बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
महानगरको विवाद

बजेट बाध्यताले 'झुके' बालेन, १९४‍औँ दिनमा ‘कार्यपालिका कल’

बिहीबार, २६ असार २०८२, २० : ००
बिहीबार, २६ असार २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार २ बजे बस्ने भएको छ, जुन ७ महिनाभन्दा बढी समयपछि बस्न लागेको हो।
  • स्थानीय सरकार सञ्चालन ऐन अनुसार आगामी आर्थिक वर्षको बजेट असार मसान्तभित्र पास गर्नुपर्ने कानुनी बाध्यताका कारण बैठक बोलाइएको हो।
  • बैठकमा नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेश गर्ने निर्णय हुनेछ र असार मसान्तभित्रै बजेट पास गर्ने तयारी छ।

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार २ दिउँसो बजे बस्ने निश्चित भएको छ । यससँगै ७ महिनाभन्दा बढी समययता बस्न नसकेको कार्यपालिका अब बस्ने निश्चित भएको हो । 

प्रत्येक महिना हुनुपर्ने महानगरको कार्यपालिका बैठक नबसेको शुक्रबार १९४  दिन पुग्दैछ । पछिल्लो पटक पुस १४ गते महानगरको १६औँ नगर सभा बसेको थियो । लामो समयदेखि बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।  

पछि फेरि जेठ १४ गते १५० भन्दा बढी नगर सभा सदस्यले अनौपचारिक रूपमा बैठक बसी  कार्यपालिका बैठक राख्न मेयर शाहलाई दबाब दिएका थिए । उक्त बैठकमा रास्वपाबाट निर्वाचित वडा नम्बर १६ नम्बर वडाध्यक्ष रोजिना श्रेष्ठ बाहेक अन्य अधिकांश जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

बजेटको बाध्यता 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट नगर सभाले पास गर्न नसके ‘बजेट होली डे’को हुनेछ । कानुनी बाध्यताले गाँजेपछि मेयर बालेन बाध्य भएर कार्यपालिका बैठक बोलाउनु पर्ने अवस्थामा पुगेको महानगरका एक जनप्रतिनिधिले टिप्पणी गरे ।  

यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको विवादकै कारण बालेनले कार्यपालिका बोलाएका थिएनन् । अहिले पनि सरोज नै प्रमुख प्रशासकीय अधिृकत हुन् । सुरुमा उनलाई हटाएर मात्रै कार्यापालिका बोलाउने अडानमा रहेका बालेन अहिले भने उनी भएकै अवस्थामा बैठक बोलाउने अवस्थामा पुगेका हुन् । 

महानगर स्रोतका अनुसार  शुक्रबार नै ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने छ । त्यसपछि उपप्रमुख नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । 

 कानुनी औपचारिकता पूरा भए २ बजेको कार्यपालिका बैठकले नै नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ । सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने छ भने असार मसान्त भित्रै बजेट पास गर्ने तयारी रहेको महानगर स्रोतको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप