बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बीपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

बुधबार, ०६ साउन २०८३, १० : १९
बुधबार, ०६ साउन २०८३

काठमाडौँ। अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि बीपी राजमार्ग र कान्तिलोकपथमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

यस्तै, मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

यसैबीच, देशका विभिन्न सडकखण्ड पहिरो र वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलाम्मे बनेपछि बन्द भएको छ भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ।

त्यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेस्थित राँके–रवि–भेडेटार सडक तथा गोरखाको धार्चे गाउँपालिका–७ लिदिङस्थित आरुघाट–माछिखोला सडक पनि पहिरोका कारण अवरुद्ध छन्।

ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यात्रामा निस्कनुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप