मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
प्रदेश सरकार

कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा

‘हामीले कर्णालीको वस्तुगत अवस्था हेरेर कदम चालेका हौँ’
मङ्गलबार, ०५ साउन २०८३, १७ : ०४
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • नेकपाले कर्णालीमा कांग्रेसलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरे पनि पार्टी केन्द्रबाट कुनै निर्देशन नआएको बताएको छ ।
  • केन्द्रीय नेतृत्व तहमा नेकपा र एमालेबीच समीकरण बन्ने चर्चा चलिरहे पनि सत्ता समीकरणबारे कुनै निर्णय नआएको नेकपा कर्णालीका नेताहरूको भनाइ छ ।
  • नेकपाभित्र सत्ताको विषयमा दुई धार देखिएका छन्, केहीले कर्णालीको निर्णय पार्टी केन्द्रसँग समन्वय नगरिएको बताएका छन् ।

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अहिलेसम्म पार्टी केन्द्रबाट कुनै निर्देशन नआएको बताएको छ ।

केन्द्रीय नेतृत्व तहमा नेकपा र एमालेबिच समीकरण बन्ने चर्चा चलिरहे पनि अहिलेसम्म पार्टी केन्द्रबाट सत्ता समीकरणबारे कुनै निर्णय र निर्देशन नआएको नेकपा कर्णालीका नेता बताउँछन् । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता मंगलबहादुर शाहीले केन्द्रबाट यो दलसँग सहकार्य गर भनेर अहिलेसम्म नभनिएको बताए ।

‘यसबारेमा अहिलेसम्म संयोजकज्यूसँग कुनै कुरा भएको छैन । म काठमाडौँ गएको पनि छैन, सुर्खेतमै छु,’ उनले भने ।

प्रचण्डले सकेसम्म एमालेसँगै सहकार्य अघि बढाऊ भन्ने निर्देशन दिएको चर्चा भए पनि आफूकहाँ उक्त कुरा नआएको उनले बताए । ‘मलाई त केन्द्रले पूर्ण रूपमा निर्देशन दिएको जस्तो लाग्दैन । प्रदेशका अन्य नेताहरूबाट पनि मलाई यसबारे कुनै जानकारी प्राप्त भएको छैन,’ उनले थपे, ‘एमालेसँगको सत्ता समीकरण र वाम एकताको छलफल कर्णालीमा मात्र होइन, देशभरि नै चलिरहेको छ । यो सकारात्मक विषय हो, तर यसको परिणाम कस्तो आउँछ भन्ने मुख्य कुरा हो ।’

एमालेसँग विगतका छलफल र तिनका उपलब्धि राम्रो हुन नसकेको शाहीले बताए । उनले भने, ‘अघिपछि केही नहुने, अहिले वाम एकताको चर्चा गरियो, यदि त्यसो भए पनि स्वच्छ मनले हुनुपर्छ । विगतमा दुई–तीन पटक यस्ता प्रयासहरू नकारात्मक ढंगले विसर्जन भएका छन् । यो रातारात कोठाभित्र बसेर टुङ्गिने विषय होइन । यसमा विगतको समीक्षा, आगामी योजना र लिखित प्रतिबद्धताहरू आवश्यक पर्छन् ।’

कर्णालीमा गत बिहीबार नेकपासँग मिलेर कांग्रेसले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । तर नेकपाका केन्द्रीय नेताले अहिले नेकपाको लाइन सत्ता नरहेको र प्रदेशमा सही निर्णय नभएको भन्दै सामाजिक सञ्जालमा लेखिरहेका छन् ।

नेकपाभित्र सत्ताको विषयमा दुई धार देखिएका छन् । कतिपयले कर्णालीका नेकपाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा सहभागी हुँदा पार्टी केन्द्रसँग समन्वय नगरिएको बताएका छन् । यद्यपि दलका नेता शाही भने यतिठुलो निर्णय गर्दा समन्वय स्वाभाविक रूपमै भएको दाबी गरे ।

‘केन्द्रीय नेताहरूले सामाजिक सञ्जालमा यस्ता कुरा लेख्नु कति ठिक हो, त्यो छुट्टै प्रश्न होला,’ उनले भने, ‘पार्टीको आफ्नै पद्धति र प्रक्रिया हुन्छ, हाम्रा कामहरू पद्धति अनुसार भएनन् भने पार्टीको बैठकमा छलफल हुनुपर्छ ।’

साथै, उनले कुनै पनि केन्द्रीय नेताले कर्णालीको निर्णय गलत भयो वा बिग्रियो भनेर नलेखेको पनि बताए । बरु वाम एकताको बहस नबिग्रियोस् भन्ने शुभेच्छा मात्र राखिएको उनको भनाइ छ ।

‘हामीलाई सत्तामा जान हतारो पनि हैन । कसैलाई हतारो भयो भन्ने लाग्नु स्वाभाविक हो, तर यो परिस्थितिको उपज हो,’ शाहीले थपे, ‘कांग्रेस र एमालेबिच खटपट भएर कांग्रेस सरकारबाट बाहिरिएपछि कर्णालीमा सत्ता सङ्कट उत्पन्न भयो । कांग्रेसका मन्त्रीहरूले राजीनामा दिए र मुख्यमन्त्रीले स्वीकृत पनि गर्नुभयो । कांग्रेसले नयाँ मन्त्री पठाउन इच्छा देखाएन ।’

यस्तो अवस्थामा निकास दिनका लागि नेकपाले सरकार निर्माणको पहल गरेको शाही बताउँछन् । यसलाई सत्ताका लागि गरिएको दौडधुपको रूपमा मात्र बुझ्न नहुने उनले बताए । ‘हामीले कर्णालीको वस्तुगत अवस्था हेरेर यो कदम चालेका हौँ,’ उनले थपे ।

यदि केन्द्रमा एमालेसँग समीकरण बनेको खण्डमा के गर्नुहुन्छ ? भन्ने प्रश्नमा शाहीले भने, ‘यो अहिले अनुमानको कुरामात्र हो । भोलि केन्द्रले जे निर्णय गर्छ, त्यसपछि मात्र हामी के गर्ने भन्ने टुङ्गोमा पुग्छौँ । अहिले अनुमानका भरमा कुनै परिणामको परिकल्पना नगरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप