बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
शिशुको पोषण

शिशुलाई कहिलेसम्म स्तनपान गराउने ? पूरक आहार कहिलेदेखि खुवाउने ? (भिडियोसहित)

एक वर्षसम्म गाईभैँसीको दूध प्रयोग नगर्नुहोस् : पोषणविद् रन्जु खरेल
शनिबार, १० साउन २०८२

शिशुको जन्मदेखि नै पोषणले उसको जीवनभरको स्वास्थ्यमा गहिरो प्रभाव पार्छ। स्तनपानदेखि ठोस आहारसम्मले पोषणमा ठूलो भूमिका खेलेको हुन्छ।  ‘न्यूट्री टक्स’को आजको एपिसोडमा हामीलाई शिशुको खानपान र पोषणका बारेमा जानकारी दिनका लागि किस्ट अस्पतालमा कार्यरत डाइटिसियन रन्जु खरेलसँग कुराकानी गरेका छौँ ।

  • शिशुका लागि सबैभन्दा महत्त्वपूर्ण पोषक तत्त्वहरू कुन-कुन हुन् ?

कुनै पनि शिशुको शारीरिक र मानसिक विकासका लागि पर्याप्त मात्रामा तरल पदार्थ, कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन, मिनरल्स लगायतका सम्पूर्ण पोषक तत्त्वहरू उत्तिकै आवश्यक हुन्छन्। यी विभिन्न पोषक तत्त्वहरूले आ-आफ्नो ठाउँमा विभिन्न तरिकाले काम गरिरहेका हुन्छन्। नवजात शिशुदेखि छ महिनाको शिशुसम्मलाई यी सबै पोषण तत्त्वहरू आमाको दूधबाट नै प्राप्त हुन्छन्।

  • स्तनपान कहिलेदेखि सुरु गराउनुपर्छ र कहिलेसम्म गराउन जरुरी हुन्छ ?

– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र यूनिसेफ २०२१ को इन्फ्यान्ट एन्ड यङ चाइल्ड इन्डिकेटर्सका अनुसार, बच्चा जन्मेको एक घण्टाभित्रै स्तनपान गराइसक्नुपर्छ। यसो गर्दा स्तनपान कायम गर्न सजिलो हुन्छ र बच्चा र आमाबिचको भावनात्मक सम्बन्ध (बोन्डिङ) पनि राम्रो हुन्छ। छ महिनासम्म ‘एक्सक्लुसिभ ब्रेस्टफिडिङ’ भन्छौँ, जसमा बच्चालाई आमाको दूधबाहेक अन्य कुनै पनि खानेकुरा, यहाँसम्म कि पानी पनि चाहिँदैन।

आमाको दूध बच्चाको आवश्यकताअनुसार शरीरले आफै परिवर्तन गर्दै लैजान्छ। सुरुमा बिगौती दूध (Colostrum Milk) आउँछ, जुन बच्चा जन्मेको सुरुको तीन दिनसम्म आउने गाढा दूध हो। यसमा प्रोटिन, फ्याट सोल्युबल भिटामिन (ए, डी, ई, के) र इम्युनोग्लोबुलिनजस्ता तत्त्वहरू बढी मात्रामा पाइन्छन्। त्यसपछिको ट्रान्जिसनल मिल्क हुन्छ, र १० देखि १२ दिनपछि म्याच्युअर मिल्क आउँछ। बच्चा बढ्दै जाँदा आमाको दूधको गुणस्तर पनि त्यही अनुसारले परिवर्तन हुँदै जान्छ।

  • बच्चालाई जन्मेपछि नै स्तनपान गराउनु किन आवश्यक छ ?

–स्तनपानका धेरै फाइदा छन्। पहिलो कुरा त आमाको दूध बच्चाका लागि एउटा पूर्ण पोषक तत्त्व भएको खानेकुरा हो। आमाको दूध भएपछि बच्चालाई थप कुनै खानेकुरा आवश्यक पर्दैन। इम्युनोग्लोबुलिन ए (IgA) र इम्युनोग्लोबुलिन जी (IgG) जस्ता तत्त्वहरू हुने भएकाले यसले बच्चाको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) विकास गर्न मद्दत गर्छ। स्तनपान सबैभन्दा सुरक्षित, भरपर्दो र उत्तम पोषणको माध्यम पनि हो।

  • स्तनपान गराउने आमाहरूको आहारमा कस्ता पोषण तत्त्वहरू हुनु जरुरी छ ?

–स्तनपान गराउँदा सामान्य अवस्था र गर्भावस्थाको तुलनामा अझ बढी पोषणको आवश्यकता पर्छ। स्तनपान गराउने आमाहरूले आफ्नो आहारमा विशेष गरी झोलिलो खानेकुरा, क्यालोरी, प्रोटिन र क्याल्सियम मा ध्यान दिनुपर्छ। दैनिक दूधजन्य पदार्थ, माछामासु, अण्डा वा अन्य प्रोटिनका स्रोतहरू सामान्यभन्दा बढी मात्रामा खानुपर्छ। हामी सामान्यतः एक छाक बढी खानेकुरा खान सल्लाह दिन्छौँ।

  • स्तनपान गराउने आमाहरूले खानै नहुने केही खानेकुरा छन् त ?

– त्यस्तो खानु नै हुँदैन भन्ने त केही पनि छैन। हामीले प्रायः आमाहरूले फलफूल र सागसब्जी बार्ने गरेको देख्छौँ, जुन आवश्यक छैन। फलफूल र सागसब्जीमा विभिन्न प्रकारका भिटामिन, मिनरल्स र फाइबर पाइन्छन्, जसले आमालाई भिटामिन र मिनरल मात्र नभएर कब्जियतबाट पनि बचाउँछन्। त्यसैले फलफूल र सागसब्जी जति खान मिल्छ, बार्न पर्दैन।

  • फर्मुला मिल्क कुन अवस्थामा शिशुलाई दिइन्छ र यसको प्रयोग कसरी गरिन्छ ?

– फर्मुला दूध आमाको दूध नआएमा वा आमालाई गम्भीर स्वास्थ्य समस्या भएमा मात्र दिइन्छ। विशेष गरी सिजेरियन सेक्सन (शल्यक्रिया गरेर बच्चा जन्माएका) बाट जन्मिएका बच्चाहरूलाई पहिलो पटक फर्मुला दूध दिनुपर्ने अवस्था आउन सक्छ। अन्यथा, हामीले सकेसम्म आमाको दूधलाई नै प्राथमिकता दिनुपर्छ।

फर्मुला दूध खुवाउँदा कप फिडिङ वा चम्चाले खुवाउने विधि प्रयोग गर्न सकिन्छ। बोतलको निप्पलको बानी परेपछि बच्चाले आमाको दूध खान खोज्दैन र निप्पल कन्फ्युजन हुन सक्छ, जसले स्तनपान स्थापित गर्न गाह्रो हुन्छ। यदि कप फिडिङ सम्भव नभएमा मात्र बोतल फिडिङ गर्नुपर्छ।

  • बोतलबाट दुध खुवाउँदा ध्यान दिनुपर्ने कुराहरू के-के हुन् ?

–बोटल फिडिङ गर्दा निम्न कुरामा ध्यान दिनुपर्छ:

बनाउने विधि: फर्मुलाको प्याकेटमा लेखिएको बनाउने विधि राम्रोसँग पालना गर्ने। सही मात्रामा पानी र पाउडर मिसाउने।

• स्वच्छता: बोतल राम्रोसँग उमालेर स्टेरिलाइज गर्ने ताकि हानिकारक ब्याक्टेरियाहरू बच्चाको शरीरमा प्रवेश नगरुन्।

• हातको सरसफाइ: फर्मुला बनाउनुअघि हात राम्रोसँग धुने।

• पुनःप्रयोग नगर्ने: बच्चाले खाएर बाँकी रहेको फर्मुला एक घण्टाभन्दा बढी समयपछि पुनः प्रयोग नगर्ने, फालिदिने र नयाँ बनाउने।

• पानीको गुणस्तर: फर्मुला बनाउन सफा, उमालेर सेलाएको र पिउन योग्य पानी प्रयोग गर्ने।

  • छ महिनासम्म स्तनपान अनिवार्य भन्नुभयो। त्यसपछि चाहिँ छुटाउनु राम्रो हुन्छ कि बच्चाले मागिरहँदा दिइरहनु ठिक होला ?

– छ महिनासम्म आमाको दूधले मात्रै बच्चालाई पर्याप्त पोषण दिन्छ। तर, छ महिनाभन्दा पछि आमाको दूधले मात्र पर्याप्त नहुने भएकाले पूरक आहार (ठोस खानेकुरा) सुरु गर्नुपर्छ। पूरक आहारले आमाको दूधले नपुगेको पोषण मात्र पूर्ति गर्ने हो, पूर्ण रूपमा प्रतिस्थापन गर्ने भने होइन। हामीले दुई वर्षसम्म आमाको दूध निरन्तर गर्नुपर्छ। अध्ययनहरूले एक वर्षभन्दा माथि स्तनपान गराएका बच्चाहरूको इम्युनिटी राम्रो हुने र मोटोपना (ओबेसिटी) जस्ता रोग लाग्ने जोखिम कम हुने देखाएको छ।

522405669_750770400659234_608064873652888377_n

  • पूरक आहार खुवाउन कसरी सुरु गर्नुपर्छ ?

– पूरक आहार सुरु गर्दा अलिकति गाढा, बाक्लो खानेकुराबाट सुरु गर्नुपर्छ। सकेसम्म सिंगल इन्ग्रेडियन्टबाट सुरु गर्ने, नत्र जाउलो वा लिटोजस्ता नेपाली चलनचल्तीका खानेकुराहरूबाट सुरु गर्न सकिन्छ। धेरै आमाहरूले पातलो बनाएर दिनुहुन्छ, तर पातलो बनाउँदा बच्चालाई पुग्नुपर्ने पोषण पुग्दैन। बच्चाको पेट सानो हुन्छ र उसले एकैचोटि धेरै खान सक्दैन, त्यसैले बाक्लो खानेकुरा खुवाउनुपर्छ।

  • बच्चाहरूलाई पूरक आहार दिँदा कुन खाद्यपदार्थ उपयुक्त हुन्छ ?

– बच्चाहरूलाई पूरक आहार खुवाउँदा विभिन्न समूहबाट आहारहरू खान दिनुपर्छ। डब्लूएचओ र यूनिसेफले सन् २०२१ ले यसलाई आठ वटा समूहमा विभाजन गरेको छ:

• ब्रेस्ट मिल्क (स्तनपान)

• अन्न र कन्दमूल समूह

• दाल, नट्स र सिड्स (बिउ)

• अण्डा

• मासु र मासुजन्य उत्पादनहरू

• दूध र दूधजन्य उत्पादनहरू

• भिटामिन ए युक्त फलफूल र तरकारीहरू

• अन्य फलफूल र तरकारीहरू

यी आठ समूहमध्ये कम्तीमा पनि पाँच वटा समूहका खानेकुरा दिनभरिमा बच्चालाई खान दिनुपर्छ, जसले न्यूनतम पोषण आवश्यकता पूरा गर्छ।

  • पूरक आहार सुरु गरिसकेपछि पनि स्तनपान कहिलेसम्म जारी राख्नु ठिक हुन्छ ?

– पूरक आहार सुरु गरेतापनि कम्तीमा पनि दुई वर्षसम्म स्तनपान जारी राख्नु राम्रो हुन्छ।

  • शिशुहरूले पूरक आहार खाँदा दिनमा कति पटक र मात्रा कति हुनु उपयुक्त हुन्छ ?

– यो उमेर समूहअनुसार फरक हुन्छ:

• ६ देखि ८ महिना: दिनमा तीन पटकसम्म, २५० एमएल कपको दुई तिहाइ भाग प्रत्येक पटक।

• ९ देखि ११ महिना: दिनमा तीन पटक खाना र एउटा नास्ता (जस्तै फलफूल), २५० एमएल कपको तीन चौथाइ भाग प्रत्येक पटक।

• १२ देखि २४ महिना: दिनमा चार पटक खाना र दुई वटा नास्ता, २५० एमएल कपको पूरा कप प्रत्येक पटक।

  • स्तनपानबाट पूरक आहारमा जाँदा नयाँ खानेकुरा खुवाउँदा कुन-कुन कुरामा विशेष ध्यान दिनुपर्छ?

– नयाँ खानेकुरा खुवाउँदा विशेष ध्यान दिनुपर्ने कुराहरू:

एलर्जीको जाँच: बच्चालाई कुनै खानेकुराको एलर्जी छ कि छैन भनेर ध्यान दिनुपर्छ। एलर्जी भएमा केही मिनेटदेखि केही घण्टासम्ममा लक्षण देखिन सक्छ।

• विविधता: विभिन्न प्रकारका खानेकुराहरू खुवाउने, एउटै मात्र नदिने। विभिन्न समूहबाट खानेकुरा मिलाएर खुवाउँदा राम्रो हुन्छ।

• कन्सिस्टेन्सी: सुरुमा पानीजस्तो पातलो खानेकुरा नदिने, बाक्लो नै खुवाउने। बच्चाले मुखबाट निकाले वा खाएन भन्दैमा पातलो बनाएर दिनु हुँदैन, उसलाई खान सिक्न समय लाग्छ।

• बनावटमा परिवर्तन: ६-८ महिनामा एकदम नरम मुछेको खानेकुराबाट सुरु गरी ९-११ महिनामा अलिकति म्यास गरेको र एक वर्ष पूरा भएपछि परिवारमा सामान्यतः खाइने खानेकुरालाई नै नरम गरेर दिन उपयुक्त हुन्छ।

  • बच्चाहरूलाई पूरक आहार खाँदा एलर्जी भएको कसरी थाहा पाउने ?

– एलर्जीको सामान्य लक्षणहरूमा पखाला लाग्ने, शरीरमा डाबर (र्‍यासेस) आउने, मुख रातो हुने, आँखाबाट पानी बगेको बगेकै गर्ने जस्ता लक्षणहरू देखिएमा एलर्जी भएको अनुमान गर्न सकिन्छ।

  • यस्तो हुँदा यसलाई रोक्ने कसरी अथवा एलर्जी नहुनलाई के गर्नुपर्छ ?

–यदि बच्चालाई कुनै खानेकुराको एलर्जी भएको शंका लागेमा त्यो खानेकुरा दिन बन्द गर्नुपर्छ। त्यसपछि तुरुन्तै बालरोग विशेषज्ञ (पेडियाट्रिसियन) लाई भेट्नुपर्छ। डाक्टरको सल्लाहअनुसार अगाडि बढ्नुपर्छ, जसमा औषधि चलाउने, त्यो खाना मात्र बन्द गर्ने वा अन्य कुनै कारणले यस्तो भएको हो भन्ने पत्ता लगाउने समावेश हुन्छ।

  • बच्चालाई पूरक आहार खाँदा पचाउन समस्या भएमा (जस्तै पेट फुल्ने, कब्जियत हुने) के गर्ने ? 

– पेट फुल्ने वा सामान्य कब्जियत भएमा:

पानी: एक महिनाभन्दा माथिको बच्चा हो भने थोरै एप्पल जुसलाई पानीमा मिसाएर दिन मिल्छ।

• फाइबर: ६ महिनाभन्दा माथिको बच्चा हो भने फाइबरयुक्त खानेकुरा (जस्तो नासपती) थोरै मात्रामा दिन सकिन्छ।

• मसाज: बच्चाको पेटमा थोरै मसाज गर्ने र खुट्टालाई साइक्लिङ मोसनमा चलाइदिँदा पनि कब्जियत कम हुन सक्छ। 

• यदि एक-दुई दिनमा पनि समस्या समाधान भएन भने कुनै पनि औषधि प्रयोग गर्नुअघि पेडियाट्रिसियनलाई देखाउनुपर्छ।

  • शिशुलाई झाडापखाला वा बान्ता आएमा के गर्नुपर्छ ?

– झाडापखाला वा बान्ता आउँदा शिशुको तौल छिटो घट्ने डर हुन्छ। यसलाई रोक्न ओआरएस (जीवनजल) र पर्याप्त मात्रामा पानी खान दिनुपर्छ। खानेकुरामा पचाउन सजिलो हुने खानेकुराहरू (जस्तो भात, आलु) मात्रै दिनुपर्छ।

  • ज्वरो आइरहेको शिशुलाई के खुवाउन उपयुक्त हुन्छ र के खुवाउँदा झन् हानिकारक हुन जान्छ?

– ज्वरो आउने बित्तिकै धेरैले सबै खानेकुरा बन्द गरिदिने गरेको देखिन्छ, जुन गलत हो। यदि बच्चाको पाचन प्रणाली (डाइजेस्टिभ सिस्टम) ठिक छ भने ज्वरो आएको बेलामा कुनै पनि खानेकुरा बार्न पर्दैन। उसले सामान्य रूपमा खाने सबै खानेकुराहरू खान मिल्छ।

  • बच्चाहरूलाई चाहिने पोषक तत्त्वहरू (जस्तै क्याल्सियम, भिटामिन डी, आइरन) को कमी भएको पहिचान कसरी गर्ने र त्यसको कमी कसरी पूरा गर्ने ?

– यी पोषक तत्त्वहरूको कमी पूर्ति गर्ने सबैभन्दा राम्रो उपाय भनेको खानाबाट नै हो। क्याल्सियम र भिटामिन डी दूधमा पाइन्छन्, जबकि आइरन सागसब्जी, मासु र अण्डामा पाइन्छ। यदि हामीले आठ वटा खाद्य समूहमध्ये कम्तीमा पाँच वटा समूहका खानेकुरा दैनिक बच्चाको आहारमा समावेश गर्‍यौँ भने पोषणको कमी पूर्ति गर्न सकिन्छ। यदि यो सम्भव नभएमा वा स्वास्थ्यकर्मीले परामर्श दिएमा मल्टिपल माइक्रोन्युट्रिएन्ट पाउडर (जसलाई सामान्य भाषामा बालभिटा पनि भनिन्छ) दिन सकिन्छ।

  • बच्चाहरूमा कुपोषण र मोटोपना (ओबेसिटी) किन बढ्दै छ र यसको समाधान के होला?

– नेपाल डेमोग्राफिक हेल्थ सर्भे २०२२ अनुसार, २५ प्रतिशत जन्मेदेखि २३ महिनाका बच्चाहरू आफ्नो उमेरअनुसारको उचाइमा पुगेका छैनन्। यो घट्दो क्रममा भए पनि २५ प्रतिशत धेरै हो। त्यस्तै, एक प्रतिशत बच्चाहरू ओभरवेट छन्। यसमा पोषण परिवर्तन (Nutritional Transition), खानपान र जीवनशैलीमा आएको परिवर्तन, आर्थिक पक्ष र आमाको शिक्षाजस्ता विभिन्न कारकहरूले भूमिका खेलेको हुन सक्छ। अन्डर न्युट्रिसन र ओभर न्युट्रिसन दुवै समस्या छन्।

  • बजारमा पाइने रेडीमेड बेबी फुडहरू कत्तिको सुरक्षित हुन्छन् ?

–बजारमा पाइने रेडीमेड फुडहरू कुन हदसम्म सुरक्षित छन् भन्ने कुरा नेपाल सरकारले तोकेको मापदण्डमा निर्भर गर्छ। बेबी फुडमा कति प्रतिशत आर्द्रता (मोइस्चर) हुनुपर्छ, कति पोषण तत्त्व हुनुपर्छ (जस्तै, एक ग्राम ड्राइ बेबी फुडमा कम्तीमा ४ किलो क्यालोरी हुनुपर्छ) भन्ने जस्ता विभिन्न मापदण्डहरू तय गरिएका छन्। यदि कुनै खानेकुरा ती मापदण्डभित्र रहेर बजारमा आएको छ भने त्यसलाई असुरक्षित भन्न मिल्दैन। यसको सुरक्षा खाद्यवस्तुको प्रकार, भण्डारणको अवस्था लगायतका कुरामा पनि निर्भर गर्छ।

सिफारिस नै गर्नुपर्दा त सकेसम्म बच्चालाई घरमा बनाएको खानेकुरा नै राम्रो हो। तर, कतिपय अवस्थामा सम्भवै नहुने अवस्था आएमा बजारको खानेकुरा पनि प्रयोग गर्नुपर्ने हुन्छ।

  • शिशुलाई स्तनपान छुटाएपछि गाईको दूध वा प्याकेटको दूध दिनु कत्तिको सुरक्षित हुन्छ?

– एक वर्षसम्म बच्चालाई गाईको दूध खान दिन मिल्दै मिल्दैन। किनभने, बच्चाको मिर्गौला (किड्नी) एक वर्ष पूरा नभइकन राम्रोसँग विकास भइसकेको हुँदैन। त्यसैले, म प्रायजसो एक वर्ष पूरा भएपछि मात्र बच्चालाई गाईको दूध दिन सिफारिस गर्छु।

  • बच्चाले खानेकुरा खान नमान्ने समस्या आएमा आमाहरूले के गर्दा ठिक होला?

–खानेकुरा नखाने (fussy eaters) बच्चाहरूका लागि सुरुदेखि नै सक्रिय खुवाइ (active feeding) को विधि अपनाउनुपर्छ। बच्चालाई खुवाउने बेलामा अभिभावक (आमा, बुवा वा जसले खुवाइरहेका छन्) ले सक्रिय रूपमा बच्चाले के गरिरहेको छ भनेर ध्यान दिनुपर्छ। मोबाइल हेरेर वा ध्यान अन्तै केन्द्रित गरेर खुवाउँदा बच्चाले खान मान्दैनन्।

खानेकुरा नखाने बच्चाहरूलाई उनीहरूको अवस्था हेरेर विभिन्न तरिकाले खुवाउन सकिन्छ। जस्तै:

  • खेलाएर खुवाउने
  • रेडियो बजाएर खुवाउने
  • वरिपरि मान्छेहरूले बोलाइदिएर खुवाउने

यो बच्चाको उमेर समूह र उसले के कारणले खाइरहेको छैन (जस्तै: स्वाद मन नलागेर हो कि, टेक्सचरको समस्याले हो कि) पत्ता लगाएर सोहीअनुसार अगाडि बढ्नुपर्छ। उदाहरणका लागि, कतिपय बच्चाले टमाटर सस खान्छन् तर टमाटर खाँदैनन्, किनभने उनीहरूलाई गोलभेंडाको बनावट (टेक्सचर) मन पर्दैन। यी सबै कुराको मूल्याङ्कन गरेर समाधान खोज्नुपर्छ।

  • बच्चाले खाना खाएन भने जबर्जस्ती खुवाउनु ठिक होला त ?

–होइन, बच्चाहरूलाई दबाब दिएर खाना खुवाउँदा उनीहरूको खानासँगको सम्बन्ध बिग्रिन सक्छ। कतिपय अभिभावकहरूको बुझाइ ‘खाना नै खानुपर्छ’ भन्ने हुन्छ। यदि बच्चालाई रोटी मन पर्छ र उसले रोटी खाइरहेको छ भने जबर्जस्ती खाना नै खुवाउनुपर्छ भन्ने छैन। हामीसँग वैकल्पिक खानेकुराहरू हुन्छन्।

जबर्जस्ती गर्नुभन्दा बच्चालाई बिस्तारै फकाएर, बुझाएर वा सम्झाएर खुवाउनुपर्छ। खाना पकाउँदा बच्चालाई पनि समावेश गराउने, जस्तै: ‘यो यस्तो गर्दैछु, हेर त,’ ‘हेर त यस्तो पाकेको छ,’ भनेर देखाउने गर्नुपर्छ। बगैँचामा काम गर्दा वा खाना बनाउँदा बच्चालाई सहभागी गराउने र उसैलाई ‘आज के खाने?’ भनेर विकल्प दिन सकिन्छ (जस्तै: आज भात र रोटी छ, तिमीलाई दुईवटामा कुन चाहियो?)। बच्चाको संलग्नता बढ्यो भने उसलाई खान सजिलो हुन्छ, दबाबमा भन्दा।

  • कोही-कोही बच्चाहरू जबर्जस्ती पनि नखाइदिने, यत्तिकै पनि नखाइदिने, एक-एक चम्चा खाने, मुखमा हाल्ने, खेल्ने वा टोलाउने गर्छन्। त्यस्ता बच्चाहरूलाई थोरै खुवाएर पनि उपयुक्त पोषण पुग्ने खालको खानेकुरा केही छ त ?

–खानेकुरा बिस्तारै खाने (slow eaters) बच्चाहरूलाई खुवाउन अलि गाह्रो नै हुन्छ। उनीहरूका लागि पनि सक्रिय खुवाइ नै सुरु गर्नुपर्छ। उनीहरूलाई क्यालोरी-डेन्स (calorie-dense) खानेकुराहरू खान दिनुपर्छ, जसले थोरै मात्रामा पनि बढी क्यालोरी दिन्छ।

522649422_1133124585293534_3637199858486033793_n

यदि बच्चाले खाँदै खाएन र कुपोषण हुँदै गयो भने आरयूटीएफ दिनुपर्ने हुन्छ। यो कुपोषण भएका बालबालिकाहरूका लागि बनाइएको एउटा विशेष खानेकुरा हो, जसले थोरै खाएर पनि धेरै क्यालोरी दिन्छ। कुपोषित बच्चाले धेरै खान नसक्ने तर उसलाई सामान्य बच्चालाई भन्दा बढी क्यालोरी आवश्यक पर्ने भएकाले आरयूटीएफ प्रभावकारी हुन्छ।

  • आरयूटीएफ भनेको के हो, अलिकति व्याख्या गर्दिनु न ?

– आरयूटीएफको पूरा रूप Ready-to-Use Therapeutic Food हो। यो कुपोषण भएका बालबालिकाहरूका लागि बनाइएको एक विशेष खाद्य पदार्थ हो। यसले थोरै खाएको खानेकुराबाट पनि धेरै क्यालोरी दिन्छ। कुपोषित बच्चाले धेरै खान नसक्ने तर उसको शरीरलाई सामान्य बच्चाभन्दा बढी क्यालोरी चाहिने भएकाले यो उपयोगी हुन्छ।

  • समयपूर्व जन्मिने बच्चा वा कम तौल लिएर जन्मेका बच्चाहरूको पोषणमा केही फरक गर्नुपर्छ होला त ?

–समयपूर्व जन्मेका (प्रिटर्म) बच्चाहरूको लागि सबैभन्दा राम्रो आहार आमाको दूध नै हो। प्रिटर्म बेबीहरूको आमाहरूले उत्पादन गर्ने दूध पनि फरक किसिमको हुन्छ। यो बढी क्यालोरी-डेन्स हुन्छ र बच्चालाई जस्तो चाहिन्छ, ठ्याक्कै त्यस्तै गुणस्तरको हुने भएकाले आमाको दूध नै उत्तम हुन्छ।

  • शिशुको खाना बनाउँदा स्वच्छता र सुरक्षा कसरी अपनाउन सकिन्छ ?

–शिशुको खाना बनाउँदा आधारभूत सरसफाइ नियमहरू पालना गर्नुपर्छ:

खाना बनाउनुअघि हात राम्रोसँग धुने।

• पिउन योग्य सफा पानी प्रयोग गर्ने।

• भाँडाकुँडा र पकाउने ठाउँ सफा राख्ने।

• गुणस्तरीय र खान योग्य खाद्यपदार्थ मात्र प्रयोग गर्ने।

• बच्चालाई खुवाउनुअघि खुवाउने व्यक्तिले पनि आफ्नो हात सफा राख्ने।

  • ग्रामीण क्षेत्रमा अथवा आर्थिक अवस्था कमजोर भएका अभिभावकहरूले आफ्नो बच्चाहरूलाई पोषक आहार कसरी पूर्ति गर्न सक्नुहुन्छ?

– यो तपाईंको क्षेत्रमा के स्रोतहरू उपलब्ध छन् भन्नेमा निर्भर गर्छ। स्वास्थ्यकर्मीले त्यस क्षेत्रमा उपलब्ध स्थानीय खाद्यपदार्थहरू पहिचान गरी सोहीअनुसार पोषण परामर्श दिनुपर्छ। आठ वटा खाद्य समूहमध्ये कम्तीमा पाँच वटा समूहका खानेकुराहरू प्रायः सबै ठाउँमा उपलब्ध हुन्छन्। त्यसैले, उपलब्ध स्रोतहरूबाट नै सन्तुलित आहार दिन सकिन्छ।

  • बच्चा जन्मेपछि चिनी, घिउ खुवाउने वा रक्सी चटाउने चलन छ, यो राम्रो हो कि नराम्रो?

– जन्मने बित्तिकै चिनी, घिउ, मह वा रक्सी चटाउने (Pre-lacteal feeds) चलन वास्तवमा राम्रो होइन। डब्लूएचओ र यूनिसेफले यस्ता प्रिल्याक्टियल फिडहरूले स्तनपान स्थापित गर्न गाह्रो बनाउने बताउँछन्। अध्ययनहरूले प्रिल्याक्टियल फिड पाएका बच्चाहरूमा पछि गएर सङ्क्रमण र मोटोपनाको जोखिम १.८ प्रतिशतले बढी हुने देखाएको छ। त्यसैले, यस्ता कुराहरू दिनु उचित हुँदैन।

  • अन्त्यमा, डाइटिसियनको रूपमा शिशुका अभिभावक र आमाबुबालाई के सल्लाह दिनुहुन्छ ?

– शिशुका अभिभावकलाई मेरो पहिलो सल्लाह हो:

शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनुहोस्।

• स्तनपान गराउनुअघि कुनै पनि किसिमको खाद्यपदार्थ (जस्तै मह, चिनी, घिउ, रक्सी) नदिनुहोस्।

• छ महिनासम्म आमाको दूध मात्रै दिनुहोस्।

• एक वर्षसम्म मह र गाईभैँसीको दूध (अन्य एनिमल मिल्क) प्रयोग नगर्नुहोस्।

• बच्चा छ महिना पूरा भएपछि मात्र पूरक आहार सुरु गर्नुहोस्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया