अनुदान खान जिउँदो व्यक्तिलाई मृत घोषणा गर्ने मेयरका छोरा र कृषि अधिकृत पक्राउ
सारांश
- दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयरका छोरा र कृषि शाखा प्रमुख पक्राउ परेका छन्, उनीहरूले सरकारी अनुदान रकमको लागि नक्कली मृत्यु दर्ता बनाएका थिए।
- मालिकार्जुन कृषक अगुवा समूहका अध्यक्षले सचिव र कोषाध्यक्षको मृत्यु भएको नक्कली प्रमाणपत्र बनाएका थिए, जसले गर्दा २ लाख २० हजार रुपैयाँको अनुदान रकम लिन खोजेका थिए।
- खाता नवीकरणका लागि नक्कली कागजात पेस गरेपछि बैंकका कर्मचारीलाई शंका लागेपछि घटनाको रहस्य खुलेको हो, र प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
धनगढी । २ लाख २० हजार रुपैयाँको सरकारी अनुदान रकम खान आफ्नै समूहका दुई जनालाई मृत घोषणा गर्ने दार्चुलाको शैल्यशिखर नगरपालिका मेयर विजय सिंह धामीका छोरा २८ वर्षका जनकसिंह धामी र सोही नगरपालिकाका कृषि शाखाका प्रमुख २४ वर्षीय दीपकराज विष्ट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिका–६ मा रहेको ‘मालिकार्जुन कृषक अगुवा समूह’का अध्यक्ष जनकसिंह धामीले समूहका सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भनी नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए। आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले उक्त समूहलाई स्थानीय स्तरमा ओखर विकास कार्यक्रम अन्तर्गत २ लाख २० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने सम्झौता गरेको थियो।
आर्थिक वर्षको अन्त्यमा भुक्तानी लिने समय नजिकिँदै गर्दा अन्य समूहले आफ्नो काम सम्पन्न गरे पनि धामीको समूहले कुनै प्रगति गरेको थिएन। कार्यक्रमको जिम्मेवारी पूरा नगरी अनुदान रकम निकाल्ने योजनाअनुसार अध्यक्ष धामीले यस्तो योजना बनाए। उनको यस कार्यमा नगरपालिकाका कृषि शाखा प्रमुख, कृषि अधिकृत दीपकराज विष्टले समेत सहयोग गरेको प्रहरीले जनाएको छ।
यो कीर्त्ते योजना त्यतिबेला पर्दाफास भयो, जब धामी र विष्ट समूहको खाता नवीकरण गर्न शैल्यशिखर बजारमा रहेको ग्लोबल बैंकमा पुगे। उनीहरूले खाता नवीकरणका लागि सचिव र कोषाध्यक्षको मृत्यु भइसकेको नक्कली कागजात पेस गरेपछि स्थानीयवासीसमेत रहेका बैंकका कर्मचारीलाई शंका लाग्यो। कर्मचारीले थप सोधपुछ र अनुसन्धान गर्दा जीवित व्यक्तिहरूको मृत्यु दर्ता गरिएको रहस्य खुल्यो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रकाश दाहालका अनुसार घटनाबारे असार २५ गते प्रारम्भिक जानकारी आएपछि सूक्ष्म अनुसन्धान गरिएको थियो। अनुसन्धानबाट कीर्त्ते पुष्टि भएपछि दुवै जनालाई साउन ७ गते पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूमाथि लिखत सरकारी कागजात कीर्त्ते र विश्वासघातको आरोपमा मुद्दा दर्ता गरेको छ। जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी दाहालले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण