बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

२ हजार ३ सय विदेशीले श्रम स्वीकृति लिए

पूर्वाधार क्षेत्रका दक्ष विदेशी प्राविधिकहरू १२ वर्षसम्म नेपालमा बस्न पाउने
मङ्गलबार, ०६ साउन २०८२, १४ : ३६
मङ्गलबार, ०६ साउन २०८२

सारांश

  • एक वर्षमा २३०० विदेशीले नेपालमा श्रम स्वीकृति लिएका छन्, जसमा ७४ देशका नागरिकहरू छन्।
  • विदेशीहरू पूर्वाधार निर्माण र व्यवसायजन्य कार्यहरूमा संलग्न छन्, श्रम ऐनले दक्ष कामदारलाई मात्र अनुमति दिन्छ।
  • भारतबाट बिना स्वीकृति काम गर्नेको संख्या ठूलो छ र नेपालबाट भारतमा रेमिट्यान्स बढी जाने गरेको छ।

काठमाडौँ । एक वर्ष नेपालमा बस्नका लागि २ हजार ३ सय विदेशीले श्रम स्वीकृति लिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार हाल ७४ देशका नागरिकहरू नेपालमा अनुमति लिएर बसिरहेका छन् । 

विभागकाअनुसार २०८१/८२ मा ७०० जना विदेशीले नेपालमा बस्नका श्रम इजाजत दिइएको छ भने १ हजार ६ सय जना पहिल्यैदेखि नेपालमा बस्दै आएका विदेशीले श्रम इजाजत नवीकरण गरेका छन् ।

भारत, चीन, अमेरिका लगायतका देशका नागरिकहरू नेपालमा श्रम इजाजत लिएर बसिरहेका छन् । उनीहरू पूर्वाधार निर्माणदेखि व्यवसायजन्य कार्यमा नेपालमा इजाजत लिएर बसिरहेका छन् । अनिवार्य श्रम स्वीकृति नवीकरण तथा नयाँ श्रम स्वीकृति लिई नेपालमा काम गरेर बस्न नेपालको श्रम ऐनले कानुनअनुसार अनुमति दिने गरेको छ । अर्कोतर्फ बाध्यकारी व्यवस्थाका कारण दक्ष विदेशी कामदार मात्र नेपाल आएको विभागले जनाएको छ । 

श्रम ऐनले दक्ष गैर नेपाली नागरिकलाई श्रम इजाजत दिने व्यवस्था गरेको छ । कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाणसहित गैर नेपाली नागरिक नियुक्ति गर्ने स्वीकृतिको लागि श्रम विभागमा निवेदन दिनसक्ने व्यवस्था छ ।

दक्ष प्राविधिक पदको लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको सिफारिसमा एक पटकमा एक वर्षमा दिने र विशिष्ट प्रकारका दक्ष प्राविधिक पदमा बढीमा १२ वर्षसम्म गैर नेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ । गैर नेपाली नागरिकलाई काममा लगाउने व्यवस्थापकले नेपाली नागरिकलाई नै दक्ष बनाई क्रमशः प्रतिस्थापन गर्ने व्यवस्था गर्नुपर्दछ । जसले गर्दा उनीहरू दक्ष हुनुको साथै नेपाली नागरिकलाई आफ्नो दक्षता समेत प्रदान गर्नुपर्नेछ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्राविधिक निर्देशक मणिनाथ गोपले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक आपूर्तिकर्ता इजाजत पत्र नियमित प्रदान गर्ने, नवीकरण गर्नेदेखि गैर नेपाली नागरिकलाई श्रम इजाजत तथा श्रम स्वीकृति प्रदान गर्ने गरेको बताए ।  निर्देशक गोपले भने– ‘पछिल्ला वर्षहरूमा पनि गैर नेपाली नागरिक वा दक्ष विदेशी श्रमिकहरू नेपाल आउने क्रमले निरन्तरता पाएको देखिन्छ । अहिलेसम्म श्रम विभागले २२ हजार भन्दा बढिलाई श्रम इजाजत दिइसकेको छ, ती सबै नेपालमा छैनन् । इजाजत लिएर बसेका नयाँ पुराना गरेर २३ सयले रहेको हामीसँग रेकर्ड छ ।’ 

नेपालमा स्वीकृति लिएर बस्नेहरू भन्दा पनि नलिई बस्ने भारतीयको सङ्ख्या धेरै ठुलो छ । खुला सीमानाका कारण भारतबाट ठुलो सङ्ख्यामा भारतीयहरू आएर नेपालको श्रम बजारमा क्रियाशील छन् । भारतीय नागरिकहरू कति नेपालमा आएर काम गरिरहेका छन् भन्ने सरकारले अहिलेसम्म रेकर्ड राख्न सकेको छैन । कपाल काट्ने, साग बेच्ने, निर्माण कार्यसम्ममा नै भारतीयहरूको वर्चस्व देखिन्छ ।

अमेरिकी अनुसन्धान संस्था पियु रिसर्चले गरेको अनुसन्धानमा सन् २०१७ मा नेपालबाट भारतमा तीन खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स गएको थियो । यो हिस्सा नेपालबाट बाहिरिने कुल रेमिट्यान्सको ३.४० प्रतिशत थियो । भारतका लागि नेपाल रेमिट्यान्स स्रोत मुलुकको सूचीमा आठौँ स्थानमा त्यतिबेलाको अनुसन्धानबाट देखिएको थियो । 

अध्ययन भएकै वर्ष भारतबाट नेपालमा भने करिब एक खर्ब २३ अर्ब रुपैयाँको रेमिट्यान्स नेपाल आएको देखिएको थियो । यसअनुसार भारतबाट आउनेभन्दा नेपालबाट भारत जाने रेमिट्यान्स करिब दुई गुणा बढी रहेको पाइएको थियो । 

यस्तै, अहिले नेपालमा श्रमिक आपूर्तिकर्ता कम्पनीहरू पनि छन् । विभागका अनुसार ५२ ओटा त्यस्ता कम्पनी नेपालमा दर्ता भएका छन् भने ४ सय २० ओटा पहिल्यैबाट सञ्चालित त्यस्ता कम्पनीहरू गत आवमा नवीकरण भएको विभागको तथ्याङ्कले देखाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप