक आयो । निश्चित रूपमा उसले सफलता प्राप्त गरिसकेको थियो । उसले कमल सूत्र न केवल कण्ठस्थ र बुझेको थियो बरु त्यसको अनुभूति, स्वाद, सुवास आफ्नै अस्तित्वमा समाहित गरिसकेको थियो ।
त्यसपछि ती सुन्दरी स्त्रीले मुस्कुराउँदै उसलाई भनिन्, ‘अब तिमी योग्य छौ ।’
उसलाई सहरबाहिर रहेको आफ्नो घर लगिन् । युवकले त्यस्तो घर पहिले कहिल्यै देखेको थिएन । त्यो त सपनाजस्तो स्वर्गीय सुन्दर घर थियो, जसको प्रत्येक कुनामा सौन्दर्य, शान्ति र रहस्य थियो । घरको ढोकामा स्त्रीका आमाबुबा उभिएका थिए । उनीहरूले हर्षपूर्वक युवकको स्वागत गरे र भने, ‘हामी अत्यन्तै खुसी छौँ ।’ स्त्रीभित्र गइन्, आमाबुवासँग केही कुरा गरिन् ।
त्यसपछि आमाबुबाले युवकलाई भने, ‘तिमी जाऊ, ऊ तिमीलाई कुरिरहेकी छ । यो उसको कोठा हो ।’
उसलाई कोठा देखाए । युवक त्यो कोठातर्फ गयो । उसले ढोका खोल्यो तर त्यहाँ कोही पनि थिएन । कोठा पूरा खाली थियो तर कोठाबाट एउटा ढोका बगैँचातर्फ खुल्थ्यो । त्यसैले उसले अनुमान गर्यो, ‘सायद ऊ बगैँचातिर गएकी होली ।’
ढोका खोलेर हेर्दा पैतालाका छापहरू थिए, अनि उसले ती छापहरू पछ्याउन थाल्यो, करिब एक माइलसम्म हिँडेपछि बगैँचा समाप्त भयो । अहिले ऊ एउटा सुन्दर नदीको किनारमा आइपुग्यो ।
अब त्यहाँ महिला थिइनन् । पैतालाका छापहरू पनि हराइसकेका थिए । त्यहाँ केवल दुई जोडी सुनौला जुत्ता थिए, त्यही सुनौला जुत्ता जुन त्यो स्त्रीले लगाएकी थिइन् । अब त्यो युवक चकित भयो ।
के भयो ? कहाँ गइन् ती ? कहाँ गयो त्यो घर ? उसले पछाडि फर्केर हेर्यो, न बगैँचा थियो न घर, न त ती आमाबुबा नै थिए ।
सबै एकाएक गायब भइसकेको थियो । यो बौद्ध कथा भन्छ—
उसलाई बिस्तारै धेरै सजग र रहस्यमय तरिकाले अगाडि बढाइएको थियो । ती स्त्री कुनै साधारण युवती थिइनन् । उनी त एक गुरुको प्रतीक थिइन् । गुरु जो मार्ग देखाउँछन् तर स्वयंलाई कहिल्यै बिचमा राख्दैनन् ।
ती स्त्रीले त्यो युवकलाई तीन चरणहरूमा मार्गदर्शन गरिन्— पहिलो चरणमा ज्ञान संकलन, शास्त्र अध्ययन गर्न सिकाइन् । दोस्रो चरणमा विवेक प्रयोग गरेर अर्थ निकाल्न, चिन्तन गर्न सिकाइन् । तेस्रो चरणमा गन्ध, मौन, मौलिकताको अनुभव गराइन् ।
त्यसपछि मात्रै उनले उसलाई शून्यतामा लगिन्, जहाँ शब्दहरू समाप्त हुन्छन् जहाँ ‘म’ भन्ने अहं पग्लिन्छ जहाँ सत्य छ तर अशब्द रूपमा । जहाँ साँचो मार्ग त पथहीन हुन्छ तर त्यो पथहीन पथमा गुरु पदचिह्नहरू छाडेर जान्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण