आफैँ पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका वेला नियुक्त भएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध प्रेम आलेले फेसबुकमा लेखे– सबैभन्दा भ्रष्ट र गैरजिम्मेवार पात्र ।
पूर्वमन्त्री आलेको उक्त टिप्पणीमा अधिकारीले जबाफ दिए– आफैँले हस्ताक्षर गरेको कुरामा यति सारो नबोलेको भए हुन्थ्यो ।
यसैगरी संसद र संसदीय समितिमा सांसदहरूले महानिर्देशक अधिकारीको राजीनामा नै मागे । अधिकारीले सांसदहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखे, ‘तिमीहरूले सांसदमा जितेको भन्दा नि लाज लाग्छ ।’
उनी यतिमै रोकिएनन्, आफूलाई सिंहसँग तुलना गर्दै उनले अझ थपे– ‘गधाको चुनौती सिंहले वास्ता गर्नुको अर्थ छैन ।’
अधिकारी खासमा सरकारी सहसचिव हुन् । सिभिल इन्जिनियर हुन् । अर्थशास्त्रमा विद्यावारिधी गर्दैछन् । उनी प्राधिकरण महानिर्देशक बनेको साढे तीन वर्ष भयो । त्यसयता उनी बारम्बार विवादमा पर्दै आएका छन् । उनले अहिलेसम्म चार वटा पर्यटनमन्त्रीसँग काम गरे । उनलाई निकाल्न नखोज्ने कुनै मन्त्री भएनन् तर कसैले केही लागेन ।
यिनै विषयमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ, अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश–(पूरा अन्तर्वार्ता भिडियोमा)
_wDc8he0sUh.jpg)
यो कुनै राजनीतिक पात्रलाई सोध्ने प्रश्न गर्नुभयो नि ?
अब यस्तो हो, मैले काम गरिरहेको छु । काम गर्न पाइरहेको छु ।
अब यो विषय त्यो वेलामा मैले पनि पत्रपत्रिकामा देखेँ । कुनै प्रमाण नभएको, कोही व्यक्तिले आफ्नो कुण्ठाका लागि लेखाएको न्युजको विषयमा तपाईं र मैले अहिले छलफल गरिरहनु जरुरी छजस्तो लाग्दैन । हामीले त नतिजामा हेर्ने हो नि । मैले अहिले काम गरिरहेको छु । यही नै नतिजा हो नि ।
फेरि एउटा महानिर्देशकले प्रधानमन्त्रीलाई बारम्बार भेटिरहने भन्ने विषय पनि हुँदैन । मेरो आफ्नो लाइन छ । लाइन अफ कमान्ड छ । मभन्दा माथि मन्त्रीज्यू हुनुहुन्छ । मैले रिपोर्टिङ डाइरेक्ट्ली बोर्डको अध्यक्ष मन्त्रीज्यूलाई नै गर्ने हो ।
त्यस्तो भाष्य निर्माण गर्न खोजिँदै छ । राम्रो–नराम्रो भन्ने विषय खासै त्यसले केही अर्थ राख्दैन ।
मभन्दा माथि ६ जना १२ तह भन्ने कुरो साँचो हो । हाम्रो एक जना अलि सिनियर भएर १२ औँ तह हुनुभयो । तीबाहेक बाँकी ५ जना मभन्दा जुनियर नै हुन् । तत्कालीन अवस्थामा मन्त्रीले १२ औँ तह बनाउने क्रममा मलाई सोध्नुभएको थियो– तपाईं १२ औँ तह हुने कि नहुने भनेर ।
म १२ औँ तहको भएको भए ४६/४७ वर्षमा रिटायर्ड हुन्थेँ । ४७ वर्षमा रिटायर्ड हुनलाई म किन १२ औँ तह हुन्छु ? त्यसकारणले मलाई १२ औँ तहको हतार छैन । तर तपाईं मलाई १२ औँ तहको बनाएर महानिर्देशक बनाउनुहुन्छ भने चाहिँ हुन्छ भनेको थिएँ मैले ।
मैले दिएँ रे ! मैले दिएको मान्छेले मलाई प्रमाणित गरिदिनुपर्यो । ल दिएँ रे । मैले यहाँ आएर के अनियमित काम गरेर त्यो मान्छेलाई पैसा तिर्ने ? मेरोलागि त कसैले पैसा दिँदैन नि । १५ करोड भने, २२ करोड भने । त्यति पैसा दिएर नियुक्त हुने हो भने त्यो पैसा उठाउनुपर्ला । कसरी सम्भव छ उठाउन ? कुनै मान्छेले मलाई दियो भनेर लिएर आउनुस् अथवा अनियमितता भएको हो भन्ने प्रमाणित गर्नुस् । त्यो केही पनि देखाउन नसक्ने, अनि यत्तिकै फलानोले पैसा दियो भनेर हुन्छ ?
_bEXavjp0HD.jpg)
उहाँ स्वयंले नै युवा, इनर्जेटिक, डाइनामिक, एक्सन ओरिएन्टेड डीजी भनेको चाहिँ सुन्नुभएन त ? पछि कसरी यूटर्न हुनुभयो, मलाई थाहा भएन । जसले सही गर्यो, उसले मैले फलानोले भनेको गरेँ भनेर तपाईं सुख पाउनुहुन्छ ? यो जिम्मेवार मान्छेले बोल्ने शब्द हो ?
म नागरिक उड्डयन प्राधिकरणको २५औँ महानिर्देशक हुँ । मभन्दा अगाडिको एक जना डीजीको नाम भन्न सक्नुहुन्छ ?
नियुक्ति गरिसकेपछि मैले काम गर्ने भनेको नेपालको प्रचलित कानुन अनुसार हो । अझ तोकेरै भन्नुपर्दा नागरिक उड्डयन प्राधिकरण ऐन २०५३, गैरसैनिक हवाई उड्डयन ऐन २०१५, नागरिक उड्डयनसम्बन्धी नियमावलीहरू, निर्देशिकाहरू र सञ्चालक समितिले योभन्दा अगाडि बनाएका विनियमावलीहरू । मैले केवल कानुनको परिपालना गरेको र परिपालना गर्न लगाएकोमात्र हो ।
मैले गरेको कामको असर पर्ने मान्छेहरूले निकालेका विषय विवाद हुन्छ भने त त्यसको उत्तर दिँदै हिँड्न मलाई जरुरी पनि छैन । जस्तो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५१ वटा जहाज बस्थे । मैले भनँे– यो टीआईएमा ५१ वटा जहाज राख्न मिल्दैन । किनभने क्षमता जम्मा १७ वटाको हो ।
अर्कोतिर उहाँहरूले जहाज ल्याउँदाखेरि एओसी लिने क्रममा म पोखरामा राख्छु, म भैरहवामा राख्छु भनेर जहाज ल्याउनुभएको । तर बलमिच्याइँ गरेर टीआईएमा राख्नुभयो । अब मैले सबैलाई जहाँजहाँ जानुपर्ने, त्यहाँ पठाइदिएँ । अब त्यही हो विवाद ।
तपाईंले सोधेको कुरा सही हो । सात, आठ वटा प्रश्न लेखा समिति अन्तर्गतको उपसमितिले उठाएको छ । त्यसको कुनै प्रमाण यो छ भनेर राखेको तपाईंले पढ्नुभएको छ त ? उदयशमशेर राणाजीले भनेको चाहिँ सौर्य एयरलाइन्सको विमान दुर्घटनाताकाको कुरा हो । यसको जबाफ त भर्खरै प्रकाशित रिपोर्टले दिइसक्यो त ।
सिभिल एभिएसनको डीजी आफैँ लौरो लिएर टीआईए जाँदैन । आफैँ लौरो लिएर आगो निभाउन जाँदैन । ‘हि इज अ डिसिजन मेकर’ (ऊ नीति निर्माता हो) ।
सौर्य एयरको भन्नुभयो, ग्रस नेग्लिजेन्स पाइलटको भनेर रिपोर्टले भन्यो । अब मेरो राजीनामा किन माग्ने ? डीजीको डिसिजन र त्यसको परिपालनाले गर्दाखेरि दुर्घटना भयो भन्ने आधार दिनुपर्छ कि पर्दैन ?
दुर्घटनाका कारणमा प्राइमरी कज, मेन कज र कन्ट्रीब्युटिङ फ्याक्टर भन्छ । यसमा के हुन्छ भने तपाईंहरूले रेगुलेटरलाई, पाइलटलाई यसरी हर्यास गर्नुभयो, यति नराम्रो कुरा लेखिदनुभयो कि उसको मनस्थिति नै ठिक भएन । अनि दुर्घटना भयो भनेर मैले तपाईंलाई भनेँ भने तपाईं पनि कन्ट्रीब्युटिङ फ्याक्टर हो अब । तपाईंले चाहिँ यस्तो निराशा फैलाउनुभयो, एभिएसनलाई यति बदनाम गर्न खोज्नुभयो कि त्यो बदनामको कारणले ऊ स्ट्रेसमा थियो । त्यसकारणले दुर्घटना भयो । त्यसकारण कन्ट्रीब्युटिङ फ्याक्टर तपाईं हो, मैले भनिदिन सक्छु । सक्दिन र ? त्यसकारणले यो हामीले हेर्ने भनेकोचाहिँ रुट कज हो ।
पाइलटले जति डिग्रीमा जति पिच दिनुपर्ने थियो, त्योभन्दा धेरै पिचमा उसले उडायो । जहाजले सन्तुलन गुमायो । जहाज क्र्यास भयो । यो त अनुसन्धानले दिएको विषय हो नि त ।
अधिकांश जहाज दुर्घटनाको दोष पाइलटलाई दिइन्छ । किनकि दुर्घटनामा अधिकांश पाइलटको पनि मृत्यु भएको हुन्छ । सौर्य एयरलाइन्स दुर्घटनामा पनि मुख्य गल्ती पाइलटलाई देखाइएको छ । तर यो दुर्घटनामा त संयोगले पाइलट त बाँच्नुभएको छ । अब यस्तो वेलामा के हुन्छ ?
पहिला त मरेर गएकोलाई दोष दिए, उम्किए भनेर भनिन्थ्यो । तर उहाँ त फेरि हुनुहुन्छ । यसमा उचित निर्णय हुन्छ । तपाईंले थाहा पाउनुहुन्छ ।
एज अ रेगुलेटर, मैले मिडियामा आएर फलानोलाई म यो गर्छु भन्ने विषय हुँदैन । यसमा उचित निर्णय हुन्छ ।
त्यसमा तपाईंले भन्ने ठाउँमा म केही देख्छु । यो एयरवर्दी जहाज हो । एयरवर्दी भनेको उडानयोग्य जहाज हो । तर हाम्रो इन्साइड इन्स्टिच्युसनमा अलिकति कन्फ्युजन भएको छ । जस्तोः हाम्रो एयर ट्रान्सपोर्ट डिपार्टमेन्टले अरू कमर्सियल, ननकमर्सियल, चार्टर फ्लाइटहरूजस्तो गरेर उसले उडाउन सहमति दियो । त्योचाहिँ गल्ती थियो ।
तपाईंले सिद्धान्ततः हेर्नुहुन्छ भने दिनमा २४/२५ हजार यात्रु उड्छन् । दिनमा एक सयदेखि एक सय पचासवटा फ्लाइट हुन्छन् । व्यावहारिक रूपमा हरेक जहाजमा गएर सिभिल एभिएसनको मान्छेले मेमो हेरेर तपाईं उठ्नुस भनेर स्कुलमा हाजिर गरेजस्तो हाजिर गर्न सक्दैन । तर पनि प्राधिकरणले यो मेरो क्षेत्र होइन, मेरो डोमेन होइन भनेर मैले भनेको छैन । यसलाई हामीले थप वैज्ञानिक बनाउनुपर्ने जरुरी देख्छु ।
यसमा जिम्मेवार सम्बन्धितचाहिँ एयरलाइन नै हो । जस्तै मचाहिँ सी–चेकमा जान लागेको हो, अरू मान्छे लान हुँदैन भनेर उसले आफूले गर्नुपर्ने थियो नि । सिद्धान्ततः एयरलाइन्सको पनि आफ्नो सेफ्टी म्यानेजमेन्ट सिस्टम हुन्छ ।
अर्को कुरा सुुन्नुस्, हाम्रो समाजमा जहाज खाली जाँदैछ, घुम्न जाउँ भनेर तपाईंको दिमागमा जो किरा हाल्यो नि, यो कन्ट्रीब्युटिङ फ्याक्टर हो कि होइन दुर्घटनाको ? यो समाज सिभिल एभिएसनको डीजीले बनाएको समाज हो ? होइन नि । यो तपाईंले पनि गर्नुहुन्छ । हेलिकप्टर खाली भयो भने मलाई नि लैजा भनेर तपाईं पनि भन्नुहुन्छ । विनाकाम पनि चढ्नुहुन्छ नि त ।
सौर्य एयरलाइन्सको एयर अपरेटरको सर्टिफिकेट निलम्बनमा छ । आजको दिनसम्म पनि निलम्बन फुकुवा भएको छैन । उसलाई कुनै पनि जहाज उडाउन दिएको छैन । कारबाही नभएको होइन नि । कारबाही भइरहेको छ ।
आज ५१ वटा जहाज पूर्व चन्द्रगढीदेखि लिएर पश्चिम धनगढीसम्म राति बस्छन् । बिहानै ६ बजे काठमाडौँ जहाज आउँछन् । राति गएर जहाज बस्छन् । सिक्स टु टुवेल्भ, हैन राति पनि तराईको एयरपोर्ट चलिरहेको छ । यो यस्तो हुन सक्छ भनेर तपाईंले कल्पना गर्नुभएको थियो ? यसको परिकल्पनाकार को हो ? प्रदीप अधिकारी हो नि त ।
_cmItgpzWBw.jpg)
ठिक छ, मैले काम गर्नुपर्ने काम गरेँ । तर यो काम योभन्दा पहिला त भएको थिएन नि त । यो मान्छेले गर्यो भनेर दुई शब्द राम्रो भन्न सकिन्न ?
यो व्यवसाय इलाइट वर्गको हो के । जहाज वा यसको कम्पनी जसको हुन्छ, त्यो मान्छे इलाइट कम्पनीको मान्छे हो । इलाइट वर्ग हो । ऊसँग साधनस्रोत छ । उसले छुट्टै मिडिया चलाउँछ । उसले छुट्टै वेबपेज चलाउँछ । उसले छुट्टै डार्क फाइल खडा गर्ने मान्छेहरू राखेको हुन्छ । अनि तपाईं सबै कुरा विश्वास गर्नुहुन्छ यिनीहरूको ?
प्राधिकरणमा हिजोको जास्तो अनुशासनहीन छैन । चाहे त्यो अपरेटर होस् । एयरलाइन अपरेटरहरू । चाहे पाइलट हुन्, चाहे एयरहोस्टेस हुन्, चाहे इन्जिनियर हुन्, चाहे कार्यकारी अध्यक्ष नै किन नहुन् । ठुला–ठुला मान्छेहरू कारबाहीमा परेका छन् । यो हिजो कसैले हिम्मत गर्थ्यो ? कसैले आँट गर्थ्यो ?
आफूले गरेका काम आफैँ भन्दै हिँड्नपर्ने अवस्था आयो । चन्द्रगढीदेखि धनगढीसम्मको विमानस्थलको तीन वर्ष अगाडिको र अहिलेको फोटो खिचेर हेर्नुस् । त्यति गरे पुग्छ । अत्याधुनिक टर्मिनल बिल्डिङ, रनवेहरूको अपग्रेड भएको छ । राजविराज विमानस्थलमा रात्रिकालीन उडान–अवतरण गर्न सक्ने सुविधा बनायौँ । सुर्खेतमा अहिलेसम्म तपाईंको ट्विनअटर फ्लाइटमात्रै थियो । सुर्खेत विमानस्थल लगभग बन्द हुने अवस्थामा थियो । आज कतिवटा फ्लाइट भएको छ सुर्खेतमा ? एटीआर ९७२ फ्लाइट भएको छ । तुम्लिङटार विमानस्थलमा एटीआर ९७२ पठाएको छ । काठमाडौँ विमानस्थलमा हिजो १० घण्टा बन्द गर्दाखेरि प्रदीप अधिकारीले टुरिजम सिध्यायो भने । आज १० घण्टा बन्द गरेर तोकेको समयमा काम सिध्याउने पनि त प्रदीप अधिकारी हो नि । एभिएसनको ८० वर्षको इतिहासमा एउटामात्रै अन्तर्राष्ट्रिय विमानस्थल थियो । अहिले दुईवटा थपियो । सबै काम अरूले गर्ने, ठ्याक्क गएर धारो खोल्ने मान्छे होइन, म । म मरेर गए पनि पोखरा विमानस्थल, भैरहवा विमानस्थल त अन्तर्राष्ट्रिय विमानस्थल त सधैँ रहन्छ नि । यो कसले बनायो भन्दा त मेरो नाम आउँछ नि । अनि यो गौरव होइन ?
_avFAtwH5uW.jpg)
बदनाम किन गर्छन् भन्ने उत्तर दिइसकेँ । पोखरा विमानस्थलमा तपाईं १५ अर्ब चीन सरकारले नेपालमा आएर भ्रष्टाचार गर्यो भनेर बोलिरहनुभएको छ । यो सम्भव हुने विषय हो ? जुन देशमा एक रुपैयाँ सरकारको हिनामिना गर्यो भने मृत्युदण्ड हुन्छ । २२ अर्बको प्रोजेक्टमा १५ अर्ब त सबैलाई बाँड्न पर्यो नि चीनले । यस कारण कहीँ एक पैसा नि भ्रष्टाचार भएको छैन । त्यो सम्भव पनि छैन ।
पोखराको क्यापासिटी १५ लाख हो । ११ लाख पुगिसक्यो । पोखरा कन्जेस्टेड हुन लागिसक्यो । चलाएको छैन किन भन्नुहुन्छ ?
प्रश्नै कसरी आउँछ भने एकदम नेगेटिभ कोणबाट आउँछ । नेपालमा काठमाडौँमा मात्र अन्तर्राष्ट्रिय विमानस्थल थियो । केही गरी काठमाडौँ विमानस्थल बन्द भयो भने हाम्रो देशको सम्बन्ध बाँकी विश्वसँग टुट्छ । यसको अर्थ हामी ल्यान्डलक थियौँ, अब हामी एयरलक पनि भयौँ भन्ने अवस्था आउँथ्यो । त्यसकारण भैरहवा, पोखरा एयरपोर्ट हामीलाई चाहिन्थ्यो ।
यो बनाउँदा लागेको नेपाली जनताको ट्याक्सपेयर मनी होइन । यो सिभिल एभिएसनले लोन तिरेको छ । यसले आफ्नो विभिन्न एयरपोर्टहरूमा, एरोनटिकल र ननएरोनटिकल रेभिन्यु कमाएर तिरेको छ । तपाईं एयरपोर्ट युज गर्नुहुन्न भने तपाईंले ट्याक्स तिर्नुपर्दैन ।
योचाहिँ नालायक र क्षमता नभएको मान्छेले बोल्ने कुरा हो । मेरोचाहिँ शिक्षादीक्षा, मेरो क्वालिफिकेसन, मेरो नलेज, मेरो क्षमता । म सिभिल इन्जिनियर हो । मैले इकोनोमिक्समा पीएचडी गरिरहेको छु । मेरो क्षमता, मेरो टेक्निकल ग्राउन्ड धेरै हाई छ के । तपाईंहरूले सोचेकोभन्दा धेरै हाई छ । मोरल ग्राउन्ड पनि त्योभन्दा धेरै हाई छ । म ४६ वर्षमा रिटायर्ड हुँदैछु । १२ वर्षमा जागिर छोडेँ । तपाईं सक्नुहुन्छ ?
प्रतिक्रिया