कांग्रेसका भ्रातृसंस्थाको महाधिवेशन : केन्द्रीय समितिको निर्णय कार्यान्वयनमा आलटाल
सारांश
- नेपाली कांग्रेसका तीन भ्रातृ संस्थाको म्याद थपिएको छ, तर महाधिवेशनको मिति अझै टुङ्गो लागेको छैन।
- नेविसंघ, महिला संघ र तरुण दलको महाधिवेशन एकै महिनामा गर्ने प्रस्ताव आएको छ, जसले गर्दा मिति मिलाउन केन्द्रीय कार्यालयलाई गाह्रो भएको छ।
- महाधिवेशन निर्देशक समितिले मिति प्रस्ताव गरे पनि पार्टीले आवश्यक तयारी नगरेको र टीओआर नदिएकोमा नेताहरूको असन्तुष्टि छ।
काठमाडौँ । नेपाली कांग्रेसका तीन भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल महिला संघका तदर्थ समितिको म्याद अन्तिम पटकका लागि थप्ने निर्णय गत असार १६ गतेदेखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले गरेको थियो ।
समितिको निर्णय नम्बर ४ को २ मा लेखिएको थियो, ‘नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले तोकिएको मितिभित्र महाधिवेशन गर्न सकेका छैनन् । २०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नैपर्ने र गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने भनी अन्तिम समय दिइएकोमा यस बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका भ्रातृ संघहरूकोे हकमा कार्यतालिकामा तोकिएको मितिसम्म समयावधि थप गर्ने ।’
निर्णयमा यस्तो भनिए पनि तीन भ्रातृसंस्थाको हकमा एकै महिनामा महाधिवेशनको मिति परेकाले केन्द्रीय कार्यालयले मिलाएर एक अर्काको महाधिवेशन नजुध्नेगरी तालिका सार्वजनिक गर्ने भनिएको थियो ।
महामन्त्री गगन थापाले अन्तिम पटकका लागि महाधिवेशन गर्नेगरी म्याद थप्ने निर्णय भए पनि तीन भ्रातृसंस्थाको हकमा एकै महिनामा महाधिवेशन गर्ने प्रस्ताव गरेकाले केन्द्रीय कार्यालयले मिलाएर कार्यतालिका सार्वजनिक गर्ने बताएका थिए । ‘अन्तिम पटकका लागि म्याद थप्ने निर्णय भएको छ । नेविसंघ, महिला संघ र तरुण दलको महाधिवेशन एउटै महिनामा प्रस्ताव भएकाले केन्द्रीय कार्यालयले समय मिलाएर नजुध्नेगरी मिति सार्वजनिक गर्छ,’ महामन्त्री थापाले रातोपाटीसँग भनेका थिए, ‘कार्यालयले मिलाउँदै होला ।
तरुण दलको महाधिवेशन आगामी मंसिर २५ देखि २७ गतेसम्म गर्ने निर्णय केन्द्रीय कार्यसमितिको असार १८ गतेको बैठकले गरेको थियो । बैठकको निर्णय भनेर केन्द्रीय कार्यालयले विज्ञप्तिसमेत निकालेको थियो ।
नेविसंघको महाधिवेशनका लागि कांग्रेस सहमहामन्त्री किशोरसिंह राठोर नेतृत्वको महाधिवेशन निर्देशन समितिले आगामी मंसिर १५ देखि १७ गतेसम्मको मिति पार्टीमा प्रस्ताव गरेको हो । नेविसंघको अब हुने १२ औँ महाधिवेशन हो ।
त्यस्तै महिला संघको महाधिवेशनका लागि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत नेतृत्वको महाधिवेशन निर्देशन समितिले आगामी मंसिर २९ गतेदेखि पुस २ गतेसम्मको मिति पार्टीमा प्रस्ताव गरेको छ ।
तर, त्यसबारे केन्द्रीय कार्यालयले कुनै तयारी गरेको छैन । ‘महाधिवेशन निर्देशन समितिले मिति प्रस्ताव गरेको छ । मिलाउनेबारे कुनै कुराकानी भएको छैन,’ कांग्रेस केन्द्रीय कार्यालयका एक कर्मचारीले रातोपाटीसँग भने ।
नेविसंघ महाधिवेशन निर्देशन समिति सदस्य कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले मितिबारे केही टुंगो नलागेको बताइन् । उनले निर्देशन समितिलाई महाधिवेशन गर्नेगरी सम्पूर्ण जिम्मेवारीसहितको टीओआर दिने भनिए पनि अहिलेसम्म पार्टीले केही पनि नदिएको बताइन् ।
‘केही टुंगिएको छैन । तदर्थ समितिले महाधिवेशन गर्न नसक्ने भए, महाधिवेशन निर्देशन समितिलाई जिम्मेवारी दिएर महाधिवेशन गर्नेगरी अन्तिम पटकका लागि केन्द्रीय कार्यसमिति बैठकले म्याद थपेको हो,’ गौतमले रातोपाटीसँग भनिन्, ‘समितिका संयोजक र सदस्यहरूलाई सम्पूर्ण अधिकारसहितको टीओआर दिने भनिएको थियो । अहिलेसम्म पाइएको छैन । यसले पार्टी नेतृत्वले नै महाधिवेशन नगराउन चाहेको हो कि जस्तो देखिएको छ ।’
केन्द्रीय समिति बैठकले ‘प्रस्तावित कार्यतालिका बमोजिम महाधिवेशन सम्पन्न गर्न निर्देशक समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरी निर्देशन समितिले गर्नुपर्ने कामका सन्दर्भमा पार्टीको तर्फबाट कार्यादेश उपलब्ध गराउनेछ,’ भन्ने निर्णय गरेको थियो । त्यो अनुसारको कार्यादेश आफूहरूले नपाएको गौतमले जानकारी दिएकी हुन् ।
महाधिवेशन तयारी र व्यवस्थापनमा सहजीकरणका लागि पार्टीले सम्बन्धित संघको मौजुदा तदर्थ समितिका अध्यक्षसहित महाधिवेशन व्यवस्थापन समिति बनाउने निर्णय पनि केन्द्रीय समितिले गरेको थियो । त्यो काम पनि पार्टीले अझै गरेको छैन ।
महामन्त्री थापा यसबारे आन्तरिक तयारी भइरहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण