बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सङ्गीत

देउडालाई ‘फ्युजन’ गरेर सफल भएका टंक तिमिल्सिना

रेडियोमा कार्यक्रम चलाउँदा श्रोताले भन्थे– तपाईंको स्वर राम्रो छ, एल्बम निकाल्नुस्
शनिबार, १७ साउन २०८२, ०८ : ४८
शनिबार, १७ साउन २०८२

सारांश

  • अछामका टंक तिमिल्सिनाले रेडियो भेरीमा काम गर्दागर्दै गीत रेकर्ड गर्न थाले।
  • उनका 'सनसनी सनसनी' लगायतका गीतहरूले चर्चा पाए, जसले उनलाई सफल गायक बनायो।
  • टंकले देउडा गीतमा नयाँ फ्युजन गरे, जसलाई दर्शकले मन पराए, र युट्युबबाट राम्रो आम्दानी गरे।

काठमाडाैँ । अछामका टंक तिमिल्सिनाले गायक बन्छु भन्ने सोचेकै थिएनन् । जीवनमा बढीजसो त नसोचेकै हुन्छ । उनको जीवनमा पनि त्यस्तै भइदियो । 

‘नेपालगन्जको रेडियो भेरीमा साङ्गीतिक कार्यक्रम चलाउँदा मैले कहिलेकाहीँ श्रोतासँग गीत गाउँथे । तपाईंको स्वर राम्रो छ भनेर श्रोताले फुर्क्याएकै भरमा गीत रेकर्ड गर्ने सोच आयो,’ टंक तिमिल्सिना १४ वर्षअघिका पलहरू सम्झन्छन् । 

त्यतिबेला उनले गायिका संगीता बडुवालसँग ‘लाइगयो रतेडी’ बोलको देउडा गीत पस्किएका थिए । यो गीत सोचेजस्तो चलेन तर उनले गीत रेकर्ड गर्न भने छाडेनन् । निरन्तरको प्रयासले यो १४ वर्षको दौरानमा उनी एक सफल गायकमा दर्ज भइसकेका छन् । 

‘मेरी चम्पा’, ‘चल्यो बतास’, ‘मिठो बोलीले’, ‘रातिराति नहिँड डिस्को पार्टीमा’, ‘जाउँ न हुक्का बार’, ‘मैना’, ‘सनसनी सनसनी यो मुटु खाइरहने’, ‘चमक्क–चमक्क’जस्ता हिट गीतका गायक हुन्— टंक तिमिल्सिना । उनका थुप्रै गीत करोड क्लबमा परेका छन् । 

दोस्रो जनआन्दोलनपछि एफएम रेडियोको दबदबा र प्रभाव बढ्दै थियो । रेडियो भेरीमा टंकले दुई वटा कार्यक्रम चलाउँथे— ‘रमाइलो गोधुली साँझ’ र ‘लोक लहर’ । कार्यक्रमले आफ्नो क्षेत्रमा उनलाई सेलिब्रिटीका रूपमा स्थापित गराइसकेको थियो । उनी कलाकारहरूसँग अन्तर्वार्ता गर्थे, श्रोताहरूसँग लाइभ दोहोरी गाउँथे । श्रोताहरूले हौस्याएर भनिरहन्थे— तपाईंको स्वर राम्रो छ, एल्बम निकाल्नुस् । यसरी उनी गीत–संगीतको प्रेममा परिसकेका थिए ।  

एसएलसी गरेपछि प्लस टु अध्ययनका लागि अछामबाट नेपालगन्ज पस्दा टंकलाई सबै कुरा नौलो लागिरहेको थियो— अनौठो सहर, त्यसअघि मोटर देख्ने मौका समेत नपाएका उनका लागि सबै परिवेश फरक थियो; सहनै नसकिने गर्मी । बेलाबेला उनलाई अछामै फर्किनुपर्छ कि भन्ने लाग्थ्यो । 

नेपालगन्जमा रेडियोमा काम गर्दागर्दै गीत रेकर्ड गरेपछि उनलाई कताकता लाग्न थाल्यो, नहाल्नु हात हालियो, अब यसमा सफल हुनैपर्छ । यसैबिच २०७० मा उनी काठमाडौँ आए, काठमाडौँमा सुरुमा उनका लागि जागिर नै ठुलो कुरा थियो । स्वयम्भूको एक दोहोरी साँझमा गाउने काम पाए । सुरुमा रेकर्ड गरेका गीत नचलेकाले उनी केही समय गीत ननिकाल्ने सोचमा थिए तर काठमाडौँको माहोलमा उनी त्यसै बस्न सकेनन् । काठमाडौँ आएको वर्ष दिनमा उनले एउटा गीत रेकर्ड गरे— ‘सनसनी सनसनी मुटु खाइरहने, त्यही भएर म सुर्खेत आइरहने’ बोलको गीत उनले गायिका टीका पुनसँग गाएका थिए । भद्र वलीको सङ्गीत र देवेन्द्र खत्रीको शब्द रहेको यस गीतले बिस्तारै सनसनी मच्चाउँदै गयो, सुदूरपश्चिम र कर्णालीतिर तहल्कै पिट्यो । त्यतातिर हुने विभिन्न महोत्सवमा उनलाई सम्झन थालियो । 

एकपटक उनी गीत गाउनकै लागि बर्दिबास पुगेका थिए, त्यतातिर चल्ने गाडीमा समेत उनले आफ्ना गीत र अरु देउडा गीत बजेको सुने । ‘त्यतिबेला मलाई युद्ध नै जितियो जस्तो लागेको थियो,’ उत्साहित हुँदै उनी भन्छन्, ‘त्यो खुसीलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ ।’ 

पहिलोपटक उनलाई कैलालीको सुख्खड उद्योग वाणिज्य संघले बोलाएको थियो, काठमाडौँदेखि आतेजाते प्लेन टिकटसहित ३० हजार रुपैयाँ पारिश्रमिक दिएर । सुदूरपश्चिममा आफ्नो क्रेज कति छ भन्ने उनले त्यहाँ पुगेपछि मात्रै चाल पाए । ‘पाँच हजार टिकट बिक्री भएको रहेछ,’ उज्यालो अनुहार पार्दै उनी भन्छन्, ‘मलाई लाग्यो— म अब बिकेँ । टिक्छु भन्ने लाग्यो ।’ 

‘सनसनी सनसनी’ बोलको गीतको सुरुमा अडियो मात्रै आएको थियो, एक वर्षपछि (२०७३ मा) भिडियो बन्यो, त्यो पनि चर्चित बन्यो । यसपछि टंकले पछाडि फर्केर हेर्नुपरेको छैन । उनले निरन्तर गीत पस्कँदै गए— ‘मेरी छोर्‍याँटी’, ‘चल्यो बतास’, ‘मिठो बोलीले’, ‘राति–राति नहिँड डिस्को पार्टीमा’, ‘हेर्दा लाग्छ दयालु’, ‘पैसा बैंस चिरिम्म’, ‘मैना मेरो माया छ कि छैन’, हात समाई लैजान्छु अहिलै’, ‘आमाको माया’, ‘मुगु रारा तालैमा’, ‘मन माया’, ‘जतिलाई हेर्‍यो तैँ राम्री’ जस्ता गीतका म्युजिक भिडियो बनाए । सबै गीत हिट भए । 

देउडामा नयाँ फ्युजन

सुदूरपश्चिम र कर्णालीका श्रोतामा मात्र सीमित थियो, देउडा गीत । नन्दकृष्ण जोशी, नरेन्द्रराज रेग्मी लगायत अग्रजले देउडालाई उठाएका थिए, जब टंक तिमिल्सिनाजस्ता नयाँ पुस्ता आए, देउडामा एक ढंगको क्रान्ति नै भयो । उनले भाव नमर्ने गरी देउडालाई फ्युजन गरिदिए । लय, भाका, शब्द र संगीतको यस्तो प्रयोग गरिदिए कि त्यो बच्चादेखि पाकासम्मले मन पराए । 

एकपटक उनी गीत गाउनकै लागि बर्दिबास पुगेका थिए, त्यतातिर चल्ने गाडीमा समेत उनले आफ्ना गीत र अरु देउडा गीत बजेको सुने । ‘त्यतिबेला मलाई युद्ध नै जितियो जस्तो लागेको थियो,’ उत्साहित हुँदै उनी भन्छन्, ‘त्यो खुसीलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ ।’ 

tanka2

एकातिर नयाँ पुस्ताले उनको तारिफ गर्थे, अर्कोतिर पुराना पुस्ताका कलाकारहरू भने देउडालाई बिगार्‍यो भनेर गाली गर्थे । देउडा गीतप्रति देशैभरि जस्तो श्रोताहरूको आकर्षण बढ्दो थियो । अर्कोतिर विभिन्न रियालिटी सोहरूमा नयाँ–नयाँ प्रतिभाहरूले देउडा भाका घन्काउन थाले । चलचित्रहरूमा सुदूरपश्चिमका गीतहरू समेटिन थाले । टंकलाई लाग्यो, यो हाम्रो जित हो । उनले र्‍याप मिक्स, पप, डिजे, आधुनिक— सबै विधामा देउडालाई फ्युजन गर्दै गए । जसलाई ठुलो जमातले रुचायो । 

‘देउडा मेरो रगतमा थियो,’ टंक भन्छन्, ‘टिनएजरलाई कसरी यतातिर आकर्षित गर्ने भन्नेमै मेरो संघर्ष थियो ।’ यतिबेला उनको संघर्षले सार्थकता पाएको छ । युट्युबमा उनले अडियो र भिडियो गरी एक सय ४५ गीत अपलोड गरेका छन् । सबै गरी साढे २३ करोडभन्दा बढीपटक उनका गीत हेरिएका तथा सुनिएका छन् । आफूले स्वर दिएका गीतहरूको भिडियोमा उनले चर्चित नायिका प्रियंका कार्की, शिल्पा पोखरेलदेखि चर्चित डान्सर अन्जली अधिकारी, आश्मा विश्वकर्मा, कविता नेपाली, पार्वती राई, रश्मी तामाङसम्मलाई नचाएका छन् । 

देश विदेश यात्रा 

गीत–संगीतमा निरन्तर समर्पित भइरहँदा टंकले देश–विदेश घुम्ने मौका पाए । पश्चिममा महेन्द्रनगरदेखि पूर्वमा बर्दिबाससम्म विभिन्न मेला–महोत्सवमा उनले स्टेज तताएका छन् । स्वदेश तथा विदेशमा उनलाई माया गर्नेहरू उत्तिकै छन् । पूर्वमा बर्दिबास, सिन्धुली, सर्लाहीका महोत्सवमा पुग्दा होस् या बाग्मतीका नुवाकोट, धादिङ र चितवन पुग्दा— उनले दर्शकको अपार माया पाए । 

tanka4

गाउनकै लागि उनी भारतका विभिन्न सहरमा २० पटक पुगेका छन् भने दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, कुवेत लगायत देशमा रहेका नेपालीमाझ उनले साङ्गीतिक प्रस्तुति दिएका छन् । 

युट्युबकै कमाइबाट जग्गा 

कलाकारका लागि युट्युब राम्रो आर्थिक आयआर्जन गर्ने स्रोत बनेको छ । युट्युबकै कमाइले टंकले नेपालगन्जमा जग्गा जोड्न सफल भएका छन् । 

हरेक डिजिटल प्लेटफर्महरूमा गायक टंकको बलियो उपस्थिति छ । म्युजिक कम्पनीहरूमाथि भर परेर उनले कुनै सम्झौता गरेनन् । जसले गर्दा पारिश्रमिकको कुनै झन्झट र समस्या भोग्नैपरेन । जति म्युजिक भिडियोहरू बनाए, ती सबै आफ्नै नामको युट्युब च्यानल ‘टंक तिमिल्सिना’मा अपलोड गरे । उनले सन् २०१५ देखि युट्युब सुरु गरेका थिए, यो सामग्री तयार पार्दासम्म १० लाखभन्दा बढीले उनको च्यानललाई सब्स्क्राइब गरेका छन् ।

tanka

कुनै नयाँ गीत युट्युबमा अपलोड हुँदा मासिक साढे दुई लाख रुपैयाँभन्दा बढी कमाइ हुने गरेको उनी बताउँछन् । पुरानै भिडियोबाट पनि मासिक १ लाख रुपैयाँभन्दा बढी नै उनलाई आम्दानी हुन्छ । ‘मेरी चम्पा’ बोलको गीतबाट मात्रै नौ लाख रुपैयाँ कमाएको उनी बताउँछन् । यो सामग्री तयार पार्दासम्म यस गीतलाई चार करोड ६७ हजारभन्दा बढीपटक हेरिएको छ ।

MERI CHAMPA THUMB 2023

नेपालका मेला महोत्सवमा टंकले कम्तीमा एक लाख रुपैयाँ पारिश्रमिक लिन्छन् । विदेश जाँदा अझ बढी कमाइ हुन्छ । यो सफलतालाई उनले सौभाग्यका रुपमा लिएका छन् । ओएस नेपाल म्युजिक अवार्डमा ‘बेस्ट देउडा सिंगर’बाट टंक सम्मानित भइसकेका छन् । यस्तै विन्ध्यवासिनी म्युजिक अवार्डमा ‘बेस्ट पप सिंगर’ प्राप्त गरेका छन् । बीस्टार मुजिक अवार्डमा उनको गीत ‘बेस्ट सङ अफ द इयर’मा छानिएको थियो । कालिका म्युजिक अवार्ड र रेडियो कान्तिपुर म्युजिक अवार्डमा उनको गीत ‘गोधुली साँझैमा’ उत्कृष्ट ५ भित्र पर्न सफल भएको थियो । 

‘म डान्सिङ गीतमै फोकस छु,’ कुराकानी टुंग्याउने बेला उनले सुनाए, ‘त्यो पनि देउडा गीत नै हुनेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप