इतिहासकै छैटौँ ठुलो भूकम्पपछि के छ अवस्था ?
सारांश
- रुसको सुदूरपूर्व नजिक ८.८ म्याग्निच्युडको भूकम्पपछि जापान, हवाई र अमेरिकी पश्चिमी तटसम्म सुनामीको चेतावनी जारी गरियो।
- रुसको सेभेरो-कुरिल्स्क सहरमा ४ मिटर अग्ला छालहरू भवनमा पसेका थिए, र जापानमा १९ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो।
- यो भूकम्प इतिहासकै छैटौँ ठुलो भूकम्प थियो, तर जनघनत्व कम भएकाले मानवीय क्षति तुलनात्मक रूपमा कम देखियो।
काठमाडौँ । बुधबार बिहान रुसको सुदूरपूर्व नजिकको समुद्रमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि जापान, हवाई र अमेरिकी पश्चिमी तटसम्म सुनामीको लहर पुगेको छ। स्थानीय समय अनुसार बिहान ११ः २५ बजे कमचाट्का प्रायद्वीप नजिक भूकम्प गएको थियो। यो भूकम्प अहिलेसम्मकै सबैभन्दा शक्तिशालीमध्ये एक थियो।
धेरै देशमा सुनामी सतर्कता जारी
यो भूकम्पपछि चीन, फिलिपिन्स, इन्डोनेसिया, न्युजिल्याण्ड हुँदै पेरु, चिली र मेक्सिकोसम्मका तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको थियो। तर पछिल्लो विवरण अनुसार, प्रारम्भिक डर जति गम्भीर प्रभाव भने परेको छैन। सुनामी सतर्कता धेरै स्थानमा घटाइएको छ।
रुसमा ४ मिटर अग्ला छालहरू
रुसको सेभेरो– कुरिल्स्क सहरमा ठुलो छालहरू भवनहरूमाथि पसेको दृश्य सार्वजनिक भएको छ। त्यहाँको बन्दरगाह र माछा प्रशोधन केन्द्रमा ४ मिटर (१३ फिट) अग्ला छाल पसेर डुबान भएको स्थानीय प्रशासनले जनाएको छ।
सखालिन क्षेत्रमा विद्युत् प्रसारण प्रणालीमा क्षति पुगेको छ भने केही डुङ्गा बगाएको छ। हाल कमचाट्का र सखालिनका लागि जारी सुनामी चेतावनी हटाइएको छ। जापानमा १९ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो । जापानमा करिब १९ लाख मानिसलाई उच्च स्थानमा जान आग्रह गरिएको थियो। तर जापानको मौसम विभागले सबै सुनामी चेतावनीलाई घटाएर मात्र ‘सल्लाह’ स्तरमा झारेको छ।
हवाईमा प्रारम्भिक रुपमा १० फिट सम्मको छाल आउने चेतावनी दिइएको थियो। तर अहिले उक्त चेतावनी पनि घटाएर सल्लाहमा रूपान्तरण गरिएको प्यासिफिक सुनामी चेतावनी केन्द्रले जनाएको छ।
हवाई इमर्जेन्सी व्यवस्थापन एजेन्सीका निर्देशक स्टीफन लोगनका अनुसार अब घर फर्कन सकिनेछ तर अझै केही बलिया छाल र डुबानको जोखिम भने रहन्छ।
इतिहासको छैटौँ ठुलो भूकम्प
अमेरिकी भूगर्भ विभागका अनुसार, यो भूकम्प पेट्रोपाभ्लोभ्स्क(कमचाट्स्की शहरबाट करिब ११९ किमी पूर्व(दक्षिणपूर्वमा र २०.७ किमी (१२ माइल) गहिराइमा गएको हो। सुरुमा ८.० म्याग्निच्युडको रूपमा मापन गरिए पनि पछि बढाएर ८.८ म्याग्निच्युड तोकिएको हो।
यो भूकम्पलाई इतिहासको छैटौँ सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ। यो सन् २०१० को चिलीको बिओबिओ भूकम्प र सन् १९०६ को इक्वेडरको एस्मेराल्डास भूकम्पसँग बराबरीमा छ।
पाँचौँ ठुलो भूकम्प पनि १९५२ मा रुसकै कमचाट्का क्राय क्षेत्रमा आएको थियो– जुन संसारको पहिलो म्याग्निच्युड ९ को भूकम्प थियो। चिलीको बिओबिओमा सन् १९६० मा गएको भूकम्प ९.५ म्याग्निच्युडको भूकम्पलाई अहिलेसम्मकै शक्तिशाली मानिन्छ ।
सन् २००४ को भारतीय महासागरको ९.२–९.३ म्याग्निच्युडको भूकम्पले २ लाख २७ हजारभन्दा बढीको ज्यान लिएको थियो। तर त्यस क्षेत्रको जनघनत्व धेरै भएकाले क्षति भयावह भएको थियो भने कमचाट्का क्षेत्रमा जनघनत्व निकै न्यून भएकाले मानवीय क्षति तुलनात्मक रूपमा कम छ।
अहिलेसम्म मानव मृत्युको पुष्टि नभएको जनाइएको छ, तर केही घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ। सुनामी सतर्कता हटाइए पनि स्थानीयहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण