मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सम्पन्न

मङ्गलबार, ०५ साउन २०८३, १६ : २८
मङ्गलबार, ०५ साउन २०८३

बुटवल। नवलपरासी सुस्तामा नागरिकता वितरण प्रक्रिया अघि बढाउने उद्देश्यले असार २८ गतेदेखि सुरु गरिएको नागरिकता विवरण सङ्कलन कार्य सम्पन्न भएको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय नवलपरासीको समन्वयमा स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सुस्ता गाउँपालिका–५ का विभिन्न बस्तीमा घरदैलोमै पुगेर नागरिकतासम्बन्धी विवरण सङ्कलन गरेको हो।

सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रमुनाथ अहिरले सङ्कलन गरिएको विवरण आज गाउँपालिकामा पठाइने र भोलि जिल्ला प्रशासन कार्यालयमा बुझाइने रातोपाटीलाई बताए।

टोलीले सुस्ता वडा क्षेत्रमा पर्ने वड्का  टोल, पहाडी टोल, थारू टोल, सैनिक टोललगायतका बस्तीमा पुगेर नागरिकता नपाएका परिवारको विवरण सङ्कलन गरेको हो। 

प्रत्येक घरका मुख्य व्यक्तिको तस्बिरसहित उनी नेपाली नागरिक हुन् वा होइनन्, यसअघि नागरिकता प्राप्त गरेका भए कुन प्रकारको नागरिकता लिएका छन् भन्नेलगायतका विवरण सङ्कलन गरिएको छ।

सुस्तावासीका मागका विषयमा आन्दोलन गर्दै आएको सङ्घर्ष समितिका संयोजक बाबु खाँनका अनुसार घरदैलोमा गरिएको विवरण सङ्कलनका क्रममा २३८ घरधुरीमा नागरिकता नभएको पाइएको छ। सङ्कलन गरिएको विवरणका आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरणका लागि आवश्यक पहल गर्ने रातोपाटीलाई बताए।

सीमा अतिक्रमण रोक्न तथा नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन गरेका सुस्तावासी गृह मन्त्रालयसँग सहमति भएपछि गत असारको तेस्रो साता गाउँ फर्किएका थिए।

मन्त्रालयले नागरिकता विवरण सङ्कलन गरी नागरिकता वितरण प्रक्रिया अघि बढाउने तथा सुस्ता क्षेत्रको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको थियो।

गृह मन्त्रालयको निर्देशनअनुसार सीमा सुरक्षा सुदृढ गर्ने र नागरिकता वितरण प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउने काम सुरु गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।

उनका अनुसार सुस्ता क्षेत्रमा आवश्यकताअनुसार सशस्त्र प्रहरीको जनशक्ति थप गरिएको छ। सीमा क्षेत्रमा नेपाल प्रहरीले गस्तीसमेत बढाएको उनले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप