बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्री हेरफेर

के लोसपा र जसपाले गर्दैछन् मन्त्री हेरफेर ?

आइतबार, ०४ साउन २०८२, २२ : ४४
आइतबार, ०४ साउन २०८२

सारांश

  • मन्त्री हेरफेरको चर्चासँगै अन्य दलहरूमा पनि चहलपहल सुरु भएको छ।
  • जसपा र लोसपा नेपालमा मन्त्री फेर्ने विषयले चर्चा पाएको छ, तर पार्टीका नेताहरूले कुनै छलफल नभएको बताएका छन्।
  • जसपाका सांसद वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, रञ्जु ठाकुरलगायत मन्त्रीका लागि पहल गरिरहेका छन्।

काठमाडौँ । सरकारमा मन्त्रीहरू हेरफेरको चर्चासँगै अन्य दलहरूमा पन त्यसको चहलपहल सुरु भएको छ । 

सरकारको नेतृत्व गरेको नेकपा (एमाले) ले मन्त्री हेरफेर गर्न थालेपछि सरकारमा रहेका अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पनि मन्त्री फेर्ने विषयले चर्चा पाएको छ । 

जसपाको तर्फबाट सरकारमा दुई जना मन्त्री छन् । दुई जना मन्त्रीको पाला सकिएको छ । त्यो ठाउँमा पार्टीका अर्कोलाई पठाउने आन्तरिक छलफल सुरु भएको स्रोतले जनाएको छ । प्रदीप यादव खानेपानी मन्त्री छन् भने नवलकिशोर साह सुडी महिला बालबालिका मन्त्री छन् । 

जसपाका एक नेताका अनुसार सरकारमा मन्त्री पठाउने बेला नै एक वर्षका लागि पठाइएको थियो । ती दुई जना मन्त्रीको एक वर्षको कार्यकाल पुरा भएको छ । अब त्यस ठाउँमा अरूलाई पठाउनुपर्ने हुन्छ । त्यसका लागि पार्टीमा छलफल सुरु भएको छ । 

जसपाका आकाङ्क्षी मन्त्रीहरू पार्टीमा छलफल चलाएको स्रोतले जनाएको छ । जसपाका सांसद वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, रञ्जु ठाकुरलगायतले मन्त्रीका लागि पहल गरिरहेका छन् । 

जसपाका महासचिव इस्तियाक राइले मन्त्री फेर्ने विषयमा पार्टीमा कुनै छलफल नभएको बताए । मन्त्री फेर्ने कुरा भयो भने पार्टीमा छलफल गरेर मात्र हुने बताए । फलानोलाई एक वर्ष, त्यसपछि अरूलाई पठाउने विषयमा पार्टीमा कुनै सहमति वा चर्चा पनि थिएन, यदि प्रधानमन्त्रीले आफ्नै मनले कसैलाई हटाए वा पार्टीलाई आवश्यक लाग्यो र कसैलाई फिर्ता बोलायो भने त्यस ठाउँमा अर्कोलाई पठाउने कुरा हुन्छ त्यसअघि मन्त्री बोलाउने र अरूलाई पठाउने विषयमा पार्टीमा कुनै छलफल वा चर्चा समेत नरहेको उनले दाबी गरे । 

त्यस्तै लोसपा नेपालमा पनि त्यस्तै चर्चा सुरु भएको छ । हाल लोसपा नेपालका वरिष्ठ नेता शरदसिंह भण्डारी श्रम मन्त्री हुन् । उनी पनि एक वर्षका लागि मन्त्री बनेका थिए । उनीपछि पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल मन्त्री बन्ने सहमति भएको थियो । लोसपा नेपालले मन्त्री पठाउने बेलामा नै एकका वर्षका लागि पठाइएको थियो । त्यो एक वर्ष पुरा भएको छ । अब लोसपाले पनि मन्त्री फेर्ने गृहकार्यमा लागेको बुझिएका छ । 

तर सो पार्टीका महासचिव डा.सुरेन्द्र झाले मन्त्री फेर्ने विषयमा कुनै चर्चा पनि नभएको दाबी गरे । उनले भने, ‘हाम्रो पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई फेर्ने विषयमा पार्टीमा कुनै चर्चा छैन, एक–एक वर्ष मन्त्री राख्ने विषयमा पनि कुनै सहमति भएको छैन ।’ मन्त्रीको विषयमा कुनै निर्णय गर्नुपरे पार्टीको बैठक बसेर टुङ्गो लगाउने बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि मन्त्री हेरफेरको मुडमा नरहेको बताए । 

लोसपाले मन्त्री पटाउँदा सुरुमा सर्वेन्द्रनाथ शुक्ला जाने चर्चा थियो । तर शपथग्रहण गर्ने बेला भण्डारीको नाम पार्टीबाट गएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै शुक्लाले पार्टीबाट नै विद्रोह गर्ने मनस्थितिमा पुगेका थिए । उनले सो निर्णयप्रति आपत्ति पनि जनाएका थिए । त्यही बेला एक वर्षपछि भण्डारीलाई फिर्ता बेलाएर शुक्लालाई पठाउने सहमति भएको थियो । त्यो सहमति अनुसार एक वर्ष पुरा भएको शुक्ला निकट एक नेताले बताए । 

तर पार्टीका अधिकांश नेताहरूले पार्टीमा आलोपालो मन्त्री पठाउने विषयमा कुनै सहमति नभएको बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप